नेभिगेशन
एक्सप्लेनर भिडियो

बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ

भोटेकोशी–त्रिशुलीमा आएको बाढीका कारण धेरै प्रभावित क्षेत्रमध्ये एक हो, नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती क्षेत्र । 

वेत्रावती बजार वरपर रसुवाको खाल्टे, नुवाकोटको केराघारी, खोलेबजार, शान्ति बजार आदि बस्तीहरु थिए ।

यी गाउँका विद्यार्थीहरुलाई लक्षित गरेर वेत्रावती क्षेत्रमा चार वटा स्कुल थिए । नुवाकोटतर्फ ८ कक्षासम्म पढाइ हुने सरकारी स्कुल रामचन्द्र आधारभूत विद्यालय थियो । १० कक्षासम्म पढाइ हुने उत्तरगया बोर्डिङ स्कुल थियो । 

रसुवातर्फ ७ कक्षासम्म पढाइ हुने निजी स्कुल मोडर्न ट्रिनिटी थियो भने १२ कक्षासम्म पढाइ हुने सरकारी स्कुल निलकण्ठ माध्यमिक विद्यालय थियो । रामचन्द्र आधारभूत विद्यालयमा १४५, उत्तरगया बोर्डिङमा ३७०, ट्रिनिटीमा २५० र नीलकण्ठमा ५०० हाराहारी विद्यार्थी थिए । 

भोटेकोशीको बाढीले चार वटा स्कुलमध्ये ३ वटा स्कुल बगायो । रामचन्द्र आधारभूत विद्यालय, ट्रिनिटी स्कुल भएको ठाउँमा अहिले त्रिशुली बगिरहेको छ, उत्तरगया स्कुल क्षतिग्रस्त भएको छ ।

बाढीबाट सुरक्षित स्थलमा रहेको एउटै मात्र स्कुल हो, नीलकण्ठ माध्यमिक विद्यालय । 

यो स्कुल बेत्रावती बजारदेखि केही उचाइमा रहेको उत्तरगया गाउँपालिका– ५ बोगटीटारमा छ । 

बेत्रावती बजारबाट पैदल हिँडेर १५ मिनेटमा स्कुलमा पुग्न सकिन्छ । 

बेत्रावती बजारमा निजी विद्यालय खुलेपछि त्यहाँका सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गरेर विद्यार्थी टिकाइरहेका थिए । 

सरकारी स्कुलमा पनि कक्षा १ भन्दा अगाडि नर्सरी र केजीको पढाइ हुन्थ्यो । साना कक्षामा निजी स्कुलमा पढाइ हुने किताबहरु पनि पढाइन्थ्यो । माथिल्ला कक्षामा पनि अंग्रेजी माध्यममा पढाइ भइरहेको थियो । 

बाढीबाट स्कुल त जोगियो, तर धेरै विद्यार्थीको अत्तोपत्तो छैन । 

किनकी बाढीले बस्तीहरु तहसनहस पारेको छ, मानिसहरुलाई बगाएर लगेको छ । आज पनि ५ हजार भन्दा सम्पर्कबिहीन छन् । 

सबैभन्दा ठूलो बस्ती रसुवाको खाल्टेमा थियो । त्यहाँ करिब ३०० घर परिवारको बसोबास थियो । अहिले त्यहाँ एउटा घर पनि सग्लो छैन । धेरै मानवीय क्षति भएको छ । कतिपयको सिंगो परिवार नै छैन ।

बेत्राबती र आसपासका क्षेत्रमा मात्र बुबा आमा दुबै हराउने बालबालिकाको संख्या ६०–७० जना छन् । 

बाढीबाट बाँच्न सफल भएकाहरु अहिले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् ।

स्कुले बालबालिका, जो हिजोसम्म कक्षाकोठामा रमाइरहेका थिए, आज होल्डिङ सेन्टरको चौघेरामा सीमित भएका छन् । 

उनीहरुलाई तत्काल स्कुलको कक्षा कोठासम्म पुर्‍याउन पनि सहज छैन । तीन वटा स्कुल त तत्काल सञ्चालन गर्न सम्भव छैन । बचेको निलकण्ठ माध्यमिक स्कुलले पनि चार जना शिक्षक गुमाएको छ । 

स्कुल नर्स, बालविकास शिक्षिका, प्लसटु दरबन्दीका एक जना शिक्षक र कम्प्युटर इन्जिनियरिङका शिक्षक सम्पर्कविहीन छन् । एक जनाको शव पहिचान भएर दाहसंस्कार भएको छ भने अरु अझै सम्पर्कविहीन नै छन् ।

बाढीमा कति विद्यार्थीहरु बगे भन्ने यकिन तथ्यांक छैन । 

स्कुल जान छैन सजिलो

बाढीमा जो बगे, शायदै उनीहरु अब फर्किएर आउने छन् । जो बाँचेका छन्, उनीहरुको जीवन अगाडि बढाउनुपर्छ । 

बालबालिकालाई पनि स्कुल फर्काएर शोकबाट बाहिर ल्याउनुपर्छ । त्यही उद्देश्यले  नीलकण्ठ माध्यमिक विद्यालय सञ्चालनमा ल्याइएको छ । तर विद्यार्थीहरु स्कुलसम्म पुग्नै सहज छैन । 

बेत्रावती बजारमा फलाकु खोलामा रहेको पक्की पुल बाढीले बगाइदिएका कारण पहिला छिमेकी रहेका रसुवा र नुवाकोटको बासिन्दालाई अलग्याइदिएको छ । पहिला सजिलै स्कुल गइरहेका बालबालिकाको विद्यालय जाने बाटो टुटेको छ । 

नुवाकोटको बेत्रावती र केराघारीका बालबालिका फलाखु खोला तरेर नीलकण्ठ स्कुलमा जान सक्दैनन् । 

अनि नुवाकोटको खोलेबजार र शान्ति बजारका बालबालिका त्रिशुली नदीको झोलुंगेपुल तरेर विद्यालय जान्थे । बाढीले झोलुंगे पुल बगाइदिएका कारण उनीहरु पनि स्कुल पुग्न सक्दैनन् । 

नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेका अनुसार बाढी अगाडिसम्म विद्यालयमा ५०० जना विद्यार्थी थिए । भदौ ३१ गते बुधबार विद्यालयमा १८५ जना विद्यार्थी आएका छन् । उनीहरुमध्ये पनि १२० जना मात्र नीलकण्ठ स्कुलका मात्र विद्यार्थी हुन् ।

अरु चाहिँ नजिकका अरु विद्यालयका विद्यार्थी हुन् । 

प्रधानाध्यापक लामिछानेका अनुसार यसअघि जुन स्कुलमा पढिरहेको भएपनि अहिले नीलकण्ठ स्कुल सबैका लागि खुला छ । 

विद्यार्थी बोलाउन होल्डिङ सेन्टरमा 

विद्यालय सञ्चालन गर्नुपूर्व प्रधानाध्यापक लामिछाने आफैं र अरु शिक्षकहरु विद्यार्थी खोज्दै रसुवा र नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा पुगेका थिए । 

रसुवाको खाल्टे क्षेत्रका धेरै बाढी पीडितहरु नुवाकोट नुवाकोट दरबार, बट्टारको कभर्ड हल, हिमालय स्कुल, तामाङ प्लाजा आदि होल्डिङ सेन्टरमा छन् । 

प्रधानाध्यापक लामिछाने आफैं ती होल्डिङ सेन्टरमा बालबालिकाहरुलाई भेट्न पुगे । त्यहाँ बालबालिकाको अवस्था देखेपछि झन् लाग्यो, बालबालिकालाई यसरी होल्डिङ सेन्टरमा धेरै समय राख्न हुन्न । 

हुनतः होल्डिङ सेन्टरमा केही एनजीओले पठन पाठन पनि सञ्चालन गरेका छन् । तर सबै बालबालिकाको ध्यान पढाइमा छैन । 

एक त, उनीहरु आफ्नो गाउँदेखि बिरानो ठाउँमा छन् । अर्को आफ्नै आँखाले देखेको बाढीको त्रास छ, परिवारका सदस्य गुमाएको पीडा छ, भविष्यबारे अन्योल छ । धेरै बालबालिकाको ध्यान पढाइमा छैन । 

कतिपय स्थानमा त समूहमा बजारतिर घुम्न जाने, राहतमा कसैले केही ल्याइदिन्छ कि भनेर पर्खेर बस्ने गरिरहेको समेत देखे । होल्डिङ सेन्टरको सामूहिक आवास पनि  बालबालिकाको लागि सुरक्षित पनि नभएको अनुभव गरे ।

बालबालिकामाथि दुर्व्यवहार हुने जोखिम देखे ।

बालबालिकालाई यो हालतमा छाड्नुहुन्न । तर कसरी स्कुल पठाउने त ? घर नै नभएपछि विद्यार्थी कहाँबाट स्कुल आउने जाने गर्छन् त ? प्रधानाध्यापक लामिछानेले यसको पनि उपाय खोजेका छन् । 

उनका अनुसार २०० जनाका लागि स्कुलमा छात्राबास चलाउन सकिन्छ । विद्यालयमा हालै नयाँ छात्राबास भवन पनि बनेको छ । त्यो भवनमा ८० जना अटाउँछन् । अर्को एउटा निर्माणाधीन भवनको भुइँतला तयार भइसकेको छ । माथिल्ला तलाहरु पनि तिब्र गतिमा फिनिसिङको काम भइरहेको छ । 

विद्यालयको लाइब्रेरी भवन पनि अहिले छात्राबासका लागि प्रयोग गर्न मिल्छ । स्टोर रुमलाई पनि छात्राबास बनाउन मिल्छ । कतिथपय संघ संस्था पनि विद्यालयलाई सहयोग गर्न तयार छन् । 

सबैको साथ र सहयोग हुने हो भने नीलकण्ठ माध्यमिक विद्यालयमै २०० जना विद्यार्थीलाई छात्रबासमा राख्न सकिन्छ । 

विद्यालयका शिक्षकहरुले सबै होल्डिङ सेन्टर घुमेर संकलन गरेको तथ्यांकका आधारमा अहिले २७८ जना बालबालिकाका लागि छात्राबास सुविधा आवश्यक छ । तर सबै अभिभावक र विद्यार्थी गाउँ नफर्किने अनुमानका आधारमा २०० जना भनिएको छ ।

विद्यालयले २०० जनाका लागि छात्राबास कोटा सरकारसँग माग गरेको छ । प्रधानाध्यापक लामिछानेका अनुसार अहिले त एनजीओहरुले अहिले सहयोग गर्लान्, तर भोलिका दिनमा निरन्तर नहुन सक्छ । त्यो बेला बालबालिका अलपत्र पर्न सक्छन् ।

त्यसैले सरकारले नै बाढी प्रभावित क्षेत्रलाई २०० जनाको छात्राबास कोटा दिनुपर्ने प्रधानाध्यापक लामिछानेको माग छ । 

सरकारी कोटाको छात्राबास भएमा अभिभावक पनि ढुक्कले आफ्ना बालबालिका पठाउन सक्नेछन् । बाढी प्रभावित क्षेत्रका अभिभावक आफैं पनि अब अस्थायी आवास बनाउनतिर लाग्नुपर्ने भएकाले बालबालिकालाई स्कुलको छात्राबासमा राखेर काम गर्नसक्ने प्रधानाध्यापक लामिछाने बताउँछन् । 

सरकारले हिमाली जिल्लामा छात्राबास सञ्चालन पनि गर्दै आएका छन् । हिमाली जिल्लामा पातलो बस्ती हुने हुनाले टाढा टाढादेखि विद्यार्थी आउनुपर्छ । त्यसैले विद्यार्थीलाई स्कुलकै छात्राबासमा राख्ने गरी छात्राबास सञ्चालन गर्दै आएको छ । हाल हिमाली छात्राबास कोटा रसुवामा ६० जनाका लागि मात्र छ ।

प्रधानाध्यापक लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रका लागि अब २०० जनाको कोटा तत्काल दिनुपर्छ । 

प्रधानाध्यापक लामिछानेले आफ्नो यो प्रस्ताव इमेलमार्फत शिक्षामन्त्री सस्मित पोखरेललाई पनि पठाएका छन् । अनि शिक्षा मन्त्रालयका अधिकारी प्रवक्ता श्रीप्रसाद भट्टराईलाई फोनमा पनि जानकारी गराएका छन् । स्थलगत अवलोकनमा गएका शिक्षा मन्त्रालयको टिमलाई पनि भनेका छन्, तर अहिलेसम्म निर्णय भएको छैन । 

विद्यार्थीहरुलाई फेरि कक्षाकोठामा फर्काउन नीलकण्ठ माध्यमिक विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरुले गरेको प्रयास प्रशंसनीय छ । यसले कति सार्थकता पाउँछ, सरकारले गर्ने निर्णयमा भर पर्छ । सरकारले बाढी प्रभावितहरुलाई अस्थायी बसोबासको प्रबन्ध कसरी गर्छ भन्नेमा निर्भर हुन्छ । 

त्यो भन्दा महत्वपूर्ण चाहिँ अभिभावकले के गर्छन् भन्ने हो । खासगरी रसुवाका धेरै बाढी प्रभावितहरु पुरानै थातथलो फर्किन तयार छैनन् । त्यो समस्या खाल्टेमा अझ बढी देखिएको छ । खाल्टेका बासिन्दाहरु दोहोरो पीडामा छन् । २०७२ सालको भूकम्प अगाडिसम्म खाल्टेमा बस्ती थिएन । 

भूकम्पका कारण रसुवाको हाकु, गोगने, तिरु लगायतका गाउँमा लगातार सुख्खा पहिरो खस्न थाल्यो । त्यसपछि त्यहाँका बासिन्दाहरु खाल्टेमा त्रिशुली किनारको खाली जमिनमा आएर बसे । त्यहाँको जग्गा उनीहरुको नाममा थिएन । ऐलानी जग्गामा टहरा बनाएर बसेका थिए । 

आफ्नै जग्गा नभएका कारण उनीहरुले स्थायी आवास बनाउन सरकारबाट अनुदान पनि पाएनन् । अहिले त्यहाँको बस्ती पनि बाढीले सखाप बनाइदियो । मानवीय क्षति पनि धेरै भयो । 

त्यसैले बाढीबाट बचेका गाउँलेहरु सरकारसँग रिसाएका छन् । सरकारकै कारण जनधनको क्षति भएको भन्दै उनीहरु रसुवा फर्किनु भन्दा अन्यत्र सुरक्षित ठाउँमा बस्न खोजिरहेका छन् । 

त्यसैले अभिभावक नै आउन नमानेपछि बालबालिकालाई मात्र कसरी स्कुल ल्याउने भन्ने प्रश्न पनि उठेको छ ।

काठमाडौंका निजी स्कुल, स्वदेशी र विदेशी संघ संस्थाहरु बाढी प्रभावित क्षेत्रका बालबालिका, अझ भनौं बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधासहित पढ्ने व्यवस्था गर्न तयार छन् । 

तर कलिला बालबालिकालाई घरदेखि टाढा लगेर पढाउनु उचित हुन्न भनेर नीलकण्ठ स्कुलले गाउँमै आवासीय सुविधासहित पढाइ सञ्चालन गर्न खोजिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो