एक पछि अर्को संकटमा राइनो क्रुज, १५ करोड जोखिममा
असोज ११ गतेको बाढीले राइनो क्रुजसिपलाई बगाएर नारायणी पुलको पिल्लरमा ठोक्काइदियो । ६० टन वजन भएको क्रुजसिपले ठक्कर दिएपछि नारायणी पुल के हुने हो भन्ने ठूलो डर थियो ।
धन्न नारायणी पुलमा क्रुजसिपले कुनै क्षति पुर्याएको रहेनछ ।
तर यो घटनाले नेपालको जल पर्यटनमा नयाँ सम्भावना देखाएको क्रुजसिप अब के होला भन्ने प्रश्न भने जन्माएको छ ।
यो क्रुजसिप निर्माणमा १५ करोड रुपैयाँ खर्च भइसकेको थियो । २०७५ सालमा निर्माण भएदेखि नै विभिन्न समस्यामा फसेर राम्ररी चल्न नसकेको क्रुजसिप अब बन्द होला कि फेरि मर्मत गरेर चलाउलान् भन्ने प्रश्न छ ।
राइनो क्रुजसिप अहिले पनि नारायणी नदीमै छ । असोज १२ गते क्रेनले तानेर नारायणी पुलको पिलरबाट ४ मिटर टाढा पुर्याइएको छ । तर अझैसम्म नदीबाट निकाल्न सकिएको छैन ।
धेरै गह्रुंगो भएका कारण यसलाई सानोतिनो क्रेनले तान्न पनि सम्भव छैन ।
बाढीले बगाउनुभन्दा अगाडि राइनो क्रुजसिप नारायणी नदीदेखि ५०० मिटर माथि नवलपुरतिरको किनारमा राखिएको थियो । यसलाई जमिनमा ठोकिएको एंकरमा मोटा सिक्रीहरुले बाँधेर राखिएको थियो । त्यसलाई सपोर्टका लागि डोरी लगाएर नजिकै रुखमा पनि बाँधिएको थियो ।
तर त्यो बन्धनलाई बाढीले चुडाइदियो । बाढीले त्यो बन्धन मात्र चुँडाएन, राइनो क्रुजसँग जोडिएको ठूलो सपना पनि चुँडाइदियो ।
कसरी सुरु भएको थियो क्रुजसिप ?
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा विकासका ठूलठूला पूर्वाधारको सपना देखाएका थिए । रेलदेखि पानीजहाजसम्म । उनले भन्थे, प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चल्नेछ ।
एमाले र माओवादीको वाम गठबन्धनले २०७४ सालको आमचुनावमा राम्रो जनमत समेत पायो । ओली संसदको झण्डै २ तिहाइको समर्थनसहित शक्तिशाली प्रधानमन्त्री बने । उनलाई आफूले विगतमा देखाएको रेल र पानीजहाजका सपना व्यवहारमै देखाउने चुनौती थियो ।
संसदमा पनि विपक्षीहरुले पानीजहाज चढ्न कहिले पाइन्छ प्रधानमन्त्री ज्यू ? पानी जहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेका थिए ।
त्यही बेला एमाले निकट केही व्यवसायीले निकालेको आइडिया थियो, चितवनमा राइनो क्रुज चलाउने । यो कन्सेप्ट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज सपनासँग जोडिएको थियो भन्न सकिन्छ ।
त्यतिबेलासम्म नेपालमा जल यातायात साहसी पर्यटनका लागि मात्र थियो । भोटेकोशी, त्रिशुली लगायतका केही नदीमा र्याफ्टिङ चल्थ्यो । अनि तालतलाउहरुमा मनोरञ्जनका लागि डुंगाहरु चलाइन्थ्यो । कतै कतै नदी तर्नका लागि फेरीहरु थिए ।
नेपालमा पानीसँग जोडिएको पर्यटकीय गतिविधि धेरै थिएन । एमाले निकट केही व्यवसायीले वाटर टुरिजममा केही गर्न सकिन्छ कि भनेर छलफल सुरु गरे । त्यसो गर्दा तत्कालिन सरकारबाट पनि सहयोग पाइने, अनि नयाँ व्यवसायमा छिट्टै स्थापित पनि हुन सक्ने सम्भावना थियो ।
त्रिशुली, बूढीगण्डकी, कालीगण्डकी, मस्र्याङ्दीजस्ता ठूला नदीहरु मिलेर बनेको नारायणीमा हिउँदमा पनि पानीको मात्रा पर्याप्त हुन्थ्यो । चितवन नेपालकै मध्य क्षेत्रमा पर्ने ठाउँ । देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहा पनि चितवनमै छ । चितवनकै देवघाटमा वर्षमा हजारौं धार्मिक पर्यटकहरु आउन्छन् ।
अझ चितवनमै नारायणीमा आर्क ब्रिज बन्ने योजना पनि बनिरहेको थियो । यी सबैले गर्दा चितवनमा पानीसँग सम्बन्धित पर्यटकीय व्यवसायको सम्भावना देखियो ।
विदेशमा समुद्र किनारमा यस्ता क्रुजसिप धेरै चल्छन्, जसबाट समुद्र नजिकका होटल रेष्टुरेन्टहरुले राम्रो आम्दानी गरिरहेका छन् । त्यसैले व्यवसायीहरुले २०७५ सालमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि नामको संस्था दर्ता गरेर नारायणीमा क्रुजसिप चलाउने गरी अघि बढे ।
उनीहरुले भारत, चीन, सिंगापुर आदि देशमा क्रुजसिपको अवलोकन गरे । त्यहाँ कसरी चलिरहेको छ भन्नेबारे पनि बुझे । भारतको केरलाको कम्पनीलाई नेपालमा क्रुजसिप सञ्चालन हुन सक्छ कि सक्दैन भनेर अध्ययन गरिदिन बोलाएर ल्याए ।
केरलाको कम्पनीले चितवनको दासढुंगादेखि दक्षिणमा गोलाघाटसम्मको क्षेत्रको अध्ययन गरेर रिपोर्ट दियो । नारायणीको गहिराइ पर्याप्त भएकाले यहाँ क्रुजसिप चलाउन सकिन्छ भन्ने उसको निश्कर्ष थियो ।
राइनो वाटर इन्टरटेनमेन्ट कम्पनीले पर्यटन विभागबाट क्रुजसिप चलाउन अनुमति पनि पायो । चितवनको पुल्चोकदेखि ७ किलोमिटर दक्षिणमा पर्ने काभ्रेघाटमा कम्पनीले ज्ञानेश्वर सामुदायिक वनको जग्गा भाडामा लियो ।
भारतको केरलाबाट प्राविधिकहरु आए, २०७५ चैतदेखि काभ्रेघाटमा नै सामान जुटाएर क्रुजसिप बनाउन थालिएको थियो ।
क्रुजसिप पानीमा चल्ने भएकाले यसलाई मिनी पानीजहाज समेत भनिएको थियो । यो ओलीको पानीजहाज सपनासँग पनि नजिक थियो ।
क्रुजसिप राम्ररी चलेमा नेपालमै ‘पानीजहाज’ चल्यो भनेर देखाउन पाइने थियो । त्यसैले सरकारी निकायबाट पनि कम्पनीले धेरै सहयोग पायो । काभ्रेघाटमा क्रुजसिप सञ्चालन हुन सहज हुने गरी सरकारले नारायणी नदीमा तटबन्ध बनाइदिएको थियो ।
झण्डै एक वर्षमा क्रुजसिप तयार भयो । २०७६ को पुस महिनामा नारायणीमा क्र्ुजसिपको परीक्षण पनि गरियो ।
कस्तो थियो क्रुजसिप ?
राइनो क्रुजसिप ३ तलाको थियो । यो पर्यटकीय प्रयोजनका लागि बनेको थियो । त्यसैले क्रुजसिपको तलाहरु एउटा विलासी रेष्टुरेन्टजस्तो थियो ।
जहाँ लहरै टेबुलहरु राखिएका थिए । सीसाको झ्यालबाट नदीको मनोरम दृश्य देखिन्थ्यो । बाहिर बरन्डा पनि निकालिएको थियो ।
यसको नाम चितवनमा पाइने जंगली जनावर एक सिंगे गैंडाकै नामबाट राइनो क्रुज राखिएको थियो ।
त्यहाँ बसेर ब्रेकफास्ट, लञ्च र डिनर गर्ने गरी बनाइएको थियो । अनि विवाह, ब्रतबन्ध, जन्मदिन मनाउने जस्ता इभेन्ट पनि गर्न मिल्ने बनाइएको थियो ।
यसमा दुईवटा इन्जिन जडान गरिएको थियो । इन्जिनको शक्तिले क्रुजलाई पानीको धारको विपरीत दिशामा पनि चलाउन सकिन्थ्यो । वर्षायामको ३ महिना बाहेक अरु बेलामा नारायणीमा क्रुजसिप चलाउन सक्ने भनिएको थियो ।
२०७६ पुसमा परीक्षण सफल भए पनि क्रुजसिप व्यवसायिक रुपमा सञ्चालनमा आउन सकेन । लामो समय क्रुजसिप काभ्रेघाटमै नारायणी किनारमा थन्कियो । पछि कोरोना महामारीका कारण लकडाउन सुरु भयो । लकडाउनमा यसै बन्द भइहाल्यो ।
२०७९ माघ १ गते मात्र यो क्रुजसिप सञ्चालनमा आयो । ९५ फिट लामो, चौडाइ र उचाइ २१ फिट अग्लो यो क्रुजसिपमा २०० जना अटाउँथे ।
क्रुजसिपमा यात्रा गर्न सामान्य यात्रुका लागि ५००, ब्रेकफास्ट खान १५००, लन्च गर्न २००० र डिनरका लागि २५ सय रुपैयाँ टिकट शुल्क तोकिएको थियो ।
खाना नखाइकन जलयात्रा मात्र पनि गर्न पाइने भएकाले सामान्य यात्रुका लागि पनि राइनो क्रुज एक पटक चढौं न त भन्ने साधन बनेको थियो ।
पहिलो वर्ष क्रुजसिपले धेरै यात्रु पायो । तर दोस्रो वर्ष भने यात्रुको संख्या घट्दै गयो ।
राइनो वाटर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार काभ्रेघाटमा निकै छोटो दूरीमा मात्र क्रुजसिप चलाउनुपर्ने बाध्यता थियो ।
त्यहाँ ३०० देखि ५०० मिटर क्षेत्रभित्र मात्र क्रुजसिप चल्थ्यो । नदीको गहिराइको अवस्थाका कारण त्यो भन्दा लामो दूरीमा क्रुजसिप चलाउन सम्भव थिएन । थोरै एरियामा मात्र चलाउनुपर्ने भएकाले त्यसको स्पिड पनि निकै कम थियो ।
छोटो यात्रा र गति पनि कम भएकाले धेरै यात्रुहरु सन्तुष्ट थिएनन् । त्यसैले सञ्चालकहरु काभ्रेघाटबाट क्रुजसिप चलाउन नसक्ने निश्कर्षमा पुगे ।
तर धेरै ठूलो लगानी गरिसकेकाले यो परियोजना त्यत्तिकै छाड्न सक्ने अवस्था पनि थिएन ।
त्यसपछि सञ्चालकहरुले ठाउँ सारेर चलाउने योजना बनाए । उनीहरुले राइनो क्रुजलाई नारायणी पुलदेखि ५०० मिटर उत्तरतिर ल्याए ।
नवलपरासीको मौलाकाली र चितवनको देवघाट आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने योजना बनाए ।
अनि क्रुज र होटलसँगै चलाउने विचार गरे । त्यसो गर्दा होटल र क्रुजले एक अर्काको विजनेसमा सहयोग गर्ने उनीहरुको सोच थियो । होटल र क्रुजको संयुक्त प्याकेज बेच्न सकिने सम्भावना थियो ।
वर्षायाममा नदीमा क्रुज नचलेका बेला नदी किनारमा रेष्टुरेन्टका रुपमा उपयोगमा ल्याउन सकिने सम्भावना देखेका थिए ।
कम्पनीका सञ्चालकहरुले नारायणी पारि गैंडाकोटमा रहेको होटल रिभर क्राउन किन्ने भए । यो होटल नारायणी नदीको किनारमै छ । यही होटलबाट क्रुज चलाएर नारायणी पुलदेखि दक्षिणतिरसम्म पुर्याउन सकिन्थ्यो । यसो गर्दा क्रुजलाई ७ किलोमिटरसम्म चलाउन सकिन्थ्यो र यात्रा १ घण्टा भन्दा धेरैको हुन्थ्यो ।
अझ उनीहरुको उद्देश्य साँझमा ६ देखि ९ बजेसम्म क्रुज चलाएर डिनर प्याकेज बेच्ने थियो । त्यसमा अलि सौखिन र खर्चालु पर्यटक आकर्षित गर्न सकिने अनुमान थियो ।
त्यसैले सञ्चालकहरुले होटल रिभर क्राउन किन्न र त्यसको रेनोभेट गर्न थप २६ करोड रुपैयाँ खर्च गरे । क्रुज र होटलमा गरी सञ्चालकहरुले ४२ करोड रुपैयाँ खर्च गरिसकेका थिए ।
२०८२ माघमा क्रुजलाई काभ्रेघाटबाट तानेर होटलसम्म ल्याइयो । तर ल्याउने क्रममा पनि फेरि टुटफुट भयो । त्यसको मर्मत सम्भारमा फेरि खर्च भयो । कम्पनीका प्रवन्ध निर्देशक दीपक ढुंगेलका अनुसार अहिले वर्षायाम भएकाले चलाइएको थिएन । दशैं पछाडिदेखि सञ्चालन गर्ने तयारी थियो ।
क्रुजलाई होटल नजिकै नारायणी किनारमा फलामको एंकरमा टुचेन लगाएर बाँधेर राखिएको थियो । अनि डोरीले नजिकैको रुखमा पनि बाँधिएको थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले नारायणीको पनि सतह बढ्यो । तर क्रुजसिप जोगिएको थियो ।
त्यसपछि नवलपरासी प्रशासन र प्रहरीले राइनो क्रुजसिप नारायणी किनारबाट हटाउन पटक पटक आग्रह गरेका थिए । तर धेरै वजन भएको त्यो क्रुजसिपलाई त्यहाँबाट हटाउन त्यति सजिलो थिएन । त्यसैले होला, सञ्चालकले प्रशासनको आग्रहलाई बेवास्ता गर्दै आएका थिए ।
असोज ११ को बाढीमा क्रुजसिप जोगिन सकेन ।
यो क्रुजसिपको बीमा पनि गरिएको छैन । त्यसैले बाढीले अहिले भएको क्षतिवापत उनीहरुले पैसा पाउँदैनन् ।
प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार अब क्रुजसिप चलाउने वा नचलाउनेबारे यसै भन्न सकिँदैन । अहिले क्रुजसिपलाई निकालेर सुरक्षित स्थानमा राख्नु नै आफूहरुको प्रमुख प्राथमिकता हुने उनको भनाइ छ ।
नदीले बगाउँदा र क्रेन लगाएर तान्ने क्रममा क्रुजसिपमा धेरै क्षति भइसकेको छ । अब क्रुजमा के कति क्षति भएको छ त्यसको प्राविधिक मूल्यांकन गर्नुपर्नेछ । क्रुज सञ्चालनका लागि थप खर्च गर्नुपर्ने पक्का छ । तर कति ठूलो खर्च आउँछ अहिले नै अनुमान गर्न सकिन्नँ ।
खर्चको स्टिमेट भएपछि लगानीकर्तासँग छलफल गर्ने र त्यसै आधारमा क्रुज चलाउने र नचलाउने निर्णय हुने प्रबन्ध निर्देशक ढुंगेल बताउँछन् ।
०००
स्थापना गर्दा केही राजनीति प्रेरित देखिए पनि नेपालको जल पर्यटनमा क्रुजसिपले नयाँ सम्भावना भने देखाएकै थियो । यो बिजनेसको नयाँ आइडिया पनि थियो ।
नयाँ व्यवसाय र अनुभवको कमी लगायतका कारण व्यवसायीहरुले धेरै समस्या झेल्नुपर्यो । करोडौं रकम पनि खर्च भयो । राम्रो व्यवसायिक योजना बनाएर सञ्चालन गर्ने हो भने नारायणीमा क्रुजसिप सञ्चालनको सम्भावना अझै छ ।
तर असोज ११ गतेको बाढीले नारायणी नदीमा अब क्रुजसिप चल्छ कि चल्दैन यसै भन्न सकिन्न । त्यसैले क्रुजसँगै यसमा १५ करोड डुब्ने आवस्थामा छ ।
सरकारी सफ्टवेयर सरकारले नै बनाउने, आईटीको चलखेल रोक्ने योजना
भोटेकोशी बाढीले बीमा कम्पनीमाथि अर्बौंको भार, कसरी तिर्छन् पैसा ?
पेट्रोल पम्पको बिजनेसमा नाफा र जोखिम कति ?
कृष्णभीर छल्न सुरूङ कि भायडक्ट ? यी हुन् ५ विकल्प



-1790780961.jpg)


