कसरी बनेको थियो नेपालको पहिलो केवलकार ?
नेपालमा केवलकारहरु प्राय मन्दिर र धार्मिक स्थललाई जोड्ने गरी बनेका छन् । तर केवलकार चढ्नेहरु धर्मकर्म र तीर्थयात्रा गर्नेहरु मात्र छैनन् । यसले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा एउटा क्रान्ति नै ल्याएको छ ।
केबलकारले तीर्थयात्रामा जानेहरुलाई सहज भएको छ । त्यो ठाउँलाई पर्यटकीय गन्तव्य नै बनाएको छ । केवलकारकै कारण होटल रेष्टुरेन्ट व्यवसाय चलेको छ र सयौंले रोजगारी पाएका छन् । त्यसैले केवलकार देशभित्रै ठूलो आर्थिक कारोबार गर्ने माध्यम बनेको छ ।
र नेपालमा यसको सुरुवात भएको थियो, गोरखाको मनकामनाबाट । त्यो समय हो, आज भन्दा २८ वर्ष अगाडि ।
नेपालमा कसरी सुरु भएको थियो केवलकार ?
गोरखाको मनकामना मन्दिर धार्मिक रुपमा निकै प्रख्यात छ । मनको कामना पूरा गर्ने देवीका रुपमा मनकामनाप्रति धेरैको विश्वास छ । त्यसैले मानिसहरु आफ्नो इच्छा सिद्धि होस् भनेर मनकामनाको भाकल गर्छन् । इच्छा सिद्धि भएपछि भाकल पूरा गर्न जान्छन् ।
आजको दिनमा मनकामना मन्दिरसम्म जाने २–३ वटा सडक मार्ग छन्, केवलकार पनि उपलब्ध छ ।
तर २०३० सालमा पृथ्वी राजमार्ग बन्नु अगाडिसम्म मनकामना जान हिँडेरै जानुपथ्र्यो । काठमाडौंबाट मनकामना जान ४–५ दिन हिँड्नुपथ्र्यो । राजमार्ग बनेपछि पनि तनहुँको आँबुखैरेनीबाट कम्तीमा ४–५ घण्टा उकालो हिँड्नुपर्थ्यो ।
किनकी यो मन्दिर अग्लो डाँडाको टुप्पोमा छ । त्यसैले ज्येष्ठ नागरिक र अशक्तहरु मनकामना मन्दिर जानै सक्दैनथे । जानै परे कष्टपूर्ण यात्रा हुन्थ्यो वा भरियाले बोकेर लैजानुपर्थ्यो ।
त्यही कारण बन्यो, मनकामना केबलकार । यसको श्रेय गोरखाका लक्ष्मणबाबु श्रेष्ठलाई जान्छ ।
गोरखाको व्यापारिक परिवारका लक्ष्मणबाबु श्रेष्ठ नेपालको ख्यातीप्राप्त निर्माण व्यवसायी थिए ।
२०१६ सालमा चितवन झरेका उनको चितवन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनी अर्थात् चितवन को–ई नामको निर्माण कम्पनी थियो । क वर्गको यो निर्माण कम्पनीले सरकारी भवन, सिँचाइ आयोजना, अस्पताल, होटल–रेष्टुरेन्ट बनाएको थियो ।
एक समय लक्ष्मणबाबु युरोप घुम्न गएका थिए, उनले पहिलो पटक केवलकार देखे । युरोपमा केवलकार देखेपछि उनले उनले बाल्यकालको कल्पना ताजगी भयो, जतिबेला गोरखाबाट हिँडेर काठमाडौं आउँदा डोरीमा झुण्डिदै एउटा डाँडाबाट अर्को डाँडामा पुगेको कल्पना गर्थे ।
त्यसपछि उनी केवलकारको रिसर्चमा लागे । राणाकालदेखि नै नेपालमा हेटौंडादेखि काठमाडौंसम्म रोप वे सञ्चालन भएको थियो । हेटौंडामा एउटा ठेक्काको काम गर्दा उनले रोप वेको प्राविधिक र व्यवस्थापकीय पक्षबारे खुबै चासो राखेर अध्ययन गरेका थिए ।
हेटौंडा रोप वे सरकारी स्वामित्वको थियो । केवल मालसामान बोक्ने मात्र रोप वे थियो, मान्छे ओहोरदोहोर गर्न मिल्दैनथ्यो । सरकारी स्वामित्वको भएकाले यसको व्यवस्थापन त्यति राम्रो थिएन । २०५४ सालमा विद्युत ट्रान्सफर्मर बिग्रिएपछि यो पूर्ण रुपमा बन्द हुन पुग्यो ।
लक्ष्मणबाबु श्रेष्ठले अष्ट्रिया गएर रोप वे को प्राविधिक र आर्थिक पक्षबारे विस्तृत अध्ययन गरे । र, मनकामना मन्दिरसम्म जान केबलकार बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगे ।
जब उनले उद्योग मन्त्रालयमा गएर बुझे, मनकामनामा केवलकार बनाउने लाइसेन्स त अर्कैले लिइसकेको रहेछ । बिक्रम संवत २०४५ सालतिर सरकारले मनकामनामा केवलकार बनान इच्छुक व्यक्ति र संस्थाबाट दरखास्त मागेको थियो ।
त्यतिबेला ५ वटा दरखास्त परेको थियो, जसमध्ये एउटा कम्पनीलाई केबलरकार बनाउने लाइसेन्स दिइएको थियो । जसले लाइसेन्स पाएको थियो, उसले ७–८ वर्षसम्म पनि केवलकार बनाउन सकेन । तर लाइसेन्स भने प्रत्येक वर्ष नवीकरण गरिरहेको थियो ।
यो सबै बुझेपछि लक्ष्मणबाबुले उद्योग विभागका तत्कालिन निर्देशक भानु आचार्यसँग भेटे । लाइसेन्स लिएको मान्छेले केवलकार बनाउँदैन भने म बनाउँछु भने । यसमा आचार्यले लक्ष्मणबाबुलाई सहयोग गरे ।
उनले लाइसेन्स होल्डरलाई केवलकार बनाउन नसक्ने भए, रद्द गर्ने चेतावनी दिए । अनि प्रक्रिया पुर्याएर लाइसेन्स रद्द पनि गरिदिए । त्यसपछि मनकामनामा केवलकार बनाउन फेरि दरखास्त माग भयो । यो पटक भने लक्ष्मणबाबु श्रेष्ठको मनकामना दर्शन प्रा लिले केवलकार बनाउने लाइसेन्स पायो ।
यो भनेको २०५४ सालको कुरा हो ।
लाइसेन्स पाएपछि लक्ष्मणबाबु श्रेष्ठले केवलकार कहाँ राख्ने भनेर ठाउँ खोज्न थाले ।
मनकामना जाने पैदल बाटो त तनहुँको आँबुखैरेनीबाट थियो । उनले पनि आँबुखैरेनीबाटै केवलकार बनाउन सकिन्छ कि भनेर अध्ययन गरे । तर आँबुखैरेनीबाट केबुलकार बनाउँदा धेरै लामो पर्ने भयो । खर्च पनि धेरै लाग्ने भयो ।
अनि मनकामना जोड्ने छोटो विन्दूको खोजी गर्दा अहिलेको ठाउँ अर्थात्, चितवनको कुरिनटार नजिकै त्रिशूली किनारमा आइपुगे ।
अहिले मनकामना केवलकारको तल्लो स्टेशन रहेको ठाउँ पहिला भिरालो पाखो थियो । पृथ्वी राजमार्गबाट चार हात खुट्टा टेकेर भिरालो ठाउँ झरेपछि त्रिशुली नदी किनारको समतल भूभागमा पुगिन्थ्यो ।
तपाईं केवलकार चढेर मनकामना जानुभएको भए याद छ होला, केवलकारको तल्लो स्टेशनसम्म पुग्ने सडक निकै भिरालो र घुमाउरो छ ।
निर्माण व्यवसायमा लामो अनुभव त थियो, तर लक्ष्मणबाबुका लागि केवलकार निर्माण नयाँ काम थियो ।
उनले पोखराको फूलबारी रिसोर्ट बनाउने नेदरल्याण्डस्का आर्किटेक्ट पिटर गर्माराडलाई बोलाए । केवलकारको ल्याण्डस्केपिङ र आर्किटेक्चरल डिजाइन बनाउने जिम्मा दिए । अनि भवनहरुको डिजाइन भने नेपाली इन्जिनियर रामहरि श्रेष्ठबाट गराए । केबलकारको प्राविधिक अष्ट्रियाको प्रसिद्ध कम्पनी डोपलमायरबाट झिकाए ।
केवलको निर्माणको कठिनाइ
हामीले अघि नै कुरा गरिहाल्यौं, त्यतिबेला मनकामना जान पैदल हिँड्नु एक मात्र विकल्प थियो । त्यसैले केवलकार बनाउँदा चाहिने सबै सामानहरु कि त मान्छेले बोक्नुपर्थ्यो, कि खच्चडले ।
सिमेन्ट, गिटी, बालुवाजस्ता निर्माण सामग्री खच्चडलाई बोकाएर लगिएको थियो रड, लठ्ठा जस्ता सामानहरु भने मान्छेले बोकेर लगेका थिए । भरिया र खच्चडलाई सामान बोकेर लैजान पाँच घण्टासम्म लाग्थ्यो । अनि टावरहरु चाहिँ हेलिकप्टरबाट लगिएको थियो ।
त्यतिबेला मनकामनामा पानीको निकै दुःख थियो । केवलकार टावरहरु गाड्ने ठाउँमा पनि पानीको कुनै स्रोत थिएन । पानीका लागि वनमा रहेका कुवा र धाराहरुमा जानुपर्थ्यो ।
मनकामना केवलकारको टावर र स्टेशनको जगमा क्रंक्रिट जमाउनका लागि चाहिने पानी पनि मान्छेले एक घण्टासम्म हिँडेर गाग्रीमा बोकेर ल्याएका थिए । अष्ट्रियन इन्जिनियरहरु टावर बनिरहेको ठाउँको निरीक्षण गर्न ४–५ घण्टासम्म पैदल हिँडेर जान्थे ।
केवलकार निर्माणको काम धमाधम काम भइरहेको थियो । तर एक्कासी वीरगञ्ज भन्सारमा केवलकारका सबै सामान रोकियो । त्यतिबेला सरकारले प्रदूषणरहित विद्युतीय गाडीमा कर छुटको व्यवस्था गरेको थियो ।
केवलकार पनि विजुलीबाट चल्ने र प्रदूषणरहित सवारी साधन थियो । तर त्यतिबेलासम्म नेपालमा केवलकार निर्माणको परिकल्पना नै थिएन । त्यसैले केवलकारका सामानहरु कर छुट पाउनेको सूचीमा थिएन ।
लक्ष्मणबाबुले सरकार गुहारे । कर छुट हुने आशामा ३ महिनासम्म काम रोके । तर काम नभएर विदेशी प्राविधिकहरु फर्किने अवस्था आउँदा समेत सरकारबाट कर छुटको निर्णय भएन । अन्तिममा सबै सामान कर तिरेर ल्याए र काम अगाडि बढाए ।
२०५४ साल माघमा निर्माण सुरु भएको केवलकार केवल १० महिनामा तयार भयो । २०५५ मंसिर ८ गते तत्कालीन युवराज दीपेन्द्रले केवलकार उद्घाटन गरेका थिए ।
केवलकार निर्माणमा करिब ६५ करोड रुपैयाँ खर्च भएको थियो । यो रकम जुटाउन सहज भने थिएन ।
एकातिर मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । अर्कोतिर केवलकार निर्माण नयाँ काम थियो । त्यसैले लक्ष्मणबाबुले बैंकबाट ऋण पाउन पनि निकै गाह्रो भयो । बल्लतल्ल नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र तत्कालिन नेपाल बंगालादेश बैंकले मिलेर ऋण लगानी गरेका थिए ।
उनले ५ वर्षभित्र ऋण चुक्ता गर्ने गरी ऋण लिएका थिए, त्यो ऋण ७ वर्षमा चुक्ता गरेका थिए ।
अहिले त मनकामना केबलकारले आफूलाई अपग्रेड समेत गरेको छ । २०८० सालमा मनकामना केवलकारले आफ्नो सिंगो सिष्टमलाई एनालगबाट डिजिटलमा रुपान्तरण गरेको छ ।
केवलकारले ६ हजार मिटर लामो केवलकारको लठ्ठा, कम्युनिकेसन केबल, र गोन्डला ग्रिप फेरेको छ । सिस्टम अपग्रेडमा ५० करोड रुपैयाँ भन्दा धेरै खर्च गरेको छ ।
केवलकार सुरु गर्दा एनालग प्रविधि प्रचलनमा थियो, डिजिटल थिएन । तारहरु पनि पुरानो भइसकेको थियो, त्यसैले मर्मत सम्भार खर्च धेरै लाग्थ्यो । त्यसैले अहिले सबै परिवर्तन गरियो । अब मर्मत सम्भार खर्च घट्नुका साथै केवलकारको आयु २०–२५ वर्ष बढेको छ ।
केवलकारको योजना बनाउँदै गर्दा लक्ष्मणबाबुले कति मानिसले केवलकारबाट यात्रा गर्लान् भन्ने अनुमान गरेका थिए । छोरा राजेशबाबु श्रेष्ठका अनुसार त्यतिबेला वर्षमा ५ देखि ६ लाख मानिसहरुले केवलको चढ्न सक्ने अनुमान गरेर निर्माण थालिएको थियो ।
तर अहिले ५–६ लाख होइन वर्षमा १२ लाख भन्दा धेरैले मनकामना केवलकार चढ्ने गरेका छन् । चाडपर्व र बिदाको दिन असाध्यै भिड लाग्छ ।
दिनमै १०–१२ हजार जनासम्म पनि यात्रा गर्छन् । केवलकारकै कारण मनकामना क्षेत्रका धेरै होटल व्यवसाय चलेका छन् । मनकामनामा चलेका होटलहरुमा मात्र २ हजार भन्दा बढी बेड छन् ।
तीर्थयात्रा गर्नेहरुका लागि मनकामना सामान्य होटलहरु धेरै खुलेका छन् । तर अलि पैसा खर्च गर्छु र आरामदायी होटलमा बस्छु भन्नेका लागि मनकामनामा धेरै होटल खुलेका थिएनन् ।
त्यसैले लक्ष्मणबाबुको योजना केवलकारसँगै एउटा लक्जरी होटल पनि सञ्चालन गर्ने थियो । तर उनले आफ्नो जीवनकालमा होटल सञ्चालन गर्न सकेनन् । उनको २०७० सालमा निधन भयो ।
उनका छोराहरुले अहिले केवलकारको माथिल्लो स्टेशन नजिकै लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएका छन् । मनकामना घुम्न आउने विलासी पर्यटकलाई लक्षित गरेर सञ्चालन गरिएको यो रिसोर्टमा ४० वटा कोठा छन् ।
मनकामना क्षेत्रमा अरु पनि लक्जरी होटल थपिइरहेका छन् ।
पहिले पहिले केवलकार धेरै रहरको कुरा थियो । भर्खरै केवलकार निर्माण हुँदाताका मानिसहरु केवलकार हेर्न जान्थे । तर चढ्न डराउँथे, एक त त्यतिबेला बस चढ्नु भन्दा केवलकार चढ्नु धेरै नै महंगो थियो ।
अर्को चाहिँ डोरीमा झुण्डिरहेको केवलकारबाट लडिने हो कि भन्ने डर मानिसहरुमा थियो । स्कुलहरुले विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा केवलकार चढाउन होइन, देखाउन मात्र लैजाने गर्थे ।
आज केवलकार धेरै नै सर्वसुलभ भइसक्यो । दोलखाको कालीन्चोकमा केवलकार बनेको थियो । त्यसपछि त काठमाडौंको चन्द्रागिरि, चितवनको मौलाकाली, बुटवल, बन्दीपुर लगायत विभिन्न ठाउँमा केवलकार चलिरहेका छन् ।
थुपै ठाउँमा बनिरहेका छन् । यस अर्थ केबलकारमार्फत पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको श्रेय मनकामना केवलकारलाई जान्छ । तर अझै पनि केबलकार मास ट्रान्सपोर्टेसनको साधन बन्न सकेको छैन ।
सर्वोच्चमा न्यायाधीशहरुको गुटयुद्ध, कसरी जोडिए इनम सापकोटा ?
बूढीगण्डकी बाँध : बन्न सक्छ बाढी रोक्ने अचुक उपाय
विश्व बैंकले देखायो नेपाली अर्थतन्त्रको चित्र, स्वर्णिमले पार लाउलान् ?
नेपालमा बिजुली स्टोर गर्न ठूलो ब्यट्री सिस्टम जोडिँदै, के बदलिन्छ ?









