जापानमा १०० वर्षका बूढाबूढी १ लाख नाघे, नेपाललाई के हो सिकाइ ?
हालै विश्वभर जापानको एउटा खबरले निकै चर्चा पायो–, त्यो खबर हो जापानमा १०० वर्ष नाघेका बूढाबूढीको संख्या १ लाख नाघ्यो ।
स्वच्छ जीवनशैली र सन्तुलित भोजनमा जापान विश्वमा नै कहलिएको छ । त्यसैले यहाँ लामो आयु बाँच्ने हजारौं मानिसहरु छन् । शताब्दी नाघ्नेहरुकै संख्या १ लाख क्रस हुनु साँच्चै दुर्लभ कीर्तिमान हो ।
जापान विश्वकै समृद्ध मुलुकमध्ये एक हो । धनी देशहरुको सूचीमा अमेरिका, चीन, जर्मनीपछि चौथो स्थानमा छ जापान ।
जापानीहरु धेरै मिहिनेती हुन्छन् । उनीहरुको खानपान र जीवनशैली राम्रो छ र लामो आयु बाँच्छन् भन्ने मान्यता छ । त्यहाँ मान्छेहरु १०० वर्षसम्म बाँच्नु सामान्य नै भइसक्यो । हाल जापानमा धेरै उमेरका मानिस भनेको ११४ वर्षकी महिला र ११२ वर्षका पुरुष छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा १०० वर्ष उमेर पुगेका बूढाबूढीहरु नै १ लाख ७ हजार ६७७ छन् । एक वर्षमै त्यहाँ १०० वर्ष पु्ग्नेहरुको संख्या ७ हजार ९१४ जनाले बढ्यो ।
जापानमा ९५ वर्ष उमेर पुग्नेको संख्या ८ लाख छ ।
जापानमा मान्छे धेरै उमेरसम्म बाँच्नुको कारण के हो ?
यसको एउटै मात्र जवाफ छैन ।
अनुसन्धानकर्ताहरुले सन्तु्लित भोजन, सक्रिय जीवन र स्वास्थ्य सुविधालाई मुख्य कारण मानेका छन् ।
जापानको परम्परागत खानेकुरामा धेरैजसो माछा, तरकारी र भात हुन्छ । जसमा स्याचुरेटेड फ्याटको मात्रा कम हुन्छ ।
जापानमा धेरै पश्चिमी देशको तुलनामा मोटोपनको समस्या पनि धेरै कम छ ।
जापानीहरुको डेली रुटिन पनि स्वस्थ खालको छ । धेरै मानिसहरु घरबाहिर हिँड्छन्, दौडिन्छन्, साइकल चलाउँछन् । सार्वजनिक गाडी चढ्छन् ।
जापानमा सार्वजनिक ठाउँहरुमा ग्रुप एक्सरसाइजको राम्रो अभ्यास छ ।
जापानको हेल्थ इन्स्योरेन्स सिष्टमले त्यहाँका नागरिकलाई औषधि उपचारको राम्रो सहुलियत दिएको छ । उपचार खर्च पनि अमेरिका जस्ता धनी देशको तुलनामा निकै सस्तो छ ।
लामो आयु किन समस्या ?
जापानमा लामो आयु एउटा उपलब्धी त हुँदै हो, सँगै समस्या पनि बन्दै गएको छ । त्यसको कारण हो, वृद्ध जनसंख्या बढिरहनु र बच्चा जन्मिने क्रम भने घटिरहनु । त्यति मात्र होइन । जापानमा पछिल्लो १६ वर्षदेखि लगातार जनसंख्या घटिरहेको छ ।
जापानमा सबैभन्दा धेरै जनसंख्या भएको सन् २०१० मा हो । त्यो वर्ष १२ करोड ८० लाख पुगेको थियो । त्यसपछि भने लगातार घटिरहेको छ । सन् २०२६ मा त जनसंख्या ११ करोड ९७ लाखमा झरेको छ ।
जापानमा पछिल्लो ५ वर्षमा मात्र ३१ लाख जनसंख्या घटेको छ ।
जापानमा एक जना महिलाले आफ्नो जीवनकालमा औसतमा १.१४ जना बच्चा जन्माउँछन् । अर्थात् १०० जना महिलाले ११४ जना बच्चा जन्माउँछन् ।
जापानमा सन् २०२५ मा जम्मा ६ लाख ७० हजार बच्चा जन्मिएका थिए । जुन २०२४ मा भन्दा १५ हजार जनाले कम हो भने जापानमा जनगणना सुरु भएयताकै सबैभन्दा थोरै हो ।
जापानको कुल जनसंख्याको ३० प्रतिशत मान्छे ६५ वर्ष माथिको छ । जो काम गर्न सक्दैन । उनीहरुका लागि राज्यले पेन्सन, सामाजिक सुरक्षा र उपचार खर्चका लागि ठूलो रकम खर्च गर्नुपर्छ ।
तर काम गरेर कर तिरेर देशको ढुकुटी भर्ने युवाहरुको संख्या भने कम छ ।
सरकारले युवा दम्पतिलाई सन्तान जन्माउन प्रेरित गर्न चाइल्ड एलाउन्स, चाइल्ड केयरमा अनुदान, बच्चा जन्मेका बेला बाबुआमालाई लामो बिदा जस्ता प्रोत्साहनमूलक कार्यक्रम पनि ल्याएको छ । तर यस्ता कार्यक्रमहरुले दम्पतिलाई बच्चा पाउन प्रेरित गर्न सकेको छैन ।
सामाजशास्त्रीहरुका अनुसार जापानमा विवाहप्रति पनि नै मानिसको रुची घटेको छ । कतिपयले विवाह नै गर्दैनन् भने कतिपयले उमेर ढल्केपछि विवाह गर्छन्, जसले गर्दा उनीहरुले धेरै बच्चा जन्माउन सक्दैनन् ।
धेरै युवाहरु रोजगारीको अनिश्चितता, थोरै तलब र धेरै समय काममा दिनुपर्ने कारणले परिवार बसाल्न इच्छुक देखिँदैनन् ।
पछिल्लो समय महिलाहरु पनि घरबाहिरका काममा सक्रिय छन् । यस्ता महिलाहरुलाई घरायसी काम र अफिसको काममा सन्तुलन मिलाउन कठिन हुन्छ । घरायसी काम र बच्चाको हेरचाहमा उनीहरुले श्रीमानको त्यति धेरै सहयोग पाएका छैनन् । त्यसैले महिलाहरु पनि धेरै बच्चा जन्माउन अनिच्छुक देखिन्छन् ।
जनसंख्या घट्दा के हुन्छ ?
युवा जनसंख्या जनसंख्या घट्नुको अर्थ हो, देशमा आम्दानी गरेर कर तिर्ने जनसंख्या घट्नु । आर्थिक रुपमा सक्षम युवाहरुले तिरेको कर र सामाजिक सुरक्षाको पैसाबाटै बूढाबूढीलाई पेन्सन र उपचार खर्चजस्ता सुविधा दिने हो ।
काम गर्ने मान्छे भन्दा काम गर्न नसक्ने बूढाबूढीको संख्या धेरै भयो भने सामाजिक सुरक्षाको रकममा चाप पर्छ । थोरै युवाहरुबाट उठाएको करबाट धेरै बूढाबूढीको स्याहार गर्नुपर्ने अवस्था आउँछ । त्यसैले जनसंख्या घट्नु देशहरुका लागि टाउको दुखाइको विषय हो ।
जनसंख्या घटेका कारण जापानका उद्योगहरुमा कामदार अभाव हुन थालेको छ । विशेषगरी कृषि, निर्माण, यातायात, स्वास्थ्य र सोसल केयरमा कामदार अभाव छ ।
ग्रामीण क्षेत्रहरुमा यो समस्या अझ बढी देखिएको छ । युवाहरु सबै शहरतिर बसाइँ सर्दा वृद्धहरु मात्र गाउँमा बाँकी रहेका छन् ।
जापानमा भइरहेको कामदारको अभावलाई अहिले आप्रवासीहरुले पूरा गरेको छ । पछिल्ला वर्षहरुमा जापानमा विदेशीहरुको संख्या बढिरहेको छ । जापानमा हाल विदेशी नागरिकको संख्या ४० लाख पुगेको छ । सन् २०२५ मा मात्र ७ लाख २० हजार जना जापान पुगेका छन् । विदेशमा काम गर्न जाने नेपालीका लागि जापान राम्रो गन्तव्य बनिरहेको छ । हाल जापानमा २ लाख ७० हजार भन्दा धेरै नेपाली छन् ।
नेपालमा के छ ?
जापान र नेपालको धेरै कुरा तुलना हुँदैन । जापान नेपाल भन्दा धेरै विकसित देश हो । नेपाल अहिले पनि अल्पविकसित नै छ । आजको दिनमा नेपालीहरु आफ्नो देशमा राम्रो कमाइको सम्भावना नदेखेर जापान गइरहेका छन् ।
जनसंख्याकै कुरा गर्ने हो भने जापानमा घट्दै गइरहेको छ । नेपालमा जापानमा झैं जनसंख्या घटेको नै चाहिँ छैन ।
२०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख छ । २०६८ सालमा २ करोड ६४ लाख थियो ।
१० वर्षमा करिब २७ लाख जनसंख्या बढेको छ ।
१५ वर्षमुनि र ६५ वर्ष माथिका जनसंख्यालाई आर्थिक रुपमा निष्क्रिय मानिन्छ । १५ देखि ६५ वर्ष उमेर समूहको जनसंख्यालाई सक्रिय जनसंख्या मानिन्छ ।
नेपालमा १५ वर्षमुनिको जनसंख्या २७.८ प्रतिशत छ । ६५ वर्षमाथिको जनसंख्या ७ प्रतिशत छ । काम गर्न सक्ने उमेरका जनसंख्या अर्थात् १५ देखि ६४ वर्षसम्मका मानिस ६५ प्रतिशत छन् । ६५ प्रतिशत जनसंख्या कमाउन सक्छन् भने जम्मा ३५ प्रतिशत जनसंख्या मात्र कमाउन नसक्ने छन् ।
जनसंख्याको यो बनोट निकै राम्रो हो ।
किनकी यहाँ काम गर्न नसक्ने भन्दा काम गर्न सक्ने मानिसहरु धेरै छन् । यसलाई जनसांख्यिक लाभांश भनिन्छ ।
विज्ञहरुका अनुसार अबको २० वर्षसम्म नेपाललाई जनसांख्यिक लाभकै समय छ । तर नेपालले जनसंख्याको जति लाभ लिनुपर्ने हो, त्यो लिन सकिरहेको छैन । आर्थिक रुपमा सक्रिय युवाहरुमा बेरोजगारी छ ।
देशभित्र न्यून तलब सुविधामा काम गरिरहनु परेको छ । अनि कमाउनका लागि विदेश जानुपरेको छ । नेपालबाट पढ्न र काम गर्नका लागि वर्षमा ८–९ लाख युवा विदेश जान्छन् । विदेश जाने भनेका काम गर्न सक्ने उमेरका अर्थात युवाहरु नै हो ।
नेपालमा सबैभन्दा ठूलो चिन्ताको विषय भनेको बच्चा जन्मिने दर घट्दै जानु हो । २०७८ सालको जनगणना अनुसार नेपालको जन्मदर १.९ प्रतिशत छ, यो भनेको १ जना महिलाले सरदरमा २ जना बच्चा पनि जन्माउँदैनन् ।
२०६८ सालको जनगणनाको तुलनामा २०७८ सालमा १४ वर्षमुनिको जनसंख्या ७ प्रतिशत विन्दुले घटेको छ । २०६८ सालमा १४ वर्षमुनिको जनसंख्या ३५ प्रतिशत थियो । तर २०७८ मा यो संख्या घटेर २८ प्रतिशतमा झरेको छ ।
२०६८ देखि २०७८ को अवधिमा १४ वर्षमुनिको जनसंख्या १.३ प्रतिशतले घटेको छ । तर यही अवधिमा ६० वर्षमाथिका जनसंख्या भने ३.२ प्रतिशतले बढेको छ ।
नेपालमा अहिलेसम्म त बालबालिका र बूढाबूढी भन्दा युवाकै संख्या धेरै हुन्छ । तर अब विस्तारै देश बुढ्यौलीतर्फ जाँदैछ । किनकी अहिलेका युवा भोलि बूढो हुँदै जान्छन् । अहिलेका बालबालिका भोलि युवा हुन्छन् । नेपालमा युवा भन्दा बालबालिका कम छन् । त्यसैले भविष्यमा बुढाबुढी धेरै हुन्छन् र युवा कम हुन्छन् ।
तपाईं हामी आफ्नै घरको उदाहरण हेर्न सक्छौं । हाम्रो बाबुआमासँग ४–५ जनासम्म छोराछोरी थिए भने अहिलेका युवा दम्पत्तिसँग १ वा २ जना मात्र छोराछोरी छन् ।
२०४८ देखि २०५८ को १० वर्षको अवधिमा १४ वर्षमुनिका बालबालिकाको वृद्धिदर १.५ प्रतिशत थियो । २०५८ देखि २०६८ को बीचमा यो वृद्धिदर ०.५ प्रतिशतमा झर्यो भने २०६८ देखि २०७८ को अवधिमा त १.२५ प्रतिशतले ऋणात्मक भएको छ ।
नेपालमा बच्चा कम जन्मिनुको कारण धेरै युवा जनसंख्या विदेशमा हुनु हो । स्वदेशमा महिलाहरु पनि घर बाहिरका काममा सक्रिय हुनु हो । अनि अहिले धेरै मानिस शहरमा बस्न थालिसके ।
शहरमा बस्नेहरुलाई शिक्षा स्वास्थ्य जस्ता विषय महंगो छ । धेरै बालबच्चा भएमा बस्ने ठाउँदेखि स्कुलको फी र उपचार खर्च धान्न अभिभावकलाई धौधौ पर्ने अवस्था छ ।
यसको नतिजा बच्चा जन्मिने दर निकै न्यून भएको छ ।
विश्वका धेरै धनी देशमा अहिले जनसंख्या नियन्त्रणतर्फ गइसकेको छ । जापान, कोरिया लगायतका कतिपय देशमा त डि पपुलेसन अर्थात् जनसंख्या घट्न नै थालेको छ ।
जापान र नेपालमा एउटा फरक छ । जापान समृद्ध भइसक्यो । त्यहाँ युवा जनशक्ति धेरै भएका बेला जापानीहरुले धेरै मेहनत गरेर देशलाई समृद्ध बनाइसके । त्यसैले निष्क्रिय जनसंख्या धेरै हुँदा पनि राज्यले धान्न सकेको छ ।
नेपालमा भने युवा जनशक्ति धेरै भएका बेला पनि देश समृद्ध हुन सकेको छैन । देश समृद्ध बनाउन काम गर्नुपर्ने युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेश जानुपरेको छ । विज्ञहरु नेपाल समृद्ध बन्न अहिले युवा जनसंख्या धेरै भएकै बेला काम गर्नुपर्ने बताउँछन् । भोलि यो जनसंख्या बुढ्यौलीमा गएपछि त्यो अवसर गुम्न सक्छ ।
भोलि जापानमा जस्तै बुढ्यौली लागेको जनसंख्या धेरै र युवा जनसंख्या कम भए भने मुलुकले समृद्धि हासिल गर्न गाह्रो हुन्छ । त्यसैले सरकारले तिब्र आर्थिक वृद्धि हासिल गर्ने गरी काम गर्नुपर्छ, युवा जनसंख्यालाई स्वदेशमै रोजगारी दिनुपर्छ । अनि युवा दम्पत्तिलाई बच्चा जन्माउन प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्छ ।
बेत्रावतीमा फेरि बस्नेछ बस्ती, स्थानीयले थालिसके तयारी
देशभर एकै मोडलमा फोहोर व्यवस्थापनको योजना, ल्यान्डफिल साइटै नचाहिने
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’

-1790087654.png)


-1790607905.png)




