सस्तोमा डलर साट्न खोज्दै हुनुहुन्छ, गिरोहको फन्दामा परिएला है ?
धेरै पैसा पाइने लोभमा नचिनेका मान्छेसँग डलर साट्न त खोज्दै हुनुहुन्न ?
विचार गर्नुस् है, काठमाडौंमा डलर साट्ने नाममा ठगी गर्ने गिरोह नै सक्रिय भएको देखिएको छ ।
डलर साट्ने नाममा ठगी र लुटपाटसमेत गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका २८ वर्षका सुजन तामाङलाई पक्राउ गरेको छ ।
बिहीबार राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि नै चक्कु प्रहार गरे । त्यसपछि प्रहरीले उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरेको छ । हाल उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिरहेका छन् ।
यिनले म सँग अमेरिकी डलर छ, तपाईंलाई सस्तोमा साटिदिन्छु भनेर मान्छेलाई विश्वास दिलाउने र एकान्तमा बोलाएर सर्वसाधारणसँग नेपाली रुपैयाँ लिइहाल्ने, अनि डलरको बन्डल दिएर भाग्ने गरेको पाइएको छ । त्यो बण्डल खोलेर हेर्दा बाहिर मात्र अमेरिकी डलर हुने गरेको र भित्र नेपाली २० रुपैयाँको नोट वा कागजका टुक्राहरु राख्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले आफ्नो क्रिमिनल रेकर्ड सिष्टममा हेर्दा उनीमाथि विगतमा पनि ठगी मुद्दा दर्ता भएको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार उनीविरुद्ध स्वयम्भू, बौद्ध, भक्तपुर, सिन्धुपाल्चोक, महाराजगञ्ज, सातदोबाटोमा ठगी मुद्दा दर्ता भएको छ ।
गत असोज २३ गते मात्रै पनि सुजनले काठमाडौंको गोकर्णेश्वर नगरपालिका लसुनटारमा २ जनासँग ८–८ लाख रुपैयाँ ठगी गरेका थिए । प्रहरीका अनुसार उनले पटक पटक फोन गरेर सस्तोमा डलर साटिदिन्छु भनेर विश्वास दिलाएका थिए । अनि गोकर्णेश्वर नगरपालिका–१२ लसुनटारमा २ जनालाई बोलाएर ८ लाख रुपैयाँ लिए । अनि जंगलतिर फरार भए ।
प्रहरीका अनुसार उनी विभिन्न ठाउँको गेष्ट हाउस, रेष्टुरेन्ट, सुन तथा गहना पसल, हार्डवेयर पसल, मेडिकल, डेरी, विभिन्न होलसेल पसलहरुको निगरानी गर्ने र ती पसलका होडिङ बोर्डको नम्बर आउने गरी फोटो र भिडियो खिच्थे ।
अनि होडिङ बोर्डमा भएको नम्बरमा फोन गर्थे । पसल सञ्चालकलाई पहिल्यै चिनेजस्तो गरी म कुरा गर्थे । अनि आफूसँग केही डलर बाँकी रहेको र अप्ठेरो परेर डलर साट्नपरेको भन्दै सस्तो मूल्यमा साट्ने आश्वासन दिन्थे ।
डलर साट्न तयार भएपछि मान्छेलाई बोलाउँथे । अनि विश्वास दिलाउनका लागि उनीसँग एक जना साथी हुन्थे, जो बोल्न नसक्ने व्यक्तिको अभिनय गर्थे । अनि गाह्रो अप्ठेरो परेको मान्छे हो, सस्तोमा साटिदिन्छु भनेर विश्वास दिलाउँथे । अनि अमेरिकी डलर पनि देखाउँथे ।
डलर साट्नलाई एकान्त ठाउँमा बोलाउँथे, अनि पैसा लिएर भाग्थे । पैसा लिएर भागेपछि तुरुन्तै लुगा र बाइक परिवर्तन गरिहाल्थे, ताकि प्रहरीले चिन्न नसकोस् ।
अनि एकपटक प्रयोग गरेको मोवाइल फोन अर्को पटक प्रयोग गर्दैनथे ।
विशेष गरी सीसी क्यामेराको पहुँच नभएको नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभीर, शिवपुरी, नागार्जुन जस्ता ठाउँमा ठगी गर्ने गरेका थिए ।
प्रहरीले उनको साथबाट मोटरसाइकल र मोटरसाइकलका नक्कली नम्बर प्लेटहरु, डलर ठगीमा प्रयोग गर्ने गरेको २० रुपैयाँको ४ बण्डल नेपाली रुपैयाँ, १ केजी नक्कली सुनको ढिका पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपाल राष्ट्रबैंकबाट अनुमति पाएका मनी चेन्जरबाहेक अन्यत्रबाट अमेरिकी डलर साट्नु गैरकानुनी हो । अझ यसरी अवैधानिक रुपमा डलर साट्दा ठगिन सक्ने खतरा पनि उत्तिकै छ ।
ममता काफ्ले प्रकरण : नरेशले नै खोले रहस्य
नायब सुब्बासँग सम्पत्तिको चाङ, यसरी चोख्याउँथे अवैध कमाइ
१७ वर्षअघिको फाइल खुल्यो, माधव नेपालविरुद्ध फेरि मुद्दा
रिङरोडमा लिफ्टवाला आकाशेपुल, कसरी चल्छ ?



-1793372443.jpeg)

-1793700912.jpeg)

