नेभिगेशन
राजनीति

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन 

गत फागुन २१ गतेको चुनावपछि पहिलो पटक नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार सुरु भएको छ । चुनावको समीक्षासमेत गर्ने गरी बसेको केन्द्रीय कमिटी बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कमिटीले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ । 

यद्यपि यो प्रतिवेदनमाथि एकमत छैन । पार्टी उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलमा प्रतिवेदनमाथि एकमत हुन नसकेपछि महासचिव शंकर पोखरेलले छुट्टै प्रतिवेदन बनाएका छन् । 

कार्यदलको प्रतिवेदनमा छलफल हुने गरी सुरु भएको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले सरकारको आलोचना गर्नुका साथै पार्टीभित्र आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेहरुविरुद्ध आक्रोश पोखेका छन् । 

उनले आफू गत पुसमा महाधिवेशनबाटै अध्यक्षमा निर्वाचित भएकाले पद नछोड्ने अडान दोहोर्‍याएका छन् । केन्द्रीय कमिटी बैठकको सम्बोधनमा ओलीले के भने, बुँदागत रुपमा बुझ्नुहोस् : 

सबैभन्दा ठूलो प्रहार ओली र एमालेविरुद्ध 

ओलीले अहिलेको सरकार पक्षबाट सबैभन्दा बढी प्रहार एमालेमाथि भएको बताए । 

गत वर्ष भदौ २४ को घटनाबाट अहिले सरकारमा हुनेहरुबाहेक अरुले धेरैथोरै क्षति व्यहोर्नुपरेको भन्दै ओलीले सबैभन्दा धेरै क्षति भने एमालेले ब्यहोर्नुपरेको बताए ।  

‘अरुमाथि भन्दा हामीमाथि बढी प्रहार छ । यस पार्टीको अध्यक्षको हैसियतले म माथि बढी केन्द्रित गरिएको छ । चाहे सामाजिक सञ्जाल वा मेडिया वा अरु कुराहरुबाट अनेक हिसाबले प्रहार गरिएको छ’, ओलीले भने । 

अहिलेको सरकार बन्नेवित्तिकै आफूलाई पक्राउ गर्ने पहिलो निर्णय गरेको र पहिलो काम नै आफ्नो गिरफ्तारबाट गरेको ओलीले टिप्पणी गरे । 

‘विना कसुर यो पार्टीको अध्यक्षलाई पूर्वप्रधानमन्त्रीलाई १३ दिन हिरासतमा राखेर बलजफती मुद्दा चलाउन खोजियो । यो चानचुने कुरा होइन, डेमोक्रेसीमा यस्तो हुँदैन अधिनायकवाद लागू गरिएको हो भन्ने स्पष्ट छ’ उनले भने । 

ओलीले गत फागुन २१ गते भएको चुनाव सिंगो देशलाई त्रासमा राखेर गरिएको टिप्पणी पनि गरे । आफूलाई स्थान हद गरेर र पासपोर्ट रोक्का राखेर चुनाव घोषणा गरिएको र विरोध गर्नेलाई तर्साउने, थर्काउने र जाली मुद्दा लगाउने गरिएको पनि उनले बताए । 

‘देशलाई नै अरर्‍याएर ‘शान्तिपूर्ण’ चुनाव गरियो, आवाज निकाल्यो भने गिरफ्तार गरिहाल्ने’, उनले भने । 

पार्टीमा अराजकता देखियो 

एमाले अध्यक्ष ओलीले अहिले सिंगो पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बेलामा पार्टीभित्रै समस्या सिर्जना गरिएको पनि बताए । 

पार्टीभित्रका समस्या पार्टीभित्रकै कमिटीहरुमा छलफल हुन सक्नेमा मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भनेर बोल्ने गरिएको भन्दै आपत्ति जनाए । 

‘तपाई पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, बाहिर गएर जगहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने ?’ ओलीले प्रश्न गरे । 

एमालेभित्र पछिल्लो समय नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । ओलीले त्यसलाई अराजकताको संज्ञा दिए । ‘यस्तो अराजकतालाई अन्त्य गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने परिस्थिति छ’, उनले भने । 

पार्टीकै नेताहरुले आफूविरुद्ध सामाजिक सञ्जालमा स्टाटस र कमेन्ट लेखाएर विरोधीहरुलाई खेल्ने ठाउँ दिएको पनि ओलीले आरोप लगाए । 

एमाले अनुशासित पार्टी भए पनि अहिले अनुशासनमा सबैभन्दा कमजोर देखिएको पनि ओलीले टिप्पणी गरे । 

ओलीले गत मंसिर–पुसमा भएको महाधिवेशनबाट पार्टीको नीति र नेतृत्व टुंगिसकेकाले अब त्यसमा यताउता गर्न नमिल्ने बताए । महाधिवेशनको निश्कर्ष नमान्नु अराजकता हुने उनको भनाइ छ । ‘स्वस्थ, सभ्य र संगठनात्मक विधि अन्तर्गत छलफलमा सरिक होऔं र अगाडि बढौं’, उनले भने । 

अहिले नागरिक भ्रममा परेको र एमालेका विषयमा अलमलमा परेको भन्दै ओलीले पार्टीकै नेताहरु भ्रमको पछाडि कुदेको र भ्रमलाई मलजल गर्न लागेको टिप्पणीसमेत गरे । 

केन्द्रीय कमिटीमाथि शंका 

एमाले अध्यक्ष ओलीले बैठकमा केन्द्रीय सदस्यहरुले खुलेर आफ्नो विचार राख्न नपाउने अवस्था आउने आशंका गरेका छन् । 

उनले पार्टीका स्वयंसेवकहरुलाई तटस्थ, निष्पक्ष भूमिका निर्वाह गर्न र अध्यक्षको निर्देशन मान्न पनि भनेका छन् । 

‘बैठकमा कुनै प्रकारको डिस्टर्बेन्स नहुने गरी डिस्ट्यान्समा बसेर केन्द्रीय कमिटी सदस्यलाई मोबिलिटी गर्न, विचार ब्यक्त गर्न कुनै व्यवधान भोलिन्टियरबाट पुग्ने छैन’, ओलीले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति