नेभिगेशन
राजनीति
संसदमा बालेनको जवाफ

'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'

अन्ततः प्रधानमन्त्री बालेनले जवाफ दिएका छन्, कि रसुवा बाढीमा सुरुङभित्रको उद्दारमा किन ढिलाइ भयो ? 

त्रिशुली नदी किनारका ७ भन्दा बढी जलविद्युत आयोजनाको सुरुङभित्र कति मान्छे फसेका छन् भन्ने पनि अनुमान छैन । विद्युत आयोजनाहरुको दाबी हिसाब गर्दा करिब ३०० जना कामदार तथा प्राविधिकहरु फसेको अनुमान छ । तर एक हप्ता हुँदासम्म उनीहरुलाई निकाल्न सकिएको छैन । 

यही कारण अहिले धेरैले सोधेको प्रश्न हो, सुरुङभित्रको उद्दारमा किन यति बिघ्न ढिलाइ र लारवाही ? 

विद्युत आयोजनाहरुमा काम गर्ने कर्मचारीका परिवारका सदस्य र आफन्तले आफ्नो मान्छेको खोजीका लागि दबाब बढाएपछि बल्ल उद्दार टोली फिल्डमा पुगेको थियो । पनि अहिलेसम्म उद्दारमा ठूलो प्रगति हुन सकेको छैन । 

त्यसैले अहिले सरकारमाथि चौतर्फी प्रश्न उठेको छ ।  सुरुङ उद्दार थाल्न नै किन ढिला गरेको ? आवश्यक मेसिन, उपकरण र जनशक्ति किन नलगेको ? अनि विदेशी विज्ञहरुको सहयोग किन नलिएको ? 

सरकारले भने सुरुङभित्रको उद्दार सोचेजस्तो सजिलो नरहेको र धेरै नै अप्ठेरो भएकाले समय लागेको जवाफ दिइरहेको छ । 

भदौ १७ गते प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन गर्दा सरकारले सुरुङको उद्दारमा समयमै काम गर्न नसक्नुको एक–एक कारण खुलाए । 

समयमै उद्दार किन सुरु गरिएन ? 

सरकारलाई लागेको आरोप हो, सुरुङमा समयमै किन उद्दार सुरु गरिएन ? 

भदौ १० गते बाढी गए पनि बाढीको ३ दिनपछि मात्र सरकारी उद्दारकर्मीहरु जलविद्युत आयोजना भएको ठाउँमा पुगेको थियो ।

नेपाली सेनाले हेलिकप्टरबाट आयोजनास्थलको रेकी गरे पनि फिल्डमै झरेर निरीक्षण गरिएको थिएन । 

आयोजना निर्माणकर्ताले निजीस्तरबाट हेलिकप्टर लिएर जान खोज्दा पनि सरकारले दिएको थिएन । 

बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले सुरुङ उद्दारमा ढिलाइ हुनुको कारण विस्तृतमा बताए । 

उनका अनुसार धेरै जलविद्युत आयोजनाको सुरुङ र पावरहाउस बाढीपछि पुरिएका छन् । त्यहाँ बाक्लो दलदल बनेको छ । त्यसले गर्दा त्यहाँ हेलिकप्टर ल्याण्ड गर्न नै सकिएन ।

सडकमार्ग र त्रिशुलीका पुलहरु पनि बगाएकाले त्यहाँ एक्साभेटहरु हेलिकप्टरबाटै लैजानुपर्छ । हेलिकप्टरबाट एक्साभेटर लगे पनि दलदल भएकाले खसाल्न सम्भव भएन । प्रधानमन्त्री बालेन शाहले सुरुङ उद्दार ढिलाइ हुनुको मुख्य कारण हिलोको दलदललाई दिए । 

विदेशी विशेषज्ञ किन ल्याइएन ? 

सुरुङ उद्दारमै सरकारमाथि उठेको अर्को प्रश्न हो, समयकै विदेशी विशेषज्ञ किन ल्याइएन ? किन आउन चाहेकाहरुलाई पनि रोकियो ? 

जहाँ जहाँ सुरुङ उद्दार भयो, त्यो सबै नेपाली सेना र नेपाली प्राविधिकहरु नै गरे । अझ कतिपय आयोजनामा सम्बन्धित आयोजनाका व्यक्तिहरुलाई पनि जान दिइएन छैनन् । 

सरकारको अनुमति नलिई निजी हेलिकप्टर चल्न दिइएको थिएन भने नेपाली सेनाले आयोजनाको मान्छेसँग कुनै सोधखोज नगरी आफ्नै ढंगले काम गरिरहेको छ । 

प्रधानमन्त्री बालेन शाहले भने आफूहरुले विदेशीको सहयोग नलिने नभनेको बताए । तर उनले सँगै के पनि भने भने नेपालमा सुरुङहरु जसरी पुरिएको छ, त्यसलाई पन्छाउने विशेषज्ञता विश्वका अरु देशमा पनि छैन ।

प्रधानमन्त्री शाहका अनुसार विदेशतिरका धेरै घटनाहरु पहिरो खसेर सुरुङ पुरिएका छन् । त्यसैले सुरुङबाहिरको पहिरो हटाउने विज्ञता मात्र छ । सुरुङभित्र लेदो र गेग्रानसहितको बाढी पसेको घटना विश्वमै नौलो हो, त्यसैले विदेशी विशेषज्ञले ओर्लनै मानेनन् । 

भारत र चीनका विशेषज्ञले हेलिकप्टरबाट रेकी गरेको तर, फिल्डमा ओर्लन नमानेको प्रधानमन्त्री शाहको भनाइ छ । 

उद्दारकर्तालाई पर्याप्त उपकरण किन दिइएन ? 

सुरुङ उद्दारमा सरकारमाथि उठेको अर्को प्रश्न हो, उद्दारकर्तालाई पर्याप्त उपकरण किन दिइएन ? 

सुरुङ उद्दारमा खटिएको नेपाली सेनाले सार्वजनिक गरेको भिडियोहरुमै देखिन्छ, धेरै आयोजनाहरुमा पर्याप्त उपकरण छैन । 

त्रिशुली थ्री ए मा सुरुमा एउटामात्र डोजर प्रयोग गरिएको थियो, अहिले ३ वटा पुगेको छ । अरु आयोजनामा डोजरहरु पुग्न सकेका छैनन् । सुरुङ र पावरहाउसमाथि बाक्लो लेदो झारेर बगर बनाएकाले ठूला उपकरणहरुबिना त्यहाँ उद्दार गर्न सम्भव छैन । तर पर्याप्त उपकरण किन दिइएन भन्ने धेरैले प्रश्न गरेका छन् । 

प्रधानमन्त्री बालेन शाहले भने एकै पटक धेरै उपकरण खसालेर पनि काम हुन नसक्ने बताए । एउटा साइटमा एकै पटक २ वटा भन्दा एक्साभेटरले काम गर्न नसक्ने उनको भनाइ छ । 

विद्युत आयोजनामध्ये सबैभन्दा धेरै मानिस अपर त्रिशुली १ मा फसेको अनुमान गरिएको छ । रसुवाको हाकुमा बनिरहेको यो आयोजनाभित्र ११५ जना थुनिएको आशंका छ । 

कोरियाली कम्पनीले बनाइरहेको यो आयोजना २१६ मेगावाटको हो । सुरुङभित्र काम गरिरहेकाहरु बाढीमा थुनिएको आशंका छ । 

आयोजनामा काम गर्ने मान्छेका आफन्तले निर्माण कम्पनीलाई आफ्ना मान्छेको उद्दार गरिदिन निरन्तर दबाब दिइरहेको छ । 

सबैभन्दा धेरै मान्छे फसेको माथिल्लो त्रिशुली १ मा भदौ १३ गतेसम्म फिल्डमा कोही पुगेको थिएन । भदौ १३ गते सिम्रिक सेक्युरिटी गोर्खा फोर्सका ५ जना र स्थानीय ४ जनाको टोलीले ग्राङदेखि मैलुङसम्म पैदल हिँडेर खोजेको थियो । 

भदौ १५ गते बल्ल नेपाली सेनाको टोली आयोजनाको हेडवक्र्स क्षेत्रमा पुगेको थियो । तर बाढीको लेदो भरिएका कारण त्यहाँ उपकरण चलाउन नसक्ने भनेपछि टोली फर्किएको थियो ।  त्यसपछि बल्ल भदौ १६ गतेदेखि त्यहाँ काम सुरु गरिएको थियो । निर्माणकर्ता कोरियन कम्पनीले कोरियादेखि पनि मान्छे झिकाएको छ । अहिले लेदो फाल्ने पम्प, जेनेरेटरसहितका उपकरण लगेर काम गरिएको छ । 

त्यस्तै त्रिशुली थ्री ए जलविद्युत आयोजनामा भदौ १३ गते उद्दार टोली पुगेको थियो । बाढीले सुरुङको मुख टालिएकाले सुरुङको मुखदेखि ४० मिटर अगाडि प्वाल पारेर सुरुङमा झर्न खोजिएको थियो । तर सुरुङभरि पानी र लेदो देखिएपछि त्यो प्वालबाट अगाडि जान सम्भव भएन । 

नेपाली सेनाका अनुसार ९३ जनाको संयुक्त उद्दार टोली, ३ वटा एक्साभेटरले काम गरिरहेको छ । त्यस्तै माटो पन्छाउने कम्प्रेसर मेसिन, ब्रेकर पनि छ, ठूला बोल्डर फुटाउन ब्लास्टिङ गरिएको छ । 

निर्माणाधीन त्रिशुली थ्री बीमा आयोजनाको पावर हाउस क्वार्टरलाई बाढीले ढाकेर बगर बनाएको छ । त्यहाँ पनि भदौ १५ गते मात्रै उद्दार टोली पुगेको थियो । अहिले पावर हाउस र क्वार्टर लोकेट गर्ने त्यसपछि खन्ने तयारी छ ।

६१ जना सैनिक र आयोजनाका ३ जना मानिसले यहाँ उद्दारको काम गरिरहेका छन् । साइटमा एउटा एक्साभेटर छ । 

त्यस क्षेत्रको सुरुङभित्रको उद्दारको कमाण्ड सम्हालिरहेका नेपाली सेनाका सहायक रथी उज्जलबिक्रम राणाका अनुसार अपर त्रिशुली थ्री को सुरुङभित्र प्रवेश गर्ने प्रयास ५ पटक गरियो । तर पाँचौं पटक असफल भयो । 

त्यसको कारण हो, सुरुङभित्र जमेको लेदो । 

उनका अनुसार त्यहाँ मान्छेको छातीको उचाइसम्मको भाग लेदो जमेको छ । त्यसैले त्यहाँ भित्र प्रवेश गरेर उद््दार गर्न सकिएन । तर सम्पर्कविहीनका आफन्तको निरन्तरको दबाबपछि सरकार पुनः खोजतलास जारी राख्ने निष्कर्षमा पुगेको छ ।

अहिले नेपाल विद्युत प्राधिकरण अन्तरगतका ६ वटा जलविद्युत आयोजनामा मानिसहरु फसेका छन् । माथिल्लो त्रिशुली थ्री ए मा ४२ जना, चिलिमे जलविद्युत आयोजनामा ७ जना सुरुङभित्र फसेका छन् । रसुवागढी हाइड्रोपावरको सुरुङमा समेत मान्छेहरु फसेको अनुमान छ ।   

त्रिशुली जलविद्युत केन्द्रमा ३ जना, देवीघाट, त्रिशुली थ्रीबी हब सबस्टेसन, रसुवा वितरण केन्द्र र चिलिमे त्रिशुली २२० केभी प्रशारण लाइन आयोजनाबाट १–१ जना कर्मचारी हराएका छन् । 

प्राधिकरण मातहतका आयोजनामा भन्दा निजी क्षेत्रले बनाइरहेका आयोजनामा धेरै मानिस फसेका छन् । निर्माणाधीन माथिल्लो त्रिशुली वानमा ११५ जना, त्रिशुली थ्री बी मा ४० जना भन्दा धेरै फसेको अनुमान छ । 

निजी क्षेत्रले बनाइरहेको लाङटाङ जलविद्युत आयोजनाकै सुरुङमा करिब ७ जना फसेको अनुमान छ । तर, सुरुङको मुख खुला भएका सुरुङका भागहरुमा सेनाले सर्च गरेपनि सुरुङ थुनिएको भाग खुलाएर भित्र गएर हेर्न नै सकेको छैन । 

‘फिल्ड हेर्दा ३–४ महिना लाग्ने खालको छ’

नेपाली सेनाका अधिकारीका अनुसार उद्दार कार्य निकै जटिल छ । जलविद्युत आयोजनाहरुमा उद्दारकर्मी पुगे पनि पर्याप्त उपकरण नपुगेकाले काम हुन नसकेको धेरैको बुझाइ छ । धेरैजसो जलविद्युत गृहहरु त्रिशुलीपारि छन् । त्यहाँ एक्साभेटरलगायतका उपकरण लैजान त्रिशुली तार्नुपर्छ । तर त्रिशुलीमा पुल छैन । 

एक मात्र उपाय भनेको हेलिकप्टरले बोकेर लैजाने हो हेभी इक्वीपमेन्टहरु बोक्न हेलिकप्टर पनि ठूलो चाहिन्छ । नेपालमा ठूलो हेलिकप्टर भनेको नेपाली सेनाको एमआई १७ हो । 

सहायक रथी उज्जवलबिक्रम राणाका अनुसार बाहिरबाट हेर्दा मेसिन नभएर काम नभएको जस्तो देखिए पनि फिल्डको अवस्था अर्कै छ । फिल्डमा मेसिन पुर्‍याए पनि काम गर्न सक्ने अवस्था छैन । अत्यधिक दलदले हिलोका कारण मेसिनहरु नै फस्छन् र काम गर्न गाह्रो हुन्छ ।

उनले भनेका छन्, ‘टनेलभित्र जमेको कुरालाई २–३ दिनमै निकाल्न सकिँदैन, यो हेर्दाखेरि ३ देखि ४ महिनामा पनि निकाल्न गाह्रो हुन्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति