नेभिगेशन
राजनीति

कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन 

नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा भएको संसद अवरोध बुधबार खुलेको छ । 

बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले सरकारका तर्फबाट प्रष्टीकरण दिएपछि संसद खुलेको हो । परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सीमामा दशगजा क्षेत्रको अतिक्रमण र क्रम बोर्डर अकुपेसनको कुरा उठाएको प्रष्टीकरण दिएका थिए । 

परराष्ट्रमन्त्रीले प्रष्टीकरण दिएपछि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सम्बोधन गरेका थिए । उनले प्रधानमन्त्री बालेन शाहको भनाइ अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै यसको जति नै रफु भरे पनि अर्थ नहुने बताए ।  

‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण थियो । यसलाई जतिसुकै रफु, भरे पनि जतिसुकै शब्द विशेषणहरु थपे पनि दुनियाँले सुनेको यही हो, वर्तमान र आउने पुस्ताले घरिघरि देखिराख्ने कुरा र सुनिराख्ने कुरा यही हो’, उनले भने । 

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । त्यही विषयलाई लिएर विपक्षी दलहरुले संसद अवरोध गरेका थिए । 

कांग्रेस सांसद आङदेम्बेले अब यही विषयमा मात्र आफूहरु रुमल्लिएर नबस्ने बताए । ‘यो वर्षको बजेटमाथिको छलफल बाँकी छ । नेपाली जनताको जीवन्त मुद्दामा छलफल बाँकी छ, प्रधानमन्त्रीज्यूलाई संसद नचाहिएला, तर प्रतिपक्षलाई संसद चाहिएको छ’, उनले भने । 

उनले अब सदनमा प्रधानमन्त्रीलाई पनि नखोज्ने बताएका छन् । ‘अब उप्रान्त म उहाँलाई खोज्न चाहन्न, किनभन्दा मेरो मुलुकको समस्या र प्रश्नहरु उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ । त्यसकारण अब उप्रान्त (प्रधानमन्त्रीलाई) खोज्न चाहन्न’, आङ्देम्बेले भने । 

प्रधानमन्त्रीले बोलेको कुरामा मात्र अलमलिएर संसदको समय खेर नफाल्ने पनि उनले बताए । तर प्रधानमन्त्रीले फेरि पनि उद्दण्डता मच्चाउन सक्ने आशंका गरे । 

‘फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, त्यस्तो नहोस् तर डर लागिरहेको छ, मेरो देशका प्रधानमन्त्रीले कुनै उदण्डता मच्चाइदिनुहोला’, नेता आङ्देम्बेले भने । 

प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको गलत अभिव्यक्ति दिँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका १८१ सांसदले सत्यको पक्षमा बोल्न नसकेको भन्दै उनले १८१ ओठहरु सत्ताले टालिएको टिप्पणी गरे । 
आफू र्‍यापर बालेन शाहको प्रशंसक हुँ भन्दै आङ्देम्बेले उनले गाएको मलाई बोल्न दे सरकार भन्ने गीतको सम्झना गरे । 

तर अहिले प्रधानमन्त्रीले आफैंले जे बोले त्यसले प्रधानमन्त्री पदकै गरिमा ध्वस्त बनाएको पनि उनले बताए । ‘संसदको रोष्ट्रम र्‍याप ब्याटलको स्टेज थिएन र होइन भन्ने अलिकति पनि हेक्का उहाँले राख्नुभएन’, आङ्देम्बेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति