नेभिगेशन
समाज

फरहान किन फर्किए, अरु पाकिस्तानी खेलाडी के गर्लान् ?

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सस्ंकरण सोमबार सुरु भएको छ । डीआरएस प्रविधिको प्रयोग, अनि आईसीसीको स्याङसन हटेका कारण यो पटकको एनपीएल अझ विशेष छ । 

फ्रेन्चाइज टिमहरुले एकसेएक स्टार प्लेयरहरु समेत अनुबन्ध गरेका छन् । त्यसमध्ये एक थिए, कर्णाली याक्सका साहिबजादा फरहान । 

३० वर्षका फरहान पाकिस्तानका टी–२० टिमका क्याप्टेन हुन् । अहिले पाकिस्तानको टी–२० म्याच छैन । इंल्याण्ड र श्रीलंकन टोलीलाई बोलाएर एकदिवसीय र टेष्ट सिरिज खेलिरहेको छ ।

त्यो टोलीमा फरहान थिएनन् । त्यसैले कर्णाली याक्सले एनपीएल खेल्न प्रस्ताव गर्‍यो । फरहान आजको दिनमा विश्व क्रिकेटकै ध्यान तान्न सफल एनपीएल खेल्न तयार नहुने कुरै भएन ।

पाकिस्तान क्रिकेट बोर्डले एनओसी अर्थात नो अब्जेक्सन लेटर पनि दियो । पूरा लिग खेल्ने गरी फरहान कात्तिक ७ गते काठमाडौं आइपुगे । टिमसँग अभ्यास गरेका उनी कर्णाली पहिलो म्याचमा नै ओपनिङमा जाने पक्का थियो । 

तर एनपीएल सुरु हुनुभन्दा ठीक अगाडि अनपेक्षित घटना भयो । पाकिस्तान क्रिकेट बोर्डले एनपीएल खेल्न आएका फरहानको फि भनेर रकम माग्न थाल्यो । त्यो पनि २५ हजार अमेरिकी डलर । यो भनेको ३७/३८ लाख नेपाली रुपैयाँ हो । 

झण्डै खेलाडीको फी बराबर रकम बोर्डले मागेपछि फ्रेन्चाइज क्लब अफ्यारोमा पर्‍यो । तर प्रतियोगिता सुरु हुनै लागेको छ । टिमको टप अर्डरको ब्याटर भएकाले फरहानलाई गुमाउन चाहेन । नेगोसिएसन गरेर फरहानको हकमा आधा रकम अर्थात साढे १२ हजार डलर तिर्न तयार पनि भएको थियो । 

तर पाकिस्तान क्रिकेट बोर्डले वनडे सिरिजको बाँकी खेलका लागि लागि भन्दै टप अर्डर ब्याटर साइम अयुबको ठाउँमा फरहानलाई रिप्लेस गरेको घोषणा गर्‍यो । राष्ट्रिय टिममा राखेपछि फरहानसँग चुपचाप पाकिस्तान फर्किनुको विकल्प रहेन । 

किनकी एनओसी लेटरमा नै नेशनल टिम वा त्यसका लागि क्लोज क्याम्पमा कल गरेको अवस्था उपलब्ध हुनुपर्ने छ भनिएको हुन्छ । फरहान पाकिस्तान फर्किएपछि कर्णालीलाई ओपनरका रुपमा कसलाई पठाउने भन्ने चिन्ता सुरु भएको छ । 

सँगसँगै अरु टिम पनि दबावमा परेका छन् । किनकी एनपीएलमा अरु पनि पाकिस्तानी खेलाडी छन् । चितवन राइनोजले हसन अली र उसामा मिर, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुसैन शाह अनि सुदूरपश्चिम रोयल्सले हाइदर अलीलाई टिममा अनुबन्ध गरेका छन् । 

उनीहरुको हकमा पाकिस्तान क्रिकेट बोर्डले के गर्छ भन्ने अन्यौल कायमै छ । यद्यपि सोमबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले आफ्ना पाकिस्तानी खेलाडीलाई मैदान उतारेको छैन ।

हुन त सबै खेलाडी एनओसी लिएरै आएका हुन् । तर बोर्डले २५ हजार डलर मागेको अवस्थामा के गर्ने भन्ने प्रश्न उठेको छ । जानकारहरुका अनुसार एनपीएलको हकमा यो पहिलो केस हो, तर पाकिस्तान बोर्डको यो पुरानै शैली हो । जब ठूलठूला लिगमा आफ्नै धेरै प्लेयर जान्छन्, पाकिस्तान क्रिकेट बोर्डले यसरी नै पैसा माग्ने गरेको छ । 

मेजर लिग जस्ता ठूला लिगमा महंगो मूल्य लिएर गएका कतिपय खेलाडीले त आफ्नै पारिश्रमिकबाट समेत यस्तो रकम तिर्ने समेत गरेका छन् । छोटो समयको लिग खेलेर १/२ लाख डलर लिने खेलाडीले २५ हजार तिर्न अठ्यारो पनि भएन । 

तर नेपालका फ्रेन्चाइज टिमहरु न त त्यति धेरै रकम खर्चिनसक्ने अवस्थामा छन्, न पाकिस्तानी प्लेयरहरु यति रकम लिएर आएका हुन् । फ्रेन्चाइज क्लबहरुले रकम त खुलाएका छैनन्, तर एनपीएल खेल्न आएका पाकिस्तानी प्लेयरहरुले २० देखि ३० हजार अमेरिकी डलरसम्म लिएको अनुमान छ । 

त्यसैले यदि पाकिस्तान क्रिकेट बोर्डले २५ हजार डलर दिनुपर्ने अडान राख्यो भने धेरै पाकिस्तानी क्रिकेटर फर्किनुपर्ने अवस्था आउने छ । 

यद्यपि नेशनल टिममा कल नभएका खेलाडीहरु, जो एनओसी लिएर आएका छन्, उनीहरुलाई एनपीएलमा राखिराख्न क्रिकेट संघको गभर्निङ काउन्सिलले समेत पहल थालेको छ । यसले परिणाम के निस्कछ, अनुमान गर्न हतार हुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज