नेभिगेशन
अर्थ

एक हप्तामै त्रिशूलीमा बन्ने पन्टुन ब्रिज कस्तो, अनि कसरी चल्छ ?

केही दिनमा धादिङ सदरमुकाम जाने मुख्य मार्गमा पन्टुन ब्रिज जोडिँदैछ । धेरैका लागि यो नयाँ खालको पुल हुनसक्छ ।

धादिङको सरमुकाम धादिङवेशीको लाइफलाइन पुल भदौ १० को भोटेकोशी–त्रिशुली बाढीले बगाएको थियो । त्यसपछि धादिङबेशी पुग्न वैकल्पिक मार्गहरु प्रयोग गर्नु परेको छ । अब फुर्केखोलाबाट धादिङबेसीलाई जोड्न पन्टुन ब्रिज जोडिँदैछ । 

भदौ १० पछिको असर 

फुर्केखोला पृथ्वी राजमार्गको छेउमा बसेको सानो बजार हो । यहीँ फुर्केखोलाबाट धादिङबेसी जान एउटा पुल थियो । गत भदौ १० मा त्रिशुली नदीमा आएको आएको बाढीले फुर्केखोलालाई तहसनहस बनायो । धादिङबेसी जानेहरुको मुख्य मार्गका रुपमा रहेको लाग्ने फुर्केखोलाको पुल पनि बगायो । 

धादिङबेसी पुग्ने छोटो र सजिलो बाटो बन्द भयो । त्यसैले धादिङबेसी र फुर्केखोलाका स्थानीयहरुले फुर्के खोलामा जतिसक्दो छिटो बेलिब्रिज जोड्न माग गरेका थिए । बाढी प्रभावित क्षेत्रमा एक्रोब्रिज राखिएको छ । तर यहाँ करिब १२० मिटर लामो एक्रोब्रिज चाहिन्छ । यति लामो एक्रोविज नभएकाले सरकारले तत्काल फुर्केखोला र धादिङबेसीलाई पुलमार्फत जोड्न नसकिने बतायो ।

तर स्थानीयहरुले दबाब बढाइरहे । पुल ल्याएर जोड्न धादिङका १३ वटा स्थानीय तहरुले अग्रसरता लिएका छन् । सरकार पनि बर्दियाबाट ‘पन्टुन ब्रिज’ ल्याएर फुर्केखोलामा जोड्न दिन तयार भएको छ । ।

सुरुमा जानौं, के हो पन्टुन ब्रिज ? साधारण भाषामा भन्नुपर्दा पन्टुन ब्रिज भनेको तैरिने पुल हो । पानीमा तैरिने वस्तुहरु राखेर त्यसमाथि अस्थायी पुल जडान गरेर यसलाई तयार गरिन्छ । 

सामान्यतयाः हामीले देख्ने पुलहरु नदीमा पिलर गाडेर बनाइन्छन् । तर पन्टुन ब्रिजमा पिलर हुँदैनन् ।

यसमा पानीमा उत्रन सक्ने ठूला–ठूला ड्रम, पीपा, विशेष डुङ्गा वा फलामे बाकसहरु राखिन्छ । जसलाई ‘पन्टुन’ भनिन्छ । यस्ता पन्टुन पुल जोड्ने ठाउँमा लाइनै मिलाएर पानीमा राखिन्छ । 

ती तैरिरहेका पन्टुनको माथि मजबुत फलाम वा काठका फट्टा वा प्लेटहरु बिछ्याएर एउटा बाटो तयार पारिन्छ । जसमाथि मान्छे, साइकल, मोटरसाइकल र सानादेखि ठूला गाडीहरु समेत सहजै आवतजावत गर्न सक्छन् ।

यो पुल पानीको सतहमा तैरिरहेको हुन्छ । त्यसैले नदीमा पानीको सतह घटबढ हुँदा यो पुल पनि पानीसँगै तलमाथि हुन्छ । यसलाई दुवै किनारमा बलिया फलामे तारले बाँधिएको हुन्छ, ताकि पानीको तीव्र बहावले यसलाई बगाएर लैजान नसकोस् ।

पन्टुन ब्रिजको इतिहास धेरै पुरानो छ । यो सयौं वर्ष पुरानो प्रविधि हो । इतिहास पल्टाएर हेर्ने हो भने, मानिसले नदी पार गर्नकै लागि सबैभन्दा पहिले यस्तै तैरिने संरचनाहरुको प्रयोग गरेका थिए ।

ऐतिहासिक दस्तावेजहरुका अनुसार, इसापूर्व छैठौं शताब्दीतिर पर्सियाका राजा र युनानी अर्थात् ग्रिक सेनाहरुरुले ठूला–ठूला नदीहरु पार गर्न डुंगाहरुलाई एक आपसमा जोडेर यस्तै प्रकारका अस्थायी पुलहरु बनाएका थिए ।

विशेष गरी युद्धका बेला सेना, घोडा र हतियारहरु द्रुत गतिमा नदी पार गराउन यो प्रविधि वरदान साबित भएको थियो ।

प्राचीन रोमन सेनाहरुले पनि युरोपका ठूला नदीहरुमा आफ्ना सैनिक मिसन सफल बनाउन तैरिने पुलहरुको व्यापक प्रयोग गरेका थिए । उनीहरु काठका डुंगाहरु वा छालाले बनेका तैरिने ड्रमहरु प्रयोग गर्थे ।

पहिलो र दोस्रो विश्वयुद्धका समयमा जब शत्रु सेनाले पक्की पुलहरु भत्काइदिन्थे, तब सेनाका इन्जिनियरहरुले केही घण्टाभित्रै यस्ता पन्टुन ब्रिजहरु जडान गरेर ट्यांक र ठूला सैन्य वाहनहरु नदी पार गराएका थिए ।

समयक्रममा काठ र छालाका ड्रमहरुको ठाउँ आधुनिक फलाम र स्टिलका पक्की पीपाहरुले लिए, जसले गर्दा यो पन्टुन ब्रिज अझ धेरै भार बोक्न सक्ने र सुरक्षित बन्यो ।

नेपालका लागि पन्टुन ब्रिजको अवधारणा नयाँ भने होइन । हाम्रा नदीहरुमा पक्की पुल बन्नुअघि र विशेष गरी भौगोलिक विकटता तथा आपतकालीन अवस्थामा नेपाली सेना र सरकारले यसको प्रयोग गर्दै आएको इतिहास छ । कर्णालीजस्ता ठूला नदीमा पक्की पुल निर्माण हुनुअघि यस्ता पुलहरु प्रयोगमा थिए । 

नेपालका कतिपय समथर तथा ठूला नदीहरुमा जहाँ पक्की पुल बनाउन समय लाग्छ, त्यहाँ छिटो यातायात सञ्चालन गर्न अस्थायी रुपमा यस्ता प्रविधिहरु अपनाइएको पाइन्छ । नेपालमा आपतकालीन बाढीपहिरोका बेला सडक सञ्जाल टुट्दा वा पुल बगाउँदा यसको प्रयोग भएको इतिहास छ । 

नेपाली सेनाले आपतकालीन अवस्थामा बेलिब्रिजसहित यस्ता तैरिने पुलहरु जडान गर्न मुख्य भूमिका खेल्दै आएको छ । बर्दियाको कोठियाघाटमा ११ वर्षअघिसम्म पन्टुन ब्रिज प्रयोगमा थियो । त्यतिबेला एशियाली विकास बैंकको ७ करोड लगानीमा यो पुल राजापुर सिँचाइ आयोजनाले सञ्चालन गथ्र्यो । तर कोठियाघाटमा पक्की बनेपछि यो पुल प्रयोगमा आएको थिएन । बर्दियामा रहेको त्यही पन्टुन ब्रिज आपतकालीन प्रयोगका लागि धादिङ ल्याउन लागिएको हो । 

अब सबैभन्दा मुख्य प्रश्नमा जाऔं, आखिर धादिङको फुर्केखोलामा यही पुल राख्नु किन यति धेरै जरुरी भयो त ?

गत भदौ १० गते आएको भोटेकोशी–त्रिशुली बाढीले धादिङ सदरमुकाम जोड्ने मुख्य मार्गको पुल बगायो । त्यो पुल बगेपछि केही दिन त धादिङबेसीसँग देशका अन्य भूभागको सीधा सडक सम्पर्क टुट्यो । सरकारले वैकल्पिक मार्ग त प्रयोगमा ल्याएको छ । 

तर, सजिलो बाटोमा पर्ने पुल बगाएपछि धादिङ सदरमुकाम आउजाउ गर्न स्थानीय बासिन्दाहरुलाई ठूलो सास्ती छ । दैनिक उपभोग्य वस्तुहरु ढुवानी गर्नदेखि किसान उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ  छ । घुमाउरो बाटो प्रयोग गर्नुपर्दा समय र भाडा दुवै बढेको छ ।

सामान्यतया यस्तो ठाउँमा फलामे बेलिब्रिज वा आधुनिक एक्रोब्रिज राख्ने गरिन्छ । तर प्राविधिक समस्या के भयो भने, त्यहाँ चाहिने करिब १२० मिटर लामो बेलिब्रिज वा एक्रोब्रिज हाल सरकारसँग उपलब्ध छैन । नयाँ खरिद गरेर ल्याउन महिनौं लाग्छ, त्यो प्रक्रिया निकै महँगो तथा लामो हुने भयो । 

सरकारले फुर्के खोलामा स्थायी सिग्नेचर ब्रिज नै निर्णयको योजना बनाएको छ । तर, त्यो बन्न अझै केही वर्ष त लाग्छ नै । 

तर फुर्केखोलामा वैकल्पिक पुल बनाइहाल्नुपर्ने स्थानीयको माग छ । यही दबाबका कारण धादिङकाका १३ वटै स्थानीय तहहरुले एक ठाउँ बसेर छलफल गरे । उनीहरुले फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्याएर सञ्चालन गर्ने र त्यसका लागि लाग्ने खर्च सबै पालिकाले निर्णय गरे । 

धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अग्रसरतामा बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको बैठकले पन्टुन पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गर्‍यो ।

बैठकले यसका लागि चारबुँदे समझदारीसमेत गरेको थियो । समझदारीअनुसार पुल ल्याउन, जडान गर्न र सञ्चालन गर्न आवश्यक खर्च अन्तरपालिका कार्यविधि बनाएर १३ वटै स्थानीय तहको सहमतिमा व्यवस्थापन गरिनेछ । 

पुल सञ्चालनका सिँचाइ विभाग र बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयसँग समन्वय गरिएको थियो । बर्दियाको राजापुर सिँचाइ आयोजनाअन्तर्गत रहेको पन्टुन पुल धादिङ ल्याउन आवश्यक समन्वयको जिम्मेवारी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गरेका थिए । 

त्यसअघि अध्यक्ष दनैसहितको टिमले राजापुरस्थित पन्टुन पुलको प्राविधिक अवस्थाबारे जानकारी लिइएको थियो । प्राविधिक टोलीले फुर्केखोलामै पुगेर स्थलगत अध्ययन गरेको थियो । अध्ययनले फुर्केखोलामा हिउदभरी पन्टुन पुल राखेर यातायात सञ्चालन गर्न सकिने निष्कर्ष निकालेपछि स्थानीय तहहरु संयुक्त निर्णय गरेका थिए । 

जडान प्रक्रिया कसरी पूरा हुँदैछ ?

बर्दियामा रहेको पन्टुन ब्रिजका फलामे पीपा, जडान गर्ने प्लेट, जोड्ने नट–बोल्ट र अन्य आवश्यक पार्टपुर्जालाई ठूला कन्टेनर र ट्रकहरुमा लोड गरेर धादिङमा ल्याइँदैछ । यति गह्रौं सामग्री बर्दियाबाट फुर्केखोलसम्म ल्याउनु आफैंमा चुनौतीपूर्ण र खर्चिलो काम हो ।  

ल्याएपछि ती पुलका पार्ट पूर्जाहरुमा पेन्टिङको काम हुनेछ । प्राविधिकहरुले फुर्केखोलाको पानीको बहाब, सतहको अवस्था र दुवै किनारको माटोको अध्ययन गरेका छन् । पानीको बहावलाई मध्यनजर गर्दै तैरिने पीपाहरुलाई बग्न नदिन किनारमा बलियो ढंकले एंकरिङ गर्ने व्यवस्था मिलाइँदैछ ।

योजना अनुसार खोलाको किनारमा पार्टपुर्जा जोडेर तयार पारिएका फलामे पीपाहरुलाई विस्तारै पानीमा उतारिनेछ । ती पीपाहरु पानीमा तैरिन थालेपछि तिनको माथिबाट फलामे पाताहरु एकपछि अर्को गर्दै जोडिनेछ । यसको फिटिङ राजापुर सिँचाइ आयोजनाका तालिमप्राप्त प्राविधिकले गर्नेछन् । 

फुर्केखोलाको वारपार लम्बाइ करिब १२० मिटर छ । तर यो बर्दियाबाट ल्याइने पन्टुन पुल करिब ८० मिटरको मात्रै छ । त्यसैले पुलबाट निस्किएको गाडी केही मिटर बगरको भाग प्रयोग गरेर गुड्नुपर्छ । 

जब पूरा संरचना तयार हुन्छ, तब यसलाई दुवैतर्फका किनारका सडकहरुसँग जोडिनेछ । यो काम गर्न धेरै लामो समय भने लाग्ने छैन । पुल पूर्ण रुपमा जडान भइसकेपछि यसको भार बहन क्षमताको परीक्षण गरिन्छ । 

सबै कुरा ठीक, सुरक्षित र भरपर्दो पाइएपछि मात्र यसलाई औपचारिक रुपमा सर्वसाधारण र यातायातका साधनहरुको लागि खुला गरिनेछ । अनि सबैभन्दा महत्वपूर्ण कुार यो पुल वर्षायाम लाग्नुभन्दा ठकी अघि निकालिने छ । वर्षायामभरि त्रिशुली नदीको बहाब बढ्ने भएकाले यो पुल हिँउदका ७ महिनामा मात्रै प्रयोग गरिनेछ । अबको दुई हप्ताभित्रै यो पुल जोडेर गाडी चलाइसक्ने लक्ष्य छ । 

फुर्केखोलामा पन्टुन ब्रिज जडान भइसकेपछि धादिङबेसीको जनजीवन सहज हुनेछ । महिनौंदेखि टुटेको धादिङ सदरमुकामको सहज यातायात सम्पर्क फेरि जोडिनेछ । यसले गर्दा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सहज भएर व्यापारिक गतिविधि चलायमान हुनेछ ।

अनि फुर्केखोलामा आर्थिक गतिविधि सुरु हुने छ । विगतमा चटपटे, पानी पुरी, काँक्रो, केरा र सुन्तला बेच्नेहरुको जक्सन थियो, फुकर्नेखोला । यहाँ साना होटल, खाजाघहरु पनि चलेका थिए । बाढीले घर टहरामा क्षति बनाएको छ ।

पुल बगेपछि यो क्षेत्र सुनसान छ । पुल बन्यो भने यहाँ फेरि त्यही व्यापारिक गतिविध सुरु हुनसक्छ ।  सरकारले पक्की पुल नबनाउन्जेलसम्म यो पन्टुन ब्रिजले यहाँ एउटा विकल्पको रुपमा काम गर्नेछ । यसले हजारौं जनताको दैनिकीलाई सहज बनाइदिनेछ ।

प्राकृतिक विपद्पछि उपलब्ध साधन–स्रोतको उच्चतम प्रयोग गरेर संकट टार्नु नै बुद्धिमत्ता हो । बर्दियाबाट ल्याएर धादिङमा जोडिने पन्टुन ब्रिजले अब छिट्टै धादिङको फुर्केखोला र धादिङबेसीलाई पुनर्जीवन दिनेछ । यो खालको प्रविधिको पुल धेरैका लागि नयाँ र चासो विष्याय पनि हो । त्यसैले यस्ता अस्थायी प्रकृतिका पुलबरेको कौतहुलता पनि यसले मेटाउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ