राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
राहदानी छपाइका क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार मुद्दा लाग्नेमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित राहदानी विभागका कर्मचारी र राहदानी छपाइ गर्ने कम्पनीको ठेकेदारका प्रतिनिधि छन् ।
महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, तत्कालिन निर्देशकहरु शत्रुध्वन प्रसाद शर्मा पोखरेल, रवीन्द्र राजभण्डारी, तत्कालिन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं, शाखा अधिकृत सोमेश शर्मा, परराष्ट्र मन्त्रालयका तत्कालिन कानुन उपसचिव राजाराम दाहाल र पुष्करराज नेपाल, तत्कालिन लेखा उपसचिव भेषप्रसाद भुर्तेलविरुद्ध १० अर्ब १३ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै राहदानी छपाइ गर्ने कम्पनी म्युहलबाउर कम्पनीका मुख्य भई काम गर्ने जेरार्ड मउरर, पाब्ले र्याकी, र मणिन्द्रराज मल्लविरुद्ध १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ ६२ पैसा बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
त्यस्तै भेरिडोस कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा, त्यस कम्पनीको मुख्य भई काम गर्ने फाबिओला बेलरसेइमविरुद्ध ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रुपैयाँ ३९ पैसा बिगो कायम गरेर मुद्दा दायर गरिएको छ ।
राहदानी विभागका अधिकारीहरुले राहदानी छपाइ गर्ने कम्पनी म्युहलबाउर आईडी सर्भिसेस र भेरिडोसका प्रतिनिधिसँग मिलेमतो गरेर ठेक्का दिएको अख्तियारको आरोप छ ।
म्युहलबाउर र भेरिडोसलाई नै ठेक्का दिनका लागि सार्वजनिक खरिद ऐन र खरिद नियमावलीलगायत प्रचलित कानुनको प्रतिकुल हुने गरी बोलपत्रका शर्त र मापदण्ड नै परिवर्तन गराएको, स्वीकृत भइसकेको शर्त तथा मापदण्ड विपरीत हुने गरी बदनियतपूर्वक बोलपत्र मूल्यांकन गराएको अख्तियारको आरोप छ ।
बोलपत्रको टेक्निकल इभ्यालुएसन र फाइनान्सियल इभ्यालुएसन गर्दा गलत सिफारिस तथा गलत निर्णय गराएर ठेकेदार कम्पनीलाई फाइदा पुर्याएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)


