पोखराको बाटोमा पहिलो चार लेनको सिग्नेचर पुल
नेपालकै पहिलो चार लेनको ‘सिंगल मोनोलिथिक’ आर्क पुल ।
यो भव्य पुल बन्दैछ, तनहुँको मादी नदीमाथि ।
हुन त विकसित देशका लागि यो ठूलो कुरा हैन । तर नेपालमा एउटै संरचनामा चार लेनको पुल अहिलेसम्म बनिसकेको छैन । त्यसैले यो पुल रोड इन्जिनियरिङको बेन्चमार्क हो, अनि आकर्षक ढंगले बनाइएकाले यो ल्याण्डमार्क पुल हो ।
यदि तपाईंले हालसालै नेपालको प्रमुख पर्यटकीय नगरी पोखरासम्मको यात्रा गर्नुभएको छ भने पक्कै थाहा छ, आबुखैरेनी–पोखरा खण्ड चार लेनमा विस्तार भइसक्यो ।
२०३० सालमा चीनले दुई लेनमा बनाएको यो सडक ५० वर्षपछि विस्तार भएको हो । अब आबुदेखि मुग्लिनसम्म मस्र्याङ्दी पारी २ लेनको नयाँ सडक बनाइनेछ । त्यसपछि पोखरा–मुग्लिन खण्ड पुरै चार लेनको हुनेछ ।
सडक मात्र फराकिलो बन्नुले यातायात पूर्ण रुपमा सहज हुँदैन । जबसम्म पुलहरू पनि आधुनिक र फराकिला हुँदैनन्, तबसम्म राजमार्गमा जोखिम हुन्छ । बढी ट्राफिक भएको समयमा पुलहरु बोटल नेक भएर जाम पनि हुन्छ ।
यही समस्या नहोस् भनेर तनहुँको दमौलीस्थित मादी नदीमाथि यस्तो पुल बनिरहेको छ, जसले नेपाली इन्जिनियरिङ र निर्माण इतिहासमा एउटा अध्याय सुरु हुनेछ ।
किन त ? कुनै पनि देशको आर्थिक विकास, व्यापार र पर्यटनको मेरुदण्ड भनेको सडक सञ्जाल हो ।
नेपालको सन्दर्भमा कुरा गर्दा, काठमाडौंलाई देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरासँग जोड्ने सबभन्दा महत्वपूर्ण र व्यस्त राजमार्ग भनेको पृथ्वी राजमार्ग नै हो । वर्षौंसम्म दुई लेनमा सीमित रहेको यो राजमार्ग अत्यधिक यातायातको चाप र भूगोलका कारण प्रायः अवरुद्ध भइरहन्थ्यो । यसै समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न मुग्लिन–पोखरा सडक विस्तार आयोजना अगाडि बढाइयो ।
यो राजमार्ग विस्तारको क्रममा पूर्वी खण्ड र पश्चिमी खण्ड गरेर कामहरु भए । आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौली नजिकै मादी नदीमाथि एउटा अत्याधुनिक चार लेनको पुल निर्माण भइरहेको छ ।
यो पुल हिजो बनेका पुलहरुजस्तो सामान्य छैन । यसलाई जसरी बनाइँदैछ, यो नेपाली पुल निर्माणको इतिहासमै एउटा ठूलो फड्को र माइलस्टोन हो ।
सडक विभागका अनुसार यो नेपालभित्र एउटै स्ट्रक्चरमा बनेर सञ्चालनमा आउने पहिलो चार लेनको पुल हुनेछ । यसअघि पनि देशका विभिन्न स्थानहरुमा चार लेन वा सोभन्दा बढी क्षमताका पुलहरु नबनेका होइनन् ।
उदाहरणका लागि, सुदूरपश्चिमको कञ्चनपुरमा महाकाली नदीमाथि चार लेनको पुल निर्माण गरिएको छ । तर त्यहाँ प्राविधिक रूपमा दुई–दुई लेनका दुईवटा बेग्लाबेग्लै पुलहरु बनाएर सँगै जोडिएको छ ।
तर, मादी नदीको पुलको कथा नितान्त भिन्न र विशिष्ट छ । यहाँ नदीको जगदेखि नै एउटै संरचना अर्थात् सिंगल माोनोलिथिक स्ट्रक्चरमामा चार लेनको पूरै भाग निर्माण भइरहेको छ । यही विशेषताले यसलाई नेपालको अन्य पुलभन्दा प्राविधिक रुपमा फरक बनाएको छ ।
कस्तो छ पुलको डिजाइन ?
यो पुलको जटिल प्राविधिक पक्ष र इन्जिनियरिङ डिजाइनको । कुनै पनि ठूला संरचना बनाउँदा त्यसको लम्बाइ, चौडाइ, भारबहन क्षमता र भौगोलिक अनुकूलतालाई धेरै ध्यान दिनुपर्छ । मादी नदीमाथि बन्दै गरेको यो ल्यान्डमार्क पुल यी सबै मापदण्डमा अलि विशिष्ट छ ।
यो पुलको कुल लम्बाइ ३१५ मिटर छ । यो पूरा पुल ६ वटा विभिन्न स्पानहरुमा विभाजित छ । पुलको कुल चौडाइ २३ मिटर छ, जसले गर्दा यसमा एकसाथ चारवटा ठूला सवारी साधनहरु सहजै र सुरक्षित रुपमा गुड्न सक्छन् ।
सवारी साधनका लागि चार लेन मात्र होइन, पैदलयात्रुको सुरक्षित आवतजावतलाई ध्यानमा राख्दै पुलको दुवै किनारमा सुरक्षित फुटपाथसमेत निर्माण गरिएको छ । प्राविधिक दृष्टिकोणबाट यो पुलमा विश्वमा अभ्यास गरिने दुई अत्याधुनिक डिजाइन मोडलहरूको सुन्दर फ्युजन गरिएको छ ।
यसमा प्रयोग भएको एउटा प्रविधि हो, प्रिस्ट्रेस्ड कंक्रिट बक्स गर्डर प्रविधि । पुलको दुवैतर्फका किनारामा रहेका दुई–दुईवटा स्पानहरु ‘प्रिस्ट्रेस्ड कङ्क्रिट बक्स गर्डर’ प्रविधिमा निर्माण गरिएका छन् । यो प्रविधिले पुलको किनाराका भागहरुलाई अत्यधिक मजबुत, स्थिर र टिकाउ बनाउन मद्दत गर्छ ।
अर्को मोडल पनि यो पुलमा प्रयोग भएको छ । त्यो हो कंक्रिट आर्क मोडल । यो पुलको सबैभन्दा ठूलो आकर्षण र प्राण भनेको यसको मध्यभागमा रहेको डिजाइन हो । पुलको बीच भागमा रहेका मुख्य दुईवटा ६३ मिटर लामो स्पानहरुलाई ‘कंक्रिट आर्क’ मोडलमा निर्माण गरिएको छ । ठ्याक्कै काठमाडौंको बिजुली बजारमा रहेको धोबीखोला पुलजस्तै । यो पुलको बीच भागमा छ ।
राजमार्गको पुलमा पनि आर्क ब्रिज डिजाइन राख्नुको पछाडि निकै महत्वपूर्ण वैज्ञानिक कारण हुन्छ । जब नदीमा वर्षायाममा भयानक बाढी आउँछ, त्यतिबेला सामान्य पिलर भएका पुलहरुमा पानीको बहाव र गेगरले ठूलो दबाब सिर्जना गर्छ ।
तर आर्क डिजाइनमा बीच भागमा नदीभित्र धेरै वटा पिलरहरू राख्नुपर्दैन । आर्क आर्थात् धनुषाकार संरचनाले नै पुलको सबै भारलाई दुई किनारका मुख्य फाउन्डेसनतर्फ धकेल्छ ।
यसले गर्दा नदीमा जति नै ठूलो बाढी आए पनि बिना कुनै अवरोध पानी निर्वाध रुपमा बग्न सक्छ र पुललाई कुनै किसिमको जोखिम हुँदैन । साथै, यसले पुललाई अत्यन्तै आकर्षक, भव्य र आधुनिक रुप प्रदान गरेको छ ।
दमौली बजार नजिकैको यो पुल यहाँको लागि भविष्यमा प्रतिष्ठाको विषय हुनेछ ।
नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्ने हुनाले यहाँ बन्ने जुनसुकै ठूला संरचनाहरु भूकम्प प्रतिरोधी हुनु अनिवार्य छ । मादी नदीको यो पुल ७५ वर्षसम्म निरन्तर रुपमा उच्च भार बोक्न सक्ने र ठूला भूकम्पीय धक्काहरु समेत सहजै सहन सक्ने उच्च प्रविधिमा आधारित भएर डिजाइन गरिएको सडक विभागको दाबी छ । यसले गर्दा यो पुल पुस्तौंसम्म सुरक्षित रहनेछ ।
सवा अर्बको पुल
कुनै पनि ठूला पूर्वाधार निर्माण गर्न राम्रै आर्थिक लगानी र दक्ष जनशक्तिको आवश्यकता पर्छ । यो पुलको विस्तृत इन्जिनियरिङ डिजाइन र निर्माण कार्यको कुल लागत १ अर्ब २१ करोड रुपैयाँ छ ।
यो पुलको विस्तृत इन्जिनियरिङ डिजाइनदेखि लिएर निर्माणसम्मको सबै काम कुनै विदेशी कम्पनीले होइन, नेपाली निर्माण कम्पनी ‘अनक निर्माण सेवा’ले गरेको हो । यसले नेपालका ठेकेदार र इन्जिनियरहरु पनि अन्तर्राष्ट्रिय स्तरका जटिल र ठूला पूर्वाधारहरु आफ्नै प्रविधि र क्षमताले बनाउन सक्षम छन् भन्ने गतिलो प्रमाण दिएको छ ।
२०७९ साल भदौ २२ गते ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी यसको ठेक्का सम्झौता भएको थियो । तर, विभिन्न व्यावहारिक, प्राविधिक र प्राकृतिक चुनौतीहरुका कारण समयकै काम हुन नसकेको आयोजनाको दाबी छ ।
मादी पुलको निर्माणमा पनि प्रारम्भिक चरणमा केही विलम्ब र अवरोधहरु भए । लामो र भारी वर्षा, मनसुनको प्रकोप तथा नदीमा आउने अचानकको बाढीले गर्दा फाउन्डेसनका कामहरुमा केही समय अवरोध सिर्जना भयो ।
निर्माण क्षेत्र भएका कारण पुलको दायाँ–बायाँ रहेका खानेपानीका पाइपहरु, विद्युतीय पोलहरु तथा अन्य संरचनाहरू समयमै अन्यत्र सार्नुपर्ने चुनौती थियो । त्यसमा पनि केही समय खर्च भयो । निर्माण सामग्रीको मूल्यवृद्धि र आपूर्तिमा आएको असहजताले पनि आयोजनालाई केही हदसम्म प्रभावित गरेको छ ।
साथै ठेकेदारले नै डिजाइन गरेर बनाउने गरी ठेक्का लागेकाले डिजाइन स्वीकृती र डिजाइन हेरफेरका निमर्णयहरु पनि समय लाग्यो । धेरै चुनौती र विलम्बका बाबजुद पनि हाल यो आयोजना अन्तिम चरणमा पुगेको छ । यो पुलको ९० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।
पुलको सबभन्दा जटिल मानिने फाउन्डेसन (जग) र सुपरस्ट्रक्चर माथिल्लो भागका अधिकांश कामहरु सकिसकेका छन् । अब पुलको फिनिसिङको काम तीव्र गतिमा भइरहेको छ । पुलको मुखहरुसँग जोडिने पुहँचमार्ग पनि बनाउन बाँकी छ । पुलको मुखका केही संचरनाहरु हटाउन पनि बाँकी छ ।
पोखरा–मुग्लिन सडक पूर्वी खण्ड आयोजना प्रमुख प्रकाश भण्डारीका अनुसार अत्यावश्यक अवस्थामा अब यो पुलमा गाडी चलाउन मिल्ने भइसकेको छ । अब रेलिङहरु राख्ने, सडक बत्ती जोड्ने, पहुँचमार्गहरु तयार गर्ने, रंगरोगन गर्ने काम बाँकी रहेको उनको भनाइ छ ।
आगामी वैशाखसम्म पुलको निर्माण सकाउने गरी म्याद थपेर काम भइरहेको थियो । तर, अबको केही समयभित्रै सबै प्राविधिक परीक्षणहरु पूरा गरेर यो पुल सर्वसाधारण र सवारी साधनहरुका लागि खुला गरिनेछ ।
दमौलीमा बन्दै गरेको यो चार लेनको मादी पुल सञ्चालनमा आएपछि यसले स्थानीय स्तरदेखि राष्ट्रिय तहसम्म केही लाभहरु पक्कै दिने छ । आबुखैरनी–पोखरा सडक विस्तार भएर चार लेनको बनिसक्दा पनि पुलहरु साँघुरो भएर समस्या छ । अब यस्तो ‘बोटलनेक’का कारण हुने समस्या कम हुन्छ ।
इन्जिनियरिङ दृष्टिकोणले मात्र होइन, पुलको आकर्षक आर्क डिजाइनले तनहुँको दमौली बजारको चिनारी पनि फेरिनेछ ।
मादी नदीमाथि ठडिएको यो सुन्दर र भव्य आर्क ब्रिजमा रंग लगाएर अस्थेटिक बनाउन कलरफूल लाइट जोड्ने योजना पनि छ । यसले दमौलीलाई एउटा नयाँ पर्यटकीय पहिचान र सौन्दर्य दिनेछ ।
यसले गर्दा पोखरा आवतजावत गर्ने हजारौं पर्यटकहरु दमौलीमा केही समय रोकिएर तस्बिर खिच्ने, रमाइलो गर्ने र स्थानीय बजारको अवलोकन गर्ने वातावरण सिर्जना हुनेछ । जसले स्थानीय व्यापार र पर्यटकीय गतिविधिहरूलाई माथि उकास्न ठूलो भूमिका खेल्नेछ ।
दमौलीको मादी नदीमा बनेको यो आर्क ब्रिजको सफलताले नेपालमा आधुनिक पुल निर्माणको एउटा नयाँ बेन्चमार्क पनि बसाएको छ ।
यसअघि वि.सं. २०७६ सालमा मुग्लिनमा त्रिशूली नदीमाथि पनि यस्तै प्रकारको नेपालकै पहिलो दुई लेनको लामो आर्क ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । त्यसबेला मुग्लिनको आर्क ब्रिज निर्माणबाट नेपाली प्राविधिकहरुले जुन अनुभव हासिल गरेका थिए, त्यसैको परिष्कृत रूप आज तनहुँको मादी नदीमा चार लेनको विशाल आर्क पुलको रुपमा देखिएको छ ।
मादी नदी पुलको यो सफलताबाट उत्साहित भएर नेपाल सरकार र सडक विभागले देशका अन्य स्थानहरुमा पनि यस्तै आधुनिक प्रविधिका पुलहरु अगाडि बढाउन खोजेको छ ।
हाल महेन्द्र राजमार्गको पूर्वी खण्ड अन्तर्गत झापा जिल्लामा पर्ने रतुवा खोला माथि पनि यही किसिमको अत्याधुनिक चार लेनको आर्क ब्रिज निर्माण भइरहेको छ । अब नेपालका राजमार्गहरु परम्परागत र पुराना शैलीका मात्र होइनन्, विश्वस्तरीय, बलियो, सुरक्षित र सौन्दर्ययुक्त आधुनिक पुलहरुले सुसज्जित बन्दैछन् ।
समग्रमा भन्नुपर्दा तनहुँको दमौलीमा मादी नदीमाथि बन्दै गरेको यो नेपालको पहिलो चार लेनको आर्क पुल नेपालीको प्राविधिक क्षमता वृद्धिको एउटा आधार हो । दिगो र समृद्ध पूर्वाधार निर्माणतर्फको एउटा पाइला पनि हो । यो पुलले पोखराको यात्रालाई अझै सुरक्षित, छिटो र सजिलो बनाउनेछ ।
सरकारले दिँदैछ निःशुल्क डिप बोरिङ सिँचाइ, कसरी लिने सुविधा ?
महाअभियोग राजनीतिक अस्त्र कि न्यायालयको शुद्धीकरण ?
सर्वोच्चमा न्यायाधीशहरुको गुटयुद्ध, कसरी जोडिए इनम सापकोटा ?
अलकत्रा रोकेर स्वदेशी सिमेन्टकै रोड बनाउने नियम कति ठीक-बेठीक ?



-1793700912.jpeg)


