नेभिगेशन
राजनीति

देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?

यदि सर्वोच्च अदालतले साउन २१ गते निस्सा दिएको थिएन भने चुनदेवीमा अर्को कांग्रेस पार्टी खुलिसकेको हुन्थ्यो। देउवा समूहले त्यसको सबै तयारी गरिसकेको थियो।

तर संयोगले कांग्रेस फुट्नुभन्दा ठीक अगाडि अदालतले पुरानो फैसला पुनरावलोकनको अनुमति दियो । कांग्रेसको फुट टर्‍यो।

कांग्रेस त फुटेन, तर देउवा समूहभित्रको शक्ति समीकरण फेरियो । त्यति मात्र होइन—राजनीतिक एजेण्डा पनि बदलियो। शेरबहादुर देउवा एकाएक हिन्दु धर्मको एजेण्डामा खुलेर आए ।

विशेष महाधिवेशनमा सहभागी नभएको देउवा समूहले फागुन २१ को चुनावपछि समानान्तर भेला र बैठकहरु गर्न थालेको थियो।

साउन २९ गते सुरु भएर ३१ गते सकिने गरी राष्ट्रिय भेला बोलाएको थियो । र यही भेलाका लागि शेरबहादुर देउवा पनि देश फर्किए ।

किनकी अलग पार्टी घोषणाको तयारी थियो।

तर राष्ट्रिय भेलाभन्दा अगाडि नै सर्वोच्च अदालतबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने फैसला पुनरावलोकन हुने भयो । यससँगै नयाँ पार्टी घोषणाको च्याप्टर क्लोज भयो।

किनकी अब फेरि कांग्रेसकै बागडोर देउवाको हातमा आउन सक्छ।

यदि सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय बदर गर्‍यो भने १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति कायम रहनेछ।

त्यसको सभापति शेरबहादुर देउवा हुनेछन् ।

अहिले सभापति रहेका गगन थापा र उपसभापति भएका विश्वप्रकाश शर्मा चाहिँ महामन्त्रीमा घटुवा हुनेछन् ।

तर त्यो कार्यसमितिले चार वर्षे कार्यकाल पूरा गरिसकेको छ। त्यसैले तत्काल १५ औं महाधिवेशन गर्नुपर्नेछ।

अर्कोतर्फ गगन थापा नेतृत्वको कार्यसमितिले नै वैधानिकता पायो भने पनि महाधिवेशन हुन्छ।

किनकी उनीहरुले असोजमा गर्ने गरी कार्यतालिका बनाइसकेका छन्।

त्यसैले प्रश्न छ, १५औं महाधिवेशन कुन कार्यसमितिले गराउँछ?

यसको उत्तर भने सर्वोच्च अदालतको फैसलाले दिनेछ ।

यो सारा खचपचमा कांग्रेसमा सबैभन्दा ठूलो उपलब्धी शशांक कोइरालाले हासिल गरे ।

१३औं महाधिवेशनमा भारी मतका साथ महामन्त्री निर्वाचित हुनासाथ उनलाई कांग्रेसको भावी सभापतिका रुपमा हेरिएको थियो।

तर महामन्त्रीका रुपमा उनले खासै भूमिका खेल्न सकेनन्। १४औं महाधिवेशनमा सभापति त भएनन् नै पदाधिकारीसमेत रहेनन्।

फागुन २१ को चुनाव पनि लडेनन् । त्यसपछि यस्तो देखिन थालेको थियो, शशांक कोइराला कांग्रेसको राजनीतिक दृश्यबाटै हराए।

तर राजनीति कहिलेकाहीँ अचम्मको हुन्छ। जसलाई केही समयअघि राजनीतिक दृश्यबाट हराएको ठानिएको थियो आज उनी शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा देखिएका छन्।

किनकी जतिबेला देउवा समूह अलग पार्टी बनाउने तयारीमा थियो, त्यो पार्टीको नेतृत्व कसले गर्ने भन्ने बहस भयो ।

फुटेको पार्टीको नेता बन्न भने कोही तयार थिएनन्।  स्वाभाविक दावेदार थिए पूर्णबहादुर खड्का।

१४औं महाधिवेशनबाट उपसभापति निर्वाचित उनलाई देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । तर खड्का फुटेको पार्टीको नेता बन्न चाहेनन्।

अझ भनौं कांग्रेस फुटाएको अपजस लिन चाहेनन्।

त्यसपछि नेताहरूले डा. शेखर कोइरालातिर नजर लाए । उनी पनि तयार भएनन् ।

काठमाडौंमा नेताहरुसँग हुने छलफल छल्न विराटनगर गएर बसे।

त्यसपछि विकल्पमा आए शशांक कोइराला।

वीपी पुत्रलाई सभापति बनाउन पाए पार्टी विस्तार गर्न पनि सहज हुने नेताहरुको अनुमान थियो।

सुरुमा शशांकले पनि रुचि देखाएका थिएनन्।

तर उनलाई मनाउन व्यापारीसमेत रहेका पूर्वमन्त्री दीपक खड्काले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

र त्यसपछि शशांक नयाँ पार्टीको सम्भावित सभापतिका रुपमा अगाडि आए।

अब उनी १५औं महाधिवेशनमा देउवा समूहबाट सभापतिको उम्मेदवार बन्ने अवस्थामा पुगेका छन्।

कांग्रेसकै सभापति बन्छन् कि बन्दैनन् त्यो अहिले नै भन्न हतार हुन्छ।

तर एउटा कुरा प्रष्ट छ, देउवा समूहले देउवाको उत्तराधिकारी पाइसकेको देखिन्छ।

पूर्णबहादुर छुटे

तर पछाडि रहेको मान्छे अगाडि आउँदा कसै न कसैको ठाउँ गुम्छ।

यो प्रक्रियामा सबैभन्दा धेरै गुमाउने दुई नेता हुन्, पूर्णबहादुर खड्का र डा. शेखर कोइराला।

पूर्णबहादुर खड्का देउवा समूहका स्वाभाविक नेता थिए।

गगन थापासँग सहमति गर्न सकेको भए उनी नै यो समूहको नेता रहिरहन्थे। अलग पार्टीको नेतृत्व गर्न तयार भएको भए पनि देउवा समूहको नेता रहिरहन्थे ।

तर उनले न गगन थापा र विश्वप्रकाश शर्माहरुसँगको संवादलाई सहमतिमा पुर्‍याउन सके, न अलग पार्टी बनेको अवस्थामा नेतृत्व गर्ने आँट गरे।

अब देउवा समूहबाट सभापतिको उम्मेदवार बन्ने सम्भावना पनि रहेन।

त्यसैले होला उद्घाटनमा देखिएका पूर्णबहादुर खड्का समापनमा हराए।

शेखरले पनि गुमाए अवसर

पूर्णबहादुर खड्काको जस्तै हालत छ, डा. शेखर कोइरालाको।

१४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे। ४० प्रतिशत मत ल्याए।

सभापति नभए पनि कांग्रेसको नेताका रुपमा उनको उदय भएको विश्लेषण भयो।

डा. शेखर पार्टीभित्र विपक्षी नेता कहिल्यै हुन सकेनन्।

समयमा निर्णय गर्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी रह्यो।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गर्ने नेताहरु गगन थापाका थिएनन्, डा. शेखरका विश्वासपात्रहरु थिए।

गगन थापाहरु पनि साथ दिएपछि ४० प्रतिशतभन्दा बढी पुग्ने देखियो ।

डा. शेखर आफ्नै कदमबाट पछाडि हटे । हस्ताक्षर रोक्न लागे ।

तर नेतृत्व परिवर्तनको भोक यति ठूलो थियो कि ४० होइन, झण्डै ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे।

त्यसपछि पनि डा. शेखरले अवसर पाएका थिए, गगन र विश्वले विशेष महाधिवेशनमा आएर नेतृत्व गरिदिन आग्रह गरे।

आफ्नै समूहका धेरै नेता गए । तर शेखरले आँट गरेनन्।

विशेष महाधिवेशन भयो, गगनहरुले निर्वाचन आयोगबाट वैधानिकता पाए।

डा. शेखर भने गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर मोरङ–६ बाट चुनाव लड्न गए।

तर चुनाव सकिएपछि देउवा समूहतिर लागे। र यहाँ पनि अर्को अवसर आयो।

पूर्णबहादुर खड्काको विकल्पमा देउवा समूहको नेता बन्ने अवसर । तर त्यो बेला पनि उनी अगाडि सरेनन् ।

अब १५औं महाधिवेशनमा न उनी गगन–विश्व समूहका सभापतिका उम्मेदवार हुनेछन्, न देउवा समूहका।

हुन त शशांकले सार्वजनिक रुपमा शेखरले इच्छा गरे सहयोग गर्ने बताएका छन् ।

तर राजनीतिमा जे भनिन्छ, त्यसको अर्थ त्यति मात्र हुँदैन।

शशांकको अभिव्यक्तिको आशय, 'मेरो त तपाईंलाई सहयोग गर्ने इच्छा हो, तर अरु मान्दैनन् ।'

राजनीतिक एजेण्डा पनि बदलियो

देउवा समूहमा बदलिएको कुरा शक्ति समीकरण मात्र होइन।राजनीतिक एजेण्डा पनि बदलिएको छ।

त्यो हो— सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउने निर्णय।

निर्णयमा भनिएको छ, 'नेपालको सनातनदेखि चलीआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो...।'

र हिन्दु, बौद्ध, किरात र प्राकृतिक धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेताहरुका अनुसार भेलाको निर्णयका लागि तयार गरिएको ड्राफ्टमा धर्मको विषय थिएन।

तर अन्तिम दिन—शेरबहादुर देउवा आफैं अगाडि आएर भने, “म हिन्दु हुँ।”

त्यसपछि उनकै निर्देशनमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउने प्रस्ताव बनाएर पास गरिएको छ।

यहाँ एउटा महत्वपूर्ण कुरा छ।

निर्णयमा हिन्दु मात्र भनिएको छैन।

बौद्ध, किरात र प्राकृतिक धर्मको संरक्षणको कुरा पनि गरिएको छ । त्यसैले यसलाई सिधै हिन्दु राष्ट्रको प्रस्ताव भन्न मिल्दैन।

तर देउवाको अभिव्यक्ति र देउवा समूहका नेताहरुको पछिल्लो राजनीतिक धार हेर्दा यसको मूल राजनीतिक सन्देश सनातन हिन्दु सांस्कृतिक पहिचानतर्फ उन्मुख देखिन्छ।

देउवा समूहमा विमलेन्द्र निधि मात्र धर्मनिरपेक्षताको पक्षमा मन, वचन र कर्मले प्रतिबद्ध नेता रहेको बताइन्छ।

त्यसैले होला घोषणासभामा उनले विरोध गरेको दृश्य पनि देखियो।

अरु नेताहरु हिन्दु धर्मकै पक्षमा मत राख्छन्।

शशांक कोइरालाले सार्वजनिक रुपमै बोल्दै आएका छन्।

डा. शेखर कोइराला, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु पनि भित्रभित्रै धर्मनिरपेक्षताको विरोधमा थिए।

यो पटक देउवा पनि खुलेर आए। त्यसैले राष्ट्रिय सम्मेलनबाट प्रस्ताव पारित भयो।

अब प्रश्न उठ्छ, आखिर यो उमेरमा देउवा किन हिन्दु लाइन बोक्न तयार भए ?

किनकी कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा लामो समयदेखि आवाज उठ्दै आएको थियो।

२०८० फागुनमा गोदावरीमा भएको महासमिति बैठकमा शंकर भण्डारी नेतृत्वको एउटा समूहले हस्ताक्षर अभियान नै चलाएको थियो।

तर सभापतिका रुपमा देउवाले कहिल्यै धर्मको मुद्दालाई पार्टीको औपचारिक एजेण्डा बन्न दिएनन्।

तर अहिले उनै देउवा सार्वजनिक रुपमा, 'म हिन्दु हुँ, हिन्दु हुँ' भन्दै खुलेर आए।र त्यही भेलाले हिन्दु लाइन दिने निर्णय गर्‍यो।

देउवालाई नजिकबाट चिनेका एक नेताका अनुसार राजनीतिक जीवनको उत्तरार्धमा रहेका देउवाले धर्मको राजनीति सहजै समातेका होइनन्।

पाँचपटक प्रधानमन्त्री भएका देउवाले ७९ वर्षको उमेरमा कुटाइ खानुपर्‍यो।

पार्टी सभापतिबाट पनि सम्मानजनक रुपमा विदा हुन पाएनन्।

नयाँ सरकारले सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा पक्राउ गर्न खोजेपछि उपचारको बहाना बनाएर विदेशमा लुक्दै हिँड्नुपर्‍यो।

आज उनी देश फर्किएका छन्। तर श्रीमती आरजु देउवा र छोरा जयवीर भूमिगत नै छन्।

त्यसैले देउवाले आफ्नो दृष्टिकोण र लामो सैद्धान्तिक विचारभन्दा पनि भारतको प्रभाव र आफ्नो राजनीतिक सुरक्षाका लागि हिन्दु धर्मको एजेण्डा बोकेको हुनसक्ने विश्लेषण भइरहेको छ।

यसका लागि दुईवटा घटनाक्रमलाई जोडेर हेर्न सकिन्छ।

पहिलो, नेपालमा जतिबेला संविधान निर्माण भइरहेको थियो, प्रमुख दलका नेताहरु लाइन लागेर दिल्ली गए। शेरबहादुर देउवा पनि गए।

त्यसबेला नेपाली नेताहरुले तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई हिन्दु धर्मको विषयमा केही वचन दिएका थिए भन्ने गरिन्छ।

खासगरी संविधान जारी भएपछि भारतले नाकाबन्दी गरेपछि यो विषय निकै चर्चामा आएको थियो।

दोस्रो, जब कांग्रेसले एमालेसँग मिलेर केपी शर्मा ओली नेतृत्वको सरकार बनायो भारतीय संस्थापन पक्ष देउवासँग रिसाएको थियो।

अझ, बेइजिङको सैन्य परेडमा ओलीसँगै कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्का सहभागी भएपछि भारतीय संस्थापन पक्ष शेरबहादुर देउवासँग क्रुद्ध भएको थियो।

त्यसैले अहिले संकटका बेला देश फर्किएका देउवाले एकाएक हिन्दु धर्मको एजेण्डा बोक्नुलाई राजनीतिक सुरक्षाको खोजीका रुपमा विश्लेषण भइरहेको छ।

१५औ‍ं महाधिवेशनमा के होला ?

शेरबहादुर देउवाले “म हिन्दु हुँ” भन्नु समस्या होइन।

उनी हिजो पनि हिन्दु थिए। भोलि पनि रहन सक्छन्।

कुन धर्म मान्ने भन्ने कुरा उनको व्यक्तिगत स्वतन्त्रता हो।

तर समस्या त्यहाँ सुरु हुन्छ जब व्यक्तिगत आस्था राजनीतिक एजेण्डा बन्छ।

जब धार्मिक मुद्दालाई राजनीतिक एजेण्डा बनाउन थालिन्छ त्यसले अनेक समस्या ल्याउन सक्छ।

आजको दिनमा नेपालमा धार्मिक एजेण्डा बोकेको एउटा मात्र पार्टी हो राप्रपा।

पूर्व पञ्चहरुको पार्टीका रुपमा बद्नामी कमाएको राप्रपा पछिल्ला दशकमा निर्णायक शक्ति कहिल्यै रहेन।

प्रमुख राष्ट्रिय शक्तिहरु कांग्रेस र कम्युनिस्टहरुले धर्मको राजनीति गरेनन्।

त्यसैले एकाध छिटफुट घटनालाई बिर्सिने हो भने धार्मिक तनाव भएन।

स्थानीय स्तरका तनावलाई सरकार र राजनीतिक दल सबै मिलेर मत्थर पार्दै आएका छन्।

तर पछिल्लो दिनमा अनेक धार्मिक समूहका नाममा गतिविधि बढेको छ।

धर्मका नाममा समाजमा तनाव बढ्दै गएको छ।

हालै मात्र बाँकेको कप्तानगञ्जबाट सुरु भएको धार्मिक तनाव सिराहासम्म पुग्यो।

अनाहकमा चार जना युवाहरुले ज्यान गुमाए।

यही बेला राष्ट्रिय शक्तिमध्येको एक कांग्रेसको एउटा खेमाले हिन्दु धर्मको मुद्दा बोकेको छ।

अब हेर्नुपर्छ, १५औं महाधिवेशनमा यो मुद्दा के हुन्छ ?

किनकी त्यहाँ गगन थापा र शशांक कोइराला आमनेसामने हुने सम्भावना छ ।

त्यसैले कांग्रेसको १५औं महाधिवेशन केवल नेतृत्व छान्ने महाधिवेशन होइन।

कांग्रेस कुन राजनीतिक दिशामा जान्छ भन्ने तय गर्ने महाधिवेशन पनि हुन सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति