नेभिगेशन
अर्थ

पेट्रोल पम्पको बिजनेसमा नाफा र जोखिम कति ?

धादिङबेसीको भैरवी पेट्रोल पम्पले एक वर्षमै तेल बेचेरै ९ करोड ३६ लाख रुपैयाँ कमायो । यो खबर सुन्दा लाग्न सक्छ, पेट्रोल पम्पको व्यापार त अपारकै रहेछ । के पेट्रोल पम्पको व्यवसायमा पैसै पैसा छ त ? त्यसो भए पेट्रोल पम्प किन नखोल्ने ? तर पेट्रोल पम्प खोल्न त्यति सजिलो छैन । 

जसरी तपाईंले किराना पसल, मःम पसल खोल्न पाउनुहुन्छ । त्यसरी पेट्रोल पम्प खोल्न पाइँदैन । 

यसका लागि सबभन्दा पहिला नेपाल आगल निगमबाट विक्रेता नियुक्त हुनुपर्छ । विक्रेता विनियमावली–२०७५ मा यसको प्रक्रिया तोकिएको छ । त्यसअनुसार तपाईंले अत्याधुनिक ठूला नमूना पम्प बनाउने हो भने निगममा जहिले पनि आवेदन दिन पाइन्छ । 

रिफ्रेसमेन्ट सेन्टरसहितको नमूना पम्प पम्प कस्तो हुन्छ भन्ने छुट्टै मापदण्ड छ । यस्ता आधुनिक पम्पहरुको लाइसेन्स सधैं लिन पाइन्छ । 

साधारण पम्पका लागि भने आवश्यक ठाउँमा विक्रेता नियुक्तिका लागि निगमले ३–३ वर्षमा सूचना निकाल्छ, त्यो बेला निवेदन दिनुपर्छ । 

पेट्रोल पम्प खोल्न लागिएको जग्गा आफ्नै जग्गा हो भने लालपूर्जा चाहिन्छ । यदि भाडामा भए कम्तीमा १० वर्षको लिज एग्रिमेन्ट चाहिन्छ । 

जग्गा कति चाहिन्छ भनेर सडक र स्थानअनुसार फरक फरक मापदण्ड तोकिएको छ । यदि पूर्व पश्चिम राजमार्ग हो भने १० कठ्ठा जग्गा चाहिन्छ । 

काठमाडौं उपत्यकामा हो भने १ रोपनी ८ आना जग्गा चाहिन्छ । ठाउँ र पम्पको प्रकृतिअनुसार जग्गाको मापदण्ड छ । एउटा पम्प र अर्को पम्प बीचको दूरी सम्बन्धी मापदण्डहरु पनि छन् । त्यसैले सुरुमा त मापदण्डले भनेअनुसार उपयुक्त स्थानमा जग्गाको प्रबन्ध गर्नुपर्छ । 

जग्गा मात्र भएर पनि भएन, सडकतर्फको मुख कत्रो हुनुपर्छ भन्ने पनि मापदण्ड छ । यो सबै मापदण्ड पूरा हुने अवस्था छ भने बल्ल तपाईँले आवेदन दिन सक्नुहुन्छ ।

आवेदन दिनासाथ विक्रेता बनिहाल्नुहुन्छ भन्ने होइन । नियमका अनुसार नेपाल आयलक निगमले सबै हिसाबले उचित प्रस्ताव नठहर्‍याएसम्म पम्प खोल्न पाइँदैन ।  

आवेदकहरुमध्ये कसलाई छनोट गर्ने भन्ने आधारहरु तोकिएको छ । यसमा जग्गा निर्णायक हुन्छ । आफ्नै जग्गा भएकालाई प्राथमिकता दिइन्छ । आफ्नै जग्गा भएको आवेदक एकभन्दा बढी छ भने जग्गा धेरै भएकालाई प्राथमिकता दिइन्छ । 

जग्गाको क्षेत्रफल बराबर भए पनि पहिला निवेदन दिनेलाई प्राथमिकता दिइन्छ । यसका लागि प्रविधिक टोलीले स्थलगत जाँचबुझ गर्छ । टोलीको प्रतिवेदनका आधारमा आयल निगमले बिक्रेता नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउने वा नबढाउने तपाईंलाई जानकारी गराउनेछ । 

यदि नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी आए थप कागजात पेश गर्नुपर्नेछ । यसमा जुन सडकमा पम्प रहने हो, त्यो सडक पर्ने स्थानीय तह वा सरकारी निकायको सिफारिस चाहिन्छ । दर्ता प्रमाणपत्र, ट्राफिक वा प्रहरी कार्यालय, विद्युतको सिफारिस चाहिन्छ । अनि धरौटी बुझाउनुपर्छ । 

धरौटी रकम ठाउँ हेरेर ५ लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ । यो रकम निगमको बैंक खातामा जम्मा गरेपछि बल्ल आशयपत्र पाउनु हुनेछ, जसले पूर्वाधार बनाउन बाटो खुल्छ ।

मानौं, तपाईंले आशय पत्र पाउनुभयो, पम्प खुल्ने भयो भने धेरै खुसी नहुनुुस् । असली लगानीको खेल बल्ल सुरु हुने वाला छ । 

पेट्रोल डिजेल भण्डारणका लागि जमिनमुनी ठूलठूला स्टोरेज ट्यांक राख्नुपर्छ । त्यो पनि २० लाख लिटर क्षमताका । डिजेलका लागि कम्तिमा २ वटा र पेट्रोलका लागि एक वटा यस्ता ट्यांक चाहिन्छ । 

जमिनको माथिल्लो भागमा छाना हाल्नुपर्छ । एकै पटक चार वटा सवारीमा इन्धन भर्न सक्ने गरी डिस्पेन्सिङ मेसिनहरु राख्नुपर्छ । ट्यांकबाट फ्युल डिस्पेन्ससम्म इन्धन सप्लाई गर्ने पाइपलाइन बनाउनुपर्छ ।

इलेक्ट्रिक सिस्टम जडान गर्नुपर्छ । लोडसेडिङ भएको अवस्थाका लागि जेनरेटर वा सोलार इनर्जीको व्यवस्था गर्नुपर्छ ।  फायर सेफ्टी सिस्टम, कार्यालय भवन लगायतका पूर्वाधार पनि मापदण्डअनुसार बनाउनुपर्छ । 

यसरी हेर्दा एउटा पम्प खोल्न ४ देखि ६ करोड रुपैयाँ लाग्ने आयल निगमको अनुमान छ । आयल निगमले टेकुमा आत्याधुनिक पम्प बनाउन जग्गा बाहेक नै करिव ७ करोड खर्चिएको छ भने प्रहरीका पेट्रोल पम्प ६ देखि १० करोडमा बनेको रेकर्ड छ । तर औषतमा ४/६ करोड हुने हो भने पम्प तयार हुन्छ ।  

भौतिक पूर्वाधार बनाउनुभयो, आगम निगमको प्रविधिक टोलीले चेकजाँच पनि गर्‍यो । तपाईंले बिक्रीका लागि अनुमति पनि पाउनुभयो, अब तपाईँलाई फेरि पैसा चाहिन्छ । अर्थात वर्किङ क्यापिटल चाहिन्छ । 

आगम निगमका डिपोहरुबाट पहिला इन्धन खरिद गरेर ल्याउनुपर्छ । अनि बल्ल बेच्न पाउनुहुन्छ । अरु व्यवसायमा जस्तो तेल भरिदिनुस्, बेचेर पैसा तिर्दै गर्छु भन्न पाइँदैन । फ्युल स्टक कति राख्ने भन्ने सेल्सले निर्धारण गर्छ ।

किनकी तपाईंले कम्तीमा ३ दिनदेखि बढीमा ७ दिनका लागि फ्युल स्टक राख्नुपर्छ । 

यसबाहेक कर्मचारीको तलबदेखि अरु खर्चका लागि पनि पैसा राख्नुपर्छ । वर्किङ क्यापिटलका रुपमा तपाईंले एक–डेढ करोड रुपैयाँ जोहो गर्नुपर्ने हुन्छ । 

यसरी हेर्दा आजको दिनमा एउटा पेट्रोल पम्प सञ्चालनका लागि जग्गा बाहेक नै ५ देखि ७ करोड लगानी गर्नुपर्ने देखिन्छ । 

कति कमाइ हुन्छ ? 

पेट्रोल पम्प खोल्न लाखौं रुपैयाँ तपाईंले लगानी गर्नु भएको हो । आयल नियमको डिपोबाट इन्धन पनि नगद तिरेर किन्नु भएको हो । तर त्यो इन्धन कतिमा बेच्ने भनेर निर्णय गर्ने अधिकार तपाईंसँग हुँदैन । 

विक्री मूल्य आयल निगम आफैंले तोक्छ । तपाईंले पाउने भनेको कमिसन मात्र हो । यो पनि पहिल्यै निर्धारित हुन्छ । अहिले पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत छ । तर, याद गर्नुस् पेट्रोलमा १६० रुपैयाँ र डिजेलमा १४० रुपैयाँको क्याप छ । यो भनेको के हो भने मूल्य बढेर जति पुगोस्, त्यही १६० र १४० लाई अन्तिम मूल्य मानेर कमिसन हिसाब हुन्छ । 

यसरी कमिसनका रुपमा आउने रकम सबै कमाइ चाहिँ होइन है । यसमा पेट्रोल पम्प सञ्चालनको खर्च घटाउनै बाँकी छ ।

एउटा पेट्रोल पम्प चलाउन कम्तीमा ७ जना कर्मचारी चाहिन्छ । ४ जना पम्प ह्यान्डल गर्ने स्टाफ, एकजना एकाउन्टेन्ट, एकजना गार्ड र एकजना कागजी र व्यवस्थपकीय काम गर्ने कर्मचारी चाहिन्छ ।  त्यसमाथि बिजुलीको बिल, इन्स्योरेन्स, लिकेज सबै खर्च पम्प सञ्चालककै हो । 

खास गरी पेट्रोलको मात्रा एकनासको हुन्न । तापक्रमअनुसार घटबढ हुन्छ । बढ्दा त ठिकै हो, तर कहिलेकाहीँ प्राविधिक रुपमा लस पनि हुन्छ । 

त्यसले निगमबाट ल्याएको जति पेट्रोल बेच्न नै नपाउने अवस्था समेत बनाउँछ । त्यसो लस पनि तपाईंको नाफाले नै रिकभर गर्नुपर्छ । यदि पेट्रोल पम्प सञ्चालनका लागि जग्गा भाडामा लिनुभएको छ भने त्यसको छुट्टै खर्च आउँछ । 

यसरी हेर्दा एउटा पेट्रोल पम्पको सञ्चालन खर्च ३/४ लाख भन्दा कम हुन्न । 

त्यसो भए कमाइ कति भयो त ? 

यसलाई गैरे पेट्रोलियम सप्लायर्स, सुनवलको अघिल्लो आर्थिक वर्षको हिसाबबाट बुझौं । 

यो पम्पले एक वर्षमा ३ लाख ५० हजार लिटर पेट्रोल बेच्यो र ३१ लाख ९८ हजार कमिसन कमायो । २८ लाख १७ हजार लिटर डिजेल बेच्यो भने १ करोड ९५ लाख रुपैयाँ कसिसनका रुपमा आयो । समग्रमा भन्दा गैरे पेट्रोलियम सम्लायर्स ४५ करोड ३९ लाखको काराबार गर्‍यो र, २ करोड २७ लाख रुपैयाँ कमसिन पायो ।

मानिलिनुस्, यो पम्पमा मासिक सञ्चालक खर्च ५ लाख छ भने वर्षमा ६० लाख खर्च भयो । एक करोड ६७ लाख नाफा कमायो । यदि सञ्चालन खर्च बढेको छ भने नाफा अझ घटेको हुन्छ । 

यो सबैभन्दा धेरै इन्धन विक्री गर्ने ३० औं पम्प हो । सबै पम्पमा कोरोबार यति हुन्न । बिक्री जुन अनुपातमा घटेको छ, त्यो अनुपातमा सञ्चालन गर्न कम हुन्न । 

पेट्रोलियम व्यवसायी महासंघका पूर्वअध्यक्ष लिलेन्द्र प्रधानका अनुसार अहिले जुनसुकै ठाउँमा साधारण पम्प खोल्ने हो भने जग्गाको मूल्य बाहेक ३–४ करोड रुपैयाँ लाग्छ । र, वर्षमा ३० करोडको तेल नबेच्ने हो भने पम्प चलाएर नाफा कमाउन सकिँदैन । 

त्यसो भए मानिसहरु किन पेट्रोल पम्पमा लगानी गरिरहेका छन् ? उनीहरुले कसरी कमाइरहेका छन् त ? पेट्रोल पम्पमा नाफा प्रति लिटरमा होइन, कति लिटर बेचियो भन्ने कुराले निर्धारण गर्छ ।

यसलाई भैरवी इन्टरप्राइजेज, धादिङवेसीको अघिल्लो आर्थिक वर्षको हिसाबबाट बुझौं । यो पम्पले एक वर्षमा डिजेल र पेट्रोल गरेर १ करोड २४ लाख लिटर तेल बन्यो । १ अर्ब ८० करोडको कारोबार गर्‍यो र, ९ करोड ३६ लाख रुपैयाँ कमसिन पायो । 

अरु पम्पको भन्दा यो पम्पको सञ्चालन खर्च केही त बढी छ, तर धेरै छैन । त्यसैले यो पम्पले वर्षमा ७/८ करोड सहजै कमाएको छ । 

तर एउटा तथ्य के नबिर्सनुस् भने यो नेपालमा सबभन्दा धेरै इन्धन बेच्ने पेट्रोल पम्प हो । त्यसो भए यो बिजनेस गर्ने कि नगर्ने ? 

पेट्रोलियम व्यवसायी महासंघका पूर्वअध्यक्ष लिलेन्द्र प्रधानका अनुसार यो बिजनेसमा आउनुअघि मार्केट रिसर्च एकदम जरुरी हुन्छ । खासगरी पम्प कहाँ खोल्ने भन्ने लोकेसन चुज गर्नु निकै च्यालेन्जिङ काम हो ।

किनकी पेट्रोल पम्पको व्यापारमा लोकेसन नै सबैथोक हो । यो व्यापारमा सबै सरकार नियन्त्रित हुने भएकाले अरु कुराको खासै ठूलो अर्थ छैन । सही लोकेसनमा पम्प खोलियो भने त्यसले आफैं सेल्स बढाउँछ । जति धेरै सेल्स हुन्छ, उति धेरै डिलर कमिसन पाइन्छ । 

अनि पीआर राम्रो बनाउन सक्ने हो भने पम्पहरुले डिपोले दिएको तेलको ३० प्रतिशतसम्म तेल विकासे आयोजना र अन्य आवश्यक क्षेत्रमा पनि दिनसक्छन् ।  

यसबाहेक पम्प मात्रै खोल्ने हैन, पम्पमा चार्जिङ स्टेसन, कफी सप, रेस्टुरेन्ट र पसलहरु राखेर पनि बिजनेस सस्टेन गर्न सकिन्छ । यस्तो गर्दा पम्पको बिजनेसमा मात्रै भर पर्नुपर्दैन । पम्पमा आउनेहरु र अरु सेवा लिन आउनेहरुलाई एकै अप्सन उपलब्ध हुन्छ । यसले व्यापार विविधीकरण पनि हुन्छ । 

विस्तारै ईभीले मार्केट लिइरहेकाले पम्पको व्यापारमा धक्का लागेको छ । तर तपाईले ईभी चार्जिङ स्टेसन पनि राख्नु भयो भने त्यताबाट कमाइ हुन्छ । तर सबैको हकमा यो लागू नहुनसक्छ । 

त्यसैले आजको दिनमा धेरै पम्प सञ्चालकको परिवारका सदस्यहरु नै पम्पमा खट्छन् र सञ्चालन खर्च घटाउन थालेका छन् । अहिले पम्प धनी आफैंले नचलाएर भाडामा दिने चलन पनि बढेको छ । 

आयल निगमको नियमले यसरी भाडामा दिन त मिल्दैन, तर, करिब ३० प्रतिशतभन्दा बढी पम्पहरु भाडामा गइसकेको व्यवसायीहरु बताउँछन् । विशेषगरी लामो समय पम्पमा काम गरेका मजदुरहरुले नै पम्प भाडामा लिएर चलाउने गरेका छन् ।

समग्रमा भन्दा पेट्रोल पम्प सञ्चालनको व्यवसायको कमाइ  हिजोको दिनमा जस्तो छैन । देशमा विद्युतीय सवारीको बढ्दो प्रयोग र ठूला आयोजनाहरुको अभावले पम्पको बिजनेस खस्किएको छ । तर सही लोकेसन, चुस्त व्यवस्थपन र पम्पसँगै व्यापारको विविधिकरण गर्न सक्नेका लागि अवसर पनि छ ।  

पेट्रोल पम्प आज सुरु गरेर धमाधम टन्नै कमाइहाल्ने को बिजनेस होइन । तर, यसलाई राम्रो ढंगले व्यवस्थापन गरेर दीर्घकालीन लगानीको रुपमा अघि बढाउने सोच राख्नेहरुका लागि राम्रो व्यवसायिक क्षेत्र हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ