बेत्रावतीमा फेरि बस्नेछ बस्ती, स्थानीयले थालिसके तयारी
रसुवा र नुवाकोटको संगममा रहेको बेत्रावती बजार, जो अहिले त्रिशुलीको फराकिलो बगर बनेको छ । यहाँका कयौं मानिसहरुलाई बाढीले बगायो, भागेर बाँचेकाहरु गाउँदेखि पर वनको छेउमा अस्थायी टहरा हालेर बसेका छन् ।
सबैलाई थाहा छ, अस्थायी टहरा सधैंका लागि होइन । त्यहाँ बसेर जीविका पनि चल्दैन ।
बेत्रावतीका मान्छेहरु अस्थायी टहरामा धेरै समय बस्न चाहँदैनन् । उनीहरु बेत्रावती नै झरेर काम गर्न चाहन्छन् । धेरै मान्छेहरु बेत्रावतीमा व्यापार व्यवसाय गरिरहेका थिए । उनीहरुलाई काम नगरी बस्न पर्दा छटपटी भइसकेको छ ।
सरकारले कहाँ लगेर पुनर्बास गराउला भन्ने उनीहरुलाई चिन्ता छैन । बरु सरकारसँग भनिरहेका छन्, हामीलाई अनकन्टार ठाउँमा नलैजाऊ, हामी बेत्रावतीमै बस्छौं, सडककै छेउमा बस्छौं, आफैं व्यवसाय गरेर खान्छौं, बरु छिटो ठाउँ बनाइदेऊ ।
बेत्रावतीका बुढापाका र युवाहरु एकमत छन् । बेत्रावतीलाई मानवबस्ती विहीन छाड्नुहुन्न । भोलि आउने मान्छेहरुले नसोधुन्, यहाँका मान्छेहरु खोई ?
बेत्रावती यस्तो ठाउँ हो, जहाँका मान्छेहरु आर्थिक सामाजिक र साँस्कृतिक रुपमा पनि धेरै उन्नत जीवन बाँचिरहेका थिए । बाढीले धेरैको घरबास उजाडेको छ, करोडौंको सम्पत्ति नष्ट पारेको छ, तर उनीहरु बेत्रावती छाड्न चाहँदैनन्, किन त ? यसको मुख्य ३ वटा कारण छ ।
रसुवागढी नाका
भोटेकोशी बाढीका कारण नेपाल र चीनबीचको व्यापारिक नाका रसुवागढी रहदैन कि भन्ने प्रश्न उठेको थियो ।
तर बाढीको एक महिना अवधिमा चीन सरकार र नेपाल सरकारको गतिविधि हेर्दा फेरि पनि दुई देशको व्यापारिक नाका यही नै हुन्छ भन्ने पक्का देखिन्छ ।
भोटेकोशी बाढीले नेपालतर्फ मात्र होइन, चीनमा पनि सडक बगाएको थियो र चीनको भन्सार कार्यालय नै बगाएको थियो । तर चीनले एक महिनामै रसुवागढी नाकासम्म सडक ल्याइसकेको छ । यसको मतलब हो, चीन फेरि यही नेपालसँगको व्यापारका लागि यही नाकालाई प्रयोगमा ल्याउन चाहन्छ ।
नेपाल सरकारले पनि रसुवागढीसम्म सडक ट्रयाक खन्न थालिसकेको छ । सडक निर्माणका लागि चिनियाँ सरकारको सहयोग मागेको छ । अनि बाढीले बगाएको ठाउँमा सडकको नयाँ ट्रयाक पनि खन्न थालेको छ ।
अहिले नुवाकोट सदरमुकामबाट बेत्रावतीसम्म जाने सडकको ट्रयाक खुलिसकेको छ । रसुवागढीबाटै चीनसँग व्यापार चालु रहने हो भने बेत्रावती फेरि पनि व्यापारिक केन्द्र बन्छ भन्ने स्थानीयको सोचाइ छ । त्यसैले उनीहरु बेत्रावतीमा फेरि पहिले जस्तै व्यापार व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आशामा छन् ।
बेत्रावतीको धार्मिक महत्व
बाढीले भौतिक संरचना बगाए पनि बेत्रावतीको धार्मिक र साँस्कृतिक महत्व बगाउन सक्दैन ।
बेत्रावतीमा रहेको उत्तरगया धाममा पुसे औंशीमा पितृ श्राद्ध गर्न सयौं नेपालीहरु आउने गर्छन् । यहाँ श्राद्ध गरेमा पितृले मोक्ष पाउने विश्वास हिन्दू नेपालीहरुमा छ ।
बाबु आमाको मृत्यु भएकाहरु पितृ मोक्षका लागि भारतको काशी, गया, नेपालको मुक्तिनाथमा जस्तै उत्तरगयामा पनि श्राद्ध गर्न जाने गर्छन् । पछिल्लो समय यातायातको सुविधाका कारण नेपालीहरु मात्र नभएर भारतबाट पनि सयौं तीर्थालुहरु पितृ श्राद्धका लागि उत्तरगया आउने गरेका थिए ।
२०४९ साल पुस १ गते योगी नरहरिनाथको अगुवाइमा बेत्रावतीमा कोटीहोम लगाइएको थियो । त्यतिबेला सर्वसाधारणले हजारौं रकम दान गरेका थिए ।
कोटीहोम आयोजनाको खर्च र पुरोहितहरुलाई दान दक्षिणा दिएर बाँकी रहेको १७ हजार रुपैयाँले बेत्रावतीमा ५ रोपनी २ आना जग्गा किनिएको थियो । त्यसमा स्थानीयले दान गरेको जग्गा समेतमा उत्तररगया क्षेत्र विकास समितिले विभिन्न संरचनाहरु बनाएको थियो ।
बाढी अगाडिसम्म उत्तरगया धाममा १०८ शिवलिंग, महादेवको ठूलो मूर्ति, विष्णु पादुका, श्राद्ध गर्न आउनेहरुले कपडा फेर्ने एउटा भवन थियो । त्यस्तै श्राद्ध गर्नेहरुले भात पकाएर खाने एउटा पाटी, शौचालय र स्टोर रहेको २ कोठे २ तले पक्की भवन पनि थियो ।
अहिले ती संरचना नभए पनि मान्छेको मनमा रहेको विश्वास जस्ताको तस्तै छ । किनकी यो नेपालको हिन्दू संस्कृतिसँग जोडिएको कुरा हो । बाढीका कारण १–२ वर्ष श्राद्ध गर्ने मान्छेहरु घट्न सक्छन् । तर भविष्यमा फेरि उस्तै भइहाल्छ ।
बेत्रावती अर्थात् उत्तरगया धाम । तीनवटा नदीको त्रिवेणी भएकाले यसको अरु धार्मिक महत्व पनि छ ।
पौराणिक कथा अनुसार समुन्द्र मन्थन गरेर निस्केको कालकूट विष पिएपछि महादेव त्यो विषको डाह शान्त पार्ने क्रममा यही बाटो हुँदै उत्तर लागेका थिए । उनले आफूसँग भएको बेतको लौरोले बेत्रावती नजिकै ढिस्कोमा खोप्दा तातो पानी आएको थियो । त्यसबाट बेतगंगा नदी बनेको थियो ।
उनै महादेवले त्यहाँ नजिकै रुद्राक्षले हानेर अर्को पानी निकालेका थिए । त्यहाँबाट रुद्रगंगा पैदा भएको थियो । जसलाई हाल फलाखु खोला भनिन्छ । त्यसपछि उनी उकालो लागेर गोसाइकुण्ड पुगेका थिए । गोसाइकुण्ड नजिकै त्रिशुलले हानेर पानी निकालेका थिए, जसबाट त्रिशुली नदी अर्थात त्रिशुल गंगा बनेको थियो ।
त्रिशुल गंगा, रुद्रगंगा र बेतगंगाको त्रिवेणी हो, बेत्रावती । यही पवित्र भूमिमा हरिबोधनी एकादशीमा ठूलो मेला लाग्छ । रसुवा र नुवाकोटका विभिन्न गाउँका मानिसहरु वर्षेनी फूलको डोली लिएर आउँछन् ।
बेत्रावतीको राममन्दिरमा रामनवमीमा पनि ठूलो जात्रा मेला लाग्छ । कृष्ण अष्टमीमा बेत्रावतीका नेवार समुदायले लाखे नाच देखाउँछन् । माघे संक्रान्तिमा पनि गोरु जुधाउँछन् । गाईजात्रा पनि धुमधामले मनाउँछन् ।
उत्तरगया धाम नुवाकोट र रसुवाका करिब २०–२५ गाउँका मानिसहरुको अन्त्येष्टि गर्ने घाट पनि हो बेत्रावती । पछिल्लो समय यही पवित्र घाटमा नै बसेर अन्येष्टि कर्म गर्नेहरु पनि बढिरहेका थिए । त्यसैले यहाँ २–३ वटा किरियापुत्री भवनहरु पनि थिए ।
यो ठाउँको धार्मिक र साँस्कृतिक महत्वका कारण भविष्यमा पनि मानिसहरुको चहलपहल हुने नै छ । तर त्यहाँ मानव बस्ती नै नहुने हो भने त्यहाँ आउने भक्तजन र पर्यटकले पनि सेवा नपाउने स्थानीय अष्टमान डंगोल बताउँछन् ।
पर्यटन
रसुवाको गोसाइकुण्ड र लाङटाङ क्षेत्र नेपालमै धेरै पर्यटक जाने क्षेत्रमध्ये एक हो । काठमाडौंदेखि नजिकको दूरी, चिसो हावापानी र मनोरम दृश्यका कारण लाङटाङ नेपाली र विदेशी पर्यटकको रोजाइको गन्तव्य हो ।
त्यस्तै रसुवामा रहेको पवित्र गोसाइकुण्ड धार्मिक र पर्यटकीय स्थल हो । हरेक वर्ष जनैपूर्णिमामा गोसाइकुण्डमा नुहाउनका लागि हजारौं नेपालीहरु पुग्छन् ।
त्रिशुलीमा बाढी आएर अहिले सडक र पुल बगाएकाले लाङटाङ जाने पर्यटकहरु घटेका छन् । तर, भविष्यमा सडक र पुल बनेपछि पर्यटकरु जान थालिहाल्छन् । त्यसले पनि बेत्रावतीमा व्यापारको सम्भावना बढाउँछ ।
त्रिशुलीको बाढी अगाडिसम्म तिब्बतको मानसरोवर जाने प्रमुख मार्ग रसुवागढी नाका नै थियो । नेपाली मात्र होइन, भारत र अरु देशका मानिसहरु पनि रसुवागढी हुँदै मानसरोबर जान्थे । रसुवागढी नाका खुलेपछि फेरि पनि मानसरोवर जाने बाटो यही नै बन्छ ।
रसुवागढी नाका खुलेमा, उत्तरगया धाममा तीर्थालुहरु आउन थालेमा र रसुवामा पर्यटकहरु जान थालेमा फेरि पनि बेत्रावती एउटा व्यापारिक केन्द्र बन्ने सम्भावना रहन्छ । किनकी बेत्रावतीको लोकेसन नै यस्तो ठाउँमा छ ।
नुवाकोट र रसुवाको संगम बिन्दु । रसुवा र नुवाकोटका धेरै गाउँहरुको किनमेलका लागि पायक पर्ने ठाउँ त यो यसै पनि हुँदै हो ।
बेत्रावतीका मानिसहरु धेरैजसो व्यवसायी छन् । उनीहरु पुस्तौ पुस्तादेखि व्यापार व्यवसाय गरेर राम्रो धन आर्जन पनि गरेका थिए । यहाँ मानिसहरुको बसोबास पनि व्यापार व्यवसायबाटै सुरु भएको थियो । काठमाडौंका डंगोल समुदायका मानिसहरु यहाँ व्यापार व्यवसायकै सिलसिलामा पुगेका थिए ।
बेत्रावती बजारमा होटल, डिपार्टमेन्ट स्टोर, बैंक वित्तीय संस्था, कपडा पसल, पेट्रोल पम्प, निजी स्कुल, गाडी र मोटरसाइकल बनाउने वर्क सप जस्ता व्यवसाय थियो । एउटा शहरमा हुने लगभग सबैजसो सुविधा बेत्रावतीमा थियो ।
कसरी बस्ने त बेत्रावतीमा ?
आजको दिनमा बेत्रावतीको अवस्था देख्ने कसैले पनि भन्दैन कि, यहाँ फेरि मान्छे बस्न सम्भव छ । किनकी भदौ १० गतेको त्रिशुलीले बेत्रावती बजार लगभग कोल्याप्स नै पारेको छ । दुई चारवटा मात्र घर सग्ला छन् । केही घर सग्लो देखिए पनि ती घरको माथिल्लो तलासम्म नै बाढीले पुरेको छ ।
गल्छीदेखि रसुवागढी जोड्ने सडक भन्दा ४–५ मिटर माथिसम्म लेदो भरिएको छ । त्यसैले स्थानीय बासिन्दाले बेत्रावती पुनः जगाउने कुरा गर्दा धेरैले यसलाई उनीहरुको हठका रुपमा लिएका छन् ।
तर स्थानीय बुढापाकाहरु पुस्तौंदेखि आफ्नो बाबुबाजेहरु बाढीसँग संघर्ष गर्दै जीविका चलाउँदै आएको बताउँछन् । त्रिशुलीमा बाढी आएको यो न पहिलो घटना थियो, न अन्तिम नै । बिगतमा पनि बाढी आउँदा खेतबारी र बस्ती बगाएकै थियो ।
त्यसपछि बाढी गएको ठाउँ सर्दै सर्दै मान्छेहरु फेरि उठेका थिए । त्यसैले अहिलेको बाढीबाट डराएर ठाउँ नै छाड्न नहुने बुढापाकाहरु बताउँछन् । स्थानीय बासिन्दा जसले आफ्नो जीवनको लामो अवधि यही बजारमा बिताए, अब उनीहरु त्यहाँको अस्तित्व नै मेटाएर अन्यत्र जान तयार छैनन् ।
फेरि यति कुरा पक्का छ कि, रसुवागढी नाका, उत्तरगया धाम आदिका कारण बेत्रावती चहलपहलको केन्द्र नै रहनेछ । त्यतिबेला बेत्रावती आउनेहरु सोध्लान्, यहाँका मान्छे कहाँ गए ?
स्थानीय अष्टमान डंगोलको भनाइ छ, ‘त्यतिबेला कसैले पनि पनि यहाँका मान्छे बाढीका कारण कुनाकाप्चातिर गएर बसेका छन् नभनोस् । यहीँ व्यवसाय गरेर बसिरहेका छन् भन्न पाउन् ।’
मान्छे नबस्ने हो भने बेत्रावती इतिहासको पानामा सीमित रहन्छ । स्थानीय मिलन श्रेष्ठ भन्छन्, ‘हामी बेत्रावती थियो रे भन्ने अवस्था आउन दिँदैनौं, बेत्रावती छ भन्ने नै बनाउँछौं ।’
बेत्रावती बजारका बासिन्दा नुवाकोटतर्फ करिब १५ मिनेट माथि स्वाँरा डाँडामा अस्थायी टहरा हालेर बसेका छन् । रसुवातर्फ पनि केही माथि बोगटीटारमा बसेका छन् ।
बेत्रावती बजारमा नुवाकोटतर्फ करिब ९० घरधुरीको बसोबास थियो । तीमध्ये यो बाढीमा मृत्यु हुने र सम्पर्कविहीन हुनेको संख्या २२४ जना छ । स्थानीय चन्द्रलाल डंगोलको परिवारका कोही पनि भेटिएका छैनन् । त्यस्तै महेश डंगोलको जापानमा रहेकी बहिनीबाहेक अरु कोही सदस्य पनि भेटिएका छैनन् ।
डंगोल समुदायका मात्र ५७ जना मृत्यु र सम्पर्कविहीन भएका छन् ।
बेत्रावती अहिलेसम्म शोकमै छ । धेरै परिवारले आफ्ना महत्वपूर्ण सदस्य गुमाएका कारण के गर्ने भन्ने निधो गर्न सकेका छैनन् ।
तर स्थानीय बुढापाका र युवाहरु बेत्रावती बचाउनुपर्छ त्यहीँ व्यापार व्यवसाय गर्नुपर्छ भनेर लागिरहेका छन् ।
सरकारले रसुवा नाका जोड्ने गरेर काम सुरु गरिसकेकाले पनि उनीहरुमा आशा जागेको छ । एक महिनाभित्रै बेलिब्रिज तयार भइसक्नेछ भने बेत्रावती पनि सडकमा जोडिसक्नेछ ।
त्यसपछि नै बेत्रावतीमा ब्यापारको सम्भावना खुलिहाल्छ । स्थानीय मिलन श्रेष्ठको बेत्राबतीमा पुरानो होटल थियो । ३०–३५ वर्ष अगाडि उनकी आमाले सुरु गरेकी थिइन् । जुन पार्वती दिदीको होटल भनेर प्रख्यात थियो ।
दशैंपछि आफू बेत्रावती झरेर व्यवसाय सुरु गरिहाल्ने मिलन बताउँछन् ।
‘फलामे ट्रस्ट हालेर भए पनि म होटल खोल्छु, म जस्तै व्यवसाय गर्छु भन्ने गाउँलेहरु अरु पनि छन्’, मिलन भन्छन् ।
बाढीको डर पनि साम्य भइसकेको छैन । बजारमा छाडेको दलदल हिलो अझै सुकेको छैन । नदीमा पानीको बहाव पनि ठूलो छ ।
तर दशैंपछि विस्तारै यो साम्य हुँदै जान्छ र पुनस्र्थापनाको काम पनि गर्नुपर्छ भन्ने गाउँलेहरुको मत छ ।
स्थानीय बासिन्दाले पुसे औंशीमा उत्तरगया धाममा हुने श्राद्धका लागि ठाउँ बनाउने, एकादशी जात्रा र रामनवमीको मेलालाई निरन्तरता दिने र माघे संक्रान्तिमा गोरु जुधाउने योजनासमेत बनाइसकेका छन् ।
सरकारले बाढी प्रभावित क्षेत्रका बासिन्दाको पुनर्बासका लागि उपयुक्त ठाउँ खोजिरहेको छ । विदुर नगरपालिकाले बेत्रावतीका बासिन्दाको पुनस्र्थापनाका लागि नजिकैको गेर्खुटार उपयुक्त हुन सक्ने भनेको छ । तर स्थानीय बासिन्दाको भनाइ छ, हामी बेत्रावतीमै बस्न पाउनुपर्छ ।
बेत्रावतीमा बाढीबाट धेरै ठाउँ जोगिएको छैन । नदीको सहत पनि बढेको छ । त्यहाँ सबै मानिसलाई बसोबास गराउन सम्भव छैन । अहिले बगर बनेको ठाउँमा पुनः बस्ती बसाउन पनि जोखिम हुन्छ ।
यो कुरा बेत्रावतीका बासिन्दाले पनि बुझेका छन् । उनीहरुको भनाइ छ, रसुवागढी जोड्ने सडकदेखि तल्लो भागमा हामी बस्दैनौं । त्यहाँ बलियो तटबन्ध र हरियाली पार्क बनाउन सकिन्छ ।
तर सडकभन्दा माथिको भाग जुन अहिले बाढीबाट बचेको छ, ती सबै जग्गा सरकारले अधिग्रहण गर्नुपर्छ । अनि त्यो जग्गा प्लानिङ गरेर बेत्रावतीमा व्यवसाय गर्न चाहनेका लागि वितरण गर्नुपर्छ ।
स्थानीय मिलन श्रेष्ठको भनाइ छ, ‘दुई आना पुगे दुई आना, चार आना पुगे चार आना जति पुग्छ त्यति जमिन व्यवसाय गर्छु भन्ने मान्छेलाई दिनुपर्छ ।’
गाउँका सबै मानिस बसोबासका लागि बेत्रावतीमा जग्गा नपुग्न सक्छ । तर व्यवसाय गर्छु भन्नेहरुका लागि भने पर्याप्त हुन उनको भनाइ छ । सरकारले नदीमा बलियो तटबन्ध र बाढी र विपदको पूर्वसूचना प्रणाली बलियो बनाएमा भविष्यमा अहिलेजस्तो क्षति भोग्न नपर्ने स्थानीयको भनाइ छ ।
००००
बेत्रावतीका बासिन्दाले आफ्नो सोच प्रष्ट पारिसके । उनीहरु पुनर्बासका नाममा कुनै अनकन्टार बस्तीमा गएर बस्न चाहँदैनन् । उनीहरु बेत्राबतीमै व्यवसाय गर्न चाहन्छन् । बेत्रावतीमै बस्न चाहन्छन् भन्नुको मतलब असुरक्षित किसिमले बस्न खोजेका छन् भन्ने होइन । आफ्नो ठाउँलाई सुरक्षित बनाएरै बस्न चाहेका छन् ।
उनीहरुको चाहना छ, बेत्रावतीलाई फेरि पनि ब्यापारिक, धार्मिक र सांस्कृतिक केन्द्रकै पहिचान दिनुपर्छ । स्थानीयको सोचाइ नराम्रो होइन । अब सरकारले बेत्रावतीमा बलियो तटबन्ध निर्माण गर्नुपर्यो । सुरक्षित जग्गा पहिचान गर्नुपर्यो । जग्गा एकीकरण र विकास गरेर व्यवसाय गर्न चाहनेका लागि वितरण गर्नुपर्यो ।
अहिले बगर भएको बेत्रावती देख्दा धेरैले यो ठाउँको भविष्य सकियो भन्ने ठाने पनि मान्छेहरु सधैं बाढीसँग डराएर बस्दैनन् । आफ्नो जीविकाको बाटो आफैं पहिल्याउँछन् ।
बेत्रावतीमा यसै वर्षदेखि श्राद्ध गर्न जाने र रसुवा भ्रमण जानेको चहलपहल सुरु भइसक्छ । मान्छेको चहलपहल भएपछि छाप्रे पसल नै किन नहोस्, त्यहाँ सुरु भइहाल्छ । त्यसरी अव्यवस्थित छाप्रे पसल रहन दिनुभन्दा सरकारले सुरक्षित जग्गा विकास गरेर स्थानीय बासिन्दालाई व्यवसाय गर्न किन नदिने ? जसले बेत्रावतीको इतिहासको पनि संरक्षण गर्छ ।
तर, यति भन्दाभन्दै पनि भविष्यको विपदको जोखिम हेरेर मात्रै त्यहाँ बस्ती र बजार विकास गर्ने योजना चाहिन्छ । बेत्रावतीको पुनर्उत्थान, उनीहरुको सांस्कृतिक तथा धार्मिक, मूर्त–अमूर्त सम्पदाको पुनर्जागरणका लागि स्थानीय बासिन्दासँगकै छलफलबाटसुहाउँदो मोडल विकास गर्नुपर्छ ।
बेत्रावतीमा यो पटकको बाढीमा जोगिएको भागहरुको सुरक्षाबारे प्राविधिक एसिस्मेन्ट गर्नुपर्छ । अस्थायी बजार बस्न दिने हो भने आपतकालीन बाढीमा पूर्वसूचना दिने अर्लिवार्निङ सिस्टम जोड्नुपर्छ ।
विपदमा सुरक्षित ढंगले सेफ जोनमा जानसक्ने गरी पूर्वतयारीहरु गर्नुपर्छ । बेत्रावतीले फेरि भदौ १० को जस्तो विपद भोग्ने अवस्था आउनुहुँदैन । तर, बेत्रावती विपदसँग लडेर कसरी सुरक्षित र व्यवस्थित ढंगले पुनर्जागृत भयो भन्ने कुरा देशकै लागि नमूना बन्नुपर्छ ।
जापानमा १०० वर्षका बूढाबूढी १ लाख नाघे, नेपाललाई के हो सिकाइ ?
देशभर एकै मोडलमा फोहोर व्यवस्थापनको योजना, ल्यान्डफिल साइटै नचाहिने
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’

-1790087654.png)


-1790607905.png)




