सर्वोच्चमा न्यायाधीशहरुको गुटयुद्ध, कसरी जोडिए इनम सापकोटा ?
राजनीतिक पार्टीभित्र त हामीले गुटगत झगडा देखेकै हो ।
तर अहिले देशको सर्वोच्च अदालतमै न्यायाधीशहरुबीच गुटगत झगडा देखिएको छ ।
गुटको झगडामा एक अर्काविरुद्ध मिडियाबाजी भइरहेको छ । त्यो पनि प्रहरी अनुसन्धानमा रहेको फाइल नै हत्याएर ।
गुटगत झगडामा एउटा गुटको नेतृत्व प्रधानन्यायाधीश आफैंले गरेका छन् । अर्को गुटमा केही वरिष्ठ न्यायाधीशहरु रहेका छन् ।
सर्वोच्चमा यो झगडाको सुरुवात त्यतिबेलै भएको थियो, जतिबेला प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नियुक्त भए ।
गत जेठ ५ गते भन्दा अगाडिसम्म सर्वोच्च अदालतमा शर्मा भन्दा वरिष्ठ ३ जना न्यायाधीश थिए । सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल । प्रधानमन्त्री बालेन शाह नेतृत्वको संवैधानिक परिषदको बैठकले वरिष्ठता मिचेर बहुमतबाट शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश भएपछि पनि शर्माले सबै न्यायाधीशको विश्वास जित्ने र एकता कायम गराउने प्रयास गरेनन् । बरु वरिष्ठ न्यायाधीशहरुलाई बाइपास गर्न थाले ।
त्यसको उदाहरणको रुपमा संवैधानिक इजलासको गठनलाई लिन सकिन्छ । संवैधानिक विवाद हेर्न सर्वोच्चमा ५ न्यायाधीशको संवैधानिक इजलास छ । संविधान अनुसार संवैधानिक इजलास गठनको अधिकार प्रधानन्यायाधीशलाई छ । तर हाम्रो सर्वोच्च अदालतको अभ्यास चाहिँ प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशहरु रहने थियो ।
प्रधानन्यायाधीश शर्माले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल नभएका बेला अरु दुई वरिष्ठ न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पनि संवैधानिक इजलासमा राखेनन् । यसै पनि शर्माको नियुक्तिप्रति वरिष्ठ न्यायाधीशहरु खुसी थिएनन् । त्यसमाथि शर्माले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई नराखेपछि थप दुरी बढ्यो ।
त्यही बेला वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल लगायतलाई सत्तारुढ दल रास्वपाले महाअभियोग लगाउन सक्ने सूचनाहरु सार्वजनिक भए । त्यसले न्यायाधीशहरु त्रसित भए ।
त्यही बेला न्यायाधीशहरुको सम्पर्कमा एउटा व्यक्ति आए, इनम सापकोटा । उनले आफूलाई प्रधानमन्त्री बालेन शाहको नजिक मान्छे भनेर चिनाए । अनि विदेशका दूतावाससँग पनि आफ्नो सम्बन्ध छ भनेर बताए ।
न्यायाधीशहरुको मनोविज्ञान बुझेका सापकोटाले प्रधानमन्त्रीको विशेष सन्देश लिएर आएको छु, महाअभियोगसँग डराउनुपर्दैन भनेर थप नजिक भए ।
त्यसपछि सापकोटाको न्यायाधीश फुयालसँग नियमित सम्पर्क भइरह्यो । केही सञ्चारकर्मी र नेपाल बार एशोसिएसनका प्रतिनिधिसँगको भेटमा न्यायाधीश फुयालले नै यो कुरा स्वीकार गरेका छन् ।
जब नजिक भए, सापकोटाले अदालतमा भएका मुद्दा मामिलामा चासो राख्न थाले । उनी प्रधानमन्त्रीको हवाला दिँदै कुरा गर्थे । प्रधानमन्त्रीको चाहना यस्तो छ, उस्तो छ भनेर सुनाउँथे ।
न्यायाधीश फुयालको त्यो सम्वाद
न्यायाधीश फुयाँल र इमनबीच भएको ह्वाट्स एप संवादको एउटा अंश बिहीबार सार्वजनिक भएको छ ।
सार्वजनिक स्क्रिनसटमा सापकोटाले न्यायाधीश फुयाललाई ‘गुड मनिङ हजुर’ भन्दै सर्वोच्चको पेशी सूचीमा एउटा मुद्दालाई हाइलाइट गरेर पठाएका छन् । अनि यसलाई रोक्ने है त हजुर भनेर म्यासेज लेखेका छन् । उनले प्रधानमन्त्रीले नै यो मुद्दालाई गम्भीर रुपमा लिएको भन्दै लेखेका छन्, ‘खारेज नै गरिदिनुहोला है त हजुर ।’
त्यो संवाद भएको थियो गत भदौ १७ गते । त्यो दिन न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिट थियो । त्यो रिट थियो, विचौलिया दीपक भट्टसँगै धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा पक्राउ परेका रोहित गुप्ताको ।
बिहान १० बजेतिर सर्वोच्चले गोला प्रथाबाट पेशी सूची सार्वजनिक गर्छ, कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्यो भन्ने त्यतिबेलै थाहा हुन्छ । त्यसपछि नै इनमले न्यायाधीश फुयाललाई बिहान १० बजेर २२ मिनेटमा म्यासेज लेखेका थिए ।
इनमले रिट खारेज गरिदिनू भने पनि न्यायाधीशद्वय फुयाल र पौडेलको इजलासले रोहितको रिट खारेज गरेन । बरु उनलाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो ।
रोहित गुप्ता रिहाको आदेश गरेको साँझ फुयालले सापकोटाको म्यासेज ढिला देखेको भन्दै म्यासेज रिप्लाइ गरे – धरौटीमा छाड्नुपर्ने भ्यालिड ग्राउण्ड थियो । त्यस भन्दा अगाडि फुयालले लेखेका छन्, ‘भोलि साँझ ७ बजेतिर होटल हिमालयमा भेटौं ।’
न्यायाधीश फुयालका अनुसार त्यो भेटमा उनी मात्र थिएनन्, सर्वोच्चका अरु ५–६ जना न्यायाधीश पनि पुगेका थिए । अनि, इनमले आफूले भनेअनुसार आदेश नआएको भन्दै आक्रोश पोखेका थिए । सर्वोच्चमा विचाराधीन केही मुद्दामा के आदेश हुनुपर्छ भनेर सूची थमाएका थिए । नभए महाअभियोग लाग्नसक्छ भनेर धम्की दिएका थिए ।
त्यसपछि न्यायाधीशहरुले इमनबारे थप बुझ्न चाहे । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर यो मान्छे को हो ? लौ न पत्ता लगाइदिनुपर्यो भनेर आग्रह गरे ।
तर प्रहरी महानिरीक्षकले झन् डर देखाइदिन्छन्– यसको सम्बन्ध धेरै माथिसम्म छ, सजग हुनुहोला । त्यसपछि न्यायाधीशहरुले इनमबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग बुझेपछि उनको वास्तविकताबारे धेरै हदसम्म थाहा भएको न्यायाधीश फुयालले पत्रकार र बार एशोसिएसनका प्रतिनिधिहरुलाई बताएका छन् ।
उनका अनुसार इनमको गतिविधिबारे प्रधानमन्त्रीको टिमलाई पनि न्यायाधीशहरुले नै खबर गरेका थिए । त्यसपछि नै हो, प्रहरीले असोज १० गते मध्यरातमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई घरबाट उठाएको ।
अनि, उनको मोबाइलको अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा असोज १४ गते इनम सापकोटालाई पक्राउ गरेको ।
पक्राउविरुद्ध सापकोटाकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । त्यो रिट न्यायाधीश फुयाल र सुनिलकुमार पोखरेलको इजलासले २३ असोजमा रिट खारेज गरिदिएको थियो ।
सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । तर अनुसन्धानका क्रममा खुलेको तथ्यहरु हात पारेर सर्वोच्च न्यायाधीशहरुले एकअर्काविरुद्ध प्रयोग गर्न थालेका छन् ।
समाचार वार
सुरुमा बिहीबार बिहान नयाँ पत्रिकाले समाचार छाप्यो, न्यायालयमा सेटिङ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको सम्वाद ।
पत्रिकाले भदौ १७ गत न्यायाधीश फुयाल र इमनबीच भएको सम्वादको निश्चित अंश मात्र छापेको छ । त्यसमा इनमले के भनेर म्यासेज गरेका थिए भनेर देखिँदैन, फुयालको जवाफ र इनमसँग भोलि भेटौं भनेको मात्र देखिन्छ । नयाँ पत्रिकाको फ्रन्ट पेजमा छापिएको समाचारले खैलाबैला मच्चियो ।
बिहीबार नै दियोपोस्ट नामको अनलाइनले अर्को कागज सार्वजनिक गर्यो, जसमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा, ओखलढुंगाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल र सशस्त्र प्रहरीका तत्कालिन एआईजी वंशीराज दाहालको नाम छ ।
वंशीराज दाहाल तिनै एआईजी हुन्, जो प्रधानमन्त्री बालेन शाहको सूचना इनम र उनीमार्फत चोलेन्द्रशम्शेर जबरासम्म पुर्याएको आरोपमा हालै मात्र बर्खास्तमा परेका थिए ।
तीन जनाको नाम मुछिएको यो कागजमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको कमिसनवापत १ लाख ७४ हजार ३३३ अंक बैंक खातामा जम्मा गर्नुपर्ने भनेर अमेरिका र नेपालका दुईवटा एकाउन्टको नाम र नम्बर दिइएको छ ।
त्यो कागजमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको छाप समेत छ । स्रोतको दाबी छ कि यो कागज इनमको मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको फाइलमै समावेश छ ।
घटनाक्रमलाई नजिकबाट नियालिरहेका कानुन व्यवसायीहरु यो घटना न्यायालयभित्रको झगडाको प्रतिफल हो भन्छन् ।
उनीहरुका अनुसार सर्वोच्चका न्यायाधीशहरु दुई कित्तामा बाँडिएका छन् र, एउटा पक्षले आफ्नो स्वार्थमा अर्को पक्षको पोल खोल्ने काम भइरहेको छ ।
स्रोतका अनुसार न्यायाधीश हरिप्रसाद फुयालले विचौलियासँग कुराकानी गरेको र भेटेको प्रमाण प्रधानन्यायाधीश मनोजकुमार शर्मा पक्षले नेपाल प्रहरीको उच्च नेतृत्वबाट हात पारेको थियो ।
प्रधानन्यायाधीश पक्षले नै त्यो ह्वाट्स एप कुराकानीको स्क्रिनसट बाहिर ल्याएको थियो ।
तर इनम सापकोटामाथिको अनुसन्धानमा प्रहरीले प्रधानन्यायाधीशबारे पनि केही कागजात संकलन गरेको थियो । जसलाई अर्को पक्षले पनि हात पारेर सार्वजनिक गरिदियो । एक कानुन व्यवसायी भन्छन्, ‘सर्वोच्च अदालतका न्यायाधीशहरुबीच एक पक्षको स्वार्थमा अर्को पक्षको पोल खोल्ने काम भइरहेको छ, तर कोही चोखा छैनन् ।’
पहिला सरकार र सत्तारुढ दलबाट कतिपय न्यायाधीशहरुलाई जहिले पनि महाअभियोग लाग्न सक्छ भनेर तर्साउने काम भयो ।
त्यो कुरा विचौलियाले थाहा पायो । अनि विचौलियाले प्रधानमन्त्री र विदेशी शक्तिसँग नजिक छु भनेर सम्बन्ध बनाएर न्यायाधीशलाई आफ्नो अनुकुल प्रयोग गर्न खोजेको देखिन्छ ।
अनि विचौलियासँगको सम्बन्धलाई लिएर न्यायाधीशहरुले नै एक अर्कालाई पोलापोल गर्ने अवस्थासम्म आएको छ ।
अनि, यसलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवादले सघाएको छ । रास्वपाभित्रको असन्तुष्टि सार्वजनिक रुपमा पोखिएको छैन । तर प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच जुन खालको समझदारी हुनुपर्ने हो, त्यो भएको देखिन्न । अझ पछिल्लो समय त दुई नेताबीच दुरी बढेको खबरहरु आएका छन् ।
अनि, प्रधानन्यायाधीश शर्माको निकटता रास्वपा सभापति रवि लामिछानेसँग छ । रविकै जोडबलमा प्रधानमन्त्रीले शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गराएका थिए । तर सर्वोच्च अदालतबाटै सरकारको एकपछि अर्को निर्णय उल्ट्याउने आदेश र फैसला आएपछि प्रधानमन्त्री र उनको टिम प्रधानन्यायाधीश शर्मासँग असन्तुष्ट छ ।
त्यो बुझेपछि प्रधानन्यायाधीश शर्माको विपरीत खेमाका न्यायाधीश भने प्रधानमन्त्रीको विश्वास जित्ने प्रयासमा देखिन्छन् ।
कारण जे सुकै होस्, इनम प्रक्राउ परेपछि सार्वजनिक भएको सूचनाहरुले न्यायाधीशहरुमाथि गम्भीर प्रश्न उठेको छ । न्यायाधीश हरि फुयालले त इनमसँग सम्वाद भएको र भेट गरेको स्वीकार गरेका छन् । भलै, कुन सन्दर्भमा भेट भएको भन्ने उनको आफ्नो तर्क छ ।
न्याय सम्पादनमा विचौलियाको प्रभाव नपरेको दाबी गरेका छन् । न्याय सम्पादनमा उनीबाट अन्यथा भएको छैन भन्ने मान्ने हो भने पनि इनमसँग भेट्नु उनको कमजोरी हो । न्यायाधीशको आचारसंहिता विपरीतको काम हो । जुन सर्वोच्चका वरिष्ठ न्यायाधीश हरि फुयालबाट भएको छ ।
प्रधानन्यायाधीश शर्मामाथि पनि प्रश्न उठ्यो नै । जतिबेला उनी सर्वोच्च अदालतमा न्यायाधीश भएका थिए, त्यतिबेलै उनको योग्यता र निष्ठामाथि प्रश्न उठेको थियो ।
अहिले जसरी प्रधानन्यायाधीश बनाइयो र प्रधानन्यायाधीश भएपछि जेजे घटनाक्रम भए त्यसले उनी झन् झन् प्रश्नको घेरामा छन् । इनम सापकोटामाथि अनुसन्धानका क्रममा भेटिएको, लेनदेनको आशंका गरिएको कागज सार्वजनिक भएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मा पनि प्रश्नबाट भाग्ने अवस्था छैन ।
सँगसँगै प्रधानमन्त्री र सत्तारुढ पार्टी रास्वपा पनि प्रश्नबाहिर छैन । किनकी प्रधानमन्त्रीको नाम लिएर डर त्रास देखाएको वा प्रभावमा पार्न खोजेको यो पहिलो घटना होइन । अझ यस्तो घटना न्यायालयमै हुनु चिन्ताको विषय हो ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार यो घटनाले न्यायपालिका अहिले कार्यपालिकाको छायाँमा परेको छ । प्रधानमन्त्रीको मान्छे हो भनेपछि न्यायाधीशले जसलाई पनि भेट्नुपर्ने, महाअभियोगको त्रास देखाएर न्यायाधीशलाई जस्तोसुकै दबाब पनि दिन सकिन्छ भन्ने देखिएको उनको भनाइ छ ।
नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र पनि प्रधानमन्त्रीले हाम्रो नाम लिएर कोही आउलान्, तर तपाईंहरुले संविधान र विधि नै हेर्ने हो भनेर विश्वास दिलाउन सकेको भए अहिलेको परिस्थिति नआउने बताउँछन् । तर सरकारले त्यो विश्वास दिलाउन सकेन ।
बरु सत्तारुढ दलकै नेता तथा सांसदहरुले महाअभियोगको धम्की दिँदै हिँडे । त्यही मौकामा विचौलियाहरुले खेलेका हुन् । यो घटनाले न्यायाधीशले कसलाई भेट्न हुने र कसलाई नहुने भन्ने विषयमा नियम बनाउनुपर्ने देखिएको छ ।
कसरी बनेको थियो नेपालको पहिलो केवलकार ?
बूढीगण्डकी बाँध : बन्न सक्छ बाढी रोक्ने अचुक उपाय
विश्व बैंकले देखायो नेपाली अर्थतन्त्रको चित्र, स्वर्णिमले पार लाउलान् ?
नेपालमा बिजुली स्टोर गर्न ठूलो ब्यट्री सिस्टम जोडिँदै, के बदलिन्छ ?









