नेभिगेशन
समाज

कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडा । बस्तीबाट केही पर खोँचमा २ वर्ष अगाडि पहिरो गएको थियो । त्यही ठाउँमा गत मध्य चैतमा हल्का धुँवा देखियो । 

यसैपनि चैत बैशाख डढेलो लाग्ने समय । त्यसैले गाउँलेहरुले खासै वास्ता गरेनन् । वर्षायाम सुरु भयो, धुँवा अझ बढ्यो । स्थानीयहरु हेर्न पुगे, जमिनमुनिबाट पुतपुताएर धुवा आइरहेको देखे । अनि धुँवाको मात्रा पनि बढ्दै गयो ।

नजिकै पेलेगा बस्ती छ । जहाँ करिब ४० घरधरी छन् र ५०० भन्दा बढी मानिसको बसोबास छ । 

बस्ती नजिकै जमिन मुनिबाट धुँवा आइरहेपछि उनीहरु डराए । कहिले भोटेकोशीको बाढी त कहिले इण्डोनेसियामा ज्वालामुखीले निम्त्याएको विपद् देखेका उनीहरु अझ आत्तिए । स्थानीय जनप्रतिनिधिदेखि पत्रकारसम्मलाई खबर गरे ।  

तर भदौ अन्तिम साता त्यो खबर बाहिर आयो, पेलेगा डाँडामा जमिन मुनिबाट ६ महिनादेखि धुँवा आइरहेको छ । त्यो विषय संसदमा समेत विषय उठ्यो । त्यसपछि सरकारले अध्ययनका लागि खानी विभागका जिओलोजिस्ट प्रकाश लुइँटेलको नेतृत्वमा चार सदस्यीय टोली खटायो । जसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रतिनिधि समेत थिए । 

पेलेगा डाँडामा पुग्नु अगाडि टोलीलाई लागेको थियो, कसैले डढेलो लगाउँदा आगो सल्कियो कि ? चट्याङ परेर हो कि । तर त्यहाँ पुग्दा टोलीले अनुमानभन्दा फरक अवस्था पायो । त्यो ठाउँमा करिव ५०० बर्गमिटर क्षेत्रमा पहिरो गएको रहेछ । त्यसमध्ये करिव १८० वर्गमिटर क्षेत्रफलमा धुँवा आइरहेको थियो । 

स्थानीयले बताएअनुसार सुरुमा एक ठाउँबाट मात्र धुँवा आएको थियो । अहिले बढेर ८ ठाउँबाट आउँदैछ ।

त्यस क्षेत्रमा अति उच्च तापमान छ । धुँवा आइरहेको प्वाल एकडेढ मिटर भित्रसम्म देखिन्छ  । त्यहाँबाट पुतपुत धुँवा मात्र आइरहन्छ । आगोको लप्का निस्किएको छैन । तर दाउरा, पात पतिंगर हाल्ने हो भने तत्काल जलिहाल्छ, आगो बल्छ ।

यसले के प्रष्ट भयो भने डढेलो वा चट्याङ परेर आगो लागेको होइन रहेछ । 

अध्ययन टोलीले धुँवा आइरहेको क्षेत्रमा ग्यास, पेट्रोलियम पदार्थ पो छ कि भनेर पनि हेर्‍यो । ग्यास डिटेक्सनका लागि परीक्षण गर्‍यो । तर त्यो पनि देखिएन । 

त्यसो भए, धुँवा आइरहेको छ कि किन ? 

पेलेगा डाँडामा आइरहेको धुँवा सेतो रंगको छ । नजिकै बस्दा धुँवाका कारण सास फेर्न गाह्रो हुन्छ । अध्ययन टोलीले त्यो धुँवाको परीक्षण गर्दा कार्बनमोनोक्साइड, सल्फरडाइअक्साइड, कार्बनडाइअक्साइड जस्ता ग्यास भेट्टायो । 

प्रविधिक टोलीले त्यस क्षेत्रको चट्टान हेर्‍यो । कार्बनको मात्र उच्च रहेको पत्रे चट्टान छ । कार्बन भनेको कोइला जस्तो हो । कोइला नै चाहिँ होइन ।

पत्रपत्र परेको चट्टान कालो रंगको छ । चट्टानको बाहिर पट्टी पहेँलो खालको खनिजको लेप लागेको छ ।

टोलीले नजिकै रहेको पानीको पनि जाँच गरेर हेर्‍यो । एसिडिक नेचरको पानीमा पीएच भ्यालु साढे २ सम्म पुगिसकेको रहेछ । अर्थात पानीमा अम्लीय पदार्थ अध्याधिक छ । 

त्यसैले अध्ययन टोलीको प्रारम्भीक निष्कर्ष छ, त्यो क्षेत्रमा सल्फरको मात्र बढी भएको खनिज पाइराइट छ । यो मिनरलमा फलाम र सल्फरको मात्रा बढी हुन्छ । 

पहिरोका कारण त्यो बाहिर एक्पोज भयो र अक्सिडेसन हुँदा ताप बाहिर छोड्यो । यसलाई एक्जोथर्मिक रियाक्सन भनिन्छ । त्यही तापका कारण कार्बनयुक्त चट्टान बल्न कोसिस गरेको हो । 

राम्रोसँग बल्न सकेको भए धेरै ठूलो एरिया कभर गथ्र्यो होला । तर राम्रोसँग बल्न नसकेर पुतपुत धुँवा मात्र आइरह्यो र, एकले अर्कालाई सल्काउँदै गयो । त्यही कारण धुँवा आइरहेको छ ।

पाइराइटमा आइरन र सल्फरको मिश्रण हुन्छ । फलाम वा तामा पाइने क्षेत्रमा पनि सल्फर हुन्छ । 

अनि धुँवा आइरहेको क्षेत्र नजिकै धौवादी फलाम खानी छ । त्यहाँ खानी सञ्चालन गरेर फलाम र स्टिल उत्पादन गर्न सरकारले कम्पनी नै खोलिसकेको छ । 

त्यसको नजिकै पाइराइट भेटिनुको अर्थ के हो ? त्यहाँ पनि खनिज त छैन ? भन्ने प्रश्न पनि उठ्नसक्छ । 

त्यहाँ संकलन गरिएको चट्टान, पानी लगायतको नमुनाको परीक्षण रिपोर्ट आइसकेको छैन । तर अध्ययन टोलीले अहिलेसम्म त्यो क्षेत्रमा खनिज हुनसक्ने सम्भावना देखेको छैन ।

किनकी यदि त्यहाँ सल्फर उच्च मात्रामा भेटिएको भए खानी क्षेत्र हुनसक्थ्यो । तर त्यो देखिन्न । 

यद्यपि अध्ययन टोलीले अहिले जे भनिरहेको छ, त्यो जिओलकिल अब्सरभेसन र अन द स्पट गरिएका परीक्षणहरुका आधारमा भनेको हो । अझ डिटेलमा त्यहाँबाट ल्याइएका चट्टान, पानी लगायतको परीक्षणपछि भन्न सकिनेछ । 

त्यसो भए अब त्यो धुँवालाई के गर्ने त ? आफैं निभ्छ कि कुनै उपाय लगाएर निभाउनुपर्छ ? 

नजिकै रहेको पेलेगा बस्तीमा त्रास छ । मुस्लो धुँवा आइरहेको घरबाट प्रष्ट देखिन्छ । एकातिर पहिरो गयो भने पनि बस्ती जोखिममा पर्छ, धुँवा फैलिने हो भने हानीकारक हुनसक्छ । त्यसैले उनीहरु बसेका त छन्, तर राम्रोसँग निदाउन सकेका छैनन् । 

अध्ययन टोलीका संयोजक जिओलोजिस्ट प्रकाश लुइँटेलका अनुसार त्यो क्षेत्रमा कति मात्रामा पाइराइट छ भनेर अहिले नै भन्न सकिन्न । त्यसैले कहिले निभ्छ भन्न अनुमान गर्न पनि गाह्रो छ ।

यसलाई यत्तिकै छोड्न पनि उपयुक्त हुन्न । किनकी धुँवामा केही हानिकारक ग्यास समेत मिसिएको छ । धुवा आएको क्षेत्र नजिककै गाउँबाट त्यो धुँवा प्रष्ट देखिन्छ । यसको अर्थ हो, लामो समयसम्म यसरी धुँवा आइरह्यो उनीहरुको स्वास्थ्यमा असर पर्छ । विज्ञहरुले नजिकै गएर त्यो धुँवा न सुँघ्दै नसुघ्नु भनेको छ । 

जानकारहरुका अनुसार यो धुँवालाई निभाउने हो भने उपाय छ । यसका लागि पहिला त्यहाँ के कारणले आगो लगगेको हो भन्ने यकिन गर्नुपर्छ । जथाभावी ढंगले एकैपटक पानी हालेर वा अन्य विधिबाट निभाउन खोज्दा विफोट हुने जोखिम समेत हुन्छ । 

त्यसैले अहिले स्थानीय आफैं सचेत हुन जरुरी छ । सरकारले पनि के गर्ने भन्ने छिट्टै सोच्नुपर्नेछ । स्थानीयहरुलाई लामो समय त्रासमा राख्नु हुँदैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज