नेभिगेशन
Cricball Show

एनपीएलको डेब्यूमै सनसनी मच्चाउने राहुल को हुन् ?

काठमाडौं । मंगलबार साँझ त्रिवि क्रिकेट रंगशालामा रावलपिण्डी एक्सप्रेस अर्थात् शोयब अख्तर आकर्षणको केन्द्रमा थिए ।

अनि मैदानमा धेरैको नजर मोइन अलीमाथि थियो । दुई पटकका विश्व विजेता इंग्ल्याण्डका भेट्रान क्रिकेटर अली पहिलो पटक नेपाल प्रिमियर लिग खेलिरहेका थिए । 

पाकिस्तानी क्रिकेट बोर्डसँग विवादबीच डेब्यू गरेका पाकिस्तानी क्रिकेटर हुसेन तलात  पनि चर्चामा थिए ।

तर जसै कर्णाली याक्स र जनकपुर बोल्टको खेल सुरु भयो, एकएक छाए १७ वर्षे नेपाली क्रिकेटर राहुल यादव । नछाओस् पनि किन ? ट्यालेन्ट हन्टबाट जनकपुर बोल्टमा आबद्ध भएकाले उनले पहिलो खेलमै डेब्यू गरे । पहिलो बलमै विकेट लिए । समग्रमा २ विकेट लिए र याद गर्नुपर्ने नयाँ अनुहारमध्ये एकका रुपमा प्रस्तुत गरे । 

को हुन् राहुल ? 

रौतहटको खुला क्रिकेट मैदानमा खेलेर हुर्किएका प्रतिभाशाली किशोर हुन् राहुल यादव । उनको उमेर भर्खर १७ वर्ष भएको छ । अहिले पनि उनी कक्षा ९ मा अध्ययनरत छन् । 

तर, उनको क्रिकेट कौशल भने अब्बल छ । चन्द्रपुर क्रिकेट एकेडेमी, जहाँ राहुलले नियमित ट्रेनिङ गर्दै आएका छन्, त्यसका संस्थापक देवेन्द्र कार्कीका अनुसार युनिक एक्सन, बलमा भेरिएसन र पेश राहुलको विशेषता हो । उनी १३० किलेमिटर–परआवरको स्पीडमा बल फाल्न सक्छन् । 

राहुलले त्यहाँ क्रिकेट अभ्यास गर्न थालेको तीन वर्ष भयो । रौतहटमा पूर्व क्रिकेटरहरु मिलेर चन्द्रपुर युवा क्लब खोलेका छन्, जसले यो क्रिकेट एकेडेमी चलिरहेको छ । ७ वर्षदेखि २२ वर्षसम्मका ६०/७० जना पुरुष र १५–२० जना महिला विहान बेलुकी ट्रेनिङ गर्छन्, म्याच खेल्छन् । राहुल पनि नियमित प्रशिक्षण लिइरहेका छन् ।

गत वर्ष यु–१६ को मधेश प्रदेशस्तरीय प्रतियोगितामा त राहुल म्यान अफ दि सिरिज नै बनेका थिए । उनलाई राष्ट्रिय प्रतियोगिता खेल्छु, त्यसमा पनि राम्रो गर्न सके नेपालको यू–६ राष्ट्रिय टिममा स्थान बनाउनसक्छु भन्ने आत्मविश्वास पलाएको थियो । 

खै के कारणले हो, उनी यू–१६ को मधेश प्रदेश टिममा पर्न सकेनन् । वैकल्पिक खेलाडीमा मात्र परेपछि उनी निराश भए । अरु नै प्रदेशबाट खेल्ने वा लखनउ जाने जस्तो विकल्प समेत सोचेका थिए । परिवारको आर्थिक अवस्था कमजोर छ । बाबु आमा खेती किसानी गर्छन् । त्यसैले राहुललाई लखनउमा राखेर क्रिकेट प्रशिक्षण गराउने अवस्था छैन । अरु प्रदेशबाट खेल्नुभन्दा एकेडेमीमा बस, थप मिहिनेत गर भनेर सम्झाएपछि उनी तयार भए । 

संयोग, यो वर्ष एनपीएलको फ्रेन्चाइज टिम जनकपुर बोल्टले ट्यालेन्ट हन्ट रौतहटमै राख्यो । त्यो पनि चन्द्रपुर नगरपालिका–८ मा रहेको कोटिकोम क्रिकेट मैदानमा, जहाँ राहुलले नियमित खेल्ने गरेका छन् । ४४६ जनाले नाम लेखाए, त्यसमा राहुल पनि थिए । 

दुई दिनसम्म चलेको ट्यालेन्ट हन्टबाट ७ जना क्लोज क्याम्पका लागि छनोट भए । अन्तिममा राहुल आइकोनिक प्लेयर बन्न सफल भए । जब जनकपुर बोल्टमा आवद्ध भए, राहुल निकै उत्साहित थिए । अवसर पाए एनपीएल खेल्छु, नभए राष्ट्रिय अन्तराष्ट्रिय प्लेयरहरुसँग ड्रेसिङ रुम शेयर गर्छु, प्राक्टिस म्याच खल्छु भन्थे । 

चन्द्रपुर क्रिकेट एकेडेमीका संस्थापक देवेन्द्र कार्कीका अनुसार उनलाई भने खेल्ने सम्भावना छ भन्ने लाग्थ्यो । ‘मैले चाहिँ उसलाई भनेको पनि थिएँ, जनकपुरको टिममा पेस बलरको अभाव छ, तिमीले अवसर पाउने सम्भावना छ भन्थेँ, उनी भन्छन्, तर पहिलो म्याच नै खेल्छ भन्ने लागेको थिएन ।’ 

शायद, मंगलबार राहुलको दिन थियो । 

किनकी पाकिस्तानी प्लेयर हुनैन शाह खेलेको भए शायद उनले जनकपुरको पहिलो खेलमै डेब्यूको अवसर पाउने थिएनन् होला । तर एनओसी लिएर खेलाडीहरु आइसकेपछि पाकिस्तान क्रिकेट बोर्डले प्रति खेलाडी २५ हजार अमेरिकी डलर दिनुपर्ने नयाँ शर्त राख्यो । फ्रेन्चाइज टिम त्यो शुल्क तिर्न सक्ने अवस्थामा छैननन् । त्यसैले जनकपुर बोल्टले तीव्र गतिका युवा बलर हुनैन शाहसँगै अनुभवी अलराउण्डर इफ्तिखार अहमदलाई मैदानमा उतार्न सकेन । 

प्रशिक्षक र कप्तानले राहुलमाथि बेट लिए ।

नेपालमा क्रिकेट खेलिरहेका धेरैको ड्रिम हुन्छ कि एनपीएलको टिममा परौं, एनपीएलको टिममा परेका कति खेलाडि बेन्चबाटै सिजन सकाउँछन् । कमैले मात्रै अवसर पाउँछन् । तर, राहुले त्यो भाग्यशाली बने, जो ट्यालेन्ट हटबाट टिममा आए, टिमबाट सिधै पहिलो खेलमै प्लेइङ–इलभेनमा ।  
त्यो अवसरलाई राहुलले राम्ररी सदुपयोग पनि गरे । 

भयो के भने टस जितेर ब्याटिङ रोजेको जनकपुरको पहिलो ओभर मोइन अलीले ब्याटिङ गरे । उनले मार्क वाटको विकेट लिए । अर्को ओभर लिएर मार्की प्लेयर  ललित राजवंशी आए, तर दिपक डुम्रेले दुई छक्का हाने । त्यसपछि कप्तान हरमित सिंहले बल थमाइदिए, १७ वर्षका राहुललाई । दायाँ हाते मध्यम गतिका बलर यादवले छाटो रनअप लिए र आफ्नो शरीरको जोर लगाएर सर्ट डेलिभरी फाले । 

डुम्रेले कट गर्ने प्रयास गरेका थिए, तर बल ब्याटको तल्लो किनारामा लागेर स्टम्पमा ठोक्कियो र उनी बोल्ड भए । यसरी राहुल एनपीएलको पहिलो बलमै विकेट लिन सफल भए । 

उनको डेब्यू कथा यत्तिकै रोकिएन । पाकिस्तानका अनुभवी अलराउण्डर हुसैन तलातको विकेट समेत लिन सफल भए । पावर प्लेको अन्तिम ओभरमा आएका उनले तलातबाट अनिलकुमार साहको हातबाट क्याच आउट गराए । पुरै ४ ओभर बलिङ गरेका साहुलले जम्मा १५ रन खर्चिए । भलै उनको टिम जित्न सकेन, तर राहुलले धेरैको मन जितेको छ । 

जनकपुर बोल्टका कप्तान हर्मित सिंह भोलिका दिनमा उनी नेपाली क्रिकेटको अर्को ठूलो स्टार बन्नसक्ने देख्छन् । उनका अनुसार राहुलमा जुन गति छ, त्यो नेपालको राष्ट्रिय टोलीलाई चाहिएको छ । तर त्यहाँसम्म पुग्न उनले शान्त भएर निरन्तर मिहेनत भने गर्नुपर्छ । 

चन्द्रपुर क्रिकेट एकेडेमीका संस्थापक देवेन्द्र कार्की पनि एनपीएलको डेब्यूमा राहुलले जस्तो प्रदर्शन गरे त्यसबाट निकै खुसी छन् । यसले भोलिका दिनमा राहुलका लागि राष्ट्रिय टिमको ढोका खोल्नसक्छ । तर निरन्तर मिहेनत भने गर्नुपर्ने उनीको जोड छ ।

हाे, राहुलले पहिलो खेलमै राम्रो छाप छाडेका छन् । उनी अहिले नै स्टार भइसकेका छैनन् । उनले गर्नुपर्ने धेरै छ । तर, उनी सम्भावना भएका खेलाडीका रुपमा चिनिन पनि अरु खेलहरुमा अझै राम्रो गर्नुपर्ने छ । नेपालमा धेरै उत्कृष्ट युवा क्रिकेट प्रतिभाहरु छन्, जसलाई एनपीएल जस्ता प्लेटफर्मले अझै बाहिर ल्याउनेछ । राष्ट्रिय टिमसम्मको यात्रा पहिलेजस्तो सहज छैन । त्यसैले एउटा दुईटा खेलमा चम्किएर मात्रै हुँदैन, कन्स्सिटेन्सी मूल कुरा हो । 

तर, राहुलले जसरी आफूले पाएको मौकालाई पर्फमेन्सबाट प्रूभ गरे । लगातार उस्तै लयमा रहेर आफूलाई प्रुभ गर्नुपर्ने हुन्छ । एनपीएलमा मौका पाउनु नै ठूलो कुरा हो, अब आगामी गेममा उनले कसरी आफूलाई मैदानमा उर्ताछन् त्यो हेर्न रोचक हुनेछ । 

अब उनले लगातार राम्रो प्रदर्शन गरे भने उमेर समूहका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा उनले अवसरहरु पाउनसक्छन् । त्यसका लागि उनले अब आफ्नो एनपीएल डेब्युको प्रदर्शन संयोग थिएन भन्ने पुष्टि भने गर्नुपर्छ । 

नेपाली टोलीमा फास्ट बलिङ अप्सन अरुभन्दा कमजोर छ । पेस बलरहरु त धेरै छन्, तर सबै ठीकठाक मात्रै छैन । फास्ट बलिङमा नेपाली राष्ट्रिय टोलीलाई अहिल पनि एउटा उम्दा प्लेयर चाहिएकै छ । सोमपाल कामी र करण केसीले लामो समयदेखि धानेको फास्ट बलिङको जिम्मेवारीमा अब नयाँ प्रतिभाहरुको खोजी हुन थालिसकेको छ । त्यसैले राहुल र राहुल जस्तै प्रतिभाहरुले एनपीएल जस्ता प्लेटफर्मबाट आफूलाई प्रुभ गरे भने राष्ट्रिय टोलीको यात्रा त्यति धेरै लामो पनि छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Cricball Show