नेभिगेशन
समाज

ममता काफ्ले प्रकरण : नरेशले नै खोले रहस्य

ममता काफ्ले प्रकरण दुई वर्षभन्दा बढी समयदेखि एउटा प्रश्नमा अल्झिएको थियो—ममताको शव खोइ ?

अमेरिकाको भर्जिनियाबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भइन् । उनको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परे । प्रहरीले लामो अनुसन्धानका क्रममा गरिएको फरेन्सिक टेष्टमा घरका भित्ताहरुमा रगतको टाटा भेटियो, कपालका टुक्रा भेटिए । 

ममता हराउनुभन्दा केही दिन अगाडि मात्र श्रीमान नरेशले डिपार्टमेन्ट स्टोरमा गएर चक्कु, कटर किनेको समेत देखियो । तर, ममताको शव कहीँ कतै भेटिएन । नरेशले पनि ममताको हत्या गरेको अभियोग स्वीकार गर्दै गरेनन् ।

शव नभेटिएपछि हत्या भएको कसरी प्रमाणित गर्ने ? यही प्रश्न ममता प्रकरणमा सबभन्दा चुनौती थियो । तर नोभेम्बर ५ मा अदालतमा ममताका श्रीमान् नरेश भट्टले दिएको बयानले यो मुद्दाको एउटा ठूलो रहस्यको जवाफ दिएको छ ।

उनले ममताको शव टुक्राएको र फोहोरका झोलामा राखेर फालेको स्वीकार गरेका छन् । तर हत्या गरेको स्वीकार गरेका छैनन् । उनको दाबी छ, ममता घरमै मृत अवस्थामा भेटिएकी थिइन् । उनले विष सेवक गरेको उनको दाबी छ । 

ममताको शव छैन, पोस्टमार्टम रिपोर्ट छैन । अभियोजन पक्षसँग रगत, डीएनए, आरी, सीसीटीभी, मोबाइल र जीपीएसका प्रमाण छन् ।

नरेशले बयानमा के भने ? 

नोभेम्बर ५, सन् २०२६ । अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी सर्किट कोर्ट । 

आफ्नी श्रीमती ममता काफ्लेको हत्या गरेको अभियोग लागेका नरेश भट्ट बयान दिइरहेका थिए । उनी ममता बेपत्ता भएको घटनाबारे आफ्नो विस्तृत विवरण अदालतसमक्ष प्रस्तुत भएको यो पहिलो पटक थियो ।

नरेशका अनुसार सन् २०२४ जुलाई ३० को बिहान करिब चार बजे उनी निद्रा उठेका थिए । 

बाथरुम जाने क्रममा उनलाई असामान्य गन्ध आयो । त्यसपछि बेडरुमतर्फ जाँदा आफूले ममतालाई खाटको छेउमा भुइँमा लडिरहेको अवस्थामा देखेको उनले बताएका छन् ।

नरेशको दाबी अनुसार ममताको अनुहार र भुइँमा बान्ता थियो । त्यसमा रगत, खानाका अवशेष, औषधिका क्याप्सुल र सेल्फोस नामको विषादीका अवशेष थियो । सेल्फोस कृषि क्षेत्रमा प्रयोग हुने अत्यन्त शक्तिशाली विषादी हो । 

नरेशका अनुसार उनले ममतालाई बोलाए, शरीर चलाए । त्यति गर्दा पनि कुनै रेस्पोन्स नभएपछि सीपीआर अर्थात् मुटु र श्वासप्रश्वास पुनः सञ्चालन गर्ने प्रयास गरे । तर ममताको मृत्यु भइसकेको रहेछ । जब ममताको मृत्यु भइसकेको भनेर थाहा पाए, उनले प्रहरीलाई खबर गरेनन् । 

बरु ममताको शव टुक्याउने र लुकाउने निर्णय गरे । ममताको शवलाई वाथरुममा लगे । सुरुमा खुट्टा र शरीरको माथिल्लो भाग छुट्याउने प्रयास गरे । तर शारीरिक र मानसिक रूपमा थकित भएपछि थप काम गर्न नसकेको उनको बयान छ ।

नरेशका अनुसार उनले ममताको शवका टुक्राहरु घरको ग्यारेजमा रहेको फोहोरमा फालेका थिए । तर नरेशले ममताको हत्या आफूले नगरेको दाबी गरेका छन् । 

ममता कसरी बेपत्ता भइन् ?

काभ्रेकी ममता काफ्ले र कञ्चनपुरका नरेशबीच २०७७  मंसिरमा विवाह भएको थियो । नरेश त्यो बेला अमेरिकामा बस्थे । नर्सिङ अध्ययन गरेकी ममता पनि विवाहको अर्को वर्ष अमेरिकी पुगिन् । उनीहरुकी एउटी छोरी पनि भयो । 

अमेरिकी सेनाको रिजर्भमा काम गरेका नरेश पछिल्लो समय सरकारी ठेक्का कम्पनीका कर्मचारी थिए । ममता भर्जिनियाको यू भी ए हेल्थ प्रिन्स विलियन्स मेडिकल सेन्टरमा नर्सका रुपमा काम गर्थिन् । अगस्ट १ मा उनी काममा पुगिनन् ।

२०२४ जुलाई २७ मा ममता अन्तिम पटक आफ्नो कार्यस्थलमा देखिएकी थिइन् । त्यसको दुई दिजपछि जुलाई २९ मा उनले नेपालमा रहेकी आमासँग भिडियो कल गरेकी थिइन् । त्यसपछि फोन र सामाजिक सञ्जाल बन्द भएको थियो । 

लगातार काममा पनि अनुपस्थित भएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरे । अगस्ट २ मा प्रहरी नरेशको घर पुग्यो । नरेशले ममता घर छाडेर गएको बताए । आफन्त भेट्न न्युयोर्क वा टेक्सास गएको हुन सक्ने उनको दाबी थियो । 

अगस्ट ५ मा नरेशले ममता हराएको भनेर उजुरी दिए । त्यसपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनायो । अनुसन्धानका क्रममा ममताका साथीहरुमार्फत विगतमा ममताले नरेशले कुटपिट गर्ने परेको सुनाएको खुल्यो । 

नरेशको बोली पनि फेरिएको थियो । त्यसले प्रहरीले नरेशमाथि नै शंका गर्‍यो । अगस्ट २१ मा घरमा खोजतलास गर्‍यो । त्यसक्रमा बेडरुम र बाथरुममा रगत हो जस्तो दाग भेटिएका थिए । त्यसैले अगस्ट २२ मा नरेश पक्राउ परे ।

सुरुमा उनीमाथि ममताको शव लुकाएको आरोप थियो । अनुसन्धानका क्रममा थप प्रमाण भेटिएपछि फस्ट डिग्री मर्डर, शवलाई क्षत विक्षत बनाएको र लुकाएको अभियोग लगाइयो । नरेशले भने सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

केके प्रमाण भेटिए ? 

प्रहरीले हत्याको अभियोग त लगायो, तर जटिलता के थियो भने ममताको शव कहिँ कतै भेटिएको थिएन । नरेशले पनि अभियोग स्वीकार गर्दै गरेनन्  तर अनुसन्धानका क्रममा भेटिएका तथ्यहरुले नरेशमाथि एकपछि अर्को दबाव बढ्यो ।

पहिलो महत्वपूर्ण प्रमाण हो, घरभित्र भेटिएको रगत ।

प्रहरीले ममता र नरेश बस्ने घरको मास्टर बेडरुम र बाथरुममा रगत भएको आशंका गरिएका दाग भेट्टाएको थियो । अनुसन्धानका क्रममा ब्लू स्टार नामको रासायनिक परीक्षण विधि प्रयोग गरियो । यो विधिले सफा गरिएको वा आँखाले स्पष्ट नदेखिने स्थानमा रगतको सम्भावित उपस्थिति पहिचान गर्न मद्दत गर्छ ।

ब्लू स्टार परीक्षणले मास्टर बेडरुम र बाथरुममा भेटिएका दागहरु रगतको भएको पुष्टि गर्‍यो । अदालतमा प्रस्तुत फरेन्सिक विवरणअनुसार बेडरुमको कार्पेटमा भेटिएको रगत ममता काफ्लेकै भएको सम्भावना अत्यन्त बलियो रहेको विज्ञले बताएका थिए । 

नोभेम्बर २ मा अभियोजन पक्षका फरेन्सिक विज्ञले कार्पेटमा भेटिएको रगत ममताको भएको निष्कर्षलाई समर्थन गर्ने बयान दिए । 

दोस्रो प्रमाण थियो, आरीमा भेटिएको ममताको डीएनए । ममता बेपत्ता भएको घटना सार्वजनिक भएपछि छिमेकमा काम गर्ने एक ल्यान्डस्केपरलाई यो आरी प्रहरीलाई बुझाएका थिए । जुन नरेशले उनलाई दिएका थिए ।

प्रयोगशालामा परीक्षण गर्दा आरीमा भेटिएको रगतको डीनएए ममताको कपालको ब्रसबाट तयार गरिएको डीएनए प्रोफाइलसँग मेल खायो ।

तेस्रो प्रमाण हो, सीसीटीभी, मोबाइल र गाडीको जीपीएस 

आधुनिक अपराध अनुसन्धानमा घटनास्थलमा भेटिएका वस्तु मात्रै प्रमाण हुँदैन । मोबाइल फोन, गाडी, इन्टरनेट र डिजिटल उपकरणले पनि मानिसको गतिविधि पत्ता लगाउन मदत गर्छ । त्यसैले ममता प्रकरणमा पनि अनुसन्धानकर्ताले ममता र नरेशका मोबाइल फोनको गतिविधि अध्ययन गरे । 

ममता बेपत्ता भएको समय आसपास उनको फोनको लोकेसन, सम्पर्क र अन्य डिजिटल गतिविधि अनुसन्धानको विषय बने । नरेशले प्रयोग गर्ने टेस्ला गाडीको जीपीएस डेटा र विभिन्न स्थानमा राखिएका लाइसेन्स प्लेट रिडरबाट उनको आवतजावत हेरियो । 

नरेशले विभिन्न स्थानमा फोहोरका झोला फालेको सीसीटीभी फुटेज पनि संकलन गरियो । उनले पञ्जा, चक्कु, ठूला स्टोरेज ब्याग र सरसफाइका सामग्री किनेको विवरण नि अदालतमा प्रस्तुत भयो । मिट कटर, नाइफ सार्पर लगायतका विषयमा इन्टरनेटमा सर्च गरेको हिस्ट्री पनि प्रमाणका रुपमा पेश भए ।

यो प्रकरणमा ममताका साथीहरुले अदालतमा उपस्थित भएर दिएको बयान पनि महत्वपूर्ण रह्यो । 

ममताकी साथी सारिता न्यौपानेका अनुसार नरेशसँग विवाद भएपछि ममता केही समय उनी कहाँ बस्न आएकी थिइन् । त्यो बेला ममताले श्रीमानले आफूलाई कुटपिट गरेको र आँखामा चोट लागेको तस्वीर देखाएकी थिइन् । 

ममताका दाजु महेश काफ्लेले पनि बेपत्ता हुनुभन्दा केही महिनाअघि ममताले आँखामा चोट लागेको जस्तो देखिने तस्वीर पठाएको बताएका थिए ।

यद्यपि नोभेम्बर ५ को सुनुवाईका क्रममा नरेशले आफूले कहिल्यै घरेलु हिंसा नगरेको दाबी गरेका छन् । उनका अनुसार ममता र उनको वैवाहिक सम्बन्ध राम्रो थिएन, त्यसैले डिभोर्स गर्न चाहेका पनि थिए । तर उनले कहिल्यै पनि ममतामाथि कुटपिट वा हिंसा गरेका थिएनन् । ममता लडेर घाइते भएकी थिइन् ।

तर उनले ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा फालेको स्वीकार गरेका छन् । नरेशको दाबी छ—ममता अचेत अवस्थामा भेटिएकी थिइन् । ममताको अनुहार र भुइँमा बान्ता थियो । त्यसमा रगत, खानाका अवशेष, औषधिका क्याप्सुल र सेल्फोस नामको विषादीका अवशेष थियो । 

जब ममता मृत्यु भयो, त्यसपछि आफूले शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको उनले बताएका छन् । प्रहरीलाई खबर गर्नुको साटो शव टुक्राटुक्रा पारेर लुकाउनु आफ्नो गल्ती भएको नरेशले बताएका छन् । तर हत्या आरोप भने अस्वीकार गरे ।

अब यो मुद्दामा के हुन्छ ? 

ममता काफ्ले प्रकरणमा नरेशमाथि मुख्यतः तीनवटा आरोप छन् ।

पहिलो, हत्या ।

दोस्रो, शव विकृत बनाएको । 

तेस्रो, शव लुकाएको । 

नरेशको पछिल्लो वयानले उनीमाथि लागेका दुई आरोप प्रमाणित हुने अवस्था बनेको छ । त्यसैले हत्या अभियोग स्वीकार गरेका छैनन् । उनको दाबी छ कि ममता मृत अवस्थामा भेटिएका थिइन् । उनको  विषादी सवन गरेकी हुन् ।

तर उनको दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैन । ममताको शव छैन । पोस्टमार्टम रिपोर्ट छैन । शरीरमा विषादीको मात्रा परीक्षण गर्ने टक्सिकोलोजी रिपोर्ट छैन । यसमा अब सोमबार हुने बहस महत्वपूर्ण हुनेछ । किनकी नरेशको पक्षले सोमबार यो दाबीलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्छन् कि गर्दैनन् ? हेर्नुपर्छ ।

त्यसपछि अभियोजन पक्षबाट पनि थप साक्षी वा प्रमाण छ भने अदालतमा प्रस्तुत गर्न पाउँछ । यो सबै भएपछि अन्तिम बहस हुनेछ र, ममता प्रकारणमा फैसला आउनेछ ।

तीन वटै अभियोग प्रमाणित भएमा २० वर्षदेखि आजीवन कारावाससम्म हुनसक्छ । हत्या प्रमाणित भएन भने शव टुक्राएको र लुकाएको अभियोगमा भने १ देखि ५ वर्षससम्म सजाय हुनसक्छ । 

भर्जिनियाले २०२१ मा मृत्युदण्डको व्यवस्था हटाएको छ । त्यसेले फस्ट डिग्री मर्डरमै दोषी ठहर भएपनि नरेश भट्टलाई हुने अधिकतम सजाय आजीवन कारावास हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज