नेभिगेशन
Podcasts

काठमाडौंमा सस्तो मूल्यमा राम्रो जग्गा कसरी चिन्ने ?

हरेक नेपालीको चाहना हुन्छ, काठमाडौंमा घर जग्गा जोडौं । तर काठमाडौंमा जग्गाको भाउ यति माथि पुगिसक्यो कि सामान्य मान्छेको आम्दानीले काठमाडौंमा घर जग्गा किन्न कठिन छ ।

तर पनि काठमाडौंको मुख्य शहरदेखि टाढा नै होस्, ऋण नै गर्न किन नपरोस्, जग्गाको सानो टुक्रा नै किन नहोस् किन्न चाहने मान्छेको कमी छैन । 

काठमाडौंमा बाह्रै महिना घर जग्गा कारोबार भइरहेको हुन्छ । यहाँ जग्गा किन्ने, घर किन्ने, अपार्टमेन्ट किन्नेहरु प्रशस्तै छन् । काठमाडौं फैलिएर धेरै टाढा टाढा पुगिसकेको छ । घर जग्गा व्यवसायमा नयाँ नयाँ ट्रेण्डहरु आइरहेका छन् । काठमाडौंमा घर जग्गा किन्नुको उद्देश्य पनि फरक हुन्छ ।

कोही बसोबासका लागि घर जग्गा किन्छन् । कोही व्यापार व्यवसायका लागि किन्छन् । कस्तो मान्छेले कस्तो जग्गा किन्दा ठीक होला ? नयाँ मान्छेले घर वा जग्गा किन्दा के कुरामा ध्यान दिने ?

यस्तै विषयमा युवा रियल इस्टेट एजेन्ट तथा लालपूर्जा नेपालका प्रबन्ध निर्देशक सञ्जय नेपालसँग नेपाल शोका विनोद ढकालले गरेको कुराकानीको सार संक्षेप :

१. कति पैसा भयो भने काठमाडौंमा जग्गा किन्न सकिएला ? 

काठमाडौं उपत्यकाभित्र सस्तो जग्गा खोज्ने हो भने रिङरोडबाट कम्तीमा ७–८ किलोमिटरसम्म टाढा जानुपर्छ ।

त्यहाँ १३ फिटको बाटो पुगेको र सार्वजनिक गाडीको सुविधा भएको ठाउँमा सबैभन्दा सस्तो जग्गा खोज्दा आनाको १५ लाख रुपैयाँसम्म पाइन सक्छ ।

एउटा परिवारलाई घर बनाएर बस्न ठिक्कको जग्गा ४ आनालाई मान्ने हो भने ६० लाख रुपैयाँ पर्छ । त्यसमा बैंकले आधाजति ऋण दिन सक्छ ।

त्यसैले आजको दिनमा ३० लाख रुपैयाँ नगद छ र नियमित तलब आउने जागिर छ भने काठमाडौंमा जग्गा किन्न सकिन्छ । 

२. काठमाडौंमा जग्गा हुनुको महत्व के छ ? 

नेपालीका लागि काठमाडौंमा जग्गा हुनु भनेको इज्जत प्रतिष्ठाको कुरा हो ।

व्यापार व्यवसायका लागि बैंकमा धितो राखेर ऋण लिन, छोराछोरी पढाउन, विदेश जाँदा सम्पत्ति देखाउन पनि काठमाडौंको जग्गाले ठूलो आधार दिन्छ । 

तर काठमाडौंमा जग्गा किन्ने नाममा तपाईंले विचार पुर्‍याउनुभएन भने त्यो निर्णय तपाईंको जीवनकै खराब निर्णय पनि हुन सक्छ ।

आफूसँग भएको नगदमा ऋण समेत थपेर जग्गा किन्दा भोलि किस्ता तिर्न सकिएन भने जग्गा नै लिलाम हुन सक्छ । त्यतिबेला जग्गा बेच्छु भन्दा पनि बिक्री नहुन सक्छ । 

३. अहिले जग्गा मात्र किन्ने र ५ वर्षपछि घर बनाउँछु भन्ने सोच भएको मान्छेले कस्तो जग्गा किन्दा ठीक होला ? 

५–७ वर्षपछि घर बनाउने जग्गा खोज्दै हुनुहुन्छ भने आफूल जग्गा किन्न लागेको ठाउँ ५–७ वर्ष पछि कस्तो होला भनेर सोच्ने होइन ।

५–७ वर्षपछि आफू कुन स्थितिमा हुन्छु भनेर हेर्नुपर्छ । त्यतिबेला तपाईंको सोच के हुन्छ, साथी सर्कल के हुन्छ ? आम्दानी कति हुन्छ भन्ने अनुमान गरेर मात्र जग्गा किन्नुपर्छ । 

मैले धेरै मान्छे देखेको छु, जसलाई पहिले किनेको ठाउँ र जग्गा मन परेको छैन र बिक्री गर्न खोजिरहेका छन् । 

४. पहिलो पटक काठमाडौंमा जग्गा घर वा जग्गा किन्न चाहने मान्छेले ठाउँ छनोट गर्दा के कुरामा ध्यान दिने ? 

यो कुरा व्यक्ति अनुसार फरक पर्छ । कसैले लोकेसन हेर्न सक्छ, कसैले आफ्नो समुदाय हेर्न सक्छ । काठमाडौंमा जहाँको जग्गा किने पनि धेरैथोरै त भाउ बढिरहेकै छ ।

तर कस्तो जग्गाको मूल्य धेरै बढ्छ भन्ने कुरा चाहिँ त्यो जग्गामा जोडिएको बाटो, जग्गाको मोहडा, चार कुना मिलेको छ कि छैन, सुविधा कत्तिको छ, मुद्दा मामिला छ कि छैन भन्ने जस्ता कुराले निर्धारण गर्छ । त्यसैले जग्गा किन्दा यी कुरा चाहिँ विचार गर्नुपर्छ । 

अनि जग्गा किन्दा नै यसरी किन्नुस् कि म यो जग्गा छिटै बेचिहाल्छु । अर्थात् एक्जिट प्लान बनाएर जग्गा किन्नुस् । त्यसो भयो भने तपाईं धेरै सोचविचार गरेर राम्रो जग्गा किन्नुहुन्छ । 

धेरै नेपालीले भावनामा बगेर यो जग्गा त धेरै राम्रो छ, म यहीँ जिन्दगी बिताउँछु भन्ने सोच्छन् । जसले गर्दा भविष्यमा त्यो जग्गा आफूलाई पनि मन नपर्ने र बिक्री पनि नहुने समस्या आउन सक्छ । 

जग्गा किन्दा त्यसको उद्देश्यबारे प्रष्ट हुनुस् । जग्गा किन्ने कि घर किन्ने, भाडामा लगाउने घर बनाउने कि आफू मात्र बस्ने ? कि ब्यापारिक भवन किन्ने ? जग्गा किन्दा त्यसको जोखिम के के छ विचार गर्नुहोस् ।

भिरालो छ कि, चार कुना मिलेको छैन कि, माटो भरेर सम्याएको छ कि ? बाटो साँघुरो छ र भोलि बाटोका लागि जग्गा धेरै छाड्नुपर्ने छ कि भन्ने कुरामा धेरै विचार पुर्‍याउनुपर्छ । 

पहिलो चोटी घर जग्गा किन्ने मान्छेलाई मेरो सल्लाह– आफ्नो मान्छेको भर र आफन्तको पछि लागेर जग्गा नकिन्नुस् ।

कोही आफन्त साँच्चै विज्ञ छ र विश्वासिलो छ भने त ठीकै हो । नभए विश्वासिलो रियल इस्टेट एजेन्ट, वकिल, इन्जिनियर र बैंकसम्बन्धी ज्ञान भएको मान्छेलाई जग्गा देखाएर निर्णय लिनुभयो भने तपाईंलाई भविष्यमा कुनै पनि समस्या हुँदैन । 

Jagga-11-1790933589.jpg
५. काठमाडौंमा सस्तो जग्गा खोज्नेहरुलाई कुन लोकेसन उपयुक्त हुन्छ ? 

सस्तो जग्गा किन्ने हो भने धेरै विचार गर्नुपर्छ । कुनै जग्गा सस्तो छ भने किन सस्तो भयो भनेर बुझ्नुपर्छ । सस्तोको नाममा जस्तो पनि जग्गा किन्ने होइन, हामीले सस्तो मूल्यमा  राम्रो जग्गा किन्न प्रयास गर्नुपर्छ । 

मानौं ४ आना जग्गालाई ५० देखि ६० लाख रुपैयाँ पाइन्छ भने त्यसलाई सस्तो भन्नुपर्छ । त्यसका लागि चक्रपथबाट ७ देखि १० किलोमिटर टाढासम्म जानुपर्छ । काठमाडौंं, भक्तपुर र ललितपुरमा धेरै लोकेसनमा यस्ता जग्गा भेटिन्छ । 

यदि कोही बैंकको ऋण तिर्न नसकेर वा विदेश जानका लागि बेच्दैछ भने त्यस्ता जग्गा सस्तोमा पाउन सकिन्छ । तर यस्तो जग्गाको सम्पर्क भेट्न मुश्किल हुन्छ । 

तर फेरि पनि मेरो सुझाव छ, सस्तो जग्गा खोज्दा पनि बाटो फराकिलो छ कि छैन, चार कुना मिलेको छ कि छैन भन्ने कुरा चाहिँ हेर्नैपर्छ ।

१३ फिट फराकिलो बाटो र चारकुना नमिलेको भिरालो जग्गा सस्तोमा पाएँ भन्ने ठानेर किन्नुभयो भने भविष्यमा समस्या पर्न सक्छ । 

जग्गा किन्दा बाटो खुलेको, कलेज हस्पिटल, मार्टहरु नजिक भएको, कतै जान यातायातको सुविधा छ कि छैन भनेर विचार गर्नुुपर्छ । 

६. तत्कालै घर बनाएर बसिहाल्ने हो भने कस्तो जग्गा किन्नु ठीक होला ? 

जग्गा घर बनाउनका लागि उपयुक्त छ कि छैन भनेर हेर्नुपर्छ । कुनै भिरालो जग्गालाई घर बनाउनका लागि उपयुक्त बनाउन पनि धेरै खर्च लाग्छ । जस्तै भिरालो जग्गा छ भने धेरै माटो भरेर उठाउनुपर्छ । त्यसका लागि धेरै खर्च लाग्छ । 

जग्गाको चार कुना मिलेको छैन भन्ने अर्को महत्वपूर्ण कुरा हो । किनभने चारकुना नमिलेको जग्गामा आफूले भनेको जस्तो घर नबन्न सक्छ । 

जग्गा किनेर तुरुन्तै घर बनाउनेका लागि मेरो सल्लाह छ, जहाँ धेरै घर बनिसकेका छन् र केही टुक्रामात्र खाली छन्, त्यस्तो ठाउँको जग्गा हेर्नुस् ।

किनकी छिमेकीले घर बनाउँदा वर्षभरि चल्ने निर्माणको कामले धेरै डिस्टर्ब हुन सक्छ । त्यसैले धेरैजसो घर बनिसकेको र केही टुक्रामात्र घडेरी रहेको ठाउँमा बनाउनुभयो भने धेरै डिस्टर्ब हुँदैन । त्यस्तो बस्तीमा सडक, ढललगायतको सुविधा पनि पुगिसकेको हुन्छ । 

७. नाफा कमाउने उद्देश्यले जग्गामा लगानी गर्नेले कस्तो जग्गा हेर्ने ? 

नाफा कमाउनका लागि जग्गामा लगानी गर्ने हो भने एउटा कुरामा पहिले नै ढुक्क हुनुपर्छ, कि अहिले १०–१५ वर्ष अगाडि जस्तो रातारात जग्गाको मूल्य बढ्दैन । जग्गामा गरेको लगानीले नाफा त हुन्छ, तर पहिले जस्तो दोब्बर–तेब्बर हुँदैन । 

जग्गा किनेर ३ वर्ष होल्ड गर्ने हो भने टाढा गएर धेरै जग्गा किन्नुस् । किनकी त्यस्ते ठाउँमा जग्गाको भाउ छिटो बढ्छ । यदि ११ वर्षसम्म होल्ड गर्न सक्नुहुन्छ भने कमर्सियल जग्गा किन्नुस्, त्यस्ता जग्गा भाडामा लगाएर तत्कालै आम्दानी लिन सकिन्छ । कमर्सियल जग्गाको मूल्य धेरै बढ्दैन, किनकी त्यस्ता जग्गाको मूल्य पहिले नै उचाइमा पुगिसकेको हुन्छ । 

पहिला ठूलो जग्गा सस्तो पर्छ, टुक्रा जग्गा महंगो पर्छ भनिन्थ्यो । अहिले काठमाडौंको चक्रपथभित्र ठूलो जग्गा झन् महंगो पर्न थालेको छ । किनकी यहाँ हिजोआज ५–१० रोपनीको जग्गा नै भेटिँदैन । होटल बनाउन वा अपार्टमेन्ट बनाउन ठूलो आकारको जग्गाको डिमान्ड छ, तर जग्गा छैन । 

जग्गामा नाफा कमाउने भनेको बेच्ने बेलामा होइन, किन्ने बेलामा नै हो । जग्गा किन्दैमा राम्रो जग्गा किन्न सक्नुभयो भने भोलि जति बेला पनि बिक्री हुन्छ, मूल्य पनि राम्रो आउँछ । त्यसैले जग्गा किन्दा राम्ररी टाइम दिनुस्, धेरै र व्यवसायिक मानिसहरुको सल्लाह लिनुहोस् । 

Budhanilkantha-area-photo-1790933269.jpg
८. काठमाडौंको राम्रो रेसिडेन्सियल एरियामा जग्गा खोज्नेका लागि कहाँ उपयुक्त होला ? 

यो प्रश्नको जवाफ म एउटा उदाहरणबाट सुरु गर्छु । धेरै पहिला लालपूर्जा नेपालमा मातातीर्थको एउटा घर बिक्रीका लागि आएको थियो ।

१६ आनामा बनेको त्यो घरको मूल्य १३–१४ करोड थियो । तर मातातीर्थमा धेरैजसो घर ३–४ आनामा बनेकाहरु नै छन् । त्यस्तो ठाउँमा एकाध घर मात्र त्यति विलासी हुनुको कुनै अर्थ रहँदैन । 

आवासीय जग्गा हेर्दा आफ्नो प्रपर्टी जस्तो छ, वरिपरिको प्रपर्टी पनि त्यस्तै हुनुपर्छ । सोसाइटी पनि त्यस्तै हुनुपर्छ । त्यहाँ समान सोचाइ भएका मान्छेहरु हुनुपर्‍यो । फराकिला सडक, शान्त, सफा र हरियाली ठाउँ पनि चाहियो । नजिकै क्याफे र मार्टहरु चाहियो । ढल खुलेको, पानी नजम्ने, ठूला दमकल, गाडी, स्कुल बस आउँदा पनि नरोकिने हुनुपर्‍यो । 

यदि पैसाको समस्या छैन, काठमाडौंको राम्रो रेसिडेन्सियल ठाउँ खोज्ने हो भने बालुवाटार, महाराजगञ्ज, बाँसबारी, बुढानीलकण्ठ आदि हुन् । ललितपुरमा हेर्ने हो भने सानेपा हाइट, झम्सीखेल, भैंसेपाटी हो । 

बानेश्वर पनि राम्रो आवासीय क्षेत्र हो, तर अलि भिडभाड र अशान्त छ । पछिल्लो समय निकै विकास भएको क्षेत्र इमालडोलको उदाहरण लिने हो भने यहाँ बस्ती त विकास भयो, तर सडकहरु धेरै साँघुरो छ, त्यसैले यसलाई राम्रो आवासीय क्षेत्र मान्न मिल्दैन । 

भक्तपुर पनि पछिल्लो समय घर जग्गा कारोबार निकै बढेको छ । तर काठमाडौंसँगको दूरी टाढा छ र व्यवस्थित टाउन प्लानिङ पनि भइसकेको छैन । 

मेरो व्यक्तिगत कुरा गर्ने हो भने चाहिँ बूढानीलकण्ठ नै मन पर्छ । किनकी यहाँ नभएको कुरा केही छैन । हस्पिटल, कलेज, मार्टहरु छन् ।

नेपालका प्रतिष्ठित मान्छेहरु बस्छन् । हावापानी राम्रो छ, नजिकै हरियाली डाँडा छ, चाहिने सुविधा सबै वरपर नै छ । 

ploting-land-1790932967.jpg
९. प्लटिङ गरेको जग्गा किन्ने कि प्लटिङ नगरेको टुक्रा जग्गा ? 

प्लटिङ मात्र भनेर हुन्न । हिजोआज सरकारी निकायको स्वीकृति नलिई आफूखुशी प्लटिङ गरेको पनि पाइन्छ । जति पनि १३ फिटको बाटो राखेर प्लटिङ गरिएका छन्, ती सबै अवैध हुन् । १३ फिट बाटो राखेर जग्गा नै काट्न पाइँदैन । 

मेरो सुझाव चाहिँ शहरी विकास प्राधिकरणबाट स्वीकृति लिएर २० फिट वा २६ फिट फराकिलो बाटो राखेको र ओपस स्पेसहरु पनि राखेर प्लटिङ गरेको ठाउँमा मात्र जग्गा किन्नुस् । 

यस्ता जग्गा केही महंगो हुन सक्छ । तर यहाँको ओपन स्पेस र फराकिला बाटाहरु पनि तपाईंकै लागि हुन् । 

GHAR-555-1790932800.png
१०. तयारी घर अर्थात अरुले बनाएको घर किन्दा चाहिँ के कुरामा ध्यान दिने ? 

घर किन्ने हो भने तपाईं एउटा कुरामा तयार हुनुस्, केही न केही सम्झौता गर्नैपर्छ । तपाईंलाई घरको आकार प्रकार मन नपर्न सक्छ, कोठाहरु साँघुरा र अपर्याप्त लाग्न सक्छन् । अनि हिजोआज बनेका घरमा देखिने धेरै समस्या भनेको पानी चुहिने अर्थात् सिपेजको हो । 

तर एउटा कुरामा ढुक्क के हुनुस् भने काठमाडौंमा जसले घर बनाए पनि नक्सापास गरेर बनाएको हुन्छ, त्यस्ता घरहरु भविष्यमा कुनै प्रकोप आयो भने बेग्लै कुरा नभए भत्किदैन । बनेको घर कति बलियो वा कमजोर छ भनेर नाप्ने कुनै प्रविधि नेपालमा छैन । 

त्यसैले घर किन्दा आफूलाई पायक पर्ने ठाउँमा छ कि छैन, पर्याप्त कोठा छ कि छैन भन्ने जस्ता कुरा नै हो । यदि तपाईंलाई भनेजस्तो भएन भने घर नकिन्नुस्, मूल्य पनि तिर्नुछ अनि भनेजस्तो पनि भएन भने मजा आउँदैन । बरु आफैं जग्गा किनेर घर बनाउनुस् । 

११. जग्गा किन्दा भन्दा तयारी घर किन्दा सस्तो पर्छ कि ? 

जग्गा र घरको मूल्यको तुलना गर्न सजिलो छैन । किनकी जग्गा किनेर घर बनाउँदा तपाईंले धेरै समय दिनुपर्छ, घर निर्माणका विभिन्न पक्षबारे जानकारी हुनुपर्छ । 

तपाईंको समयको मूल्य कति ? तपाईलाई घर बनाउने कुराको जानकारी कति छ ? तपाईं आफैं घर बनाउने कुरामा ध्यान दिन सक्नुहुन्न भने जग्गा किनेर के काम ? 

यदि घर बनाउनेसम्बन्धी ज्ञान पनि छ र समय पनि दिन सक्नुहुन्छ भने जग्गा किनेर घर बनाउनु नै उपयुक्त हुन्छ । 

आफैं घर बनाउने हो भने आफ्नो योजना अनुसारको घर बनाउन सकिन्छ । मेरो सुझाव पनि नयाँ घर बनाउनुस् भन्ने नै हुन्छ । किनकी काठमाडौंमा जे जति घर बनेका छन्, तिनमा कुनै नयाँ डिजाइन छैन, डिजाइनहरु आउटडेटेड छन् ।

हिजोआज थोरै जग्गामा  सबै कोठाहरुमा उज्यालो छिर्ने गरी राम्रा राम्रा घर बनिरहेका छन् । त्यसैले म पनि जग्गा किनेर आफ्नै डिजाइनमा घर बनाउन सुझाव दिन्छु । यदि राम्रो रेटमा आयो र घर पनि राम्रो छ भने बनेको घर नै किन्नुस् । 

Apartment-1790933346.jpg
१२.घर किन्नु ठीक कि अपार्टमेन्ट ? 

यो कुरा मान्छे अनुसार फरक हुन्छ । तपाईको परिस्थिति के हुन्छ त्यस अनुसार निर्णय फरक हुन्छ । 

तपाईंलाई एकदमै धेरै सुविधा चाहिन्छ । उदाहरणका लागि मलाई घरको गेट खोल्न  अल्छी लाग्छ । गाडीबाट ओर्लेर गेट खोल, अनि गाडी भित्र राख र फेरि गएर गेट लगाऊ । त्यसैले मलाइ अपार्टमेन्टमा जाउँ जाउँ लागिसक्यो । कम्तीमा त्यहाँ गेट खोल्ने र लाउने कामका लागि सेक्युरिटी गाडी हुन्छ । 

अपार्टमेन्टहरु प्राइम लोकेसनमा हुन्छ, अफिस जान आउन नजिक हुन्छ । तर घर किन्नुभयो भने केही टाढा जानुपर्ने हुन सक्छ । 

तर तपाईंलाई आफ्नै स्पेस चाहिन्छ । लालपूर्जा नै चाहिन्छ भने घर नै किन्नुस् । तपाईं पहिलो प्रपर्टी किन्दै हुनुहुन्छ भने घर नै किन्नुस् । दोस्रो–तेस्रो प्रपर्टी हो भने अपार्टमेन्ट किन्नुस् ।

युवा हुनुहुन्छ, पैसा कमाउने सम्भावना छ भने अपार्टमेन्ट किन्नुस् । जिन्दगीमा घरमा एक पटक लगानी गर्ने हो, अनि ढुक्कसँग बस्ने हो भने जग्गा वा घर नै किन्नुस् । 

१३. जग्गा किन्दा गुठी जग्गा, राजकुलोले छोएको जग्गा, हाइटेन्सन लाइनले छोएको आदि अनेक कुरामा ख्याल गर्नुपर्ने रहेछ ? नयाँ मान्छेले कति कुरामा ध्यान दिएर सक्ने ? जग्गा किन्दा के के कुरामा ध्यान दिने भन्ने कुनै चेकलिस्ट हुँदैन ? 

तपाईंले भनेका यी कुराहरु जग्गासम्बन्धी मापदण्डहरु हुन्, अर्थात् जग्गामा के कस्ता बाधा अवरोधहरु छन् भन्ने हो । हिजोआज तपाईंले आफैं पनि खोज्न सक्नुहुन्छ घर जग्गामा लाग्ने मापदण्डहरु । 

जग्गामा जमिनको मापदण्ड छ, जुन बाटोको राइट अफ वे आदि पर्छन् । पानीसम्बन्धी मापदण्डमा राजकुलो, खोलाको क्षेत्र आदि पर्छन् । अनि जमिनमाथिको मापदण्डमा हाइटेन्सन लाइन आदि पर्छन् । यो बाहेक पूरातत्व विभागको मापदण्ड, राष्ट्रिय निकुञ्जको मापदण्ड पनि हुन्छन् । 

कुनै ठाउँमा सरकारले नयाँ योजना ल्याएको छ भने त्यसको पनि मापदण्ड हुन्छ । जग्गा वा घर किन्ने मान्छेले यी सबै मापदण्ड जानेर साध्य नहुन सक्छ । त्यसैले त्यही जग्गा भएकै क्षेत्रको इन्जिनियरले तपाईंलाई मापदण्डबारे सबै जानकारी दिन सक्छ । 

नेपालमा घर जग्गाका विषयमा तालिमहरु पनि हुँदैनन्, त्यसैले व्यक्तिले सबै कुरा आफैं बुझेर किन्छु भन्दा सम्भव हुन्न । यसका लागि कन्सल्टेन्सी सर्भिस लिनै पर्छ । हामी नेपाली कन्सल्टेन्सी फी तिर्न कन्जुस छौं । 

१४. पहिलो पटक घर वा जग्गा किन्ने मान्छेले गर्ने गल्तीहरु के के हुन् ? 

क. इमोसनमा बगिहाल्ने, छिटो डिसिजन लिइहाल्ने । यस्तो बानीले भविष्यमा धोका हुन सक्छ । 

ख. विज्ञको कुरा नसुन्ने, आफन्तको लहैलहैमा लाग्ने । आफ्ना मान्छेको कुरा सुनेर धेरै मान्छेले जग्गामा धेरै पैसा हालेका छन् । तर घर जग्गामा आफ्नै मान्छेबाट धोका भएका धेरै उदाहरण छन् । 

ग. पैसा खर्च गर्न नखोज्ने । बुझेको मान्छेको सल्लाह सुझाव नलिने परामर्श सेवा नलिने । 

घ. घाँटी हेरेर हाड ननिल्ने । जग्गामा लगानी गर्ने हो भनेपछि महंगो मूल्यमा किन्न पनि पछि नपर्ने । भोलि ऋण तिर्न सक्छु कि सक्दिन, जग्गाको मूल्य के कति पुग्छ भन्ने पनि नसोच्ने । जग्गा किन्दा भविष्यमा घाटा नहुन सक्छ, तर घर किन्ने हो भने घरको मूल्य त घट्न सक्छ । 

ङ. समय नदिनु । हिजोआज अनुसन्धान गर्ने, बुझेर किन्ने बानी छैन । घर जग्गामा लाखौं रकम खर्च गर्दै हुनुहुन्छ भने धेरै विषय र मान्छेसँग बुझेर किन्नुपर्छ । त्यसका लागि प्रपर्टी हेर्ने, मापदण्डहरु बुझ्ने गर्नुपर्छ । 

च. मापदण्ड नबुझी जग्गा किन्नु । भविष्यमा आफू नफस्नका लागि जग्गा किन्ने बेलामा प्रश्न सोध्न जान्नुपर्छ । त्यो जग्गामा लाग्ने मापदण्डहरु के के हुन् भन्ने डिटेलमा बुझेर किन्नुपर्छ । 

छ. सस्तोका नाममा नराम्रो जग्गा किन्ने । कुनै ठाउँमा आनाको ५० लाख चलिरहेको छ, तर आफूले ४० लाख रुपैयाँ प्रतिआनामा नै जग्गा पाएको छ भने किनिहाल्ने । त्यो जग्गा के कारणले सस्तो भयो भनेर बुझ्न नचाहने । जसले गर्दा भविष्यमा समस्या परेका धेरै उदाहरण छन् । 

१५.आफ्नै घर बनाएर वा किनेर बस्नु र भाडामा बस्नु कुन ठीक ? 

तपाईं रिस्क लिन सक्ने मान्छे हो, तपाईंलाई अहिलेको भन्दा धेरै पैसा कमाउनुछ, एम्बिसियस मान्छे हो भने भाडामा बस्ने ।

मानौं तपाईंसँग २ करोड रुपैयाँ छ । तपाईंले भाडामा बस्नुभयो भने मासिक ५० हजार रुपैयाँमा राम्रो फ्लाट भाडामा पाउनुहुन्छ । तपाईंको वार्षिक खर्च ६ लाख रुपैयाँ मात्र हुन्छ । 

अब २ करोड रुपैयाँले ब्यापार व्यवसाय गर्नुभयो र १० प्रतिशत मात्र मुनाफा निकाल्नुभयो भने पनि २० लाख रुपैयाँ आम्दानी हुन्छ । ६ लाख घरभाडा कटाएर १४ लाख तपाईंको वचत हुन्छ । 

तर तपाईंको नियमित आम्दानी छ, जीवनमा कुनै रिस्क लिनु छैन । आफ्नो आम्दानीको आधारमा बैंकले सजिलै ऋण पनि दिन्छ भने आनन्दको स्थिर जिन्दगी किन नबाँच्ने ? 

यसमा मुख्य अन्तर भनेको तपाईं च्यालेन्ज लिने कि नलिने भन्ने हो । 

तर नेपालमा घर जग्गा ठूलो सामाजिक विषय पनि हो । मान्छेलाई ऊसँग काठमाडौंमा घर छ कि छैन भन्ने आधारमा पनि मूल्यांकन गरिन्छ ।

वास्तवमा यस्तो सोचले मानिसहरु उत्पादनतिर लाग्दैनन् । यसलाई नेपालको समस्या नै मान्नुपर्छ । 

कुराकानी भिडियोमा हेर्नुहोस् : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts