नेभिगेशन
अर्थ

काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ

अब बन्जीका लागि कुश्मा वा भोटेकोशी पुग्नु पर्दैन । काठमाडौं नजिकै ३५६ मिटर अग्लो बन्जी बनाउने योजना अगाडि बढेको छ । 

यति अग्लो हाइटबाट बन्जी हान्ने मात्रै हैन, यहीँ ठाउँमा नेपालमै पहिलोपटक डाउन हिल कार्टिङ पनि गर्न पाइनेछ । 

नेपालमा आजको दिनमा बन्जी नयाँ एड्भेन्चर होइन । भोटेकोशीबाट सुरु भएको बन्जीको आकर्षण पर्वतको कुश्मासम्म पुग्यो । कालीगण्डकी नदीमाथि बनेको ५२० मिटर लामो पुलमा राखेको बन्जीले कुश्मालाई एड्भेन्चर टुरिजमको नयाँ डेस्टिनेशन नै बनायो भन्दा फरक पर्दैन ।

कुश्मामा बन्जी कसरी सुरु भयो भन्ने कथा रोचक छ । 

बाग्लुङ र पर्वत वारीपारी हो । तर बीचमा कालीगण्डकी नदी भएका कारण आउजाउ गर्न घन्टौं लाग्थ्यो । त्यसैले बाग्लुङ नगरपालिका–१ बाङ्गेचौर र कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी झोलुङ्गे पुल बन्ने भयो । ९ करोडभन्दा बढी रकम खर्चिएर झोलुङ्गे पुल तयार भयो ।

पुल बनेपछि आउजाउ त सहज भयो नै, पर्यटक समेत आउन थाले । लम्बई पनि ५६७ मिटर लामो झोलुङ्गे पुल कालीगण्डकी नदीबाट १२२ मिटर उचाईमा थियो । त्यसैले नेपालमा बनेको सबभन्दा लामो र अग्लो पुलका रुपमा चर्चा भयो । पुल हेर्न र तर्न मानिसहरु आउन थाले । 

बाग्लुङ कालीकासम्म पुग्ने आन्तरिक पर्यटकहरु पुलसम्म जान थाले । मुस्ताङ पुग्ने विदेदश पर्यटकहरु पनि केही समय पुलमा अडिन थाले । स्थानीय व्यवसायीहरुले छलफल थाले, पुलसम्म आएका पर्यटकलाई कुश्मामा कसरी रोक्ने ? त्यसका लागि उनीहरुल एउटा उपाय देखे– बन्जी । 

केही वर्ष पहिले मात्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भोटेकोशी नदीमा बन्जी सुरु भएको थियो । विदेशी मात्र होइन, आन्तरिक पर्यटकहरुले समेत बन्जीलाई खुब रुचाएका थिए । 

कालीगण्डकीमा त त्यो भन्दा अग्लो झोलुङ्गे पुल थियो । यहाँ कतिको सम्भावना हुन्छ भनेर बुझ्न व्यवसायीहरु सिन्धुपाल्चोकको भोटेकोशी पुगे । भोटेकोशीमा बन्जी गराउँदै आएको द लास्ट रिसोर्टका सञ्चालक विष्णु न्यौपानेलाई पर्वत लगेर अध्ययन गराए । बन्जीको सम्भावना पनि देखियो । 

तर एउटा समस्या आयो । बन्जी सञ्चालन गर्दा झोलुङ्गे पुलमा आवत जावत रोक्नुपर्ने हुन्थ्यो । जनस्तरबाट विरोध हुने देखेपछि स्थानीय व्यवसायीहरु बन्जी सञ्चालन गर्ने  योजनाबाट पछि हटे । 

तर सिन्धुपाल्चोकको द लास्ट रिसोर्टमा क्यानोनिङ प्रशिक्षक रहेका राजु कार्कीको मथिङ्गल हल्लिसकेको थियो । कालीगण्डकीको झोलुङ्गे पुलमा बन्जी सञ्चालनको सपना देख्न थालिसकेका गिए । त्यसैले कुश्मा पुगेर केही व्यवसायीहरुसँग छलफल गरे, बन्जी सञ्चालनबारे छलफल गरे । 

तर सार्वजनिक झोलुङ्गे पुलमा बन्जी सञ्चालन गर्न कहाँ सहज थियो र ? सरकारी कार्यालयदेखि मन्त्रालयसम्म धाँउदा पनि सार्वजनिक पुलमा बन्जी सञ्चालन गर्न अनुमति पाएनन् । 

राजु कार्कीले हार मानेनन्, बरु कालीगण्डकी नदीमा निजी पुल निर्माण गरेर बन्जी सञ्चालन गर्ने अठोट लिए । साथीभाइको समूह बनाए, लगानी जुटाएर द क्लिफ प्रालि नामको कम्पनी खोले । 

अनि, २०७३ सालमा कुश्मा बजार र बाग्लुङको बलेवा जोड्ने गरी बन्जीकै लागि झोलुङ्गे पुल निर्माणको काम सुरु भयो । २०७६ अन्तिममा पुग्दा बाग्लुङतर्फ द क्लिफ रिसोर्ट पनि बन्यो । तर कोरोना महामारीका कारण सञ्चालनमा आउन ढिलाइ भयो । अन्ततः २०७७ कात्तिकमा बन्जी सुरु भयो । 

आजको दिनमा द क्लिफले बन्जीसँगै स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेज ब्रिज, स्काई ग्लाइडिङ, स्काई चियर, लगायतका गतिविधि सञ्चालन गरिरहेको छ । 

राम्चे डाँडा र आसपासमा चार दर्जन भन्दा बढी होटल रेष्टुरेन्ट सञ्चालनमा छन् । कुश्मा एड्भेन्चर टुरिजमको डेस्टिनेशन बनेको छ । कुनै समय बाँदरको बासस्थानका रुपमा चिनिने राम्चेको डिल अहिले बन्जी साइटको नामले चिनिएको छ ।

नेपालमा हरेक वर्ष १२ लाख भन्दा धेरै विदेशी पर्यटक आउँछन् । उनीहरुमध्ये साहसी पर्यटन रुचाउनेहरुको संख्या पनि ठूलै छ । तर छोटो समयका लागि काठमाडौं आएका उनीहरु कुश्मा पुग्न सक्दैनन् । 

त्यसैले द क्लिफले एड्भेन्चरलाई पर्यटक भएको ठाउँ नजिकै लैजाने योजना अगाडि बढाएको छ । काठमाडौंको नजिकै पर्ने धादिङको धार्केमा कुश्मामा भन्दा पनि अग्लो बन्जी बनाउने । 

कम्पनीका अनुसार धार्केको भञ्याङपोखरीमा  करिव ५०० रोपनी क्षेत्रफलमा एड्भेन्चर तथा हस्पिटालिटी प्रोजेक्ट बनाइने तयारी छ । 

यो परियोजनाको सबभन्दा आकर्षक कुरा हो, ३५६ मिटर अग्लो बञ्जी । यो बन्जी कुनै नदी माथि बन्न्ने छैन । दुई वट ठूला डाँडाको खोँचमा बन्जी गराइनेछ । 

कम्पनीको दाबी छ, यो बन्जी विश्वकै अग्लोमध्येमै पर्नेछ । 

यो परियोजनाको लागत करिव ३ अर्ब छ । राजधानीमा रहेका र छोटो समयका लागि नेपाल आएका पर्यटकलाई लक्षित गरेर यो परियोजना सञ्चालन गर्न लागिएको अध्यक्ष राजु कार्की बताउँछन् । 

यहाँ बन्जी मात्रै हैन, नेपालमै पहिलोपटक डाउन हिल कार्टिङ ट्रयाक समेत निर्माण हुनेछ । ३ किलोमिटरको ट्रयाक बनाएर यहाँ स्काइलाइन लुगको सुविधा दिइनेछ । 

यहाँ स्काइ वाक, एक्स्ट्रिम स्काइवाकिङ, स्लाइडिङ, बन्जी जम्प विथ साइकलिङ लगायतका एड्भेन्चर फेसिलिटी दिइनेछ । अध्यक्ष कार्कीका अनुसार बच्चाहहरुका लागि मनोरन्जनात्मक पार्क निर्माण गरिनेछ । समग्रमा यसलाई ठूलो एड्भेन्चर पार्क निर्माण गर्ने योजना छ । 

यो प्रोजेक्टलाई नाम दिइएको छ, एयिरया ३०० । यो प्रोजेक्टमा लागि सुरुमा ३०० रोपनी जग्गा किनिएको थियो । त्यसैका आधारमा यसको नाम एरिया ३०० राखिएको हो । तर, अहिले यहाँ ५०० रोपनी जग्गा किनिसकिएको छ । कम्पनी अझै जग्गा थप्ने योजनामा छ । तर, स्टोरी जोडिएकाले यो पार्कको नाम भने एरिया ३०० नै रहेनछ । 

काठमाडौंबाट १३ किलोटिरको यात्रौ यहाँ पुग्न सकिनेछ । कम्पनीले आगामी ६ महिनाभित्र यहाँ निर्माणको काम थालेर २ वर्षभित्र सफ्ट ओपनिङ गर्ने योजना बनाएको छ । 

‘काठमाडौंबाट एक दिनको मात्रै योजना बनाएर जानेहरुलाई समेत सहज होस् भनेर यो एड्भेन्चर पार्क बनाउँदैछौं,’ अध्यक्ष कार्की भन्छन्,‘यो एकदमै ठूलो प्रोजेक्ट हो, यो नेपालको प्रतिष्ठित टुरिज्म प्रोडक्ट बन्नेछ ।’ 

यो यति बिशाल बन्दैछ कि एक दिनमै सबै प्रोडक्टहरु अनुभव गरेर  सकिने छैन । यहाँ एड्भेञ्चर पार्क मात्रै हैन, भिल्लासहितको उत्कृष्ट रिसोर्ट पनि निर्माण गरिनेछ । 

त्यहाँ ५० वटा भिल्ला बन्ने छन् । जहाँ बास बसेरै पार्कभित्रका सबै एड्भेन्चर टुरिजम प्रडक्टको मज्जा लिन सकिने छ । काठमाडौं नजिकै विश्वस्तरका सबैजसो एड्भेन्चर एक्टिभिटी यहाँ हुनेछन् ।

यसबाहेक पोखरामा १३० मिटर उचाइको बञ्जी र धरानमा १२० मिटर अग्लो बन्जी बनाउने कम्पनीको योजना छ । सबै गरेर सवा चार अर्बभन्दा बढी लगानी गर्ने द क्लिफ समूहले बताएको छ ।

अध्यक्ष कार्कीका अनुसार तीनवटै परियोजनाको मास्टर प्लान तयार पार्ने काम भइरहेको छ । त्यो सकिएपछि दशैं तिहार लगत्तै निर्माणमा जाने तयारी छ । सबै प्रोजेक्टको निर्माण पूरा गरेर २ वर्षमै सफ्ट ओपनिङ गर्ने लक्ष्य छ ।

नेपालमा एड्भेन्चर टुरिज्मको सम्भावनाबारे खुबै कुार हुन्छ । छिमेकी देश चीनले हाम्रोतस्तै भूगोलमा जसरी एड्भेन्चर टुरिज्म प्रोमेट गर्न अनेकन काम गरेको छ । नेपालमा त्यो सरकारी तवरबाट त हुन सकेको छैन । हाम्रा सुन्दर हिमाल तथा पहाड, गल्छीहरु, नदी  किनारमा अनेकन एड्भेन्चरस एक्टिभटी गराउन सकिन्छ । यस्ता प्रोडक्टहरु तयार गर्ने हो भने पर्यटकहरु बढ्ने निश्चित छ । 

तर, सरकारले यसका लागि खासै काम गरेको छैन । सम्भावना भएका क्षेत्रमा निजी क्षेत्रले पनि ठूलोबल लगाएको छैन । तर, क्लिफ ग्रुपले त्यो आँट देखाइरहेको छ । उसले देशभर जसरी  सफ्ट एड्भेन्चर र मनोरञ्जनात्मक पर्यटन प्रोडक्टहरु बनाउँदैछ, यसले भविष्यमा पक्कै पनि देशका ठूला र पुराना घरानाहरुलाई पनि यस्ता क्षेत्रमा लगानी गर्न आकर्षित गर्नसक्छ ।    

क्लि समूहले ल्याउन लागेको प्रोडक्टहरुले पक्कै पनि थप विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्नेछ । आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि यसले निसन्देह योगदान पुर्‍याउने छ । 

काठमाडौंसहितका शहरभित्र उकुसमुकुस भएकाहरुलाई पनि यी नयाँ टुरिज्म प्रोडक्टहरुले उत्कृष्ट विकल्प दिने छ । त्यसबाहेक नेपालमा एड्भेन्चर टुरिज्म प्रोडक्टको सम्भावनालाई पनि यसले दर्शाउनेछ । विश्वसामु नेपालका यस्ता टुरिज्म प्रोडक्टबारे कुरा हुनेछ । जसको लाभ नेपालको समग्र पर्यटन उद्योगले उठाउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ