लुटेराको बिगबिगी : मर्निङवाक गर्ने र राति हिँड्नेहरु टार्गेटमा
तपाईं बिहान सबेरै मर्निङवाकमा निस्कनुहुन्छ वा कामबाट राति अबेर फर्किनुहुन्छ ?
कतै तपाईमाथि कसैले निगरानी त गरिरहेको छैन ? काठमाडौंमा बिहान र राति लुटपाट गर्ने गिरोह तपाईंको गौंडा ढुकेर बसिरहेको पनि हुनसक्छ ।
लुटपाटमा संलग्न यस्तो गिरोहलाई प्रहरीले पटक पटक पक्राउ गरिरहेको छ । यस्तो गिरोहलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँछ, तर जेलबाट छुटेर फेरि पनि लुटपाटै गरिरहेको छ ।
यसरी लुटपाट गरिरहेको समूहको नाइकेलाई पक्राउ गर्न प्रहरीले असोज २१ गते काठमाडौंमा गोली नै चलायो । काठमाडौंको बौद्ध र स्वयम्भू क्षेत्रमा लुटपाट मच्चाइरहेको गिरोहको नाइके सिन्धुलीका २६ वर्षका आयन माझीलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ जडिबुटी पुलमुनि मोटरसाइकलमा भेटेको थियो । प्रहरीलाई नै खुकुरी हान्न खोजेपछि उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार उनलाई पक्राउ गर्न २ राउण्ड हवाइ फायर गरिएको थियो भने घुडामुनि एक राउण्ड गोली हानिएको थियो । माझीसँगै लुटपाटमा संलग्न अरु २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु हुन्, मकवानपुरको बकैया गाउँपालिका–७ का ३६ वर्षका मनोजकुमार मोक्तान र बकैया गाउँपालिका–५ का ३४ वर्षका राकेश थिङ । प्रहरीका अनुसार यी तीनै जना विगतमा विभिन्न अपराधिक घटनामा पक्राउ पर्ने, जेल बस्ने र छुट्ने गरिरहेका छन् ।
जति पटक पक्राउ परेपनि जुलबाट छुट्नासाथ फेरि पुरानै अपराधमा संलग्न हुने गरेका छन् ।
आयन माझी सिन्धुलीको मरिण गाउँपालिका–५ का हुन् । हाल काठमाडौंको कलंकी ढुंगेअड्डामा बस्छन् । उनले आफ्नो समूहसँग मिलेर काठमाडौंका विभिन्न ठाउँमा मोटरसाइकल, गरगहनाजस्ता सामान लुट्ने र ती सामान व्यवस्थापन गरेर पैसा आर्जन गर्दै आएका थिए ।
आयन माझीकै समूहलाई प्रहरीले ८–९ महिना अगाडि पनि पक्राउ गरेको थियो । त्यतिबेला उनीहरु राति राति २–३ वटा मोटरसाइकल लिएर टोल टोल चाहार्थे । हरेक मोटरसाइकलमा ३–३ जना बस्थे । अनि मर्निङवाकमा हिँडेका र राति अबेर कामबाट घर फर्केकाहरुलाई एकान्तमा देख्नेबित्तिकै मोटरसाइकल रोक्थे । अनि पछाडिका दुई जना झरेर लुटपाट गर्थे । चालक मोटरसाइकलमै स्ट्यान्ड बाइ बसिरहेको हुन्थ्यो । लुटपाट सक्नेवित्तिकै फेरि मोटरसाइकल चढेर भागिहाल्थे । उनीहरु मुख्य गरि मानिसहरुसँग भएको गहना र नगद लुटपाट गर्थे ।
त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौंले नै १० जनालाई पक्राउ गरेर चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरेको थियो । तर जेलबाट छुटेपछि फेरि अपराध कर्ममा संलग्न भए ।
आयन माझीविरुद्ध काठमाडौं, भक्तपुर र काभ्रे ३ जिल्लाका प्रहरी कार्यालयमा गरी २७ वटा मुद्दा छ । जिल्ला प्रहरी परिसर काठमाडौंले माघ २० भन्दा बढी लुटपाटका घटनामा संलग्नको आरोपमा फरक फरक मुद्दा चलाएको थियो ।
आयन माझी २०७७ सालमा लुटपाट मुद्दामा ३ महिना कैद बसेर कारागारबाट धरौटीमा छुटेका थिए । पछि अदालतले उनलाई ६ महिनाको कैद सजाय सुनायो, उनी भने फरार थिए । २०८२ वैशाखमा पुनः पक्राउ परे र ३ महिना जेल बसेर छुटे । त्यसपछि लगातार लुटपाट र चोरीमै लागिरहेका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार माझी २७ वटासम्म अपराधका घटनामा संलग्न भएको देखिएको छ । उनले १५ वटा मोटरसाइकल चोरी गरेको भेटिएको छ । नगद र गरगहना त कति लुटे हिसाब नै छैन ।
चोरेको मोटरसाइकल कहाँ बिक्री गर्थे भन्ने खुलेको छैन । उनीहरुले पहाडी क्षेत्र वा मधेशका भित्री इलाकातिर बिक्री गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
माझीले हाल प्रयोग गरिरहेको २२० सीसीको पल्सर मोटरसाइकल पनि लुटेको प्रहरीले बताएको छ । यो मोटरसाइकल बालकुमारी पुल मुनि लुटेको खुलेको छ ।
यो समूहले मोटरसाइकलमा नम्बर प्लेट पनि आफैं चेन्ज गर्ने गरेका छन् । नम्बर प्लेटहरु पनि अल्फाबेट नै नराख्ने वा सजिलै नबुझिने बनाउने गरेका छन् ।
आयन माझीको समूहका मनोजकुमार मोक्तान मोटरसाइकल चालकको भूमिका हुन्थे भने राकेश थिङ चाहिँ मोटरसाइकलको पछाडि बस्ने र मान्छे देख्नेवित्तिकै झरेर लुटपाट गर्ने गर्थे ।
उनीहरु २०८२ भदौ २४ गते जेनजी बिद्रोहका क्रममा काठमाडौंमा बिभिन्न बैंकका एटीएम बुथमा पनि लुटपाट गरेको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार यो गिरोहमा अरु पनि हुन सक्ने आशंकामा खोजी भइरहेको छ ।
कसरी गर्थे लुटपाट ?
अनुसन्धानका क्रममा प्रहरीले लुटपाट गर्ने समूहले के–के बहानामा लुटपाट गर्छन् भन्ने पत्ता लगाएको छ ।
प्रहरीका अनुसार बिहान अध्यारोमा घरबाहिर हिँडेका सर्वसाधारणलाई ठेगाना सोध्ने बहानामा नजिकिन्छन् । अनि उनीहरुले लगाइरहेको गहना लुटपाट गरेर भाग्छन् । भाग्दाखेरि पनि पहिला एउटा मोटरसाइकल चढ्छन्, एकछिनपछि फेरि अर्को चढ्छन्, जसले गर्दा पिछा गर्दा पनि भेट्न गाह्रो हुन्छ ।
पठाओ राइडरको बहाना बनाएर पनि नजिक आउनसक्छन् । राति र बिहान एक्लै मर्निङवाक हिँड्ने वा तरकारी किन्न जाने महिला र पुरुषलाई इनड्राइभ वा पठाओ चाहिएको छ भनेर सोध्ने, अनि एकान्त पारेर लुटपाट गर्ने गर्छन् । लुटपाटका क्रममा उनीहरुले हतियार पनि प्रयोग गर्ने गरेका छन् ।
असोज १४ गते राति साढे १ बजे बौद्धका महेन्द्रकुमार बल तरकारी किन्नका लागि जाँदै थिए । बौद्धको गेट नम्बर २ नजिकै अपरिचित ४–५ जनाको समूहले उनलाई घेरेर २ लाख रुपैयाँ लुटेर लगे । त्यो समूहले उनीसँग भएका सबै कागजात पनि लुटेर लगेको थियो ।
असोज १३ गते राति पौने १२ बजे रमेश खड्गी गाडी चलाएर काठमाडौंको डल्लु चौतारा नजिकै पुगेका थिए । त्यही बेला मोटरसाइकलमा आएका ३ जना केटाहरुले गाडी रोक्न लगाएर घेराहाले । अनि कारको ढोका खोलेर उनले लगाएको साढे ३ तोलाको सिक्री लुटेर डल्लुको झोलुंगे पुलतिर भागे ।
प्रहरीका अनुसार यो दुबै घटनामा आयन माझीको समूह संलग्न थियो । अहिले प्रहरीले आयन माझीको समूहमा को को छ भनेर पहिचान गर्ने र उनीहरुको प्रोफाइलिङ गर्ने काम सुरु गरेको छ ।
यसरी काठमाडौंमा आपराधिक समूहहरु साँझ विहान र राती सक्रिय छन् । तर, उनीहरुलाई पूर्ण नियन्त्रणमा लिन प्रहरी असफल छ । आफ्नो सुरक्षाका लागि व्यक्तिहरु आफैं पनि सजग हुन जरुरी छ ।
नेपालमा सुन तस्करीमा चिनियाँ गिरोह फेरि सक्रिय, भंगालमा थियोे प्रशोधन कारखाना
ऋणले जोडेको घर र घडेरी रहेन बाँकी
'जलवायु न्याय' राष्ट्रसंघको दस्तावेजको सुन्दर वाक्यमा सीमित हुनुहुँदैन
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन








