त्रिशुली थ्री ए को जटिल रेस्क्यू अपरेशन
६० मेगावाटको त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको पावर हाउस सुरुङभित्र छ । त्यहाँ काम गरिरहेका प्राविधिक कर्मचारीहरु बुधबार बिहान बाढी आएदेखि थुनिएका छन् ।
अहिले न सुरुङको मुख सजिलै खोल्न सकिने अवस्था छ । न तत्कालै अरु विकल्प अपनाउन सकिएको छ । कसरी जोगाउने त सुरुङभित्रका ३५ जनाभन्दा बढीको ज्यान ?
कल्पना गर्नुस्, जमिनको सतह भन्दा तल दुई तले भूमिगत पावर हाउस छ । तपाईं त्यही अध्याँरो सुरुङभित्र हुनुहुन्छ । बाहिर नदी उर्लिएर सुरुङको मुख्य ढोका नै पुरिएको छ । लेदो माटोसहितको बाढी सुरुङभित्र पनि पसेको छ ।
भित्र अक्सिजन घट्दै छ । उद्धार कति बेला हुन्छ थाहा छैन । कसैलाई केही नहोस् भनेर कामना गर्ने र उद्धार पर्खिने भन्दा अर्को उपाय छैन ।
रसुवामा आएको जलप्रलयपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत पावर हाउसभित्र फसेकाहरु अहिले यही भोग्दैछन् ।
बुधबार बिहानको रसुवा बाढीले व्यापक क्षति पुर्याएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी निरन्तर खोज तथा उद्धारमा खटिएका छन् ।
सेनाले त्रिशुली–१ आयोजनाको सुरुङमा फसेका ३५० भन्दा धेरैको साहसिक ढंगले उद्धार गरिसक्यो ।
तर, सेनासामु यो भन्दा कठिन चुनौती आएको छ, त्रिशुली थ्री ए को सुरुङभित्र फसेकाहरुको उद्धार ।
यो बाढीपछि जारी उद्धार प्रयासहरुमध्ये सबैभन्दा कठिन, चुनौतीपूर्ण उद्धार त्रिशुली थ्री ए मै हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यहाँ थुनिएकाहरु प्राधिकरणका पावरहाउस विज्ञ र प्राविधिकहरु हुन् । यहाँ फसेकाहरु सबै यहाँ नियमित काम गर्ने कर्मचारीमात्र होइनन् ।
नेपाल विद्युत् प्राधिकरणले आफ्ना दक्ष विज्ञ र प्राविधिकहरुको टोलीलाई त्रिशूली–३ ‘ए’ को टर्बाइन ओभरहोलिङ अर्थात् मर्मतसम्भारका लागि खटाएको थियो ।
आफ्नो नियमित काम र प्राविधिक जिम्मेवारी पूरा गर्न भूमिगत संरचनाभित्र छिरेका उनीहरुलाई थाहा थिएन, माथिबाट यस्तो विनाशकारी बाढी आउँदैछ ।
बाढीले त्रिशुलीको नदीको बहाव मात्र बढाएन, ठूलो मात्रामा ढुंगा, माटो र लेदो बगाएर ल्यायो । यसले आयोजनाको अन्डरग्राउन्ड पावर हाउस प्रवेश गर्ने प्रवेशद्वार अर्थात् ढोकालाई पूरै पुरिदिएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार यो सुरुङ १८ सय मिटर लामो छ । भूमिगत पावर हाउस दुई तले छ ।
सुरुङको मुखसम्म बाढीले पुरिनुको अर्थ हो, बाढी सुरुङभित्र पनि पसेको छ । त्यसले भित्र कति क्षति गर्यो थाहा छैन । त्यहाँ फसेकाहरुसँग सम्पर्क हुन सकेको छैन । भित्र सबै जीवित रहेको आशा छ ।
सुरुङको मुख नै बन्द भएकाले त्यहाँ बाहिरबाट अक्सिजन प्रवाह हुन सकेको छैन । त्यसैले लामो समयसम्म उद्धार हुन नसके उनीहरुलाई स्वासप्रश्वासमा पनि समस्या हुन सक्छ । त्यसैले भित्र फसेकाहरुको उद्धार नहुँदासम्मको हरेक सेकेन्ड महत्वपूर्ण छ ।
तर, सुरुङको मुख थुनिएकाले उद्धारको काम त्रिशुली–१ मा जस्तो सजिलो छैन ।
माथिल्लो त्रिशुली थ्री १ को सुरुङमार्गबाट पनि बाढी भित्र पसेको थियो, तर प्वाल पुरै छोपिएको थिएन, मुख खुला नै थियो ।
खुल्ला ठाउँमा वा घरको छतमा अड्किएका मानिसहरुलाई हेलिकप्टर वा डोरीको सहायताले उद्धार गर्न सकिन्छ ।
शुक्रबार बिहान उद्धार गरिएको भिडियो हेर्दा सुरुङमार्गको मुखसम्म नेपाली सेनाको हेलिकप्टर पुगेको थियो ।
एक जना मानिस हिलोमा टेक्दै हेलिकप्टरतिर अघि बढेका थिए । त्यसपछि डोरीले बाँधिएको एउटा बकेटमा बसेर दुई जना सैनिक जमिनमा झरे । हिलो घस्रदै अघि बढे र सुरुङभित्र फसेका मानिसलाई बकेटमा राखेर डोरीको सहायताले हेलिकप्टरमा पुर्याए ।
त्यही सुरुङबाट बिहीबार ३५० जना र शुक्रबार बिहान २ जनाको उद्धार गरियो ।
तर, त्रिशुली थ्री ए को उद्धार यति सजिलो छैन ।
यो उद्धार किन रसुवा बाढीकै सबैभन्दा कठिन मिसन हो ? यसका विभिन्न प्राविधिक कारणहरु छन् ।
पहिलो कारण हो, अक्सिजनको तीव्र कमी । भूमिगत संरचना वा सुरुङभित्र हावा आउजाउ गर्ने भेन्टिलेसन सिस्टम हुन्छ । तर बाढीले पावर हाउस पुरिएपछि वा विद्युत् आपूर्ति ठप्प भएपछि भेन्टिलेसन बन्द हुन्छ । ३५ जना मानिसले सास फेर्दा भित्र अक्सिजनको मात्रा तीव्र रुपमा घट्छ र कार्बन डाइअक्साइड बढ्छ । त्यसैले यो सुरुङभित्र रहेकाहरुलाई जतिसक्दो छिटो उद्धार गरेर बचाउनुपर्ने हुन्छ ।
सुरुङको मुख पूरै बन्द भएकाले मात्रै हैन, त्यसलाई तत्कालै खोल्न नसकिएकाले पनि यो उद्धार कठिन बनेको छ । बाढीले ल्याएको लेदो, ठूला ढुंगा र भग्नावशेषले सुरुङको मुख पुरिदिएको छ । जबसम्म भारी मेसिनरी प्रयोग गरेर त्यो लेदो हटाइँदैन, तबसम्म भित्र प्रवेश गर्ने वा मानिस बाहिर निकाल्ने बाटो नै हुँदैन ।
अहिले यो ठाउँसम्म पुग्ने बाटो छैन । नेपाल विद्युत प्राधिककरणले सेनालाई डिजिटल म्याप दिएर उद्धारका लागि त्यहाँ पठाएको थियो । दुई पटक सेना पुग्दा पनि सुरुङको मुख नै पत्ता लागेन ।
त्यसपछि प्राधिकरणले यो आयोजना बनाउँदा प्रोजेक्ट म्यानेजरका रुपमा काम गरेका सुरेश राउतलाई नै त्यहाँ खटायो । उनले सुरुङको मुख त पत्ता लगाए । तर, मुख कसरी खोल्ने ? हेलकप्टरमा मान्छे लगेर साबेलले बालुवा फालेका भरमा त्यो मुख खोल्न सकिने अवस्था छैन । त्यसैले अहिले प्राधिकरणले एउटा एक्साभेटर लगेको छ ।
तर, एउटा एक्स्काभेटरले काम गर्दा पनि त्यहाँ सुरुङको मुख खोल्न सम्भव हुने देखिएन । अरु पनि एक्स्काभेटर लगेर मुख खोतल्ने तयारी गरिरहेको छ । यो उद्धार अभियानका लागि एउटा हेलिकप्टरलाई स्ट्यान्डबाइ राखिएको छ ।
प्राधिकरणले एक्सेस टनेलबाट पनि उद्धार गर्न सकिने विकल्प हेरिरहेको छ । तर, त्यसको पनि मुख कहाँ छ भन्ने पत्ता लगाउन सकिएको छैन ।
सुरुङको मुख बाहेक अन्डरग्राउन्ड पावरहाउसबाट तारहरु निकालेको प्वाल पनि खोजी गरिँदैछ । त्यो भेटियो भने पनि त्यसलाई खुला गरेर उद्धार गर्न सकिने सम्भावना छ । तर, बाढीले नदीको नाप नक्सा नै बदलेकाले यस्ता विकल्पहरुमा पनि सेना र प्राधिकरण जान सकेको छैन ।
प्राधिकरणका निमित्त प्रमुख दीर्घायुकुमार श्रेष्ठका अनुसार सुरुङसम्म पुग्न माथिबाट नयाँ प्वाल खन्न सकिन्छ कि भन्ने विकल्पबारे पनि छलफल भएको छ । तुरुन्तै उद्धार गर्न नसकिए पनि अक्सिजनको सप्लाइ सहज बनाउन सुरुङमा नयाँ प्वाल बनाएर भएपनि मान्छेको जीवन जोगाउन लाग्नुपर्ने उनको भनाइ छ ।
अरु कुन–कुन विकल्पमा जाने भनेर अहिले सेनाको प्राविधिक निर्देशनालयको इन्जिनियरसहित प्राधिकरणको टोली पावरहाउस रहेको ठाउँमा पुगेर अध्ययन गर्दैछ ।
भारतका लगायत विभिन्न देशमा सुरुङभित्र फसेकाहरुको उद्धारका लागि चालिएका कदमका आधारमा जुनसकै विकल्पमा जान प्राधिकरण तयार रहेको श्रेष्ठ बताउँछन् ।
तर, यो उद्धार अभियानमा यति मात्रै जटिलता छैन । यदि फेरि त्रिशुलीमा बाढी बढ्यो भने काम नै रोक्नुपर्ने अर्को जोखिम पनि छ । शुक्रबार विहान चीनले ताल फुटेको सूचना दिएपछि प्राविधिकहरुले फिल्ड छाड्नु परेको थियो । त्यसले गर्दा पनि उद्धार कार्यमा २ घण्टा भन्दा बढी समय ढिलाइ भएको थियो । यदि सुरुङको मुख खोल्दै गर्दा अर्को ठूलो बाढी आयो भने सुरुङमुनि थप पानी र लेदो पस्ने जोखिम हुन्छ ।
अनि उद्धार अभियान जटिल हुनुको कारण सञ्चार सम्बन्ध बिच्छेद हुनु पनि हो । जमिनमुनि सामान्य मोबाइल नेटवर्कले काम गर्दैन । आन्तरिक सञ्चार प्रणाली पनि बाढीका कारण अवरुद्ध भएकाले ३५ जना प्राविधिकहरु भित्र ठ्याक्कै कुन क्षेत्रमा छन् भन्ने स्पष्ट जानकारी पाउन कठिन छ ।
अनि यो उद्धारको काम सामान्य विपद् व्यवस्थापन टोलीले गर्न सक्दैन । यसका लागि सुरुङ उद्धार विशेषज्ञहरु चाहिन्छन् । अनि नयाँ प्वाल बनाएर उद्धार गर्ने हो भने ठूला ड्रिलर मेसिनदेखि अक्सिजन सिलिन्डरसहितका आधुनिक उपकरणहरु चाहिन्छन् ।
फेरि यहाँ चुनौती उद्धार र उपकरणको मात्रै होइन, समयको पनि हो । यो काममा ढिलाइ गर्न पनि भएको छैन । देशलाई उज्यालो बनाउने काममा दिनरात खटिएका विज्ञ प्राविधिकहरु अहिले सुरुङको अन्धकार र अक्सिजनको कमीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा अहिलेसम्म गरिएको सुरुङको मुख खोतल्ने कामले कतिबेला नतिजा दिन्छ भन्ने टुंगो छैन ।
यस्तो सुरुङ र भूमिगत उद्धार विश्वभरि नै सबैभन्दा जटिल मानिन्छ । चाहे केही वर्षअघि भारतको उत्तराखण्डस्थित सिलक्यारा सुरुङमा ४१ जना श्रमिक थुनिएको घटना होस्, वा थाइल्यान्डको गुफामा युवा फुटबल टोली थुनिएको घटना । यस्ता उद्धारमा सफलता पाउन विशेष प्रविधि, धैर्य र विशेषज्ञताको आवश्यकता पर्छ ।
त्रिशूली–३ ‘ए’ को यो घटनाले नेपालको जलविद्युत् क्षेत्रमा भूमिगत काम गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र आपतकालीन उद्धार प्रविधिमा कति ठूलो सुधार आवश्यक छ भन्ने पनि उजागर गरेको छ । तर, अहिले बहसको समय होइन, अहिले एक्सनको समय हो । त्यसैले प्राधिकरणकै कर्मचारीहरु भनिरहेका छन्, यहाँ हरेक सेकेन्डको महत्व छ ।
सरकारले कुनै पनि ढिलाइ नगरी, स्रोत र साधनको पूर्ण प्रयोग गरेर यो कठिन उद्धार मिसनलाई सफल बनाउनैपर्छ । हामी सबैको एउटै प्रार्थना छ, सुरुङभित्र थुनिएका हाम्रा ३५ जना प्राविधिकहरुको सकुशल उद्धार होस् र उहाँहरुको सुरक्षित रुपमा आफ्नो परिवार र कर्मक्षेत्रमा फर्किन सकून् ।
थ्रीडी फोटो सार्वजनिक गर्दै चीनले भन्यो : बाढीको स्रोत नेपाली भूमि
चीनबाट आयो ताल फुटेको सूचना, पुनः बाढीको सम्भावना
भोटेकोशीमा किन आयो बाढी ? चिनियाँ विज्ञले दिए ४ कारण
भूकम्पपछिकै ठूलो क्षति, बाढीले देशलाई यसरी धकेल्यो १० वर्ष पछाडि




-1787582411.jpg)


