नेभिगेशन
Cricball Show

एनपीएलमा डीआरएस : क्यानले देला त सरप्राइज ?

एनपीएलको तेस्रो सिजन औपचारिक रुपमा सुरु हुन अझै एक महिना छ । तर पूर्व तयारीका काम तीव्र गतिमा भइरहेको छ । 

फ्रेन्चाइज टिमहरु ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गर्ने, विदेशी खेलाडीहरु अनुबन्ध गर्ने काममा जुटेका छन् । क्रिकेट संघ भने मैदानमा केके सुविधा थप गर्न सकिन्छ भनेर काम गरिहेको छ । त्यसमध्ये एक हो, डीआरएस । 

डिआरएस भनेको डिसिजन रिभ्यू सिस्टम हो । अब कुरा गरौं, डीआरएस भयो भने के हुन्छ ? 

एनपीएलको पहिलो र दोस्रो सिजनमा अम्पायरले गरेका थुप्रै निर्णयमा प्रश्न उठेका छन् । यदि  तपाईंले एनपीएलको दोस्रो सिजन क्लोजली फलो गर्नु भएको थियो भने रोहित पौडेलको स्टम्पिङ विवाद याद होला । 

२० नोभेम्बर २०२५ । लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्सको खेल थियो ।

पहिले ब्याटिङ गरेको चितवनले १४२/७ बनायो । जवाफी ब्याटिङमा रहेको लुम्बिनीका कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका थिए ।

१४औं ओभरमा आए कुशल मल्ल । पहिलो बलमै रोहितविरुद्ध स्टम्पिङ अपील भयो । विषय टीभी अम्पायर विनयकमुमार झासम्म पुग्यो । यहाँ मुख्य प्रश्न के थियो भने विकेट किपरले वेल्स हटाउँदा रोहितको ब्याक फुट जमिनमा थियो कि थिएन हेर्नुपर्ने भयो । 

टीभी अम्पायर झाले रिप्ले निकै लामो समय हेरे । करिव ५/७ मिनेट नै लगाए । र, रोहितलाई नट आउट दिए । 

टीभी अम्पायरको निर्णयमा चितवनका खेलाडीले आफ्नो असन्तुष्टि जनाए । विकेट विकर अर्जुन साउद मात्र होइन, विदेशी खेलाडीहरु रवि बापारा, डेभिड मलानले समेत असन्तुष्टि जनाए । 

अन्ततः चितवनले त्यो खेल हार्‍यो । उपाधिको दावेदार मानिएको चितवनलाई यो ठूलै धक्का थियो । 

यो त एउटा प्रतिनिधि घटना मात्र हो, एनपीएलको पहिलो र दोस्रो सिजनमा एम्पायरका थुप्रै निर्णयमा प्रश्न उठेको थियो । 

अम्पायरहरु पनि मानिस हुन् । उनीहरुले नाङ्गो आँखाले हरेको भरमा लिने निर्णयमा कहिले काँही त्रुटि हुन्छ । एनपीएल मात्र होइन, ठूलठूला अन्तराष्ट्रिय प्रतियोगिताका निर्णयहरु पनि विवादित बनेका छन् । त्यसलाई नै कम गर्न प्रविधिको प्रयोग सुरु भयो । 

१९९२ मा पहिलो पटक थर्ड अम्पायरको व्यवस्था भयो । भारत र दक्षिण अफ्रिकाको टेष्टमा टीभी रिप्ले प्रयोग गरेर रन आउट स्टम्पिङ जस्ता निर्णयमा मैदानका अम्पायरलाई सहयोग गरिएको थियो । 

२००८ मा डीआरएस आयो । भारत र श्रीलंकाको टेष्ट सिरिजमा पहिलो पटक खेलाडीले मैदानको अम्पायरको निर्णयमा चित्त नबुझे अर्थ अम्पायर समक्ष रिभ्यू गर्न पाउने प्रणाली परीक्षण गरिएको थियो ।

त्यो बेला आजको जस्तो डीआरएस थिएन । टीभी रिप्ले, विभिन्न क्यामेरा एंगल, स्टम्प माइक्रोफोन अर्ड अम्पायर एनालाइसिसका आधारमा रिभ्यू हुन्थ्यो । तर आज डीआएस टेक्नोलोजी निकै एड्भान्स भइसकेको छ । त्यसैले क्रिकेटमा यसको प्रयोग अपरिहार्य जस्तो भएको छ । 

आईपीएल मात्र होइन, विग ब्यास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगहरुमा प्रयोग भइरहेको छ । एनपीएलमा पनि दोस्रो सिजनदेखि नै डीआरएसको चर्चा भएको थियो । 

क्रिकेट संघका सचिव पारस खड्का अनुसार यो सिजन डीआरएसका लागि परीक्षण गरिएको छ, तर हुन नहुने कन्फर्म भइसकेको छैन । 

स्रोतका अनुसार क्यानले नेपालमा प्रयोग गर्न खोजिएको डीआरएस प्रविधिका लागि दुई वटा कम्पनीसँग कुराकानी भएको छ । दुबै कम्पनीका प्रतिनिधिले क्यानका साथै एनपीएपलका फ्रन्चाइज टिमका प्रतिनिधिहरुलाई पनि यसको एक्युरेसीबारे ब्रिफिङ गरेका थिए । 

डीआरएसमा फ्रेन्चाइज टिमको आपत्ति छैन । आयोजक क्यानले लागू गर्ने निर्णय गर्नासाथ सबै टिमले स्वीकार गर्ने अवस्था छ । त्यसो भए किन निर्णय हुन ढिलाइ भइरहेको छ त ? 

डीआरएसको उद्देश्य अम्पायरको निर्णयलाई पुनः जाँच गर्नु हो । सामान्ययता मैदानमा भएको निर्णयमा खेलाडीले रिभ्यू माग्न सक्छ । त्यसपछि थर्ड अम्पायरले उपलब्ध प्रविधिको प्रयोग गरेर उक्त निर्णय सही छ कि छैन हेर्छ । 

डीआरएसले कसरी काम गर्छ भनेर सुन्दा जति सहज लाग्छ, त्यो प्रविधि एनपीएलमा  ल्याउन कठिन छ । किनकी यो निकै महंगो र अत्याधुनिक क्यामेरा तथा ट्र्याकिङ सिस्टम हो । 

उपलब्ध विवरण अनुसार आईसीसीले एप्रुभ गरेको हुक आई डीआरएस टेक्नोलोजीको लागत १० हजार देखि १५ हजार डलर गर्छ । अर्थात नेपाली १५ देखि २२ लाख रुपैयाँ ।

यो सिंगो प्रतियोगिताको होइन, एउटा म्याचको कस्ट हो । एनपीएलमा कुल ३२ वटा खेल हुन्छ । अब आफैं हिसाब गर्नुस्, एनपीएलमा डीआरएस ल्याउन कति खर्च लाग्छ ? 

किनकी डीआरएस एकै खालको मात्र छैन । खासगरी सिमित रुपमा समेत यसलाई प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि भारतको रणजी ट्रिफीलाई लिन सकिन्छ । त्यहाँ लिमिटेड डीआरएस प्रयोग भएको छ ।

जतिबेला बीसीसीआईले घरेलु लिगमा डीआरएस प्रयोगबारे छलफल गरेको थियो, त्यसबेला प्रकाशित एउटा रिपोर्ट अनुसार प्रतिदिनको करिव डेढदेखि दुई लाख भारु अनुमान गरिएको थियो । आजको दिनमा यो केही बढेको होला । 

तर हुक आई डीआरएस टेक्नोलोजीभन्दा सस्तो छ । 

अघिल्ला वर्षहरुको आयव्यय हेर्दा एनपीएलको आर्थिक अवस्था राम्रो देखिएको छ । यो सिजन त टेलिभिजन ब्रोडकास्टिङ र ओटीटीबाट आउने रकम बढेको छ । त्यसैले क्यानले आँट गर्ने हो भने र फ्रेन्चाइज टिमहरुले साथ दिने हो भने डीआरएस असम्भव चाहिँ होइन । 

तर, कुन कम्पनीको ल्याउने ? तीनको एक्युरेसी रेट कति छ ? त्यो लिमिटेड सिस्टमले निर्णयमा हुने त्रुटि सच्याउन कति हेल्प गर्छ ? अनि यसमा हुने खर्च क्यानले कसरी जुटाउँछ ? यिनै विषयमा अहिले पनि छलफल चलिरहेको छ । 

सम्भवतः एनपीएलको यो सिजनमा नै क्यानले लिमिटेड डिआरएस सुरु गर्‍यो भने त्यो प्रशंसायोग्य हुने छ । किनकी एनपीएललाई सफल बनाउन यस्तो प्रणाली पनि चाहिएको छ, तर प्रतियोगितालाई दिगो बनाउन यसमा हुने खर्च सकेसम्म घटाउने चुनौती पनि छ । 

त्यसैले आशा गरौं, क्यानले यसपालि एनपीएलमा कुनै न कुनै सरप्राइज त दिन्छ नै । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Cricball Show