पुरिएको सुरुङमा एउटा प्वालले जगाएको आशा
भोटेकोशी बाढीकै कठिन रेस्क्यू मिसन, जहाँ टालिएको सुरुङको मुख खोल्न सकिएको छैन । सुरुङको मुखदेखि ४० मिटर माथिबाट प्वाल पारेर सुरुङ फेला पारिएको छ ।
आइतबार दिउँसो प्वाल पारेपछि ३५ भन्दा बढी कर्मचारी थुनिएको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सुरुङभित्रको उद्धारमा केही आशाका किरणहरु देखिएका छन् । तर, अझै पनि सुरुङभित्र उद्धारकर्ताहरुलाई पठाउन सकिएको छैन ।
रेस्क्युमा खटिएका सुरुङ विज्ञसमेत रहेका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङमा प्वाल पार्ने डीटीएच मेसिनले ५ इन्च डायमिटरको ७ मिटर गहिरो प्वाल पारेपछि सुरुङ भेटिएको थियो । त्यसपछि एक्साभेटरले खनेर त्यसलाई मान्छे पस्न मिल्ने बनाइएको छ ।
शनिबार साँझ ६ बजे काठमाडौंबाट सुरुङमा प्वाल बनाउने डीटीएच अर्थात् डाउन द होल मेसिन पुगेको थियो । त्यसपछि एक घण्टामै ७ मिटर गहिरो प्वाल खनेर सुरुङ फेला पारिएको थियो ।
सुरुङभित्र कोही व्यक्ति नजिकै रहेको/नरहेको पत्ता लगाउन उक्त प्वालबाट प्रकाश र ध्वनि पठाइएको छ । कम्प्रेसर मेसिनमार्फत सुरुङभित्र हावा पठाइएको छ ।
सुरुङ बन्द हुँदा भित्र सबैभन्दा ठूलो खतरा अक्सिजनको कमी हुनु हो । यस्तै धेरै समय उद्धार नहुँदा त्यहाँ विषालु ग्यास कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड वा मिथेन थुप्रिन समेत सक्छ ।
प्वालमार्फत बाहिरबाट कम्प्रेसर मेसिनले ताजा हावा पठाउँदा सुरुङभित्र हावाको पोजेटिभ प्रेसर सिर्जना हुन्छ । यसले भित्र फसेका मानिसहरुलाई सास फेर्न अक्सिजन उपलब्ध गराउँछ र भित्र जम्मा भएका विषालु ग्यासहरूलाई बाहिर धकेल्न मद्दत गर्छ ।
यस्तो प्वाल मानिस छिर्नका लागि सानो भए पनि जीवन बचाउने सामग्री पठाउन पर्याप्त हुन्छ । यदि भित्रबाट मान्छेहरुले आफूहरु जीवितै रहेको संकेत दिए भने यही प्वाल भएर पाइपमार्फत जुस लगायतका खानेकुरा र पिउने पानी पठाउन सकिन्छ ।
साना–साना टर्च लाइट, आपतकालीन औषधि र पातलो थर्मल कपडा डोरीमा बाँधेर तल पठाउन सकिन्छ । सानो वाकी–टकी, तारयुक्त फोन वा माइक पठाएर भित्र फसेका प्राविधिकहरुसँग सीधा कुराकानी गर्न वा उनीहरुको आवाज सुन्न सकिन्छ ।
सुरुङ वा खानीभित्र मानिसहरु फस्दा यस्तै ‘स्मल बोरहोल’ प्रविधिले ठूलो सफलता दिलाएका अन्तर्राष्ट्रिय उदाहरणहरु छन् । सन् २०२३ मा उत्तराखण्डको सिल्क्यारा सुरुङमा ४१ जना श्रमिक फस्दा सुरुमा ६ इन्चको पाइप भित्र पुर्याइएको थियो ।
यही पाइपबाट १० दिनसम्म उनीहरुलाई खाना, पानी, औषधि र वाकी–टकी पठाइएको थियो । पछि सोही बाटोलाई आधार बनाएर उद्धार गरिएको थियो ।
सन् २०१० मा चिलीको खानी उद्धार गर्दा पनि यस्तो होल जीवन बचाउन सहयोगी सावित भएको थियो । ६८८ मिटर मुनि ३३ जना खानी श्रमिक ६९ दिनसम्म फसेका थिए ।
१७ औं दिनमा ५.५ इन्चको सानो प्वाल खनेर उनीहरु जीवितै रहेको पत्ता लगाइएको थियो । पछि सोही प्वाललाई ठूलो बनाएर फेनिक्स क्याप्सुलमार्फत सबैको जीवितै उद्धार गरिएको थियो ।
तर, यहाँ बिडम्बना के छ भने हालसम्म सुरुङभित्रका मान्छेहरुसँग सञ्चार सम्पर्क भने स्थापित हुन सकेको छैन । उनीहरुले आफू जीवित रहेको कुनै संकेत दिएका छैनन् । त्यसैले यो उद्धार मिसन अझै बढी च्यालेन्जिङ बन्न पुगेको छ ।
बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली थ्री ए आयोजनाको पावर हाउससहितको सबै संरचना पुरिएको छ ।
मर्मत सम्भारका लागि विद्युत प्राधिकरणका विज्ञ इन्जिनियर, प्राविधिक र विज्ञहरु त्रिशुली थ्री ए आयोजनामा पुगेका थिए । नियमित काम गर्नेहरु पनि भित्रै थिए ।
यो आयोजनाको पावरहाउस सुरुङभित्रै रहेकाले उनीहरु त्यहीँ फसेको अनुमान गरिएको छ ।
त्रिशुली थ्री ए आयोजनामाथि बाढीले ढुंगा माटो थुपारेका कारण सुरुङको मुख कहाँ हो भन्ने पत्ता लगाउन समेत कठिन भएको थियो । त्यसैले उद्धारमा कठिनाइ भएको थियो ।
पहिला सुरुङको मुख पत्ता लगाएर त्यहीँबाट जान सकिन्छ कि भनेर पनि प्रयास भएको थियो । त्यसका लागि सरकारले मिनी एक्साभेटर पनि तयार पारेको थियो ।
तर बाढीले ठूला ठूला ढुंगा थुपारेको ठाउँमा सुरुङको मुख कहाँ हो भन्ने पनि पत्ता लाग्न सकेन । त्यहाँको ढुंगामाटो पन्छाउन झन् धेरै समय लाग्ने भएपछि अर्कै ठाउँबाट प्वाल बनाएर सुरुङभित्र एक्सेस पुर्याउन लागिएको हो ।
तर त्यहाँसम्म सडकको एक्सेस नभएकाले सबै सामान र मानिसहरु हेलिकप्टरबाट लगिएको थियो ।
विद्युत प्राधिकरणका प्राविधिकका परिवारका सदस्यहरुले सुरुङभित्र उद्धार गरिदिन प्रधानमन्त्री कार्यालयको समेत ध्यानाकर्षण गराइसकेका छन् । विद्युत प्राधिकरणका प्राविधिकहरुले पनि पहिला प्राविधिक जनशक्तिको उद्धार गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन् ।
तर, बाढीले सुरुङसमेत पुरिएको अवस्थामा नेपाली प्राविधिकहरुलाई सुरुङभित्र प्रवेश गरेर उद्धार गर्न कठिन भएको छ । विपत्ति र जोखिमका बीचमा चलिरहेको यो उद्धार मिसन नेपालकै इतिहासको जटिल सावित हुँदैछ ।
आशा गरौं, छिटै शुभ समाचार सुन्न पाइनेछ ।
चीनले रेल समेत ल्याउन रोजेको केरुङ नाकाको दुःखान्त
लिलामीमा ज्योति ग्रुपका सम्पत्ति, के हो अर्वपति रुप ज्योतिको संकट ?
रविले जुनसुकै बेला बालेनलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन् ?
फेरि चल्ला वीरगञ्ज चिनी मिल ? महेन्द्रदेखि बालेनसम्मको कथा




-1787582411.jpg)


