'घाइतेले एकैछिनमा अस्पताल भरिए, रातभरि अपरेशन गरिरह्यौं'
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा १९ जना मृत्यु भयो भने १०० भन्दा धेरै जना गोली लागेर गम्भीर घाइते भए ।
गोली लागेका धेरै घाइतेको उपचार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भयो । ट्रमा सेन्टर नेपालमा दुर्घटनाका घाइते र हाडजोर्नीका बिरामीको उपचारका लागि विशेष सेवा दिने अस्पताल हो ।
केही घण्टाको बीचमा गोली लागेका गम्भीर घाइतेहरु उपचारका लागि आउँदा अस्पतालले कसरी सेवा दियो ? यस विषयमा नेपाल शो का लागि विनोद ढकालले ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालसँग गरेको कुराकानीको सारसंक्षेप :
भदौ २३ र २४ गतेको घटनापछि हालसम्म १९० जना घाइतेले ट्रमा सेन्टरमा उपचार गराए । २० जना घाइते अझै अस्पतालमै छन् भने १७० जना डिस्चार्ज भएका छन् ।
एक जना अझै सिरियस छन्, आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । एक जना एचडीयूमा र अरु घाइते वार्डमा उपचार गराइरहेका छन् । ज्यानको खतरा नभए पनि एक जना घाइतेले खुट्टा गुमाएका छन् । ढाडमा गोली लागेर शरीरको तल्लो पार्ट नचल्ने घाइते पनि छन् । केही घाइतेहरु घाउको कारणले रड र पाताहरु तत्काल हाल्न नमिलेर पनि उपचार गराइरहेका छन् ।
शरीरमा गोली लाग्दा गोली लागेको भाग वरपरका तन्तु ड्यामेज हुन्छ । मूल नशाको छेउबाट गोली जाँदा त्यसले मूल नशामा असर गर्छ । घाउ इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ र चाँडै चाँडै सफा गरिरहनुपर्छ । घाउ पूरा निको नहुँदासम्म रड वा पाता हालेर उपचार गर्न मिल्दैन । त्यसकारण गोली लागेका घाइतेको अस्पताल बसाइ लामो हुन्छ ।
भदौ २३ गते बिहान ११ बजे स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचार र स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न स्वास्थ्य शिक्षा र सूचना समितिको बैठक राखेको थियो ।
विभिन्न अस्पतालका निर्देशक र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरु बैठकका लागि स्वास्थ्य मन्त्रालय पुगेका थिए । त्यही बेला बानेश्वरमा झडप भयो भन्ने खबर आएपछि बैठक स्थगित भयो । त्यसपछि म पनि अस्पताल फर्किएँ ।
सिभिल अस्पतालका प्रमुखसँग कुरा भइरहेको थियो । उहाँले झडप हुँदैछ एम्बुलेन्स पठाइदिनु भन्नुभयो, हामीले एम्बुलेन्स पठायौं । केहीबेरमा त एम्बुलेन्स, मोटरसाइकल र अरु माध्यमबाट पनि घाइतेहरु आउने क्रम सुरु भइहाल्यो ।
घाइतेहरुको संख्या बढी हुने अनुमान भइसकेपछि हामीले अस्पतालमा डिजास्टर स्टेट घोषणा गर्यौं । ठूलो दुर्घटना भएपछि हामी यसरी नै काम गर्छौं । डिजास्टर स्टेट घोषणा गरेपछि अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द हुन्छ ।
रेगुलरमा हुने अपरेसन पनि बन्द हुन्छ । इमर्जेन्सी अपरेशनहरु मात्र सञ्चालन हुन्छ । ओपीडी सेवा पनि बन्द गर्यौं, इमर्जेन्सीमा भएका बिरामीलाई अवस्था हेरेर वार्डमा सार्ने वा घर पठाउने गर्यौं ।
कतिपय बिरामीलाई वीर अस्पतालतिर पनि पठायौं । यसरी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) पुरै खाली गर्यौं । ओपीडी सेवा दिने ठाउँमा पनि बेड तयार गर्यौं । वार्डमा भर्ना भएका बिरामी पनि घर पठाउन मिल्ने अवस्थाकालाई पठायौं ।
सबै डिपार्टमेन्टका चिकित्सकलाई इमर्जेन्सीमा नै खटायौं । इमर्जेन्सीमा रेड, एल्लो, ग्रिन जोन छुट्याएर सामान्य घाइते र गम्भीर खालका घाइते छुट्याएर उपचार गर्यौं ।
चिकित्सक, नर्सिङ, पारामेडिक्स, सुरक्षाकर्मी सरसफाइकर्मी सबैको तत्परता र सहयोगबाट घाइतेलाई बचाउने उपाय गर्यौं । रगतका लागि अस्पतालकै कर्मचारी, विद्यार्थी, घाइतेका आफन्त र स्वयंसेवकले रक्तदान गरे । पछि नेपाल रेडक्रस सोसाइटीले पनि सहयोग गर्यो ।
घाइते ल्याएसँगै अस्पतालमा ठूलो भिड जम्मा भयो । उनीहरुलाई हटाउन नेपाल प्रहरी, काठमाडौं महानगरपालिकाको नगर प्रहरी र अस्पतालकै सुरक्षाकर्मीले काम गरे । त्यसपछि हामीलाई काम गर्न सहज भयो र धेरैको ज्यान बचाउन सफल भयौं ।
हामीले त्यस दिन राति ५ वटा अपरेशन थिएटरमा २३–२४ वटा मेजर अपरेशन गर्यौं । माइनर अपरेशन त कति भए कति ।
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


