गाडी–बाइक किन्दा गर्नै नहुने गल्ती, के गर्ने–के नगर्ने ?
साउनदेखि असोजसम्मलाई नेपालमा अटोमोवाइल व्यवसायको सिजन मानिन्छ ।
नेपालीहरुले कुनै महत्वपूर्ण र मूल्यवान सामान किन्दा दशैंको समय पार्ने हुनाले गाडी व्यापारीका संस्थाहरुले यही समयमा एक्सपोहरु सञ्चालन गर्छन् ।
अटोमोवाइल क्षेत्रका दुई संगठन नाइमा र नाडा अटोमोवाइल डिलर्स एशोसिएसनले पनि यही मौका छोपेर अटोमोवाइलको एक्सपो गर्दै आइरहेका छन् ।
नेपालीहरुका लागि घर र गाडी किन्नु ठूलो सपना हो । किनकी नेपालीले आफ्नो जीवनकालमा सबैभन्दा ठूलो लगानी गर्नुपर्ने क्षेत्र सम्भवत घर र गाडी नै हो ।
तर कसैका लागि भने अटो शो तरकारी मण्डी र सपिङ मल जस्तै हो । गयो, मन पर्यो भने गाडी बुक गरेर फर्किहाल्यो ।
वास्तवमा, अटो शो वा एक्स्पो गाडी बुक गर्नका लागि हो त ? खासमा अटो एक्स्पो गाडी किन्ने ठाउँ भन्दा पनि अवलोकन गर्ने र अनुभव लिने ठाउँ हो ।
कम्पनीहरुका लागि अटो शो आफ्नो ब्राण्डको पावर प्रिजेन्ट गर्ने, नयाँ प्रविधि देखाउने र सम्भावित ग्राहकहरुको डेटा, मतलब नाम फोन नम्बर र इमेल संकलन गर्ने ठाउँ हो ।
र, ग्राहकका लागि अटो शो भनेको दर्जनौं ब्राण्ड र सयौं मोडलहरुको एकैपटक तुुलना गर्ने अवसर हो ।
यदि एक्सपो नहुँदो हो त तपाईंले किन्नुअघि केही ब्राण्डका गाडीहरु हेरौं भन्नुभयो भने थापाथली र नक्सालदेखि विभिन्न ठाउँका शोरुमहरुमा धाउनुपर्छ । धुवाँ, धुलो र ट्राफिक जाम झेल्नुपर्छ । तर अटो शोमा नेपालमा बिक्री हुने प्राय सबै ब्राण्डका गाडीहरु केही मिटरको दूरीमा नै हुन्छ । तपाईंलाई आफ्नो प्रोडक्टबारे बताउन सेल्स पर्सनहरु तयार भएर बसेका हुन्छन् ।
त्यसैले अटो शोको प्राथमिक उद्देश्य गाडी किन्नुअघिको रिसर्चमा सघाउनु हो, गाडी नै किनाइहाल्नु होइन । तर, नेपालमा यस्ता एक्सपोहरुमा गाडीको बुकिङ नै गराउने होडबाजी छ । अटो शो को सफलता पनि कति गाडी बुक भयो भन्ने आधारमा नाप्ने गरिन्छ ।
त्यसैले अटो एक्स्पोमा जाँदाखेरि स्पष्ट हुनुपर्छ, अहिल्यै गाडी किनिहाल्ने होइन, हेर्ने र तुलना गर्ने हो ।
अटो एक्सपो जानुअघि के गर्ने ?
सबैभन्दा पहिला आफ्नो बजेट र आवश्यकता अनुसारका गाडीको सूची बनाउनुहोस् । यसका लागि इन्टरनेटको सहायता लिँदा हुन्छ । एक्स्पोमा ५० भन्दा बढी गाडी र बाइकहरु हुन सक्छन् । ती सबैलाई हेर्दै हिँड्नुभयो भने तपाईंको समय बर्बाद हुन्छ, दिमाग पनि खराब हुन्छ ।
एक्स्पो जानुअघि नै आफूले किन्ने गाडीको प्राइस रेन्जबारे एउटा निर्णय लिनुस् । उदाहरणका लागि यदि तपाईंको बजेट ४० लाख रुपैयाँ हो भने, त्यही बजेट आसपासका ३ देखि ४ वटा गाडीहरु मात्र टार्गेट गर्नुहोस् । नाम चलेकै वा बजारमा धेरैले चढेकै ब्राण्डलाई टार्गेट गर्नुस् ।
मेलामा गएपछि आफ्नो लिस्टका गाडीको स्टलहरुमा जानुस् । गाडी बाहिरबाट जतिसुकै राम्रो देखिए पनि भित्र बसेपछि कस्तो अनुभव हुन्छ, त्यो मुख्य कुरा हो । गाडीको अगाडिको सिटमा बस्नुहोस् र आफ्नो हाइटका हिसाबले हेड र लेग रुम पर्याप्त छ कि छैन हेर्नुहोस् ।
पछाडिको सिटमा ३ जना वयस्क मान्छेहरु सहजै अट्छन् कि अट्दैनन् ? पछाडिको सिटमा एसी भेन्ट छ कि छैन ? डिक्की वा बुट स्पेसमा परिवारका ४ जनाको लगेज अटाउँछ कि अटाउँदैन ? एक्स्पोमा गाडीको ढोका खोलेर, सिटमा बसेर यस्ता कुराको प्रत्यक्ष अनुभव लिनुहोस् ।
अर्को गर्नैपर्ने काम, सेल्स रेप्रिजेन्टेटिभसँग तिखा प्रश्न पनि सोध्नुहोस् । सेल्स म्यानले गाडीको राम्रो पक्ष मात्र भन्छ । तपाईंले उनीहरुलाई काउन्टर प्रश्न सोध्नुपर्छ । गाडीको वारेन्टी के–के कुरामा लागु हुन्छ ?
यसको पाट्र्स नेपालमा सजिलै पाइन्छ कि पाइँदैन ? आफ्टर सेल्स सर्भिस कस्तो छ ? सर्भिस सेन्टर कहाँ–कहाँ छ ? गाडीको रिसेल भ्यालु के हुन्छ ? कम्पनीले के के अफर दिएको छ, त्यसमा शर्तहरु छ कि छैन ? सवारीको भेरियन्ट अनुसार मूल्य किन धेरै फरक छ ?
अब कोटेशन सिट र सवारीको ब्रोसर पनि माग्नुस् । डिस्काउन्टबारे स्पष्ट जानकारी लिनुस् । फरक–फरक स्टलबाट प्राप्त यस्ता कोटेशनहरुलाई पछि घर गएर शान्त दिमागले तुलना गर्न सजिलो हुन्छ । सम्पर्क नम्बर लिनहोस् र अफर नोट पनि गर्नुहोस् ।
यदि कुनै गाडी साँच्चिकै मन पर्यो भने त्यहाँका सेल्स म्यानेजरसँग भिजिटिङ कार्ड साट्नुहोस् । उनीहरुलाई भन्नुहोस्, मलाई गाडी मन पर्यो । तर म यहाँ बुक गर्दिनँ । शो सकिएपछि शो–रुममा आएर टेस्ट ड्राइभ गर्छु । के यो अफर मलाई पछि पनि उपलब्ध हुन्छ ?
९० प्रतिशत अवस्थामा कम्पनीहरुले एक्स्पो सकिएको एक हप्तासम्म पनि अफर दिन मान्छन् ।
ईभी गाडी किन्दै हुनुहुन्छ भने त वास्तविक रेन्ज पनि सोध्नुस् । अटो शोमा कम्पनीले गाडीले एक पटकको फुल चार्जमा यति किलो मिटर रेन्ज दिन्छ भनेर बढाएरै भन्छन् ।
याद राख्नुहोस्, त्यो भनेको आइडल कन्डिसनमा परीक्षण गरिएको रेन्ज हो । नेपालको पहाडी बाटो, उकालो–ओरालो, ट्राफिक जाम, र गाडीभित्र एसी वा हिटर चलाउँदा वास्तविक रेन्ज त्यो भन्दा ३० देखि ३५ प्रतिशतसम्म घट्न सक्छ ।
अर्थात् ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको गाडीले नेपालको सडकमा ३०० देखि ३२० किमी मात्र दिन सक्छ । त्यसैले सेल्सम्यानलाई सिधा सोध्नु भए हुन्छ, काठमाडौँबाट पोखरा वा चितवनतिर एसी चलाएर जाँदा यो गाडीले साँच्चिकै कति रेन्ज दिन्छ ?
अनि ईभीको सबैभन्दा महँगो भाग नै यसको ब्याट्री हो । गाडीको कुल मूल्यको लगभग ४० देखि ५० प्रतिशत हिस्सा ब्याट्रीकै हुन्छ । त्यसैले ब्याट्री कुन प्रविधिको हो ? अनि वारेन्टीका सर्तहरु के–के हुन् ? ब्याट्रीको हेल्थ कति प्रतिशतभन्दा तल झरेपछि कम्पनीले सित्तैमा फेरिदिन्छ वा आफैंले फेर्नुपर्छ ? त्यो स्पष्टसँग सोध्नुहोस् ।
चार्जिङ इन्फ्रास्ट्रक्चर र चार्जिङ टाइमबारे पनि स्पष्ट कुरा सोध्नुस् । गाडीसँगै घरमा जोड्ने कति किलोवाटको चार्जर सित्तैमा पाइन्छ ? घरको सामान्य १५ एम्पियरको सकेटबाट चार्ज हुन कति घण्टा लाग्छ ? नेपालभर त्यो ब्राण्डको आफ्नै कतिवटा फास्ट चार्जर र चार्जिङ स्टेसन छन् ? के अन्य ब्राण्डका चार्जरमा पनि यो गाडी चार्ज हुन्छ ? यी कुराहरु पनि सोध्न र स्पष्ट हुनैपर्छ ।
अहिले नेपालमा दर्जनौं नयाँ–नयाँ चिनियाँ ईभी ब्राण्डहरु भित्रिएका छन् । के ती सबै ब्राण्ड नेपालमा ५ वा १० वर्षसम्म टिक्लान् ? यदि भोलि कुनै ब्राण्ड नेपालबाट भाग्यो वा बन्द भयो भने त्यसको ब्याट्री, मोटर र मर्मतका पाट्र्स कहाँ पाइन्छन् ? त्यसैले स्थापित र विश्वासिलो आयातकर्ता छ कि छैन भन्ने कुरा ईभी किन्दा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
गाडी बुक गरिहाल्दा हुँदैन ?
अटो शोमै गाडी बुक गर्नुका आफ्नै फाइदाहरु छन् ।
पहिलो त विशेष नगद छुट र उपहार नै हो । अटो शो कम्पनीहरुका लागि ठूलो प्रतिष्ठाको विषय हो । उनीहरुले शोको ६–७ दिनमा धेरै भन्दा धेरै गाडी बुकिङ गरेर बजारमा आफ्नो प्रभाव देखाउन चाहन्छन् । त्यसैले, शो–रुममा पाइने नियमित छुटभन्दा एक्स्पोमा मूल्यमै छुट, फ्री इन्स्योरेन्स, फ्री रोड ट्याक्स, वा एसेसरिज प्याकेजहरु उपलब्ध गराइएका हुन्छन् ।
अनि अटो शोमा गाडी किन्दा नयाँ लन्च भएका गाडीहरु छिटो पाउन पनि सकिन्छ । अटो शोमा धेरैजसो कम्पनीहरुले आफ्ना नयाँ मोडलहरु सार्वजनिक गर्छन् । यदि कुनै गाडी एकदमै लोकप्रिय छ र त्यसको ‘वेटिङ पिरियड’ लामो छ भने अटो शोमै बुक गर्दा डेलिभरीको सूचीमा तपाई अगाडि पर्नुहुन्छ ।
कतिपय अवस्थामा एक्सचेन्ज बोनसले पनि फाइदा हुन्छ । यदि तपाईं आफ्नो पुरानो गाडी साटेर नयाँ गाडी लिने सोचमा हुनुहुन्छ भने, अटो शोमा एक्सचेन्ज अफरहरु हुन्छन् । प्रतिस्पर्धाका कारण पुरानो गाडीको अलि बढी मूल्यांकन दिने वा आकर्षक एक्सचेन्ज बोनस दिने सम्भावना हुन्छ ।
अटो शोमा हतार–हतार गाडी बुक गर्नु जीवनकै ठूलो भूल साबित हुन पनि सक्छ ।
अटो शोको वातावरण नै यसरी तयार पारिएको हुन्छ, जहाँ मान्छेको दिमागले विवेकपूर्ण भन्दा पनि भावनात्मक निर्णय गर्छ । संगीत, झिलिमिली, मानिसहरुको भीड । अनि सेल्सम्यानको ‘सर, यो अफर शोका लागि लागि मात्र हो, भोलि त मूल्य बढ्छ’ भन्ने बोलीले तपाईंलाई हतारमा निर्णय गर्न बाध्य पार्छ ।
यसलाई मनोविज्ञानमा फियर अफ मिसिङ आउट भनिन्छ । यस्तो दबाबमा परेर गरिएको बुकिङमा पछि पछुतो मान्नुपर्ने हुनसक्छ ।
अनि अटो शोमा बुक गर्दा टेस्ट ड्राइभ गर्न पाइँदैन । गाडी किन्नुअघि टेस्ट ड्राइभ गर्नु सबैभन्दा महत्वपूर्ण प्रक्रिया हो । तर अटो शोमा के हुन्छ ? नेपालका एक्स्पोमा थोरै बाटोमा गाडी गुडाएर हेर्ने अप्सन समेत छैन ।
अब कसरी थाहा पाउने ? त्यो गाडीको सस्पेन्सनले नेपालका खाल्डाखुल्डीमा कस्तो काम गर्छ ? उकालोमा गाडीको पिकअप कस्तो छ ? गाडी गुड्दै गर्दा ड्राइभर र प्यासेन्जरको एक्सपिरियन्स कस्तो हुन्छ ? गाडीको स्टेरिङ रेस्पोन्स र ब्रेक कत्तिको इम्पे्रसिभ छ ?
यी कुनै पनि कुरा एक्स्पोमा राखिएको गाडीमा हेरेर थाहा हुँदैन । वास्तविक सडकमा कम्तीमा १०–१५ किलोमिटर गाडी नगुडाई बुक गर्नु जोखिमपूर्ण काम हो ।
हुन त बुकिङ क्यान्सिल गर्ने एउटा अप्सन पनि हुन्छ । तर जब तपाईं पछि कुनै कारणवश बुकिङ क्यान्सिल गर्न खोज्नुुहुन्छ, त्यसपछि कम्पनीको पोलिसी अनुसार बुकिङ प्राइसबाट पैसा काटिन्छ । रिफन्ड चेक बन्न समय लाग्छ । म्यानेजमेन्टले मानेन भनेर त्यही गाडी किनाउने प्रयत्न गरिन्छ ।
गाडी किन्ने सही तरिका के हो ?
अटो शोमा मज्जाले जानुस् । गाडीहरु हेर्नुस्, कम्फर्ट चेक गर्नुस्, कोटेशन लिनुस् । कम्तीमा २ वा ३ वटा ब्राण्डका प्रतिस्पर्धी मोडलहरुको जानकारी संकलन गर्नुस् ।
एक्स्पोबाट फर्केपछि १–२ दिन शान्त दिमागले सोच्नुहोस् । आफ्नो बजेट, मासिक किस्ता तिर्न सक्ने क्षमता र परिवारको आवश्यकताको लेखाजोखा गर्नुहोस् । युट्युब र इन्टरनेटमा ती गाडीहरुको रिभ्यु हेर्नुहोस् ।
गाडी चढिसकेका साथीभाइ र आफन्तसँग कुराकानी गर्नुहोस् । गाडीको डाउन पेमेन्ट र बैंकको ब्याजदरको गणित हिसाब गर्नुहोस् ।
एक्स पो सकिएपछि शो–रुममा गएर केही अप्ठेरो बाटोमा टेस्ट ड्राइभ माग्नुहोस् । एक्स्पोमा दिइएको अफर शो–रुममा माग्नुहोस् । धेरैजसो कम्पनीले दशैंसम्म नै त्यो अफर दिन्छन् ।
यदि सबै कुरामा सन्तुष्ट हुनुभयो, परिवारका सबै सदस्यलाई कम्फर्टेबल लाग्यो र वित्तीय हिसाब मिल्यो भने मात्र आधिकारिक रुपमा गाडी बुक गर्नुहोस् ।
गाडी तपाईंको मिहिनेतको कमाइ र सपनासँग जोडिएको विषय हो । यो इज्जत र प्रतिष्ठा पनि हो । नाइमा वा नाडा जस्ता अटो शोहरु अवलोकनका लागि, ज्ञान बढाउनका लागि र अटोमोबाइलको भविष्य बुझ्नका लागि उत्कृष्ट थलो हुन् ।
त्यसैले एक्स्पोमा जानुहोस्, नयाँ–नयाँ प्रविधि र ईभीको आनन्द लिनुहोस् । तर मेलाको चमकधमक, झिलिमिली र सेल्सम्यानको मीठो बोलीको भरमा हतारमा गाडी बुक गर्ने गल्ती नगर्नुहोस् ।
याद राख्नुहोस्, सचेत ग्राहक नै सुरक्षित ग्राहक हो । हतारमा निर्णय गरेर वर्षौंसम्म पछुताउनुभन्दा, केही दिन ढिला गरेर सही र सुझबुझपूर्ण निर्णय लिनु नै बुद्धिमानी हुनेछ ।
एनसेलले भन्यो- गोप्य विवरण सार्वजनिक गरेर सरकारले कानुन उल्लङ्घन गर्यो
'डीडीसी २ वर्षभित्रै ऋण तिरेर नाफामा जान्छ'
दिनको ५०० तिरेर चढ्न सकिन्छ कार
'रास्वपा सरकारले पनि बूढीगण्डकी बनाउने देखिएन'








