रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
एउटा अजंगको, निडर र शक्तिशाली जंगली हात्ती ।
जसले डेढ दशकदेखि चितवन राष्ट्रिय निकुञ्जमा आफ्नो साम्राज्य चलाइरहेको थियो ।
निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दा मात्रै हैन, सिंगो नेपालले नै यो हात्तीलाई एउटा अजबको नामले चिन्थ्यो, ‘रोनाल्डो’ ।
यो नाम त्यत्तिकै राखिएको थिएन, जसरी बितेको दशकमा क्रिस्टियानो रोनाल्डो फुर्तिलो शैलीले विश्व फुटबलमा सबैलाई डोमिनेट गर्दै थिए, रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा त्यही गर्दै थियो । त्यसै कारण यो हात्तीको नाम ‘रोनाल्डो’ राखिएको थियो । त्यसैले यो नेपालकै सिलिब्रेटी हात्ती थियो ।
४५ वर्षको यो हात्ती अरु साधारण हात्तीजस्तो मात्रै थिएन, चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन प्रक्रिया र त्यहाँको पारिस्थितिक प्रणालीको एउटा मजबुत पिलर थियो ।
तर, असोज ३ गते चितवनको टिकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एउटा यस्तो कारुणिक घटना घट्यो, जसले सिंगो संरक्षण क्षेत्रलाई स्तब्ध बनाइदियो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा सुरक्षा पोस्टका लागि लगिएको विद्युतीय तारलाई मुखले टोकेको अवस्थामा रोनाल्डो मृत फेला पर्यो ।
यो घटनाले अहिले वन्यजन्तु संरक्षणकर्मी र चितवनका स्थानीयदेखि समग्र नेपाललाई नै स्तब्ध पारेको छ ।
२०७० सालभन्दा अघि जाने हो भने निकुञ्जमा आफ्नो ठूलो प्रभाव राख्ने जंगली हात्ती थिए, नाना पाटेकर र रोमियो । नानापाटेकर र रोमियो हात्तीले निकुञ्ज र आसपासका क्षेत्रमा आतंक मच्चाउँथे । पहिले नाना पाटेकर र पछि रोमियोले निकुञ्जभित्रको माहोल बदलेका थिए । २०६६ ताका रोमियोलाई टक्कर दिन ध्रुबे हात्ती आयो ।
तर, २०६९ पछि चितवनको जंगलमा एकाएक शेर बनेर निस्कियो ‘रोनाल्डो’ । त्यतिबेला ध्रुबे अति नै आक्रामक थियो । बस्तीमा छिरेर भौतिक क्षति पुर्याउनु उसको दैनिकी बन्यो । निकुञ्जमा मानव–वन्यजन्तु द्वन्द्व बढाउने काममा ध्रुबेको मुख्य रोल थियो ।
रोनाल्डो भने ध्रुबे भन्दा अलि फरक स्वाभावको थियो । ध्रुबेले बितण्डा मच्चाइरहेको समयमा रोनाल्डोले पनि धेरै मानवीय क्षति पुर्यायो । ध्रुबे र रोनाल्डोको यो संघर्षको मारमा धेरै मान्छेले ज्यान गुमाउनुपरेको छ ।
रोनाल्डो हात्तीको कुरा गर्दा चितवन राष्ट्रिय निकुञ्जमा यो हात्ती देखिन थालेको २४ वर्ष भयो । जब रोनाल्डो युवा अवस्थामा प्रवेश गर्यो, तब उसले आफ्नो शारीरिक शक्ति, लामो दाराका बलमा निकुञ्जभित्रका अन्य जंगली भाले हात्तीहरुलाई पछार्न थाल्यो । जंगलमा कसको अधिकार चल्ने भन्ने हात्तीहरुको प्राकृतिक प्रतिस्पर्धामा रोनाल्डोले छिट्टै आफूलाई अब्बल बनाउँदै लग्यो ।
त्यही बेलामा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा काम गर्ने कर्मचारीहरुले उसलाई फुटबलर रोनाल्डोसँग तुलना गरेर रोनाल्डो राखिदिए । यसको मुख्य कारण उसको गति र शक्ति नै थियो । अन्य भाले हात्तीहरुसँगको भिडन्तमा उसले कहिल्यै हार मानेन । जंगलको एउटा ठूलो भूभागलाई आफ्नो ‘टेरिटोरी’ अर्थात् इलाका बनाएर उसले आफ्नो प्रभुत्व जमाउन सुरु गर्यो ।
हात्तीहरुको समूहमा अल्फा मेल वा शक्तिशाली भालेको वर्चस्व एकदमै बलियो हुन्छ । भीडन्तमा जुन हात्ती सबैभन्दा मजबुत ठहरिन्छ, उसैले जंगलको उत्कृष्ट चरन क्षेत्र र पोथी हात्तीहरुमाथि अधिकार जमाउँछ । अरु भाले हात्तीहरु पनि डराउने अवस्था बन्छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा नजिकै खोरसोर भन्ने ठाउँमा हात्ती प्रजनन तथा तालिम केन्द्र छ । त्यहाँ निकुञ्जले पोथी हात्ती र बच्चाहरुलाई राखेको छ । त्यहाँ जंगली हात्तीहरु पोथी हात्तीको गर्भाधानका लागि आउने गर्छन् ।
त्यही केन्द्र र आसपासको वन क्षेत्रमा रोनाल्डो आएपछि अन्य जंगली भाले हात्तीहरु मकुना, ध्रुवे, गोबिन्देहरु साइड लाग्नै पथ्र्यो । त्यसैलै रोनाल्डोको उदयले ध्रुबे हात्तीलाई पनि करिब ९ वर्ष निकुञ्जबाट गायब हुन बाध्य बनायो ।
पुच्छर चुँडिएको हात्ती
तपाईंले याद गर्नुभएको थियो भने रोनाल्डोको पुच्छर नै थिएन । प्राकृतिक रुपमै हात्तीहरुका बीचमा को बढी शक्तिशाली, को स्मार्ट र कसले पोथी हात्तीहरुमाथि अधिकार जमाउने भन्ने विषयमा भयानक युद्ध हुने गर्छ । यस्तै एउटा भिषण संघर्षका क्रममा रोनाल्डोले आफ्नो पुच्छर गुमाएको थियो ।
एकपटक अर्को शक्तिशाली जंगली भाले हात्तीसँगको भीषण लडाइँमा रोनाल्डोको पुच्छर चुँडिएको थियो । पुच्छर चुँडिएपछि पनि रोनाल्डोको शक्ति र घमण्डमा कुनै कमी आएन । पुच्छर नभएका कारण उसलाई टाढाबाटै चिन्न सजिलो हुन्थ्यो ।
पछिल्ला वर्षहरुमा हात्ती प्रजनन केन्द्र खोरसोरमा प्रायः मकुना, गोबिन्दे र रोनाल्डोको आउजाउ भइरहन्थ्यो । तर, रोनाल्डो आउने बित्तिकै मकुना र गोबिन्दे कुलेलम ठोक्थे । यदि रोनाल्डोले अरु भाले हात्तीलाई कुनै पोथी हात्तीको आसपास देख्यो भने सयौं मिटर परसम्म लखेटेर फर्किन्थ्यो । त्यसैले चितवन राष्ट्रिय निकुञ्जको निर्विकल्प दादा वा भनौं राजा नै रोनाल्डो थियो ।
हात्ती प्रजनन केन्द्र सौराहाका प्रमुख मनपुरन चौधरी रोनाल्डोलाई सौराहको ज्वाइँ भन्छन् । उनका अनुसार खोरसोर रोनाल्डोको ‘ससुराली’ जस्तो थियो । पालिएका पोथी हात्तीहरुसँग संसर्गका लागि रोनाल्डो जंगलबाट खोरसोर आउने गर्थ्यो ।
सुरु–सुरुमा ऊ पोथी हात्तीको खोजीमा मात्रै त्यहाँ आउने गरे पनि पछिल्ला वर्षहरुमा उसले त्यहाँको वातावरणलाई पूर्ण रुपमा आफ्नो अनुकूल बनाइसकेको थियो । उसको लागि त्यो आफ्नै घर जस्तो थियो । हात्ती प्रजनन केन्द्रमा दर्जनभन्दा बढी घरपालुवा पोथी हात्तीहरु बाँधिएका हुन्छन् ।
जब जंगलमा रोनाल्डोलाई मात चढ्थ्यो, ऊ सिधै खोरसोर पुग्थ्यो । त्यहाँ पुगेपछि उसले आफ्नो रोजाइका पोथी हात्तीहरुसँग समय बिताउँथ्यो । कहिले ‘प्रेरणा कली’, कहिले ‘चितवन कली’, त कहिले ‘सरस्वतीकली’ सँग हप्तौं रमाउँथ्यो । ऊ प्रजनन केन्द्रभित्र आएपछि सिंगो केन्द्र नै उसको नियन्त्रणमा हुन्थ्यो । माउते र निकुञ्जका प्राविधिकहरु पनि उसलाई जिस्क्याउने वा धपाउने जोखिम लिँदैनथे ।
रोनाल्डो खोरसोरको आहार खान पनि पल्किएको थियो । प्रजनन केन्द्रमा रहेका पाल्तु हात्तीहरुका लागि निकुञ्जले विशेष पौष्टिक आहार तयार पार्ने गर्छ, जसलाई स्थानीय भाषामा ‘कुची’ भनिन्छ । धान, सख्खर, नुन र चना मिसाएर हरियो घाँसमा पोको पारेर बनाइने यो कुची रोनाल्डोलाई असाध्यै मन पर्थ्यो ।
सुरुमा पोथीको मायामा आउने रोनाल्डो पछि–पछि भने कुची खानकै लागि पनि दिनहुँ खोरसोर र सौराहा वरिपरि रुँघेर बस्न थाल्यो । माउतेहरुले पाल्तु हात्तीका लागि राखिदिएको कुची रोनाल्डोले दादागिरी शैलीमा खोसेर खाइदिन्थ्यो ।
रोनाल्डोले आफ्नो जीवनकालका १६ जनाभन्दा बढी मानिसको ज्यान लिएको रेकर्ड छ । हात्ती प्रजनन केन्द्र सौराहाका प्रमुख मनपुरन चौधरीका अनुसार ध्रुबेसँग टक्कर परेको समयमा रोनाल्डो पनि असाध्यै खतरनाक र आक्रामक मानिन्थ्यो ।
तर, उमेर बढ्दै जाँदा र सौराहा क्षेत्रमा मानिसहरुको बाक्लो उपस्थिति देख्दादेख्दै उसको व्यवहारमा परिवर्तन आएको थियो । पछिल्ला वर्षहरुमा रोनाल्डो मानिसहरु देख्दा पनि लखट्ने गर्दैनथ्यो । शान्त बस्नेहरुप्रति ऊसको स्वभाव पनि शान्त नै हुन्थ्यो ।
हात्ती प्रजनन केन्द्रमा काम गर्नेहरु रोनाल्डोसँग डराउन छाडेका थिए । उनीहरुलाई रोनाल्डोलाई बोलाउने र धपाउने तरिका जानिसकेका थिए ।
खोरसोर घुम्न जानेहरुले रोनाल्डोलाई सजिलै देख्न थालेका थिए । रोनाल्डो देख्न पाइने भएपछि हात्ती प्रजनन केन्द्र घुम्न जानेहरु पनि बढेका थिए । आन्तरिक तथा बाह्य पर्यटकहरु उसैको केही मिटर नजिक पुगेर फोटो, भिडियो र सेल्फी खिच्दा पनि रोनाल्डोले खासै वास्ता गर्दैनथ्यो ।
ऊ आफ्नै धुनमा मग्न हुन्थ्यो । ध्रुबे र गोबिन्देजस्ता अरु आक्रमक हात्तीहरु पनि आउन नदिने र रोनाल्डो पनि शान्त बस्ने अवस्थाले खोरसोर सौराहामा भीड लागेर मान्छे जाँदा पनि कुनै जोखिमको अवस्था थिएन ।
हात्ती संरक्षणको दृष्टिकोणले जंगली भाले हात्तीहरुको भूमिका अत्यन्तै महत्वपूर्ण र संवेदनशील हुन्छ । रोनाल्डो नेपालमा संकटउन्मुख अवस्थामा रहेका एसियन हात्तीहरुको वंश बचाउने एउटा प्रमुख ‘जेनेटिक पिलर’ थियो ।
हात्तीसार वा प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरुका लागि घरपालुवा भाले हात्तीहरुबाट हुने प्रजननभन्दा जंगली भाले हात्तीहरुबाट हुने प्रजनन धेरै गुणा उत्तम मानिन्छ । जंगलमा प्राकृतिक रुपमा बचेका, निरोगी र बलिया भाले हात्तीको संसर्गबाट जन्मिने छावाहरु शारीरिक रुपमा निकै बलिया, स्वस्थ र रोगप्रतिरोधात्मक क्षमताका हुन्छन् ।
हात्ती प्रजनन केन्द्र सौराहाका प्रमुख मनपुरन चौधरीका अनुसार खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मिएका बहुसंख्यक छावाहरुको जैविक पिता रोनाल्डो नै थियो । ३८ वटा छावाहरु रोनाल्डोसँगकै संसर्गमा जन्मिएको यकिन छ ।
उसले आफ्नो जीवनकालमा प्रजनन केन्द्रका दर्जनौँ पोथी हात्तीहरुसँग समागम गरी नेपालको हात्तीसार प्रणालीलाई योगदान दिएको थियो । उसकै जैविक योगदानका कारण आज चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका सरकारी हात्तीसारहरुमा रोनाल्डोका सन्ततिहरु निकुञ्जको सुरक्षा, गस्ती र वन्यजन्तु अनुगमनमा खटिएका छन् ।
यदि रोनाल्डोजस्ता बलिया जंगली भाले हात्तीहरु नभइदिएको भए खोरसोरमा हुने हात्ती प्रजनन प्रक्रिया निक्कै कमजोर र असफल हुने जोखिम हुन्थ्यो । त्यसैले नेपालमा हात्तीको संरक्षणमा पनि रोनाल्डोको योगदान अतुलनीय छ ।
लामो समय चितवनमा आफ्नो साम्राज्य चलाएको, अरु हात्तीहरुलाई घुँडा टेकाएको र मानिसहरुका लागि कौतूहल र आकर्षण बनेको रोनाल्डोको अन्त्य भने सोच्दै नसोचेको र अत्यन्तै दर्दनाक तरिकाले भयो ।
२०८३ साल असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने टिकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रोनाल्डो मृत अवस्थामा फेला पर्यो । टिकौली सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ, प्रसिद्ध बिसहजार ताल जाने खगेरी नहरको बाटोमा रोनाल्डो लडिरहेको भेटियो ।
मृत्युको कारण थियो, विद्युतीय करेन्ट । निकुञ्ज प्रशासन र प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणअनुसार रोनाल्डोको मृत्यु विद्युतको तार चपाउँदा जिब्रोमा करेन्ट लागेर भएको थियो ।
खासमा रोनाल्डोलाई निकुञ्ज आसपासका बस्तीमा पस्नबाट रोक्न लगाइएका विद्युतीय तारबारले समेत रोक्न सक्दैन थियो । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको वरण्डाभार सुरक्षा पोस्टका लागि लागिएको बिजुलीको लाइन उसका लागि नसोचेको धराप बन्यो ।
करिब १६ फिट अग्लो पोलबाट तानिएको विद्युतीय तारलाई रोनाल्डोले आफ्नो सुँड वा मुखले छोएको थियो । उच्च क्षमताको करेन्ट शरीरमा प्रवाह भएपछि क्षणभरमै यो विशाल प्राणीको ज्यान गयो ।
हात्तीको पोष्टमार्टम गरेर संरक्षणकर्मी, माउते, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाहरुको उपस्थितिमा रोनाल्डोलाई सोही घटनास्थल नजिकै ठूलो खाल्डो खनेर अन्त्येष्टि गरिएको छ ।
रोनाल्डोको यो दुखद मृत्युले नेपालको संरक्षण क्षेत्रमा एउटा कहिल्यै पुरिन नसक्ने क्षति पुर्याएको छ । जुन हात्तीले वन्यजन्तु संरक्षणमा योगदान गरिरहेको थियो, उसैको मृत्यु संरक्षणकै नाममा तानिएको एउटा बिजुलीको तारका कारण भयो ।
यो घटनाले केही गम्भीर प्रश्नहरु उब्जाएको छ । वन्यजन्तुहरुको निरन्तर आउजाउ हुने क्षेत्रभित्र लगिएका विद्युतीय लाइनहरु कत्तिको सुरक्षित छन् ? निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा यस्ता तारको जोखिमको मुल्यांकन किन भइरहेको छैन ? वरण्डाभारजस्तो संवेदनशील जैविक मार्गमा खुला र असुरक्षित तरिकाले तार टाँगिनु कत्तिको उचित हो ?
रोनाल्डो अब हामीमाझ रहेन । खोरसोरका पोथी हात्तीहरुले अब फेरि कहिल्यै रोनाल्डोको आगमनको प्रतीक्षा गर्नुपर्ने छैन । अब गोबिन्दे र ध्रुबे रोनाल्डोको डरले भाग्नुपर्ने छैन । दारा नभएको भाले हात्ती मकुना २०८१ सालमा अकालमै मरेको थियो ।
त्यसैले अझै प्रश्नहरु बाँकी छन् ।
हात्ती प्रजनन केन्द्र सौराहाका प्रमुख मनपुरन चौधरीलाई चिन्ता छ, अब ध्रुबे र गोबिन्दे कहिले रोनाल्डोजस्तै शान्त बन्न सिक्लान् ? कि यो क्षेत्रमा अझै हात्तीको तनाव बढ्ला ? अनि गोबिन्देसँगको संसर्गमा हात्तीको छावा जन्मिने दर कमजोर छ । त्यसैले प्रजननमा रोनाल्डोको जस्तो सक्सेस रेट कसरी मिल्ला ? यी प्रश्नहरुको जवाफ भविष्यले नै दिने छ ।
तर, रोनाल्डोको यो अकालमा भएको अप्रत्यासित अवसानले हामीलाई एउटा ठूलो पाठ सिकाएर गएको छ, यदि वन्यजन्तुको बासस्थानभित्र पूर्वाधारहरु निर्माण गर्दा सुरक्षाका न्यूनतम मापदण्ड अपनाइएन भने, हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरु यसरी नै क्षणभरमै ढल्न र मासिन सक्छन् ।
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






