किन नजिकिँदै छन् तीतो भुलेर रवि–गगन ? गुन–बैगुनका कुरा
पछिल्लो समय राजनीतिक भेटघाटमा बारम्बार उठ्ने एउटा विषय हो, रवि लामिछाने र गगन थापाको निकटता ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारसँग प्रतिनिधिसभामा करिव दुई तिहाइ बहुमत छ । तर पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको सम्बन्ध बाहिर देखिए जस्तो हार्दिक नभएको चर्चा राजनीतिक बृत्तमा छ ।
नहोस् त्यस्तो । तर कथं रास्वपाभित्र कुनै दिन गम्भीर मतभेद भयो वा विभाजन हुने अवस्था आयो भने ?
त्यो बेला रवि लामिछानेले कांग्रेस सभापति गगन थापाको साथ लिनसक्छन् भन्ने विश्लेषण हुने गरेको छ ।
किनभने हिजो एकअर्काविरुद्ध निकै कडा अभिव्यक्ति दिने रवि र गगन पछिल्लो दिनमा फेरि एउटै राजनीतिक टेबलमा देखिन थालेका छन् । असोज १९ गते कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछानेले गरेको भाषणले यो अड्कलबाजीलाई झ्न बल दिएको छ ।
दुई दशक पुरानो सम्बन्ध
रवि र गगनको सहकार्य आजको होइन । यो त दुई दशकभन्दा पुरानो हो ।
कुरा, २०५५/५६ सालतिरको हो । त्यतिबेला गगन थापा विद्यार्थी राजनीतिमा सक्रिय थिए । विहानको समयमा भने उनी केएटीएच ९७.९ एफएम, जसलाई हाल इमेज एफएमका नामले चिनिन्छ, त्यहाँ गुड मर्निङ काठमाडौं नामको कार्यक्रम चलाउँथे, समाचार पढ्थे ।
रवि लामिछाने भने नेपाल टेलिभिजनमा ‘यस्तै रहेछ यहाँको चलन’ जस्ता कार्यक्रममार्फत सञ्चार क्षेत्रमा चिनिन थालिसकेका थिए ।
त्यहीबेला उनीहरुको सामान्य चिनजान थियो । सञ्चारकर्ममा आफूभन्दा सिनियर भएकाले गगन, रविलाई दाइ भनेर सम्बोधन गर्थे । पछि रवि लामिछानेले पनि त्यही इमेज एफएममा काम गरे । तर रवि र गगनले एउटै कार्यक्रम भने चलाएनन् । त्यसैले उनीहरुको दोस्ती गहिरो हुन पाएन ।
दुबैको बाटो विस्तारै फरक भयो । गगन २०५९ मा नेविसंघको महामन्त्री भए । तत्कालीन राजा ज्ञानेन्द्र शासनले शासन सत्ता हातमा लिएपछि विद्यार्थी आन्दोलनको अग्रमोर्चामा देखिए । २०६२/६३ को आन्दोलनका त गगन थापा नयाँ पुस्ताको चर्चित राजनीतिक अनुहार बने ।
रवि भने अमेरिकातिर लागिसकेका थिए । रेडियो नेपालमा कार्यरत रहेकै बेला २०५८ मा पहिलो पटक अमेरिका गएका उनी एक वर्षमा फर्किए । त्यसपछि फेरि अमेरिका गए, लामो समय त्यही बसे । २०६३ मा त अमेरिकामा स्थायी बसोबार गर्ने अनुमति पत्र ग्रिनकार्ड नै पाए ।
दुबैको बाटो अलग भयो । तर सम्बन्ध पूर्ण रुपमा टुटेको थिएन । २०६९ सालमा रवि विश्व कीर्तिमान बनाउने कार्यक्रम गर्ने भनेर नेपाल आए । सबैभन्दा लामो समय लाइभ टेलिभिजन कार्यक्रम चलाए, त्यो कार्यक्रममा गगन थापा पनि अतिथिका रुपमा सहभागी भए ।
उनीहरुको पुरानो चिनजान फेरि रिन्यू भयो ।
त्यसपछि रवि सञ्चारकर्ममा सक्रिय भए । २०७२ मा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सुरु गरे । अमेरिका बसाई अन्त्य गरेर नेपालमै बस्ने निर्णय गरे । सरकार परिर्वतनसँगै सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको सञ्चालन उनीबाट खोसियो । रविले सिधा कुरा जनतासँग कार्यक्रम चलाउन थाले । रवि छोटो समयमै नेपाली टेलिभिजनको लोकप्रिय सञ्चारकर्मी बन्न सफल भए ।
रवि आफ्ना कार्यक्रमहरु गगन थापालाई नयाँ पुस्ताको सम्भावना बोकेका नेता भनेर प्रशंसा गर्थे । गगन पनि उनका कार्यक्रममा अतिथिका रुपमा बेलाबेला सहभागी हुन्थे । त्यसक्रममा रविमा राजनीतिमा आउने चाहना रहेको गगनले बुझेका थिए । रवि जस्तो लोकप्रिय व्यक्ति पार्टीमा आउनुपर्छ भन्ने लागेको पनि थियो होला । त्यसैले उनले रविलाई कांग्रेस बनाउन खोजे ।
गगनले पार्टीको समानुपातिक सूचीमा राख्न भनेर बनाएको सूचीमा रविको समेत नाम थियो भनिन्छ । २०७४ को चुनाव अघि त गगनले कांग्रेसबाट चुनाव लड्न समेत प्रस्ताव गरेको खबरहरु आएका थिए । तर तर त्यो बेला गगन, कांग्रेसमा निर्णय गर्ने ठाउँमा थिएनन् । त्यसैले उनले चाहनाले मात्र निर्णय हुने अवस्था थिएन । त्यसैले रविबारे पनि कुनै निर्णय भएन ।
समय बित्दै गयो । २०७९ को आम चुनाव अगाडि रवि लामिछाने सक्रिय राजनीतिमा आउने तयारीमा थिए । गगन थापा पनि कांग्रेसको महामन्त्री भइसकेका थिए । रविले गगनसँग पटक पटक सम्वाद गरे । तर रवि आफू मात्र होइन, आफ्नो टिमसहित कांग्रेसमा आउन चाहन्थे ।
त्यो सम्भव भएन । २०७९ असार ७ गते रविले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गरे । रास्वपा गठन भएपछि गगनसँग निकट भएर काम गरेका युवाहरु पनि रविको पार्टीमा जोडिन पुगे । त्यसमध्ये मनिष झा महत्वपूर्ण नाम थिए । झा, गगन थापा संयोजक रहेको घोषणापत्र मस्यौदा समितिमा काम गरिसकेका व्यक्ति थिए । पछि रास्वपाबाट समानुपातिक सांसद बने । शिशिर खनाल पनि रास्वपाबाट काठमाडौं ६ मा चुनाव लड्न पुगे ।
हिजो निकट भएर काम गरेका नयाँ अनुहारहरु भटाभट रास्वपामा आवद्ध भएपछि गगनमाथि पार्टीभित्रै प्रश्न उठ्यो । पार्टीको संस्थापन पक्षका कतिपय नेताहरुले त गगनले आफ्ना मान्छेहरु पठाएर अर्को पार्टी बनाउँदैछ, भोलि आफैं पनि जानसक्छ भनेर समेत भन्न भ्याए ।
२०७९ को चुनावको चुनावी परिणामलाई लिएर त रवि र गगनमाथि साँठगाँठकै आरोप लाग्यो ।
साँठगाँठको आरोप लागेको त्यो चुनाव
२०७९ को चुनावमा रास्वपाले काठमाडौं, चितवन लगायत शहरी जनमत भएको क्षेत्रहरुमा बलियो उपस्थिति देखायो । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २, ६, ७ र ८ अनि ललितपुर क्षेत्र नम्बर ४ मा रास्वपाले जित्यो । चुनाव नजितेको अरु क्षेत्रमा पनि सम्मानजनक मत पाएको थियो ।
तर काठमाडौं ४ को अवस्था फरक रह्यो । त्यहाँ रास्वपाले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । तर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिए ।
त्यो त्यही क्षेत्र थियो, जहाँ गगन थापा उम्मेदवार थिए । गगन २०७० र २०७४ मा पनि काठमाडौं ४ बाट निर्वाचित भएका थिए । २०७९ मा त उनले २१ हजार ३०२ मत पाएर चुनाव जितेका थिए ।
तर रास्वपाले उम्मेदवार फिर्ता लिएका कारण गगनमाथि रास्वपासँग सेटिङ गरेर चुनाव जितेको बात लाग्यो । त्यो आरोपलाई रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले थप मलजल गरे ।
उनले चुनावी समिक्षा प्रतिवेदनमा लेखिदिए, गगन सशक्त उम्मेदवार उठाएर गगन थापाको राजनीतिलाई विश्राम लगाइदिने रणनीति बदलेर चुनाव जित्न सहज वातावरण सिर्जना गरिदियौं । गगनले आफ्ना पक्षधरलाई घन्टीमा भोट हाल्न लगाउँदा रास्वपालाई प्रत्यक्षतर्फ दुई सिट नाफा हुन पुग्यो ।
हुन त मुकुलको त्यो सिंगो प्रतिवेदनलाई नै रास्वपा स्वीकार गरेन । गगन थापाले पनि स्वीकार गर्ने कुरै भएन ।
तर गगन र रविको सम्बन्धमाथि राजनीतिक प्रश्न उठ्यो ।
तिक्ततापूर्ण त्यो क्षण
२०७९ को आमको केही समयसम्म रवि र गगनको सम्बन्ध बिग्रिएको थिएन । तर २०८० वैशाखमा तनहुँ १ मा भएको उपचुनावले उनीहरुबीच राजनीतिक दुरी बढाउन महत्वपूर्ण काम गर्यो ।
कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको तनहुँ १ मा उपचुनाव हुने भयो ।
रास्वपाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनायो । स्वर्णिम त्यही व्यक्ति थिए, जसलाई गगन थापाले संसदमा ल्याउन चाहेका थिए । चितवन–१ मा टिकट दिलाउन नसकेपछि काठमाडौं ४ को आफ्नै क्षेत्र समेत छाड्छु भनेका थिए । कसै गर्दा पनि टिकट दिन नसकेपछि गगनले बाग्लेलाई आफ्नै टिममा राखेका थिए । तर वाग्ले कांग्रेस छाडेर रास्पा पुगे, तनहुँ १ मा उम्मेदवार बने ।
चितवन २ रवि लामिछाने र र तनहुँ १ स्वर्णिम वाग्ले, दुबै भारी मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । यो चुनावी नजिताले नेपाली राजनीतिमा एउटा नयाँ बहस सुरु भयो, अबको नेता रवि हो कि गगन ? कांग्रेसभित्र पनि प्रश्न उठ्यो, रास्वपाको बढ्दो बेगलाई कांग्रेसले रोक्न सक्छ ?
त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो । प्रचण्ड प्रधानमन्त्री थिए । सत्तारुढ दलहरु रास्वपालाई प्रतिपक्षमा राख्नु घातक हुन्छ भन्ने निष्कर्षमा पुगे । रविलाई सरकारमा ल्याउन सम्वाद सुरु भयो । त्यसक्रममा शेरबहादुर देउवादेखि गगन थापासहितका नेताहरुले रविसँग सम्वाद गरे । सहमति पनि भएको थियो, तर अन्तिम समयमा आएर रास्वपाको सत्तारोहरण रोकियो ।
त्यसको केही समयमै सत्ता समीकरण फेरियो ।
सहकारी ठगीको आरोप
२०८० फागुन २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सरकारबाट हटायो । अनि एमाले र रास्वपालाई सहभागी गरायो । रवि लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भए ।
त्यसपछि कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी विवाद राजनीतिको केन्द्रमा आयो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्यो । लगातार संसद अवरुद्ध भयो ।
त्यो बेला कांग्रेसको संसदीय दलका नेता त शेरबहादुर देउवा थिए, तर रविमाथि प्रश्न उठाउने प्रमुख आवाजमध्ये एक गगन बने । संसदका बैठकहरुमा गगन थापा, रविप्रति निकै आक्रमक सुनिए । रविले जीबी राईसँग मिलेर सहकारी ठगी गरेको प्रमाण छ भनेर समेत बोले ।
रविले आरोप अस्वीकार गरे । त्यसपछि विवाद व्यक्तिगत तहमा पुग्यो । २०८१ जेठ ६ गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टमबाटै गगनसँग सम्बन्धित पुराना आरोपहरु उठाए । बाख्रा पालन गर्ने भनेर कृषि अनुदान खाएको, त्रिचन्द्रमा स्ववियु सभापति भएको बेला भ्रष्टाचार गरेकोदेखि विदेशी एजेन्ट भएको भनेर समाचारको पनि छानबिन गर्ने हो भन्दै प्रश्न गरे ।
यी आरोपहरु गगनमाथि पहिलो पटक लागेको होइन । तर कुनै पनि आरोप प्रमाणित थिएनन् । राजनीतिक उद्देश्यबाट प्रेरित र प्रमाणित नभएका विषयलाई रविले संसदमा रेकर्ड गराएपछि गगन थापाले तत्काल प्रतिवाद गरे । आफूविरुद्धका सबै आरोप छानबिन गर्न चुनौती दिए ।
लामो विवादपछि सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय छानबिन समिति बन्यो । समितिले प्रतिवेदन नबुझाउँदै सत्ता समीकरण फेरियो । प्रचण्ड र रवि लामिछानेहरु सरकारबाट हट्नु पर्यो । कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।
संसदीय समितिले पनि रविमाथि छानबिन गरेर काबराही गर्न सिफारिस गर्दै प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनका आधारमा लामिछानेलाई पक्राउ परे, उनलाई सम्पत्ति शुद्दीकरणदेखि संगठित अपराधको मुद्दा लगाइयो ।
पोखरा, बुटवल,काठमाडौं, चितवन र पर्साको अदालत पुर्याउने काम भयो । रवि ८४ दिन हिरासतमा बसे । अदालतबाट धरौटीमा छुटे । त्यसको केही समयपछि नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश आयो, रवि रातारात पक्राउ परे ।
सहकारी ठगीमा रविको संलग्नताबारे समाज विभाजित थियो । उनलाई जसरी पक्राउ गर्ने र मुद्दा लगाउने काम भयो, त्यसले उनीमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएको हो भन्नेहरु अझ बढ्यो । त्यो सबै काम हुँदा गगन सरकारमा त थिएनन्, तर सहकारीको मुद्दा उनले जसरी संसदमा उठाएका थिए, त्यसले गर्दा उनीमाथि रविलाई फसाएको आरोप लागिरह्यो ।
२०८२ भदौको जेनजी आन्दोलनपछि नेपाली राजनीतिले कोल्टे फेर्यो । संसद विघटन भयो । नयाँ चुनाव हुने भयो । जेलमा रहेका रवि धरौटीमा छुटे । काठमाडौं महानगरपालिकाको मेयर रहेका बोलन शाहसँग एउटै राजनीतिमा मोर्चा बनाए । गगन थापा र विश्वप्रकाश शर्माहरुले नेतृत्वको असहमतिका बाबजुद जोखिम मोलेर विशेष महाधिवेशनबाट नेतृत्वमा पुगे ।
तर चुनावको अन्तिमसम्म रवि र गगनको राजनीतिक टकराव कायमै थियो । गगन थापा रविले सहकारी ठगेको प्रमाण छ भन्न छाडेनन्, रवि चाहिँ गगनलाई चुनावमा हराउन अपील गरिरहेका थिए ।
चुनावपछि फेरियो दृश्य
फागुन २१ को चुनावमा रास्वपाले अभूतपूर्व जनमत पायो । २७५ सदस्यीय संसदमा रास्वपा एक्लैले १८२ सिट जित्यो । यो नेपालको राजनीतिक इतिहासमा कुनै पनि दलले पाएको अभूतपूर्व सफलता हो ।
देशकै सबभन्दा पुरानो लोकतान्त्रिक दल कांग्रेस भने ३८ सिटमा खुम्चियो, गगन थापा स्वयम् चुनाव हार्न पुगे ।
निर्वाचनको सबै प्रक्रिया पुरा भएपछि चैत १३ गते बालेन शाह प्रधानमन्त्री भए । रवि लामिछाने पार्टी सभापति रहिरहे । तर नयाँ सरकार बनेपछि प्रधानमन्त्री र सत्तारुढ दलका सभापतिबीच जस्तो सहकार्य हुनुपर्ने हो, त्यो देखिएन । सरकारको १०० दिन पुरा भएसँगै असन्तुष्टि बाहिर देखिन थाल्यो । यही बदलिएको राजनीतिक वातावरणमा रवि र गगन फेरि नजिक देखिन थाले ।
२०८३ असारमा रास्वपाले पहिलो महाधिवेशन गर्यो । चितवनमा भएको महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापतिका रुपमा गगन थापा पनि अथितिका रुपमा सहभागी भए । सुरुमा उनी नजाने, उसभापति पुष्पा भुसाललाई पठाउने भनिएको थियो । तर अन्तिम समयमा उनी आफैं गए ।
साउनमा सुनसरीमा साम्प्रदायिक तनाव भयो । सत्तारुढ दलका सभापतिका रुपमा रविले सर्वदलीय बैठक बोलाए । कांग्रेस सभापति गगन थापा आफैं सहभागी भए । भदौ १० मा भोटेकोशी नदीमा भिषण बाढी आयो, रविले फेरि सर्वदलीय बैठक बोलाए । रविले बोलाएको कुनै पनि बैठक गगन थापाले छुटाएका छैनन् ।
त्यसपछि आयो असोज १८ । गगन थापा नेतृत्वको कांग्रेसले १५औं महाधिवेशनको उद्घाटन समारोहमा सबै दलका नेतारुलाई बोलाएको थियो । रास्वपा सभापति रवि लामिछाने अतिथिका सहभागी भए ।
अनि, त्यहाँ उनले गरेको सम्बोधनले गगन थापा र उनको बढ्दो निकटतालाई थप बहस सिर्जना गराएको छ ।
रविले भाषणको सुरुवात नै गगनसँग आफ्नो पुरानो सम्बन्धको संकेतबाट गरे । उनले यदि कांग्रेसले समयमै पुस्तान्तरणको मुद्दा सम्बोधन गरेको भए आफू पनि कांग्रेस हुने थिएँ भन्ने भाव प्रकट गरे ।
अनि, सम्बोधनको अन्तिममा ‘गनगन गर्नेहरुलाई छाडिदिए हुन्छ’ भनेर गगन थापालाई दोस्रो गुन लगाएको छु भनिदिए ।
रविको यो भाषणले दुई वटा प्रश्न जम्माएको छ । पहिलो, उनले गगनलाई लगाएको पहिलो गुन के थियो ? रविले यसको प्रष्ट जवाफ दिएका छैनन् । तर यसको संकेत २०७९ को चुनावमा काठमाडौं ४को मैदानबाट रास्वपाले उम्मेदरवारी फिर्ता लिएकोतिर देखिन्छ । त्यो चुनावमा के भएको थियो भनेर हामीले माथि नै विस्तारमा चर्चा गरिसक्यौं ।
दोस्रो प्रश्न हो, दोस्रो गुनको अर्थ के हो ?
राजनीतिक वृत्तामा यसको विभिन्न अर्थ लगाइँदैछ । कतिपयले यसलाई अदालतमा विचाराधीन कांग्रेसको मुद्दासँग जोडेर हेरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको कार्यसमितिले निर्वाचन आयोगले मान्यता दिएको थियो । सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
त्यो बेला सुशीला कार्की नेतृत्वको सरकार थियो । अनि, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ।
तर शेरबहादुर देउवाको पुनरावलोकनको निवेदनमा सर्वोच्चले निस्सा थियो । अर्थात गगनलाई बैधानिकता दिने निर्वाचन आयोगको निर्णय कानुन सम्वत छ कि छैन भनेर फेरि सुनुवाई हुने भयो ।
यो आदेश आउँदा रास्वपाको सरकार आइसकेको थियो । अनि रास्वपाकै जोडबलमा सर्वोच्चको नेतृत्वमा पनि रोलक्रममा चौथो नम्बरमा रहेका मनोज शर्मालाई ल्याइएको थियो । अर्का संयोग, निस्सा दिने आदेश प्रधानन्यायाधीश शर्मा समेत संलग्न भएको इजलासले गरेको थियो ।
त्यसैले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अदालतले के फैसला गर्छ भन्ने प्रश्न आज पनि कायमै छ ।
यस्तो बेलामा रविको दोस्रो गुनलाई कांग्रेसको आधिकारिकता विवादमा रविको समर्थनका रुपमा समेत कतिपयले बुझेका छन् । किनकी आजको दिनमा रवि प्रभावशाली राजनीतिक नेता हुन् । त्यसको धेरथोर प्रभाव अदालतसम्म पर्छ । नेताहरुका अनुसार कांग्रेसको मुद्दामा सत्तारुढ दलले तटस्थ मात्र बस्ने हो भने पनि आधिकारिकता विवादको फैसला गगन थापाहरुको पक्षमा आउने अवस्था छ ।
तर यो राजनीतिक विश्लेषण हो, भोलि आउने फैसलाबारे अहिले नै अनुमान गर्न हतार हुन्छ ।
राजनीति हो, यहाँ स्थायी मित्र र सत्रु हुन्न । रवि र गगन पनि कुनै समय हाइ हेलो गर्ने मित्र थिए । समय क्रमसँगै उनीहरु कहिले नजिक भए, कहिले टाढा । एक समय एक अर्काको कट्टर विरोधी जस्तो भए ।
अहिले फेरि सम्वादमा छन् । रविकै शब्दमा भन्ने हो भने त उनले गगन थापालाई दोस्रो गुन समेत लगाएका छन् । त्यसै भए अब गगनलाई चाहिँ तिर्छन् कि तिर्दैनन् ? गुन र्तिछन् भने कसरी ? त्यो सत्ता सहकार्यबाट हुन्छ या अरु कुनै माध्यमबाट ?
यसको जवाफ अहिले कसैसँग छैन । एउटा कुरा प्रष्ट छ, रवि लामिछाने र गगन थापाको सम्बन्ध अब दुई नेताको व्यक्तिगत सम्बन्ध रहेन । उनीहरुको सम्बन्ध नेपालको राजनीतिको महत्वपूर्ण हिस्सा बनिसकेको छ ।
त्रिशुली बजार ब्यूँताउने योजना, सरकारी निर्णयको प्रतीक्षा
राजा महेन्द्र र गिरिजाले जे गरे, बालेन पनि त्यही बाटोमा
कानूनले नै भाँच्यो काम नगर्ने ठेकेदारको खुट्टा, के-के भए सुधार ?
देशमै मल कारखाना खोल्ने प्लान सधैं किन फेल ? बालेनलाई पनि छैन सजिलो







