नेभिगेशन
अर्थ

बूढीगण्डकी बाँध : बन्न सक्छ बाढी रोक्ने अचुक उपाय

बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीसँगै १२ सय मेगावाटको जलासययुक्त विद्युत आयोजनाको भविष्यका विषयमा अनेक टीका टिप्पणी हुन थालेको छ । 

यो आयोजना बनेको भए अहिले के हुन्थ्यो होला ? भनेर अनुमान पनि भइरहेका छन् । 

यो बाढीले बूढीगण्डकीमा त्यस्तो अग्लो बाँध बनाउनु झन् जोखिम पो हुने रहेछ भन्ने आशंका पनि जन्माइदिएको छ । 

किनकी पछिल्लो समय कहिले हिमनदी विस्फोट भएर त कहिले पहाड नै खसेर एक पछि अर्को नदीमा बाढी आइरहेको छ । यसै वर्ष मात्र भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकीमा त्यस्तो बाढी आयो ।

त्यसैले बूढीगण्डकी जस्तो बाढीको जोखिम भएको नदीमा जलासययुक्त आयोजना बनाउनु उचित होला ? अझ भनौं अब बूढीगण्डकी आयोजना बनाउने कि रोक्ने भन्ने बहससमेत यो बाढीले जन्माइदिएको छ । 

तर बाढी आउँछ भनेर नदीबाट विजुली नै ननिकाल्ने त ? जलस्रोतका कतिपय विज्ञहरु त झन् जलाशययुक्त आयोजनाले त बाढी रोकथाममा सहयोग पुर्‍याउने समेत बताउँछन् । 

बूढीगण्डकीमा जलासययुक्त आयोजना बनाउने भन्न थालेको दुई दशक भयो । 

२०७१ सालमै विस्तृत परियोजना प्रतिवेदन अर्थात् डीपीआर बन्यो । आयोजनाले डुवान क्षेत्रमा पर्ने झण्डै ५० हजार रोपनी जग्गाको मुआब्जा समेत वितरण गरिसक्यो । आयोजनाकै लागि भनेर इन्धनमा कर समेत उठाइयो । 

तर आयोजनाको निर्माण सुरु हुन पनि सकेको छैन । त्यसको मुख्य कारण राजनीतिक हो । भदौ १० को भोटेकोशी र असोज २५ गते बूढीगण्डकीको बाढीपछि भने प्राकृतिक कारणले पनि आयोजनामाथि प्रश्न उठेको छ ।

किनकी बूढीगण्डकी जलासययुक्त आयोजना हो । बगिरहेको बूढीगण्डकी थुनेर ठूलो जलासय बनाउने र त्यही जलासयको पानीबाट निरन्तर विजुली निकाल्ने हो । यसका लागि बूढीगण्डकी आयोजनाको बाँध, पृथ्वी राजमार्गको बेनिघाट नजिकै त्रिशूली र बूढीगण्डकीको संगमस्थलदेखि २ किलोमिटर उत्तरमा बनाउने योजना छ । 

यो ठाउँ असोज २५ गते बूढीगण्डकी नदीमा जहाँबाट बाढी सुरु भयो, त्यो भन्दा करिब १०० किलोमिटर दक्षिणमा पर्छ । त्यहाँ नदीको बहाब थुनेर २६३ मिटर अग्लो बाँध बाँध्ने योजना छ । २६३ मिटर अग्लो बाँध बनाउँदा ४० किलोमिटर उत्तरसम्म र दायाँबायाँ पनि धेरै फैलिएर ६३ वर्ग किलोमिटरको ठूलो तलाउ बन्नेछ । 

त्यो तलाउ पोखराको फेवाताल भन्दा १५ गुणासम्म ठूलो हुन्छ । गोरखातर्फ ४ गाउँपालिका र धादिङतर्फ ४ गाउँपालिकाका दर्जनौं बस्ती र खेतीयोग्य जमिनहरु डुबाउँछ । करिब ६० हजार रोपनी व्यक्तिगत जग्गा डुबानमा पर्ने छ । डुवानमा पर्नेमध्ये ५० हजार रोपनी जग्गा सरकारले मुआब्जा दिएर अधिग्रहण गरिसकेको छ । 

बूढीगण्डकी बनेको भए के हुन्थ्यो ? 

हाम्रा धेरै नदीहरु साँघुरो एरिया लिएर बगेका हुन्छन् । वर्षायाममा पानी परेर वा हिमालमा आउने विभिन्न संकटले एक्कासी ठूलो बाढी आउँछ, त्यतिबेला नदीहरु आफ्नो एरिया भन्दा बाहिर पनि फैलिन पुग्छन् । त्यसले गर्दा वरपरको बस्ती, खेतीयोग्य जमिन र पूर्वाधारहरु समेत बगाउँछ । 

अहिले त्रिशूली, बूढीगण्डकी र कालीगण्डकी मात्र होइन, जुन नदी र खोलामा बाढी आए पनि भएको यही हो । 

यदि जलासययुक्त आयोजना बनेको हुन्थ्यो भने ? 

बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद देवकोटाका अनुसार बूढीगण्डकी आयोजनाको जलासयमा १२ करोड घरमिटरसम्म पानी जम्मा हुन्छ । यसको अर्थ, बूढीगण्डकीको बाढी ६३ वर्ग किलोमिटरको विशाल जलासयभरि फैलिन्थ्यो । गेग्रान, ढुंगा र माटोहरु जलासयकै छेउछाउमा थुपार्थ्यो । 

इन्जिनियरसमेत रहेका देवकोटाका अनुसार एक त, यस्तो जलासयमा मिसिने वित्तिकै बाढीको गति र घनत्व घट्न जान्छ । 

अर्को, बाढीको पूर्वसूचना पाउने बित्तिक्कै जलासयको नियन्त्रि रुपमा पूर्वा सूचना दिएर ढोका खोलेर जलासयको सहत घटाउन सकिन्थ्यो । ताकी बाढी आइपुगेपछि त्यसको पानी सबै जलासयले थेग्न सकोस् । अनि खाली भएको विशाल जलासयले बाढीको पानी पनि थेग्न सक्थ्यो । 

त्यसैले जलासययुक्त आयोजनाहरु चाहिएका बेला बिजुली दिने मात्र होइन, बाढी नियन्त्रण, जलयातायात सञ्चालन र तल्लो तटीय क्षेत्रमा निरन्तर पानीको प्रवाह गर्ने बहुउद्देश्यीय हुने उनी बताउँछन् । इन्जिनियर देवकोटाको भनाइ छ, ‘भोटेकोशी र बूढीगण्डकी बाढीका कारण नदीहरुमा जलासययुक्त आयोजनाको महत्व झनै बढेको छ ।’ 

नेपालमा बाढी आउने भनेको वर्षायामको चार महिना हो । त्यो चार महिनामा पनि नदीमा निरन्तर बाढी आइरहने होइन । अझै असाध्यै ठूलो बाढी आउने कुनै कुनै वर्ष हो । त्यो पनि दिनभरि वा लामो समयसम्म आइरहने होइन । 

त्रिशूलीकै बाढीको कुरा गर्ने भने करिब १० देखि १५ मिनेट आएको थियो । बूढीगण्डकीमा पनि करिब त्यति नै समय बाढी आएको हो ।

त्यसैले भोटेकोशी र बूढीगण्डकीको बाढीलाई हेरेर जलविद्युत आयोजना बनाउने कि नबनाउने भनेर निष्कर्ष निकाल्नु नहुने तर्क पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको छ । उनका अनुसार यस्तो बाढीलाई नियन्त्रण गर्न जलाशययुक्त आयोजना झन् प्रभावकारी हुनसक्थ्यो । 

बूढीगण्डकी जलविद्युत कम्पनीका सीईओ अरुण रजौरियाका अनुसार कुनै पनि नदीमा विद्युत आयोजना बनाउँदा विजुली मात्र निकाल्ने गरी सोच्नु हुन्न । बाढी नियन्त्रण र नदी तटीय क्षेत्रको समग्र व्यवस्थापनको हिसाबले सोच्नुपर्छ । यसको एउटा विकल्प ठूला जलासययुक्त आयोजना हुन् । 

बाढीलाई रोक्न सक्ने तागत ठूला जलासयहरुसँग नै हुन्छ, किनकी जलासययुक्त आयोजना बनाउँदा नै इमर्जेन्सी होल्डिङ एरिया छुट्याइएको हुन्छ । ढुंगा, माटो गेग्रान डिपोजिट गर्ने ठाउँ पनि उपलब्ध हुन्छ । जलासयले बाढीलाई थेगेर नियन्त्रित रुपमा मात्र तल्लो तटीय क्षेत्रमा पानी पठाउन सक्छ । 

यसै पनि जलासययुक्त जलविद्युत आयोजनाको जलासय सधैं भरिभराउ हुँदैन । बिहान र साँझको पिक आवरमा बिजुली निकाल्दा तालको पानी घट्छ । विजुली ननिकालेका बेला पानीको शतह बढ्छ । 

बूढीगण्डकी जलविद्युत आयोजनाकै कुरा गर्ने हो भने यसको जलासयमा एकै दिन पानीको सतह जति बढ्छ, बिजुली निकालेको समयमा एक दिनमा बढेको सतह बराबरकै पानी उपयोग हुनसक्छ । 

थ्री गर्जेजको उदाहरण 

यस्तो बाढीमा के हुनसक्छ भनेर अन्तर्राष्ट्रिय अनुभवबाट पनि सिक्न सकिन्छ । ठूलो बाँध बाँधेर बाढी नियन्त्रण गरेको प्रमुख उदाहरण हो, चीनको थ्री गर्जेज ड्याम । चीनले याङ्जी नदीमा बाँध बाँधेर २२ हजार ५ सय मेगावाट विजुली निकालिरहेको छ । यो ड्यामबाट बिजुली निकाल्ने काम मात्र भएको छैन । याङ्जी नदीमा आउने बाढीको व्यवस्थापन पनि भइरहेको छ ।

याङ्जी नदी किनारमा मात्र ४० करोड मानिसको बसोबास छ । त्यहाँ चीनको कुल धान उत्पादनको ६६ प्रतिशत धान उत्पादन हुन्छ । 

थ्री गर्जेज ड्याम नबन्दासम्म याङ्जी नदीमा आउने बाढीका कारण चीनको वुहान, नानजिङ र सांघाइमा नदी किनारमा लाखौं मानिसहरु बाढीको जोखिममा थिए, धेरै खेतीयोग्य जमिन बाढीले नष्ट गर्थ्यो । 

सन् २००६ मा जब थ्री गर्जेज ड्याम बन्यो, बाढीको जोखिम हटेको छ । किनकी याङ्जी नदीमा आउने बाढीको पानी थ्री गर्जेज ड्याममा जम्मा हुन्छ । 

थ्री गर्जेज ड्यामको क्षमता २२ अर्ब १५ करोड घनमिटर पानी रोक्न सक्ने छ । हरेक वर्ष बाढी आउने समयमा थ्री गर्जेज ड्याम खोलेर पानीको मात्रा घटाइएको हुन्छ । जसले गर्दा बाढी आउँदाको पानी ड्याममा नै भरिएर बसिराख्छ, त्यसले कतै पनि क्षति गर्दैन । 

सन् २०१६ को वर्षायाममा याङ्जी नदीमा ५० हजार घनमिटर प्रतिसेकेण्डको दरमा बाढी आएको थियो । त्यो पानी थ्री गर्जेज ड्याममा होल्ड गरियो र ड्यामबाट ३१ हजार घनमिटर प्रति सेकेण्डको दरमा पानी खोलियो ।

ड्यामकै कारण तल्लो तटीय क्षेत्रमा बाढीको पानी एकै पटक जानबाट रोकियो । 

सन् २०१८ मा ५३ हजार क्युविक मिटर प्रतिसेकेण्डको गतिमा बाढी आयो । त्यो बेला ड्यामबाट भने ४० हजार मिटर प्रतिसेकेण्डको गतिमा पानी डिस्चार्ज गरियो । यसले देखाउँछ कि ठूलो ड्याम भयो भने बाढीको पानीलाई लामो समय होल्ड गर्न सकिन्छ । तल्लो तटीय क्षेत्रमा पनि जोखिम घट्छ । अनि पानी छाड्दा पनि नियन्त्रित रुपमा छाड्न सकिन्छ । 

नेपालमा अहिलेसम्म नदीहरुको तटीय क्षेत्र व्यवस्थापनबारे खासै छलफल भएको छैन । कहाँसम्म बस्ती बस्न मिल्ने, कहाँबाट सडक लैजाने, सामान्य अवस्थामा नदी बग्न कति ठाउँ चाहिन्छ, बाढी आएका बेला कति ठाउँ चाहिन्छ भन्ने कुनै अध्ययन भएको छैन । भोटेकोशी र बूढीगण्डकी बाढीले नदी तटीय क्षेत्र व्यवस्थापनको बहस पनि सुरु भएको छ, जुन आफैंमा सकारात्मक मान्नुपर्छ । 

बाढी आउँछ भनेर जलविद्युत आयोजनाहरु नबनाउने कुरा हुँदैन । हामीले त्रिशूली र बूढीगण्डकी जस्ता ठूला नदीमा जलविद्युत आयोजनाहरु बनाउनुपर्छ । यत्ति हो, जलविद्युत आयोजना बनाउँदा खाली बिजुली निकाल्ने मात्र नभई बहुउद्देश्यीय ढंगले सोच्नुपर्छ । 

बाढी नियन्त्रण पनि गरोस्, सिँचाइका लागि पानी उपलब्ध गराओस् । जलयातायात चलाउन सकियोस्, अनि तल्लो तटीय क्षेत्रमा पनि हिउँद वर्षा जुनसुकै समयमा निरन्तर एउटै गतिमा पानी प्रवाह गरिरहोस् । 

यो सबै सम्भावना बूढीगण्डकी जलासययुक्त आयोजनामा छ । 

बूढीगण्डकी जलविद्युत कम्पनीका सीईओ अरुण रजौरियाका अनुसार जलाशय बनाउनु मात्र बाढी नियन्त्रणको विधि चाहिँ होइन । 

जलासयमा वर्षा र पानीको अवस्था मापन गर्न सक्ने प्रविधि हुनुपर्छ । जलाशयमा पानीको लेभलको रियल टाइम अनुगमन गर्न सक्नुपर्छ, अनि बाढीको पूर्वअनुमान प्रणाली र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना पठाउने प्रणाली पनि बनाउनुपर्छ । ड्यामको सुरक्षालाई असाध्यै प्राथमिकता दिनुपर्छ ।

कस्तो बन्दैछ बूढीगण्डकी जलासयको बाँध ? 

जस्तो सुकै बाढीलाई पनि जलासयहरुले थेग्छ भन्ने होइन । बूढीगण्डकी जलविद्युत कम्पनीका सीईओ अरुण रजौरियाका अनुसार अहिले बूढीगण्डकीमा बनाउने भनिएको ड्यामले असोज २५ को जस्तो बाढीलाई सजिलै थेग्छ । किनकी बूढीगण्डकीमा डबल आर्क कर्भेचर ड्याम बनाउने डिजाइन छ । 

डबल आर्क कर्भेचर ड्याम भनेको एक प्रकारको कङ्क्रिट बाँध हो, जुन होरिजेन्टल र भर्टिकल दुवै दिशामा घुमाउरो वा धनुषाकार अर्थात् आर्क सेप्ड हुन्छ ।

यसको माथिल्लो भाग पानीतिर फर्केको धनुषको आकार अर्थात् तेर्सो कर्भेचरमा हुन्छ र यसको पर्खाल माथिबाट तलतिर जाँदा पनि ढल्केको वा झुकेको ठाडो वा भनौं कर्भेचर हुन्छ । 

यसले पानीको दबाबलाई सीधा तल मात्रै नभई, बाँधको दुवै छेउमा रहेका कडा पहाडी चट्टानहरू धकेल्छ  यसले गर्दा पानीको विशाल भारलाई थेग्न बाँधलाई निकै बल मिल्छ । 

डबल आर्क ड्यामहरु विश्वका सबैभन्दा सुरक्षित र बलियो बाँ प्रविधिमध्येमा गनिन्छन् ।  यसको विशेष आकारले पानीको चापलाई बाँधको तौलमा मात्र भर पर्न दिँदैन, दुवैतिरका पहाडमा भार बाँडफाँड गरिदिन्छ । पानीको सतह बढ्दा बाँधको संरचना अझ कसिलो भएर बस्छ ।

अन्य बाँध जस्तै ग्रेभटी ड्यामको तुलनामा यसमा धेरै कम कङ्क्रिट प्रयोग गरिन्छ, तर पनि यो अत्यधिक मजबुत हुन्छ । यसको स्मुथनेस र स्ट्रङ्ग आर्क आकारका कारण भूकम्प वा बाढीबाट उत्पन्न हुने कम्पनहरुलाई पनि यसले राम्रोसँग सहन सक्छ ।

तर, यो ड्याम बन्नका लागि दुवैतिर अत्यन्तै कडा र भरपर्दो चट्टानी सतह हुनु अनिवार्य छ । यदि छेउका चट्टान कमजोर भएमा बाँध फुट्ने जोखिम भने रहन्छ ।

चीन स्विट्जरल्याण्ड, इटाली र फ्रान्सका पहाडी क्षेत्रहरुमा धेरै साना–ठूला डबल आर्क ड्यामहरु निर्माण गरिएका छन् । स्विट्जरल्याण्डको जियोवान्नु ड्याम डबल आर्क कर्भेचर ड्यामको एक उत्कृष्ट र सुन्दर उदाहरण हो ।

चीनको मेकोङ नदीमा २९२ मिटर अग्लो डबल–आर्क ड्याम बनेको छ । अमेरिकाकाले कोलोराडो नदीमा बनेको पहिलो आर्क–ग्रेभिटी ड्याम बनेको थियो । भारतको सतलज नदीमा बनेको भाख्रा नांगल ड्याम पनि ग्रेभिटी आर्क प्रकृतिको छ । बूण्ढीगण्डकीमा पनि यस्तै प्रकृतिको ड्याम बन्ने हो । 

तर विडम्बना भन्नुपर्छ, बहस गरेको यतिका वर्ष भइसक्यो, बुढीगण्डकी जालशययुक्त आयोजना बनाउन थालिएकै छैन । अझ भनौं, अलपत्र अवस्थामा छ । पछिल्लो पटक सुशीला कार्की नेतृत्वको सरकारले बूढीगण्डकी आयोजनाको निर्माणका लागि लगानी मोडालिटी टुंग्याएको थियो ।

३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणमा स्वदेशी लगानीमै आयोजना बनाउने मोडालिटी बनाइएको थियो । तर बालेन शाह नेतृत्वको सरकारले आयोजना अघि बढाएन । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट बक्तब्यमा बूढीगण्डकी आयोजनालाई अधिकारसम्पन्न प्राधिकरण बनाएर अगाडि बढाउने घोषणा गरे । यसले आयोजना पुरानो मोडालिटीमा पनि अघि बढ्न पाएन, सरकारले अहिलेसम्म पनि प्राधिकरण पनि बनाएन । असोज २५ को बाढीले त थप प्रश्न उठाएको छ । 

बाढी आएकै दिन गोरखाको आरुघाट पुगेका उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले पनि यस्ता बाढीहरु नियन्त्रणका लागि बूढीगण्डकी आयोजना जस्ता ठूला जलासययुक्त आयोजना चाहिने बताएका थिए ।

उनको भनाइ थियो, ‘बाढीको पानी सबै जलासयमा नै अटाउँछ, यसले तल्लो तटीय क्षेत्रमा समेत जोखिम घटाउँछ ।’ उनका अनुसार यस्ता बाढीलाई जलाशसयले सजिलै थेग्छ । 

जे होस्, भविष्यमा बूढीगण्डकी बनाउँदा कस्ता पक्षमा ध्यान दिन जरुरी छ भन्ने कुरा यो बाढीले सिकाएको छ । हिमाली भागमा रहेको जोखिम र वर्स्ट के सिनारियोमा बूढीगण्डकीमा आउनसक्ने बाढीको परिमाण, त्यसअनुरुपको बाँध निर्माण, बाढी पूर्वसूचना प्रणाली, तटीय क्षेत्रमा आवश्यक पर्ने सतर्कता, पूर्वाधारहरु बनाउँदा ध्यान दिनुपर्ने पक्ष लगायतका कुरालाई यो बाढीले झन् गम्भीर भएर सोच्नुपर्छ भन्ने सन्देश दिएको छ ।

बूढीगण्डकी जस्ता आयोजना नेपालको विद्युत प्रणालीका लागि अत्यावश्यक छ । यस्ता आयोजनाहरु नबनाएसम्म नेपालले जलविद्युतमा सिजनल मात्रै लाभ पाउनसक्छ । त्यसैले अब सरकारले विश्व बैंकले भोजस्तै बाढीको जोखिमलाई ध्यानमा रखोर बिल्ड डिफरेन्ड्लीको अवधारणमा यस्ता आयोजनाहरु विकास गर्नुपर्छ । जोखिमलाई घटाउन सकिन्छ, तर जोखिम छ भनेर हाँत बाँधेर बस्ने छुट सरकारलाई छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ