रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर उनले भनेका छन्, 'हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।'
देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले सुनामी रोकेर देखाउन पनि चेतावनी दिएका छन् । 'अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ', रविले चुनौती दिएका छन् ।
फागुन २१ नेपाली इतिहासको माइलस्टोन हुने भन्दै उनले अब आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्ने बताए । 'यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ', उनले लेखेका छन् ।
रविले फेसबुकमा के लेखेका छन्, हेर्नुहोस्:
आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाइहरू,
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।
अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ ।
म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाईंको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन ।
कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।
म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ ।
भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् ।
देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् ।
आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास-कूटनीति र अर्थ- राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।
गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर।
अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।
फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।
यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईको हातमा।
तपाईंको, रवि लामिछाने ।।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र









