नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
रसुवाको बाढीले नदी किनारका बजार र बस्तीमा बस्ने धेरैलाई झस्काएको छ । ठूलो पानी नपर्दा पनि नदीले जुन हदको क्षति गर्यो, यसले नेपाल विपदको कत्रो जोखिम बोकेर बसेको देश हो भन्ने प्रष्ट बनाएको छ ।
अधिक वर्षा भएका बेला पहिरोले नदी थुनिएर बाढी आयो भने ठूलो विनाश हुन्छ भन्ने कुरा त हामीले मेलम्चीबाटै थाहा पाएका थियौं ।
हिम पहिरो आउँदा, हिमनदी विष्फोट हुँदा र साना हिमताल फुट्दा समेत नदी किनारमा ठूलो क्षति हुनसक्छ भन्ने प्रमाण थामे र भोटेकोशीका बाढीले दिएका छन् । रसुवामा लगातार दुई वर्ष आएको बाढीले नेपालका नदी किनार अब कति असुरक्षित भइसकेका छन् भन्ने प्रष्ट सन्देश दिएको छ ।
हिमताल फुटेका साना घटना
हुन त हिमनदी र तालहरुको विष्फोटले विनाशकारी बाढी आएको यो पहिलो घटना होइन । सन् १९६४ मा तिब्बतमा फुटेको यो तालका कारण नेपालको अरुण नदीमा ठूलो बाढी आएको थियो ।
सन् १९७७, सेप्टेम्बर ३ मा दुधकोशी जलाधार क्षेत्रमा रहेको इम्जा तालको प्राकृतिक बाँध फुटेर ठूलो परिमाणमा पानी बगेको थियो ।
सन् १९८० मा ताप्लेजुङको तमोर जलाधार क्षेत्रमा रहेको नाग्मा पोखरी फुटेर तल्लो तटीय क्षेत्रमा क्षति पुगेको थियो । सन् १९८१ को झाङ्झाङ्बो हिमताल विष्फोटपछि नेपालमा ठूलो बाढी आएको थियो । त्यतिबेला सुनकोशी र भोटेकोशी नदीमा भयानक बाढी आयो, जसले नेपाल चीनको मितेरी पुल, तातोपानी भन्सार र अरनिको राजमार्गका ठूला खण्डहरु ध्वस्त पारेको थियो ।
सन् १९८५, अगस्ट ४ मा हिमपहिरो खस्दा सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको दिग छो ताल फुटेको थियो । यसले दूधकोशी नदीमा ठूलो बाढी ल्याएर निर्माणाधीन नाम्चे साना जलविद्युत् आयोजना, पुल, घर र पूर्वाधारहरु पूर्ण रुपमा नष्ट गरेको थियो ।
सन् १९९८, सेप्टेम्बर ३ मा सोलुखुम्बुकै तम पोखरीमा हिउँपहिरो खसेर ताल फुट्दा दूधकोशी उपत्यकामा ठूलो क्षति पुगेको थियो, जसमा केही मानिसको ज्यान जानुका साथै करोडौंका पूर्वाधार नष्ट भएका थिए ।
सन् २०२४ अप्रिलमा गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिउँ र चट्टान खसेपछि पानी उछालिएर बुढीगण्डकी नदीमा आकस्मिक बाढी आएको थियो । त्यही वर्ष अगस्ट १६ मा सोलुखुम्बुको थामे क्षेत्रमा रहेको साना हिमतालहरु एकैसाथ फुटेर आएको बाढीले थामे गाउँका धेरै घर, विद्यालय र पर्यटकीय पूर्वाधारहरु बगाएको थियो ।
गत वर्ष सन् २०२५ चीन–नेपाल सीमा क्षेत्रमा रहेका हिमताल वा हिमनदी पहिरोका कारण भोटेकोशी र त्रिशूली नदी जलाधारमा आकस्मिक बाढी आउँदा नेपाल चीन–नेपाल जोड्ने मितेरी पुल र नेपालतर्फ निर्माणाधीन सुख्खा बन्दरगाह बगाएको थियो । यो वर्ष त हिमनदी विष्फोटको कारण त्यो भन्दा ठूलो विपद आइपर्यो ।
यसले के देखाउँछ भने नेपालको शिरमा रहेका हिमतालहरु शक्तिशाली वाटरबम जस्तै जोखिम बोकेका बसेका छन् । अहिलेसम्म नेपालमा हिमताल विष्फोटको सानो रुप मात्रै देखिएको हो । ठूला हिमताल फुटे भने नेपालले भोग्नुपर्ने विनासको कल्पना नै गर्न सकिँदैन ।
नेपालका लागि यो जोखिम आफ्नो भौगोलिक सीमाभित्रबाट मात्रै छैन । तिब्बतमा पनि यस्ता हिमतालहरुश्र छन्, जो जतिसुकै बेला विष्फोट भएर रसुवाको दृश्यभन्दा पनि भयावह अवस्था सिर्जना गर्नसक्छन् ।
नेपालको उच्च हिमाली क्षेत्र र तिब्बती पठारमा रहेका विशाल हिमनदीहरु र त्यहाँ बनेका हिमतालहरु फुटेमा वा त्यहाँ सुख्खा हिमपहिरो खसेमा त्यसको विनाशकारी बहाव सोझै दक्षिणतर्फका नेपाली बस्ती, जलविद्युत् आयोजना, र सीमापार पूर्वाधारहरूमा ठोक्किन आइपुग्नेछन् ।
जोखिमयुक्त ताल
अब कुरा गरौं, जोखिममयुक्त तालहरुबारे । सन् २०२० मा अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (ईसीमोड), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा एउटा प्रतिवेदन ल्याएका छन्, इन्भेन्ट्री अफ ग्लेसियल लेक एन्ड एसिस्मेन्ट आफ गसियल लेक आउटब्रस्ट फ्लड (जीएनओफी) इन दि कोशी, गण्डकी एन्ड कर्णाली बेसिन ।’
यो अध्ययन प्रतिवेदन अनुसार नेपाल र नेपालमा प्रभाव पार्ने तिब्बतका नदी बेसिनहरुमा सयौं हिमतालहरु अस्तित्वमा छन् ।
नेपालका प्रमुख तीन नदी बेसिनमा कुल २ हजार ७० वटा हिमताल सूचीकृत छन् । नेपालतर्फ बग्ने कोशी, गण्डकी र कर्णालीका सिरानहरुमा पर्ने तिब्बतको क्षेत्रमा १ हजार ५०९ वटा हिमताल छन् ।
यी सबै हिमतालहरु जोखिमयुक्त छैनन् । तर नेपालको शिरमाथि रहेका ४७ वटा हिमताल धेरै जोखिमयुक्त अवस्थामा छन् छ । यसमध्ये २१ वटा हिमताल नेपालको आफ्नै भूभागभित्र पर्छन् ।
नेपाललाई प्रभावित गर्नसक्ने अरु २५ वटा जोखिमपूर्ण हिमताल तिब्बतमा छन्, जुन फुटे भने नेपालका नदीहरुमा बाढी आउँछ । बाँकी एउटा जोखिमयुक्त हिमताल भने भारतीय भूमिमा पर्छ ।
कोशी बेसिनमा मात्रै ११ वटा जोखिमयुक्त हिमताल छन् । कोशी बेसिनमा नेपालतर्फ इम्जा, छो रोल्पा, तल्लो बरुण, लुम्डिङ छो, होंगु–टू बढी जोखिमयुक्त अवस्थामा छन् । तिब्ब्ततर्फ पाङ्केन छो, ज्याबा छो जस्ता हिमलताल जोखिममा छन् ।
गण्डकी बेसिनमा नेपालतर्फ ८ वटा हिमताल जोखिमको सूचीमा छन् । यो बेसिनमा ठुलागी, सामद्रो, कांगिरोपा जस्ता तालहरु कतिबेला फुट्छन् भन्ने थाहा छैन । यो बेसिन तिब्बततर्फ त्रिशूली र बूढीगण्डकीका माथिल्ला सिरानका तालहरु जोखिममा छन् ।
कर्णाली बेसिनमा नेपालतर्फ २ वटा हिमताल जोखिमयुक्त छन् । तिब्बततर्फ हुम्ला कर्णाली, यांगीका माथिल्ला हिमाली १३ वटा तालहरु जोखिमयुक्त अवस्थामा छन् ।
उच्च जोखिममा रहेका तालहरु
जल तथा मौसम विज्ञान विभाग, इसीमोड र यूएनडीपीको अध्ययन अनुसार तत्कालै नियन्त्रित रुपमा पानीको निकास खोल्नुपर्ने खालको हिमतालहरु नेपालभित्र ६ वटा छन् । नेपालको सबैभन्दा बढी जोखिममा दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने छो रोल्पा हिमताल हो । यो ४ हजार ५८० मिटरको उचाइमा छ ।
यो तालको खुकुलो बाँधभित्र बरफ पग्लेर सुरुङ बन्ने खतरा छ । यदि यो फुटेमा तामाकोशी र खिम्ती क्षेत्रका जलविद्युत् आयोजना र दर्जनौं गाउँहरु बग्ने जोखिम छ । यसको खतरा कम गर्न नेपाल सरकारले इन्जिनियरिङ प्रविधिबाट केही मिटर पानी घटाइसकेको छ, तर जोखिम अझै कायमै छ ।
अर्को जोखिम बोकेर बसेको ताल हो, इम्जा हिमताल । यो सोलुखुम्बुको एभरेस्ट क्षेत्रको ५ हजार १० मिटरको उचाइमा छ । सन् १९६० को दशकमा यो सानो पोखरी मात्र थियो, तर हिमनदी तीव्र गतिमा पग्लेपछि यो विशाल तालमा परिणत भयो । यसको बाँध खुकुलो लेदो र ढुङ्गाले बनेको छ ।
यो फुटेमा तल्लो सोलुखुम्बु, लुक्ला नजिकका क्षेत्र र दूधकोशी नदी तटीय क्षेत्रमा ठूलो विनाश हुनेछ । युएनडिपी र नेपाली सेनाको सहयोगमा सन् २०१६ मा यसको जलसतह ३.४ मिटर घटाइएको थियो । तर जोखिम अझै टरिसकेको छैन ।
अर्को जोखिमयुक्त ताल हो, मनाङको ठुलागी हिमताल । मनास्लु हिमालको फेदमा रहेको यो ताल हजार ४४ मिटरको उचाइमा छ । यो गण्डकी बेसिनको सबैभन्दा जोखिमयुक्त हिमताल हो । यो फुटेमा प्रख्यात मर्स्याङ्दी नदीमा भीषण लेदो बाढी आउनेछ, जसले मस्र्याङ्दी जलविद्युत् आयोजना, बेसीशहर र मस्र्याङ्दी करिडोरका पुल तथा सडकहरु ध्वस्त बनाउन सक्छ ।
अर्को बढी जोखिमयुक्त ताल संखुवासभा तल्लो बरुण हिमताल हो । मकालु क्षेत्रमा पर्ने यो ताल ४ हजार ५७० मिटरमा छ । कोशी बेसिनमा पर्ने यो ताल तीव्र गतिमा फैलिरहेको छ ।
माथिबाट ठूला हिमपहिरो खसे सोझै तालमा ठोक्किने उच्च जोखिम छ । यो फुटेमा अरुण नदीमा भीषण बाढी आएर तल्लो अरुण क्षेत्र तहसनहस हुनेछ । कोशीमा समेत यसले बाढी ल्याउनेछ ।
अर्को धेरै जोखिम भएको ताल लुम्डिङ छो हो । सोलुखुम्बुको यो ताल ४ हजार ७५० मिटरमा पर्छ । यो ताल ठाडो पहाडको खोंचमा अवस्थित छ । तालमाथि झुण्डिएका हिम चट्टानहरु जुनसुकै बेला खस्न सक्ने अवस्थामा छन् ।
यसको विष्फोटले दुधकोशी नदी क्षेत्रमा ठूलो क्षति पुर्याउनेछ ।
अर्को जोखिमयुक्त ताल हो, होंगु टू हिमताल । यो पनि सोलुखुम्बुको होंगु उपत्यकाको ५ हजार ४७५ मिटर उचाइमा छ । अत्यधिक उचाइमा रहेको यो ताल हिमपहिरोका कारण फुटेमा यसले श्रृंखला बद्ध रुपमा तल्लो भागमा रहेका अन्य साना पोखरीहरुलाई पनि फुटाउँदै तटीय बस्तीहरु बस्ती बगाउनेछ ।
किन हिमताल जोखिमपूर्ण छन् ?
हिमताल अर्थात् ग्लेसियल लेक भनेको हिमनदी पग्लेर वा जमेर पानी जम्मा भई बनेको पोखरी हो । नेपाल र तिब्बती सीमावर्ती क्षेत्रका हिमतालहरु अन्य सामान्य तालहरु भन्दा अत्यन्त जोखिमपूर्ण छन् ।
यसका वैज्ञानिक कारणहरु छन् । पहिलो कारण हो, कच्चा बाँध अर्थात् अनकन्सोलेटेड मोरेन ड्याम । नेपाल र तिब्बतका हिमाली क्षेत्रमा रहेका धेरैजसो तालहरु प्राकृतिक चट्टान, माटोका बलियो ढिस्को वा सिमेन्टेड संरचनाले बनेका छैनन् ।
हिमनदीले बगाएर ल्याएका ढुंगा, बालुवा, माटो र बरफका लेदोयुक्त खुकुलो थुप्रोले पानीलाई थामेर राखेको हुन्छ । यो कच्चा बाँध अति नै अस्थिर र कमलो हुन्छ र पानीको चाप बढ्ने बित्तिकै सजिलै भत्किन सक्छ ।
अर्को कारण हो, ठाडो नदी र पानीको तीव्र बहाब । ४,००० देखि ५,००० मिटरसम्मका उचाइबाट नेपालतर्फ बग्ने नदीहरु भोटेकोशी, तामाकोशी, अरुण, त्रिशूली अति नै ठाडो र साँघुरो गल्छी भएर बग्छन् ।
यस्तोमा कुनै हिमताल फुटेमा पानीले पाउने गति र क्षमता अत्यन्त तीव्र हुन्छ, जसले गर्दा नेपालभित्र सुरक्षाको तयारी गर्ने समय नै मिल्दैन ।
उच्च जोखिको अर्को कारण हो, हिम–चट्टानसहितको पहिरो । नेपाल र तिब्बतका अग्ला हिमाली टाकुराहरुमा बढ्दो तापमानका कारण बरफको पकड कमजोर भइरहेको छ । हिमालहरु काला पहाड बन्दैछन् ।
जब विशाल हिमपहिरो वा चट्टान सोझै हिमतालमा खस्छ, त्यसले तालभित्र विशाल छाल सिर्जना गर्छ । यस्तो छालले कमजोर खुकुलो बाँधलाई क्षणभरमै फुटाइदिनसक्छ । हालै रसुवाको लेन्दे खोला र भोटेकोशी क्षेत्रमा भएको विनाशमा पनि यही प्रक्रियाले मुख्य भूमिका खेलेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
उच्च जोखिमको अर्को कारण भनेको बाँधभित्र जमेको बरफ पग्लिनु पनि हो । कच्चा बाँधको भित्री भागमा कतिपय अवस्थामा विशाल बरफका गोलाहरु पुरिएका हुन्छन् । ग्लोबल वार्मिङका कारण हिमतालको यस्ता बरफ पग्लियो भने बाँध नै खोक्रो बन्छ । बाहिरबाट बलियो देखिए पनि भित्रबाट खोक्रो भइसकेको बाँध सानो हलचलकै फुट्नसक्छ ।
हिमताल फुटेर आउने बाढीलाई वैज्ञानिक भाषामा ग्लेसीयल लेक आउब्रस्ट फ्लड (ग्लोफ) भनिन्छ । नेपाल र तिब्बतको सीमावर्ती भूगोलमा हिमताल फुटेर आउने बाढीको प्रकृति अन्य क्षेत्रको भन्दा पूर्णतः भिन्न र खतरनाक छ ।
किनकी तिब्बततर्फ हिमताल फुट्दा तत्कालै नेपालमा सूचना पुग्ने वैज्ञानिक तथा कूटनीतिक संयन्त्र छैन । त्यसैले तल्लो तटीय क्षेत्रमा रहेका नेपाली बस्तीहरुले तयारीको समय पाउँदैनन् । बाढी आएपछि मात्रै थाहा पाइने अवस्थाले ठूलो मानवीय क्षति निम्ताइरहेको छ ।
अनि उच्च हिमाली क्षेत्रबाट आउने यस्तो आकस्मिक बाढीमा पानी मात्र ल्याउँदैन । कमजोर हिमाली र पहाडी क्षेत्रमा ढुंगा, बालुवा, माटो, रुख सबै सोहोर्दै ल्याउँछ । त्यसैले यो यो बाक्लो लेदोमा परिणत हुन्छ । यसको घनत्व पानीभन्दा दुईदेखि तीन गुणा बढी हुन्छ र बलियो पक्का पूर्वाधारलाई पनि ढालिदिन्छ ।
हिमताल कि बाटर बम ?
जलवायु वैज्ञानिकहरुले नेपाल र तिब्बतका हिमालहरुलाई ‘टाइम बम’ वा ‘एटम बम’को उपमा दिने गरेका छन् । यो केवल भाषण वा कल्पना मात्र नभई यसका पछाडि स्पष्ट वैज्ञानिक तथ्यहरू छन् ।
इसीमोडको अध्ययन प्रतिवेदन हाइ–वाइजका अनुसार यदि संसारले ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न सक्यो भने पनि यो शताब्दीको अन्त्य अर्थात् सन् २१०० सम्म हिन्दुकुश हिमाली क्षेत्रको एक–तिहाइ अर्थात् ३३ प्रतिशत बरफ पग्लेर सकिनेछ । यदि वर्तमान हरितगृह ग्यास उत्सर्जनको दर कायम रह्यो भने हिमाली क्षेत्रको ८० प्रतिशतसम्म बरफ पग्लेर लोप हुनेछ ।
नेपाल र तिब्बतका ४ हजार देखि ६ हजार मिटरको उचाइमा रहेका हजारौं तालहरुमा अरबौं लिटर पानी अस्थिर कच्चा बाँधभित्र थुनिएर बसेको छ । उचाइमा रहेको यति विशाल पानी एक्कसी बग्ने अवस्था आयो भयो भयानक ‘पोटेन्सियल इनर्जी’ हुन्छ ।
बाँध भत्किने बित्तिकै यो काइनेटिक इनर्जीमा रुपान्तरण हुन्छ, जसको प्रहार क्षमता कुनै विशाल आणविक विष्फोटन जत्तिकै खतरनाक हुन्छ । यसको वेग र शक्ति यति प्रचण्ड हुन्छ कि यसले बाटोमा पर्ने केही चिज बाँकी राख्दैन । नियमितभन्दा कयौं गुणा ठूलो र शक्तिशाली हुन्छ, यस्तो विनासकासरी बाढी ।
अझ त्यसमाथि नेपाल र तिब्बत उच्च भूकम्पीय जोखिमको क्षेत्रमा पर्छन् । नेपाल र तिब्बत क्षेत्र इन्डियन र युरासियन टेक्टोनिक प्लेटको सिरानमा अवस्थित छन् । यहाँ निरन्तर साना–ठूला भूकम्पहरु गइरहन्छन् । साना भूकम्पका धक्काहरुले हिमतालका कमजोर बाँधहरुलाई क्षणभरमै चर्काउन वा फुटाउन सक्छन् ।
अनि यस्तो जोखिमका बीचमा ग्लोबल वार्किङ इफेक्टले नेपालको हिमाली क्षेत्र झन् झन् जोखिमयुक्त बनेको छ । विश्वको औसत तापक्रम भन्दा हिमाली क्षेत्रको तापक्रम तीव्र गतिमा बढिरहेको छ । हिउँ पग्लिँदै जाँदा हिमालका काला नांगा चट्टानहरु देखिन्छन् । सेतो बरफले सूर्यको किरण फर्काउँछ, यसलाई अल्बिडो इफेक्ट भनिन्छ । तर काला चट्टानले घामको ताप सोस्छन् । यसले गर्दा हिमाली वातावरण झनै तातिरहेको छ र हिमतालहरु झन् द्रुत गतिमा फैलिरहेका छन् ।
यस्ता हिमतालहरु फुटेमा त्यसको सोझो असर नेपालमा पर्छ । किनकी तिब्बतका तालहरुको मात्रै होइन, नेपालका तालहरुको रियल टाइम मनिटरिङ र कन्ट्रोल मेकानिज्म नेपालसँग छैन । नेपालमा तालहरु फुटेमा माथिल्लो भेगमा ठूलो असर त पार्छ, तर तल्लो तटमा कुनै न कुनै माध्यम माध्यमबाट सूचना पाइने सम्भावना छ । तर तिब्बततर्फ ताल फुट्यो भने नेपाल पसेपछि मात्रै थाहा हुने हो ।
त्यसैले कूटनीतिक समन्वय र सूचना आदान प्रदानमा हुने ढिलाइले गर्दा यी सीमापार तालहरु नेपालका लागि प्रत्यक्ष ‘एटम बम’ भनौं वा वाटर बमका रुपमा शिरमाथि झुण्डिएका छन् ।
बीबीसीका जलवायु रिपोर्टहरुमा हिन्दुकुश हिमालयलाई ‘विश्वको तेस्रो ध्रुव’ अर्थात् थर्ड पोल भनिएको छ । यहाँका हिमनदीहरु द्रुत गतिमा पग्लेर सुरुमा ठूला बाढीहरु आउने र कालान्तरमा एसियाका १ अर्ब ९० करोड मानिसहरुले जल संकट बेहोर्नुपर्ने रिपोर्टको निष्कर्ष छ ।
द गार्डियनले नेपाल र तिब्बतका हिमाली तालहरुलाई टिकिङ टाइम बम्बस् अर्थात् टिकटिक गरिरहेका टाइम बमको संज्ञा दिएको छ । हरितगृह ग्यास उत्सर्जनमा विश्वमै ०.०२ प्रतिशत भन्दा पनि कम योगदान गरे पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य चुकाउनु परिरहेको गार्डियनको निष्कर्ष छ ।
विभिन्न रिपोर्टहरुले रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीले पुर्याएको क्षतिबारे उल्लेख गर्दै नेपाल र चीनबीच तत्काल एकीकृत सीमापार पूर्वसूचना प्रणाली स्थापना गर्न जोड दिएको छ ।
समग्रमा भन्दा यस्ता बढीहरु अहिले कल्पना जस्तो लागेपनि जसरी विश्वव्यापी रुपमा तापमान बढिरहेको छ । त्यसले हिमाल र हिमतालका बरफहरु पग्लिएर हिमतालहरुमा पानीको मात्रा बढ्दैछ । त्यसैले यो जोखिमको मूल्यांकन अब जरुरी भइसकेको छ ।
नेपाल र तिब्बतका हिमालहरु हाम्रा पहिचान, पर्यटन र जलस्रोतका अमूल्य सम्पत्ति हुन् । तर, जलवायु परिवर्तनको असर नियन्त्रण गरिएन र पूर्वसतर्कता अपनाइएन भने यिनीहरु जतिसुकै बेला विनाशकारी विपद्का स्रोत पनि बन्न सक्छन् ।
यसबाट बच्न नेपाल सरकारले तुरुन्तै तीन वटा काम गर्नुपर्छ । पहिलो, नेपालभित्रका जोखिमयुक्त तालहरुको पानीको सतह नियन्त्रित रुपमा घटाउन थाल्नुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय समुदाय र विज्ञहरुको साथ लिएर काम गर्नुपर्छ ।
अर्को गर्नैपर्ने काम तल्लो तटीय क्षेत्रमा बाढी आउनुअघि नै चेतावनी दिने पूर्वसूचना प्रणाली जडान गर्ने हो । भोटेकोशीमा आएको बाढीले अहिले राखिएका बाढीको जलमापन गर्ने यन्त्र समेत बगायो । त्यसैले यस्ता चुनौती पार लगाउने गरी आधुनिक र मजबुत प्रणालीको विकास र जडान जरुरी छ । नदी किनारका बस्तीमा अर्ली वार्निङ सिस्टमहरु जोड्नुपर्छ ।
तेस्रो गर्नैपर्ने काम चीनसँग सीमापार हिमतालहरुको चौबीसै घण्टा अनुगमन गर्ने र सूचना आदानप्रदान गर्ने संयुक्त संयन्त्र बनाउने हो । अहिलेसम्म चीनसँग बाढीको सूचना लिने औपचारिक प्रणाली विकास भएको छैन ।
तिब्बतका हिमतालहरुमा जुन जोखिम लुकेर बसेका छन्, ती जोखिम कम गर्न सरकारले चीनसँग समन्वय र सहकार्य बढाउनुपर्छ । बेलैमा सूचना दिने गरी प्रणालीको विकास गर्नैपर्छ ।
तिब्बतमा फुट्ने हिमतालको सूचना सेकेन्डभरमा नेपालका तल्लो तटीय क्षेत्रमा पुर्याउन नेपाल र चीनका मौसम तथा विपद् व्यवस्थापन विभागहरुबीच ‘रियल–टाइम डाटा शेयरिङ’ सम्झौता हुनुपर्छ । ठूला नदीको माथिल्लो भागमा स्वचालित जलमापन केन्द्र र साइरनहरु जडान गरिनुपर्छ ।
हिमाली तथा पहाडी नदी किनारमा जलविद्युत् आयोजना, पुल वा राजमार्ग निर्माण गर्दा भविष्यमा आउन सक्ने सम्भावित बाढीको अधिकतम बहावलाई ध्यानमा राखेर मात्र डिजाइन स्वीकृत गरिनुपर्छ । ताकि ठूला बाढीमा पनि नेपालले खर्च गरेर बनाएका भौतिक संरचनाहरु बगेर नजाउन् ।
विकसित देशहरुले गर्ने प्रदूषणको मूल्य नेपालका हिमालले चुकाउनु परेको कुरा पनि नोटमा राखेर अन्तर्राष्ट्रिय मञ्चहरूमा कुरा उठाउनुपर्छ । जलवायु न्यायका लागि नेपालले निरन्तर आवाज उठाउनु आवश्यक छ ।
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन





