त्रिशुली बजार ब्यूँताउने योजना, सरकारी निर्णयको प्रतीक्षा
काठमाडौं बाहिरको प्रमुख व्यापारिक केन्द्र थियो त्रिशुली बजार । यो हिजोको आज बसेको बजार हैन ।
व्यापारिक रुपमा मात्र होइन, धार्मिक, साँस्कृतिक र शैक्षिक रुपमा पनि एउटा उन्नत शहर थियो यो ।
भदौ १० गतेको बाढीले त्रिशूली बजारको झण्डै ८० प्रतिशत भाग खाइदिएको छ ।
त्रिशुलीका साढे चार सय परिवारले घरबास गुमाएका छन् । ८५ जनाले ज्यान गुमाए । करोडौंको ब्यापार गर्नेहरु अहिले सडकमा आइपुगेका छन् ।
त्रिशुलीका बासिन्दा यसरी बस्न पटक्कै तयार छैनन् । त्रिशुली बजारलाई पहिले जस्तै स्वरुपमा फर्काउनुछ, अनि फेरि व्यापार व्यवसाय गर्नुछ ।
त्यसैले आफ्नो घर र धार्मिक साँस्कृतिक सम्पदाहरु कसरी उठाउने भनेर त्रिशूलीबासीले सल्लाह गर्न थालेका छन् । उनीहरु संघीय सरकारलाई भनिरहेका छन्, ‘बाढीको जोखिम कहाँसम्म छ, कहाँसम्म बस्न मिल्छ, छिटो निक्र्योल गरिदिनुपर्यो ।’
स्थानीय बासिन्दा त्रिशूलीलाई फेरि जगाउन तयार छन्, खाली सरकारको सहजीकरण चाहिएको छ ।
परिवारका सदस्य र करोडौंको सम्पत्ति गुमाए पनि त्रिशूलीका बासिन्दाले आफ्नो आँट र साहस गुमाएका छैनन् । उनीहरु भन्दैछन्, ‘शताब्दीऔं पुरानो बजारलाई एउटा बाढीले बगाउन सक्दैन, हामी फेरि उठ्नेछौं ।’
शताब्दीऔं पुरानो बजार
त्रिशूली बजार नेपालको पुरानो बजारमध्ये एउटा हो । यो ठाउँ काठमाडौं र तिब्बतबीचको व्यापारिक मार्गमा पर्छ । मल्लकालमा भोटसँगको व्यापारको सिलसिलामा जाँदा आउँदा भारी बिसाउने र बास बस्ने ठाउँ थियो त्रिशूली ।
त्यसरी यो ठाउँले बजारको रुप लिँदै गएको थियो । शाहकालसम्म आउँदा त त्रिशूली महत्वपूर्ण व्यापारिक केन्द्र बनिसकेको थियो । गोरखा, धादिङ, नुवाकोट र रसुवाको प्रमुख व्यापारिक केन्द्र थियो । मानिसहरुले आफूसँग भएका सामान बेच्ने र नुन तेल किन्ने बजार यही थियो ।
पृथ्वी राजमार्ग नबन्दासम्म पोखरा, तनहुँ, लमजुङ, गोरखातिरका मानिसहरु काठमाडौंसम्म हिँडेरै आउजाउ गर्ने गर्थे । पोखरादेखि करिब १५ दिनमा काठमाडौं आइपुगिन्थ्यो । त्रिशूली बजार काठमाडौं प्रवेश गर्नु भन्दा एक दिन अगाडि बास बस्ने मुकाम थियो । त्रिशूलीमा बास बसेर बिहानै हिँडेकाहरु बेलुकातिर जितपुरफेदी हुँदै काठमाडौं आइपुग्थे ।
दशैंको फूलपातीको दिन गोरखा दरबारबाट काठमाडौंको हनुमान ढोकामा फूलपाती ल्याउने बाटो पनि यही थियो । गोरखाको पूर्वी उत्तरी क्षेत्र, धादिङ लगायतका जिल्लाका मानिसहरु त धेरै पछिसम्म पनि त्रिशूलीको बाटो काठमाडौं आउने जाने गरिरहन्थे ।
पछिल्लो समय गाउँगाउँमा सडक गएपछि गोरखा र धादिङका मानिसहरु त्रिशूली आउन छाडेका थिए । तर नुवाकोट र रसुवाका लागि भने अहिले पनि प्रमुख ब्यापारिक केन्द्र त्रिशूली नै थियो ।
यहाँ खाद्यान्न, लत्ताकपडा, कस्मेटिक्स, हार्डवेयर सामानको ठूलठूला होलसेलहरु थिए । २०७२ सालको भूकम्पपछि त्रिशूलीमा आवादी पनि निकै बाक्लो भइसकेको थियो । नुवाकोटको किस्पाङ र म्यागङ गाउँपालिकाका तामाङ समुदायका मानिसहरु त्रिशूली आएर बसोबास गर्न थालेका थिए ।
त्रिशूली बजारमा व्यापारको सुरुवात काठमाडौंबाट गएका नेवार समुदायले गरेका थिए । गोरखाका राजा पृथ्वी नारायण शाहले नुवाकोट जितेपछि गोरखाबाट मुसलमान समुदाय पनि त्रिशूली बजारमा आएर व्यापार व्यवसायमा गर्न थालेका थिए । हिन्दू र मुसलमान मात्र होइन, वौद्ध धर्मावलम्बीहरु पनि धेरै पहिलादेखि त्रिशूलीमा बसोबास गरिरहेका थिए ।
त्यसैले यो ठाउँ, हिन्दू, वौद्ध र मुस्लिम धर्मावलम्बी तिनैथरिको बसोबास स्थल हो । काठमाडौं उपत्यकामा जे जस्ता मठ मन्दिर छन्, ती सबैजसो मठमन्दिर त्रिशूलीमा पनि छन् । काठमाडौंमा जे जस्ता जात्रा पर्वहरु मनाइन्छ, त्रिशूलीमा पनि ती जात्रा पर्वहरु मनाइन्छ ।
त्यसैले यहाँ मुस्लिम समुदायको पनि मस्जिद र मदरसा थियो । बौद्ध विहार र गुम्बाहरु पनि थियो । विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितका अनुसार त्रिशूली ब्यापारिक रुपमा जति समृद्ध थियो, धार्मिक र साँस्कृतिक रुपमा पनि धेरै समृद्ध थियो ।
त्रिशूलीले नछुट्याएको सीमाना
नेपालका धेरै ठाउँमा ठूला नदीहरुले जिल्लाको सीमाना छुट्याएका हुन्छन् । तर नुवाकोटमा त्रिशूली नदीको वारि र पारि समेत एउटै वडा थियो । त्रिशूली बजारको वारिपट्टिको ढुंगेबजार र पारिपट्टिको त्रिशूली बजार दुबै ठाउँ विदुर नगरपालिका वडा नम्बर १ मा पर्छ ।
२०७४ साल अगाडिसम्म त्रिशूली बजार विदुर नगरपालिकाको वडा नं १० र ११ मा पथ्र्यो । अनि ढुंगेबजार विदुर नगरपालिका वडा नं १ मा पथ्र्यो । २०७४ सालमा स्थानीय तहको पुनर्संरचना गर्दा यी तीनवटै वडालाई एउटैमा गाभिएको थियो ।
वडाध्यक्ष लेनिन रञ्जितका अनुसार ढुंगेबजार त्रिशूली व्यापारिक क्षेत्र भएको र त्यहाँ बसोबास गर्ने मानिसहरुको रहनसहन पनि मिल्ने भएकाले एउटै वडा कायम गरिएको थियो ।
त्रिशूली नदीमा धेरै पहिलेदेखि झोलुंगे पुल थियो । राजा महेन्द्रले २०२१ सालमा त्रिशूली बजारमै एउटा जलविद्युत आयोजना सुरुवात गराए । २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र बन्ने भएपछि विद्युत आयोजनाको सामान ओसार्न पक्की पुल बनाइएको थियो । पुरानो पक्की पुल छँदै थियो, त्यहाँ नजिकै २ वर्षअघि अर्को पक्की पुल पनि बनेको थियो ।
त्रिशूली बजार शैक्षिक रुपमा पनि धेरै अगाडि थियो । २००७ सालमा नै यहाँ हाइस्कुल खुलेको थियो, त्रिभूवन त्रिशुली मावि । यो विद्यालय नदीदेखि करिब ३०–४० फिट माथि निकै फराकिलो स्थानमा थियो । यहाँ १६ सय भन्दा बढी विद्यार्थी छन् ।
यही विद्यालयकै भवन र कक्षाकोठा प्रयोग गरेर त्रिभूवन बहुमुखी क्याम्पस चलेको थियो । २०७७ सालदेखि त्रिशूलीमै सीटीईभीटीको सम्बन्धनमा पोस्टबहादुर बोगटी बहु प्राविधिक शिक्षालय सञ्चालनमा आएको थियो । यहाँ पशुविज्ञान, बालीविज्ञान, होटल म्यानेजमेन्ट जस्ता विषय पढाइ हुन्थ्यो ।
बाढीपछिको त्रिशुली बजार
भदौ १० गतेको बाढीले त्रिशूली बजारको ८० प्रतिशत भाग नष्ट पारेको छ । वडाध्यक्ष लेनिन रञ्जितका अनुसार त्रिशूलीको बजार र शहरी भाग सबै बगाएको छ । पछि विस्तार भएको नयाँ बस्ती र ग्रामीण क्षेत्र मात्र बाँकी राखेको छ ।
पुरानो त्रिशूली बजार अब फोटो भिडियोमा मात्र देख्न पाइन्छ ।
बाढीका कारण त्रिशूलीको ४३६ घर परिवार घरबारबिहीन भएका छन् । संघ संस्थाहरु समेत गरेर ४६१ घर बाढीले बगाएको छ । अब बजारको करिब ७०–६० घर मात्र बचेको छ । बाढीका कारण त्रिशूलीमा ९२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ८५ जना बिदुर नगरपालिका–१ का बासिन्दा हुन् भने ७ जना बजार भन्दा बाहिरका हुन् ।
२०२१ सालमा बनेको त्रिशूली जलविद्युत केन्द्रको पावर हाउस बगाएको छ । विभिन्न मठ मन्दिर, गुम्बा, चैत्य, मस्जिद, मदरसालगायतका धार्मिक सम्पदाहरु पनि बाँकी छैनन् ।
त्रिशूली पुस्तकालय, त्रिुशूली सामुदायिक स्वास्थ्य चौकी, सहकारी, युवा क्लबको कार्यालय पनि बाढीले बगाएको छ ।
त्रिभुवन त्रिशूली माविको भवन भएको ठाउँमा अहिले त्रिशूली बगिरहेको छ । त्यसैले त्रिभवन बहुमुखी क्याम्पस पनि भवनबिहीन भएको छ ।
बाढीले पक्की पुल बगाइदिएपछि त्रिशूली वारि र पारिका क्षेत्र दुई ध्रुवजस्ता भए । एक हप्तासम्म त वारिका मानिस पारि जाने उपाय समेत भएन । त्यसपछि मात्र ढुंगेबजारदेखि केही माथि पर्ने घुमाउने चौतारामा तुइन हालेर आवतजावत खुलाइएको थियो । अहिले त्यहाँ इलेक्ट्रिक तुइन, हातले चलाउने तुइन र जिपलाइन राखिएको छ । मानिस र सामानहरु त्यहीँबाट तार्ने गरिएको छ ।
ढुंगे बजारमा झोलुंगे पुल बनिरहेको छ । यो पुल असोज महिनाको अन्त्यसम्म सञ्चालनमा आउनेछ । ढुंगे बजारमै बेलिबृज पनि बन्दैछ । बेलिबृज चाहिँ दशैंपछि तयार हुने सम्भावना रहेको वडाध्यक्ष लेनिन रञ्जितको भनाइ छ ।
बेलिबृज सञ्चालनमा आएपछि भने त्रिशूली वारिपारि यातायातका साधन पनि चल्नेछन् ।
व्यवसायमा कति ठूलो क्षति ?
बाढीका कारण त्रिशूली बजारमा कति क्षति भयो भन्ने यकिन भएको छैन । अहिले संघीय सरकारले यसको लेखाजोखा गरिरहेको छ ।
तर वडाध्यक्ष लेनिन रञ्जितका अनुसार एकै जनाको ६० करोड रुपैयाँसम्म नोक्सान भएको छ । त्रिशूली बजारका एक सुनचाँदी व्यवसायीको ६ वटा घर थियो । सुनचाँदीको ठूलो कारोबार थियो । उनको पसलबाट ४ वटा भल्ट नै बाढीले बगाएको छ । खाद्यान्न, लत्ताकपडाका ठूला होलसेल पसलेहरुले ८ देखि १० करोड रुपैयाँको क्षति ब्यहोरेका छन् ।
पुलको छेउमा सानो छाप्रे पसल गर्नेदेखि ५–७ वटा घर हुने ब्यापारीसम्मको क्षति भएको छ । जसको अहिलेसम्म कुनै लेखाजोखा छैन ।
बाढीले घरबारबिहीन भएका त्रिशूलीका बासिन्दा अहिले घरभाडा लिएर बसेका छन् । संघीय सरकारले नै मासिक १५ हजार घरभाडा दिने कार्यविधि बनाएको छ ।
तर कार्यविधिमा अन्यत्र घर नभएकाहरुलाई मात्र दिने भनेकाले त्रिशूलीका बसिन्दाले घरभाडा नपाउने देखिएको छ । किनकी त्रिशूलीका बासिन्दा ८० प्रतिशतको काठमाडौंमा घर छ । भूकम्पपछि नुवाकोटकै किस्पाङ र म्यागङ गाउँपालिकाका मानिसहरु पनि त्रिशूली आएर बसेका थिए । उनीहरुको पनि किस्पाङ र म्यागङ गाउँपालिकामा घर छ ।
तर उनीहरु त्रिशूली छाडेर न काठमाडौं आउन सक्छन्, न म्यागङ र किस्पामै फर्किन सक्छन् । वडाध्यक्ष लेनिन रञ्जितका अनुसार त्रिशूली बजारका बासिन्दा त्रिशूलीमै बस्न चाहन्छन् । उनीहरुलाई त्यहीँ बसोबास गर्न घरभाडा दिनुपर्छ ।
बाढीले बगाएपछि त्रिभुवन त्रिशूली मावि पहिलेको ठाउँ भन्दा १ किलोमिटर माथि कोलोनी भन्ने ठाउँमा सरेको छ । त्यहाँ बागमती प्रदेश सरकारको भवन डिभिजन कार्यालयको भवन, जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा बारबेर गरेर कक्षा बनाइएको छ । त्यतिले पनि नपुगेर २० वटा कक्षाकोठा त त्रिपालमुनि राखिएको छ ।
त्रिशुली बजारमा आफ्नो सर्वस्व गुमाएकाहरु पनि त्रिशूली छाड्न चाहँदैनन् । उनीहरु पुनः त्रिशूलीमै व्यापार व्यवसाय गर्न चाहन्छन् । आफ्नो धार्मिक, साँस्कृतिक रितिरिवाजलाई जगाउन चाहन्छन् ।
स्थानीय युवाहरुले हाम्रो त्रिशूली हामी उठाउछौं भनेर अभियान सुरु गरिरहेका छन् । उनीहरु घर र सार्वजनिक स्थल सरसफाइमा जुटिसकेका छन् ।
स्थानीय बासिन्दाले घर सरसफाइ गर्न आफ्नै खर्चमा एक्साभेटर चलाइरहेका छन् । विदुर नगरपालिकाले ५ वटा एक्साभेटर चलाएर डेब्रिज फालिरहेको छ । त्यसक्रममा धेरै घरहरुको पिलर समेत भाँचिएको भेटिएको छ ।
पिलर सद्दे भएका घरमा पनि बस्न मिल्ने कि नमिल्ने यकिन छैन । त्यसका लागि संघीय सरकारले भूगर्भविद् पठाएर कहाँसम्म बस्न मिल्ने र कहाँसम्म नमिल्ने भनेर किटान गर्नुपर्छ । संघीय सरकारले यो काम छिटो गरोस् भन्ने स्थानीय बासिन्दाको माग छ ।
त्रिशूलीको त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार त्रिशूली बजारसँग स्थानीय बासिन्दाको भावनात्मक सम्बन्ध छ । उनीहरुको पारिवारिक मात्र नभई धार्मिक, साँस्कृतिक सम्बन्ध पनि त्यही ठाउँसँग जोडिएको छ । त्यसैले पुरानो ठाउँ छाड्न उनीहरु इच्छुक छैनन् ।
प्राकृतिक प्रकोप त आइरहन्छ, तर मान्छेले आफ्नो कर्म छाड्नुहुन्न । सुरक्षित भएर आफ्नो दैनिक गतिविधि चलाउनुपर्छ, अनि धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उनीहरुको धारणा देखिन्छ ।
बिदुर नगरपालिकाले त्रिशूली बजारबाट विस्थापित भएका मानिसहरुलाई विदुर नगरपालिका–१० कोलोनीमा पुनर्बास गराउनु उचित हुने भनेको छ । वडाध्यक्ष लेनिन रञ्जितका अनुसार त्यहाँ नेपाल विद्युत प्राधिकरणको नाममा धेरै जग्गा छ । त्यही जग्गामा बाढीले बगाएको त्रिशूली बजारलाई पुनस्र्थापित गर्न सकिन्छ । यो पनि संघीय सरकारको हातमा छ ।
त्रिशूलीका सामान्य गाउँ होइन, यो व्यापारीहरु बसोबास रहेको ठाउँ हो । व्यापार गर्ने मानिसहरु अरुको भर पर्न चाहँदैनन् । आफैं केही गरेर धन आर्जन गर्ने उनीहरुको बानी हुन्छ । तर अहिले उनीहरुसँग ब्यापार गर्ने ठाउँ नै छैन ।
एक त त्रिशुलीसँग उनीहरुको धार्मिक र साँस्कृतिक सम्बन्ध पनि छ । अर्को जीवनभर गरिखाएको ठाउँ पनि त्यही हो ।
वडाध्यक्ष लेनिन रञ्जित त्रिशूली किनारमा बलियो तटबन्ध र नदीलाई गहिरो बनाउनुपर्ने बताउँछन् । त्यसो भएमा त्रिशूली बजारमा फेरि बसोबास गर्न सकिनेछ । बसोबास गर्न नमिल्ने ठाउँलाई खुला संग्रहालय र हरियाली क्षेत्रको रुपमा संरक्षण गर्न सकिन्छ ।
त्यसैले संघीय सरकारले बस्न योग्य र अयोग्य क्षेत्र किटान गरिहाल्नुपर्छ र बस्न अयोग्य ठाउँका मानिसहरुलाई क्षतिग्रस्त संरचनाको क्षतिपूर्ति र मुआब्जा दिएर अर्को ठाउँमा सिफ्ट गर्नुपर्छ ।
किन नजिकिँदै छन् तीतो भुलेर रवि–गगन ? गुन–बैगुनका कुरा
राजा महेन्द्र र गिरिजाले जे गरे, बालेन पनि त्यही बाटोमा
कानूनले नै भाँच्यो काम नगर्ने ठेकेदारको खुट्टा, के-के भए सुधार ?
देशमै मल कारखाना खोल्ने प्लान सधैं किन फेल ? बालेनलाई पनि छैन सजिलो






