थ्रीडी फोटो सार्वजनिक गर्दै चीनले भन्यो : बाढीको स्रोत नेपाली भूमि
भोटेकोशीमा बाढी कसरी आयो भन्नेबारेमा अनेक मतहरु आइरहेका बेला चीनको प्राकृतिक स्रोत मन्त्रालयले रसुवा बाढीको ३ वटा थ्रीडी फोटो सार्वजनिक गरेको छ ।
यी फोटोहरुमार्फत चीनले बाढी आउनुमा चिनियाँ भूमिको गतिविधि कारक नरहेको जिकिर गरेको छ । केरुङ नाका भन्दा माथिल्लो क्षेत्र देखिने ती थ्रीडी फोटोले बाढीको स्रोत, बाटो र असर देखाउने चिनियाँ पक्षको दाबी छ ।
चीनबाट नेपालतिर बगेको भोटेकोशी नदीमा बुधबार बिहान आएको लेदोसहितको बाढीले चीनको केरुङ नाका र नेपालको रसुवागढी नाका, नदी किनारका विभिन्न बजार, भवन, सडक पूर्वाधार र पुलहरु समेत बगाएको छ । सयौं मानिसहरुको ज्यान लिएको छ भने कयौं बेपत्ता भएका छन् ।
चाइना एरो जियोफिजिकल सर्वे एण्ड रिमोट सेन्सिङ सेन्टरका वरिष्ठ इन्जिनियर गुओ झाओचेङका अनुसार हिमनदी फुट्दा हिउँ र चट्टानका टुक्राहरु डोङलिङ साङ्पो नदीमा खसेका थिए । त्यसपछि नदीको आयतन बढेर केरुङ नाका र नेपाली भूभागका बजार, बस्ती र सडकहरु ध्वस्त पारेको थियो ।

केरुङ नाका रहेको ठाउँ (रातो अक्षर लेखिएको ठाउँ) बाढी अघि र बाढी पछि
यी थ्री डी फोटोहरुको विश्लेषण गरेर चिनियाँ विज्ञहरुले बाढीको स्रोत नेपाली भूमि नै रहेको जिकिर गरेका छन् र चिनियाँ क्षेत्रबाट बाढी जान सक्ने कुनै घटना नभएको पनि दाबी गरेका छन् । केरुङ नाकादेखि उत्तरतर्फ नदीको किनारको एकतर्फ नेपाल पर्छ भने अर्को भाग चीन पर्छ ।
चाइना एरो जियोफिजिकल सर्वे एण्ड रिमोट सेन्सिङ सेन्टरका वरिष्ठ इन्जिनियर गुओ झाओचेङका अनुसार करिब ५ हजार १४० मिटर उचाइमा एउटा हिमनदी फुटेपछि त्यसले धेरैथोक बगाउँदै नदीसम्म झारेको थियो ।
हिमनदीबाट हिउँका ठूला ढिस्काहरु र खुकुलो माटो र ढुंगाहरु नदीमा खसेका थिए । हिमाली क्षेत्रबाट बग्दै आएका साना ठूला खोला र नदीहरु मिसिँदै केरुङ बोर्डरसम्म आइपुग्दा ठूलो नदी बन्छ ।
त्यो नदीलाई रसुवाको माथिल्लो क्षेत्रमा भोटेकोशी भनिन्छ भने नुवाकोटतिर झरेपछि त्रिशुली भनिन्छ । चीनले हिमनदीबाट बगाएर ल्याएको हिउँका ढिस्का र खुकुलो माटो ढुंगाहरुकै कारण भोटेकोशीमा लेदोसहितको ठूलो बाढी आएको जिकिर गरेको छ ।

हिमनदी खसेको र तल ताल बनेको फोटो (रातो घेरा लगाएको ठाउँ हेर्नुहोस्)
चिनियाँ विज्ञलाई कोट गर्दै चिनियाँ सञ्चार माध्यम सीजीटीएनले लेखेको छ, 'यो विपद् एक श्रृङ्खलावद्ध घटना हो । यो उच्च उचाइमा हिउँ खस्ने प्रक्रियाबाट सुरु भई लेदोहरु मिसिँदै आउँछ र अन्तिममा ठूलो लेदोसहितको बाढी बन्छ ।'
तीब्र गतिको बहाब
चिनियाँ विज्ञहरुका अनुसार बाढी जहाँ उत्पत्ति भयो र केरुङ नाका जतिबेला आइपुग्यो त्यसबाट नै यसको स्पिड अनुमान गर्न सकिन्छ । विज्ञहरुले बाढीको उत्पत्तिस्थल कुकियान नदीको माथिल्लो भागलाई मानेका छन्, जुन समुद्र सतहबाट ५ हजार १४० मिटरको उचाइमा छ ।
अनि केरुङ नाका १ हजार ८०० मिटरको उचाइमा छ । ३३ सय मिटरको गहिराइ बाढीले केबल २० किलोमिटर दूरीमा झरेको छ । अर्थात नदी यो एकदमै ठाडो ओरालो भएर बगेको छ ।
चिनियाँ समय अनुसार बुधबारको बिहान १०:५२ मा हिमनदी खस्न सुरु भएको थियो । भिडियो फुटेजमा केरुङ नाकामा १० बजेर ५९ मिनेटमा आइपुगेको थियो । उक्त बाढीले ७ मिनेटमा २० किलोमिटरको दूरी पार गरेको थियो । अर्थात १ सेकेन्डमा ५० मिटर बगेको थियो ।
विज्ञहरुले यो गतिलाई असाधारण बनेका छन् । जसले गर्दा बाढी आएको थाहा पाउनेले पनि प्रतिक्रिया जनाउने समय समेत पाएनन् ।
अत्यधिक गतिबाहेक यो नदीले अर्को पनि अनौठो घटना देखायो । नदी नजिकैको पहाडमा ठोक्किएर विपरीत दिशातर्फ अर्थात माथिलो तटीय क्षेत्रतिर पनि फर्किएको थ्रीडी फोटोको विश्लेषणबाट देखिन्छ ।
चीनबाट आयो ताल फुटेको सूचना, पुनः बाढीको सम्भावना
भोटेकोशीमा किन आयो बाढी ? चिनियाँ विज्ञले दिए ४ कारण
भूकम्पपछिकै ठूलो क्षति, बाढीले देशलाई यसरी धकेल्यो १० वर्ष पछाडि
नेपालमै बनेको 'यात्री'को विश्व बजारमा पुग्ने लक्ष्य, कस्तो छ इलेक्ट्रिक स्कुटर






