नायब सुब्बासँग सम्पत्तिको चाङ, यसरी चोख्याउँथे अवैध कमाइ
एउटा नायब सुब्बाले आफ्नो जागिर अवधिमा कति पैसा कमाउन सक्ला ?
अहिल्यै पनि नायब सुब्बाको आम्दानीबाट परिवार पाल्न पनि कठिन छ । अझ आजभन्दा २६ वर्षअघि खरदारबाट सरकारी जागिर सुरु गरेका पछि नासुमा बढुवा भएका एक जनाले धेरैलाई अचम्ममा पारिदिए ।
ती नायब सुब्बाले आफ्नो जागिर अवधिमा वैधानिक आम्दानी भन्दा झण्डै १० करोड रुपैयाँ बढी कमाएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।
अवैध रुपमा कमाएको सम्पत्तिलाई बैध बनाउन उनले जग्गादेखि डिपार्टमेन्ट स्टोरसम्म लगानी गरेका छन् । तर उनको यो धन्दा धेरै समय लुक्न पाएन । अख्तियारले उनी, उनकी पत्नी, छोरीहरु र उनका सहयोगी समेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ ।
यदुनाथ आचार्य, नेपाल सरकारको सहायक स्तरका कर्मचारी हुन् । २०५४ साल माघ २ गते खरिदारबाट सरकारी सेवा सुरु गरेका उनी पछि नायब सुब्बासम्म भए ।
उनले खोटाङ जिल्लामा गाविस सचिव पदबाट सरकारी सेवा सुरु गरेका थिए । पछि उनले देशका विभिन्न मालपोत कार्यालयहरुमा काम गरे । २०८० मंसिर २१ गते सरकारी सेवाबाट अवकाश लिँदा उनी जिल्ला मालपोत कार्यालय भक्तपुरको नायब सुब्बा थिए ।
उनले सरकारी जागिरमा छँदा गाविस सचिव र मालपोत कार्यालयमा काम गरे । यी दुबै ठाउँ नेपालमा धेरै भ्रष्टाचार हुने क्षेत्रमा पर्छ । एउटा सहायकस्तरको कर्मचारी भए पनि उनको रवाफ ठूलो थियो, धेरै धनसम्पत्ति जोडेका थिए ।
जब अख्तियारले उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान सुरु गर्यो, तब धेरै रोचक तथ्यहरु भेटिए ।
उनले २०५४ साल माघदेखि २०८० मंसिर २१ गतेसम्म गरी करिब २६ वर्ष सरकारी जागिर खाए । उनको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक र अरु सबै वैधानिक स्रोतबाट भएको आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँमात्र हुन्छ ।
तर आचार्य परिवारले घर जग्गा किन्दा गरेको खर्च, डिपार्टमेन्ट स्टोरमा गरेको लगानी, घरमा जोडेको सामान, शिक्षादीक्षामा भएको खर्च, ब्यांक ब्यालेन्स सबै जोड्दा भने १५ करोड ९८ लाख रुपैयाँसम्मको हिसाब आउँछ ।
यस आधारमा अख्तियारले यदुनाथ आचार्यले आफ्नो वैधनिक आम्दानी भन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति कमाएको दाबी गरेको छ । र उनीविरुद्ध विशेष अदालतमा गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा लगाएको छ ।
अख्तियारले यदुनाथसँगै उनकी श्रीमती र दुई छोरीको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
अझ यो भन्दा रोचक छ, यदुनाथले अवैध रुपमा आर्जन गरेको सम्पत्तिलाई वैध बनाउन अर्थात् ब्ल्याक मनीलाई ह्वाइट बनाउन के–के गरे भन्ने समेत अख्तियारले अनुसन्धान गरेको छ ।
यदुनाथले २०७३ सालमा काठमाडौं महानगरपालिका–३५ मा साढे दुई तलाको एउटा घर किने ।
त्यो घर उनले १ करोड १५ लाखमा किनेका थिए । तर पास गर्दा जम्मा ४४ लाखमा मात्र किनेको भनेर पास गरे । पछि त्यही घर १ करोड ५० लाख रुपैयाँमा बिक्री गरे । अख्तियारका अनुसार यो घर किन्दा यदुनाथको करिब ७८ लाख रुपैयाँको स्रोत खुलेको छैन ।
यदुनाथले घर बेचेर १ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको देखाउने उद्देश्यले अर्थात् सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले नै यो घर किनेको देखिने अख्तियारको दाबी छ ।
सुरुमा अवैध आर्जन गरेको रकमबाट सस्तो मूल्यमा घर किनेको देखाउने र पछि महंगोमा बेचेर त्यो आम्दानीलाई घर बिक्रीबाट भएको देखाउने उद्देश्य राखेको अख्तियारको अनुसन्धानको निष्कर्ष छ ।
२०७९ सालमा यदुनाथले काठमाडौंको बानेश्वरमा अर्को घर र जग्गा किने ।
त्यो घर र जग्गा किन्दा उनले ५ करोड १९ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । तर त्यो सबै रकम वैधानिक माध्यमबाट अर्थात् बैंकबाट घर र जग्गा धनीलाई दिएका छैनन् ।
केही पैसा उनले आफ्नो बैंक खाताबाट जग्गाधनी गोविन्द श्रेष्ठको बैंक खातामा बुझाएका छन् । केही पैसा उनले एजेन्ट भीमबहादुर राईलाई नगद दिएका छन् र राईले जग्गाधनी गोविन्द श्रेष्ठको खातामा जम्मा गरेका छन् । केही पैसा भने चौथो व्यक्ति नवराज घिमिरेमार्फत जग्गाधनी श्रेष्ठको खातामा जम्मा पारेका छन् । र यो जग्गा आफ्नी श्रीमती ललिता राजभण्डारीको नाममा पास गरेका छन् ।
यदुनाथले हलेसी डिपार्टमेन्ट स्टोरमा लगानीको नाममा पनि केही सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ । यदुनाथले आफ्नो बैंक खाताबाट हलेसी डिपार्टमेन्ट स्टोरको बैंक खातामा ४५ लाख रुपैयाँ पठाउँछन् ।
तर हलेसी डिपार्टमेन्ट स्टोरका सञ्चालक प्रभा बस्नेत र कुमारी कटुवालले त्यो डिपार्टमेन्ट स्टोर बन्द गर्छन् । अनि फेरि हलेसी मार्टको नाममा अर्को कम्पनी चलाउँछन् । पछि हलेसी मार्टमा यदुनाथकी श्रीमती ललिता राजभण्डारी मेनेजरको रुपमा काम गर्छिन् ।
यदुनाथले काठमाडौंको गोठाटारमा दुई कित्ता जग्गा किन्छन् । यो जग्गा किन्दा पनि एजेन्टलाई नगद नै दिएर जग्गाधनीसम्म पैसा पुर्याउँछन् । पछि त्यो जग्गा फेरि अर्कैलाई बिक्री गरेर १ करोड ६८ लाख रुपैयाँ आर्जन गर्छन् ।
अख्तियारका अनुसार यदुनाथले जग्गा व्यवसायी भीमबहादुर राई र दिनेश राईलाई पटक पटक गरी २ करोड ५१ लाख रुपैयाँ नगद दिएका छन् । अनि उनीहरुले त्यो पैसा बैंकमार्फत पुनः यदुनाथ आचार्य र उनकी पत्नी ललितालाई बैंकमार्फत फिर्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
यही तरिकाबाट यदुनाथले भक्तपुरको नखेल र गुण्डुमा गरी २ कित्ता अनि मोरङको विराटनगरमा पनि २ कित्ता जग्गा किनेर सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको भनाइ छ ।
यदुनाथले विभिन्न व्यक्तिको नामबाट तुलसीप्रसाद आचार्यको बैंक खातामा पटक पटक रकम जम्मा गर्छन् । अनि त्यो रकम तुलसीप्रसाद पोखरेलले एकमुष्ट रुपमा यदुनाथको बैंक खातामा ६० लाख ४१ हजार रुपैयाँ फिर्ता गरेको पनि अनुसन्धानमा देखिएको छ । यो पनि सम्पत्ति शुद्धीकरणकै उद्देश्यले गरिएको अख्तियारको भनाइ छ ।
त्यस्तै यदुनाथले केही रकम श्रीमती ललिताको बैंक खातामा जम्मा गर्छन् । अनि त्यो रकम पुनः विभिन्न खाताहरुमा सार्दै सार्दै आफ्नो बैंक खातामा प्राप्त गर्छन् ।
उनले भीष्म गड्तौला नाम गरेको व्यक्तिमार्फत केही रकम सेयरमा पनि लगानी गर्छन् । अनि सेयर बिक्री गरेर भीष्म गड्तौलाले १० लाख रुपैयाँ पुनः यदुनाथकै बैंक खातामा फिर्ता गर्छन् ।
यसरी यदुनाथको कमाइ कसैगरी स्वभाविक देखिँदैन । उनका कारोबारहरु त झनै शंकास्पद छन् । एउटा खरिदार र सुब्बाले बुझ्ने तलबले एउटा परिवार पाल्न कठिन छ । बचत गर्न त गाह्रै हुन्छ । सोझोबाटोबाट यति धेरै सम्पत्ति जोड्न त सकिने कुरै हैन ।
तर, हाम्रो सरकारी प्रणालीमा यदुनाथहरु धेरै छन्, जसको अवैध आय धेरै छ । अख्तियारले गरेको अनुसन्धानबाट यदुनाथले जसरी सम्पत्ति लुकाउने प्रयत्न गरेका छन्, यस्तो प्रयास गर्नेहरु धेरै छन् ।
अख्तियारले आचार्यलाई झुट्टा विवरण दिएको आरोपमा १ वर्ष कैद र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा १ देखि ३ वर्षसम्म कैद सजाय माग गरेको छ ।
अनि भ्रष्टाचारबाट कमाएको ९ करोड ७२ लाख रुपैयाँ जरिवाना मागेको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा उनलाई २ देखि १५ वर्षसम्म कैद सजाय माग गरिएको छ । सरकारी पद धारण गरेर सम्पत्ति शुद्धीकरण गरेको हुनाले थप १० प्रतिशत सजाय पनि माग गरेको छ ।
त्यस्तै सम्पत्ति शुद्धीकरण गरेको ९ करोड १९ लाख रुपैयाँको दोब्बर जरिवाना गर्न पनि माग गरेको छ । र ती सबै सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।
अख्तियारले हलेसी डिपार्टमेन्ट स्टोरका सञ्चालकहरु प्रभा बस्नेत र अनिता कटुवालविरुद्ध पनि मुद्दा दायर गरेको छ । यदुनाथको अवैध आर्जन र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीहरु मतियार बनेको अख्तियारको आरोप छ ।
अख्तियारले उनीहरुसँग ३८ लाख ८६ हजार रुपैयाँ बिगो मागेको छ ।
नेपालमा अवैध रुपमा आर्जन गरेको सम्पत्तिलाई बैंकिङ च्यानल भन्दा बाहिर सहकारीहरु तिर राख्ने, अनि त्यसलाई घर जग्गामा लगानी गर्ने गरेको पाइन्छ । तर पछिल्लो समय सहकारीमा वचत राख्न पनि स्रोत देखाउनुपर्ने ५ लाख भन्दा बढीको नगद कारोबार गर्न नपाइने जस्ता नियम लगाइएको छ ।
अनि घर जग्गा कारोबार पनि बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्थाका कारण पहिलेजस्तो सजिलै सम्पत्ति शुद्धीकरण गर्न सम्भव छैन । तर अवैध आर्जन गर्नेहरुले अनेक उपाय खोजेर सम्पत्ति शुद्धीकरण गरिरहेका हुन सक्छन् ।
यसरी खरिदार र सुब्बाको कमाइले चक्मा दिएको पहिलोपटक हैन । यसअघि पनि यस्ता धेरै कर्मचारीहरुको यस्तो पोल खुलेको छ । धेरैलाई अदालतले भ्रष्टचार गरेको ठहर गरिसकेको छ । तर, पनि सरकारी प्रणालीमा काम गरिरहेका धेरै कर्मचारीहरुको कमाइ स्वभाविक छैन ।
उनीहरुको कमाइ र जीवन शैलीले असल नियमतले काम गर्नेहरुमाथि अतिरिक्त कमाइ गर्ने दबाब बढाएको छ । त्यसैले अख्तियार जस्ता निकायले कर्मचारीहरुको सम्पत्तिमाथि थप निगरानी बढाउनुपर्ने देखिएएको छ । अझ सम्पत्ति लुकाउन जस्ता तरिकाहरु प्रयोग गरिँदैछ, त्यसलाई पनि थप नजिकबाट नियाल्न जरुरी छ ।
कर्मचारीहरुले गर्ने भ्रष्टाचारबाट देशको ढुकुटीमा असर पर्छ नै, यसले सेवाग्राहीलाई पनि दुःख थप्छ । समाजमा कालोधन राखेर रवाफ देखाउनेहरु बढ्दा त्यसले अन्य सामाजिक समस्याहरु पनि थप्छ । त्यसैले यदुनाथहरुको सम्पत्तिको निगरानी सामाजिक रुपमा मात्र रुपमा मात्रै हैन, कानुनीहरु पमा पनि बपलि बलियो ढंगले गर्न जरुरी छ ।
१७ वर्षअघिको फाइल खुल्यो, माधव नेपालविरुद्ध फेरि मुद्दा
रिङरोडमा लिफ्टवाला आकाशेपुल, कसरी चल्छ ?
फरहान किन फर्किए, अरु पाकिस्तानी खेलाडी के गर्लान् ?
देशैभरि पर्न सक्छ पानी, बाढी पहिरोको जोखिम कति ?



-1793372443.jpeg)

-1793700912.jpeg)


