काठमाडौंको शिरमा बनेको धाप ड्याममा पहिरो, बाँध कति सुरक्षित ?
शनिबार बिहान सवा ११ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फेसबुकमा राखेको एउटा दृश्य काठमाडौं बासीका लागि सुखद थिएन ।
उनले लेखेका थिए, ‘विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याविन वाल भासिएको छ ।’
यो खबर यस्तो बेलामा आयो, जतिबेला भोटेकोशीको मुहानमा हिमताल र हिमचट्टान फुटेर त्रिशुली नदीमा ठूलो बाढी आयो । अनि नुवाकोट, रसुवा र धादिङमा ठूलो जनधनको क्षति गर्यो ।
काठमाडौंको शीर, वाग्मती नदीको मुहानमा पानी संकलनका लागि केही वर्ष अगाडिदेखि ठूलो बाँध बाँधेर पानी तल्याइएको छ । जसलाई धाप ड्याम भनिन्छ । धाप ड्यामको नजिकै पहिरो गयो भनेपछि काठमाडौंबासीको मन आत्तिने नै भयो ।
सोमबार नेपाल शो को टोली धाप ड्याममा पुग्दा इन्जिनियर र केही मजदुरहरु पहिरो क्षेत्रमा परेको पानी कसरी तर्काउने भनेर उपाय खोजिरहेका थिए । पहिरो गएको कारण पूर्व सावधानी स्वरुप तालको पानी पनि घटाइँदैछ ।
अहिले प्रतिसेकेण्ड ४०० लिटरको दरले तालको पानी बागमतीमा छाडिएको छ ।
धाप ड्याममा पहिरो गएको क्षेत्र काठमाडौंतिर नभई सिन्धुपाल्चोकतिर हो । त्यसैले अहिलेको पहिरोले काठमाडौंमा जोखिम त देखिँदैन । पहिरो बेलैमा नियन्त्रण नभएमा धाप ड्याम फुटेर सिन्धुपाल्चोकको हैबुङ र मेलम्ची क्षेत्रमा बाढी आउन सक्छ ।
अहिले पहिरो गएको ठाउँमा अस्थायी प्रबन्ध गरेर पहिरो नियन्त्रणको काम स्थायी रुपमा नै गर्ने सरकारको तयारी छ ।
तर यसले प्रश्न के उठाइदिएको छ भने काठमाडौंको शीरमा यति ठूलो ड्यामले भविष्यमा खतरा हुने त होइन । अझ धाप ड्याम भन्दा मुनि नागमतीमा धाप भन्दा ५ गुणासम्म ठूलो ड्याम बनाउने सरकारको योजना छ ।
त्यो ताल फुटेमा काठमाडौंमा ठूलो जनधनको क्षति हुन सक्ने भन्दै वातावरणविद् र संरक्षणकर्मीले विरोध जनाएका छन् ।
धाप ड्याम नजिकै गएको पहिरो, जोखिम र भविष्यमा पर्न सक्ने असरबारे विस्तृत रिपोर्टिङ भिडियोमा हेर्नुहोस् :
महेन्द्रदेखि कुलमानसम्मले बनाएका जलविद्युत् प्लान्ट ध्वस्त
पृथ्वीनारायण शाहको प्यारो देवीघाटको दु:खद अवशान
इतिहासकै चरम ग्यास संकट, कहिले पाइन्छ सजिलै ?
बाढीग्रस्त ठाउँमा घुम्नेको लर्को, रमिता कि डार्क टुरिजम ?


-1788864137.png)





