नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
इलेक्ट्रिक स्कुटर यात्री पीटूको आधिकारिक मूल्य सार्वजनिक भएसँगै धेरैजना कन्फ्युजनमा छन्, खासमा यो सस्तो हो कि महँगो ?
नेपालमै डिजाइन, इन्जिनियरिङ र म्यानुफ्याक्चरिङ भएको यो स्कुटर सस्तो मूल्यमा आओस् भन्ने धेरैका चाहना थियो । यात्रीले मूल्य सार्वजनिक गरेपछि कति निराश भएका छन् त कति उत्साहित पनि छन् । खासमा पीटूको मूल्यबारे मान्छेको धारणा एकै खालको छैन ।
यात्री पी २ लाई कम्पनीले ब्याट्री क्षमताका आधारमा मुख्य तीन वटा विकल्पमा विभाजन गरेर बजारमा उतारेको छ ।
यात्री पी २ को भेरियन्ट अनुसारको सुरुवाती मूल्य छ ।
–३.० किलोवाट आवर भेरियन्टको–३ लाख २९ हजार ९०० ।
–३.७ किलोवाट आवर भेरियन्टको ३ लाख ९९ हजार ९०० ।
–५.२ किलोवाट आवर भेरियन्टको ४ लाख ९९ हजार ९०० ।
अब यात्रीको प्रतिस्पर्धी एथर ४५० एक्सको नेपाली बजारमा सुरुवाती मूल्य हेरौं ।
एथर ४५० एक्स २.९ किलोवाट आवर भेरियन्टको ३ लाख ६४ हजार ९०० ।
एथर ४५० एक्सको ३.७ किलोवाट आवर भेरियन्टको ३ लाख ९९ हजार ९९९ ।
यदि हामी सुरुवाती मूल्यलाई हेर्छौं भने यात्री पीटू ३.० किलोवाट आवरको मूल्य ३ लाख २९ हजार ९०० बाट सुरु हुन्छ, जुन एथर ४५० एक्सको आधारभूत भेरियन्ट एथर ४५० एक्स २.९ भन्दा ३५ हजार रुपैयाँ सस्तो छ ।
यात्री पीटूको बेस मोडलमा ३.० किलोवाट आवरको ब्याट्री छ भने एथर ४५० एक्सको बेस मोडलमा २.९ किलोवाट आवरको ब्याट्री छ ।
अर्थात् कम मूल्यमा यात्रीले अझ ठूलो ब्याट्री क्षमता प्रदान गरेको छ । यद्यपि ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा पुग्दा दुवै स्कुटरको मूल्य लगभग बराबरी, करिब ४ लाख रुपैयाँ देखिन्छ ।
यात्रीले रेन्ज एन्जाइटीलाई हटाउन तीन फरक ब्याट्री भेरियन्ट र एक्सटेन्डर प्याकको विकल्प ल्याएको छ । ३.० किलोवाट आवरको बेस भेरियन्टमा ९० किलोमिटरको सिटी रेन्ज दिन्छ । ३.७ किलोवाट आवरको भेरिन्टमा ११२ किलोमिटरसम्मको सिटी रेन्ज दिन्छ । लामो दूरीमा यात्रा गर्नेका लागि ५.० किलोवाट आवरको भेरिन्टमा एकै चार्जमा १५७ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
पीटुको प्रतिस्पर्धी एथरको ४५० एक्सको कुरा गर्ने हो भने यसको रेन्ज भेरियन्ट अनुसार ९० देखि १३० किलोमिटरसम्म छ ।
कस्टमाइजेबल अप्सन
यात्री पीटूको सबैभन्दा पृथक र रोचक पक्ष भनेको यसको ‘कस्टमाइजेबल अप्सन’ हो । तपाईंले यात्रीमा आफ्नो आवश्यकता र बजेट अनुसार सुविधाहरु थप्न वा हटाउन सक्नुहुन्छ ।
३ लाख ३० हजारको स्कुटरमा ६ किलोवाट पिक मोटर, ३४० एम्पियर कन्ट्रोलर, १३५० वाट अनबोर्ड चार्जर, माउन्टेन होल्ड, रिजेनेरेटिभ ब्रेकिङ, स्पिकर र क्लास–डी हेडल्याम्प पाइन्छ ।
यदि यसमा जनरल कनेक्टिभिटी थप गर्ने हो भने १९ हजार २०० रुपैयाँ खर्च गर्नुपर्छ । यस्तै क्रुज कन्ट्रोलका लागि पाँच हजार, रिजेन टेल लाइटका लागि २ हजार ५००, चोरी नियन्त्रण प्याकको लागि. ५ हजार, ड्याश प्याकका लागि ५ हजार ६५० रुपैयाँ थप्नुपर्ने हुन्छ ।
यदि मिचेलिन टायर लगाउने हो भने १६ हजार, प्रिमियम ऐना लगाउने हो भने ३ हजार ४८०, प्रिमियम ह्यान्डलबार ग्रिप लगाउँदा ९६० रुपैयाँ थप्नुपर्ने हुन्छ । यदि यी सबै फिचर्स थप्ने हो भने ३ लाख ८७ हजार ६९० रुपैयाँमा पीटूको बेस मोडललाई प्रिमियम बनाउन सकिन्छ ।
तर यी सुविधा थप्ने कि नथप्ने उपभोक्ताको इच्छाका कुरा हुन्, यी हाइटेक फिचर्स नथप्दा पनि यात्री पी टू रोड पर्फमेन्समा कमजोर भने हुने छैन ।
अब ३ लाख ९९ हजार ९०० पर्ने ३.७ किलोवाट आवर भेरियन्टको कुरा गरौं । यसमा ८ किलोवाट पिक मोटर, ४५० एम्पियर कन्ट्रोलर, १३५० वाट अनबोर्ड चार्जर, साधारण कनेक्टिभिटी, उकालो सहायता, रिजेन ब्रेकिङ, स्पिकर, क्लास–डी हेडल्याम्प र दुर्घटना वा लडेको पत्ता लगाउने प्रविधि फल डिटेक्सन जोडिएको हुन्छ ।
यदि ३.७ किलोवाट आवर मोडलमा सुपेरियर कनेक्टिभिटी जोड्ने हो भने २५ हजार, ५० किलोमिटरको रेन्ज एक्सटेन्डर जोड्ने हो भने ९० हजार ६००, क्रुज कन्ट्रोल जोड्ने हो भने ५ हजार र रिजेन टेल लाइट जोड्ने हो भने २ हजार ५०० रुपैयाँ खर्चिनुपर्छ । टायरको हावा मापन गर्ने प्रणालीका लागि थप ३ हजार ७५० रुपैयाँ तिनुपर्छ । यी सबै फिचर्स थप्ने हो भने यो भेरियन्टको मूल्य ५ लाख ६२ हजार ८३० रुपैयाँसम्म पुग्छ ।
अब पालो, ४ लाख ९९ हजार ९०० पर्ने ५.२ किलोवाट आवर पीटू भेरियन्टको । यसमा १० किलोवाट पिक मोटर, ४५० एम्पियर कन्ट्रोलर, १३५० वाट अनबोर्ड चार्जर, सुपेरियर कनेक्टिभिटी, माउन्टेन होल्ड, क्रुज कन्ट्रोल, क्लास–डी हेडल्याम्प, लडेको पत्ता लगाउने प्रविधि, रिजेन टेल लाइट, चोरी नियन्त्रण प्याक दिइएको हुन्छ ।
यदि १.८ किलोवाट आवर रेन्ज एक्सटेन्डर जोड्ने भने थप ९० हजार ६०० रुपैयाँ थप्नुपर्छ । २००० वाटको फस्ट चार्जर फेसिलिटी जोड्ने हो भने २९ हजार, ड्यास प्याक, मिचेलिन टायर, टायरको हावा मापन गर्ने प्रणाली र ८ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी सुविधा लगायत जोड्ने हो भने सबै थप फिचर्ससहित कुल मूल्य ६ लाख ४९ हजार ३४० रुपैयाँसम्म पुग्छ ।
फिचर्स के छन् ?
पीटूको प्रतिस्पर्धी मानिएको एथर ४५० एक्समा यस्तो मल्टिअप्सनमा फिचर्स थप्ने सुविधा छैन । एथर ४५० एक्सले तोकेको निर्धारित प्याकेजमा मात्र थप सुविधा दिन्छ । यात्रीले भने ग्राहकलाई आफूलाई नचाहिने सुविधाको पैसा तिर्न नपर्ने गरी आफ्नै इच्छा अनुसार बनाउने सुविधा दिएको छ ।
यात्रीमा ३१५ न्यूटन मिटर टर्क र मिड–ड्राइभ मोटर सुविधा छ । सामान्य इलेक्ट्रिक स्कुटरमा हब मोटर हुन्छ, जुन पछाडिको चक्कामै जडान गरिएको हुन्छ ।
तर, यात्री पीटूमा स्कुटरको बीचमा रहने ‘मिड–ड्राइभ मोटर’ प्रयोग गरिएको छ, जसले ३१५ न्यूटन मिटरको उच्च टर्क दिन्छ ।
मिड–ड्राइभ मोटरले सवारीको तौललाई सन्तुलित राख्छ र कठिन उकालो बाटोमा उत्कृष्ट कन्ट्रोल र पावर दिन्छ । ३१५ न्यूटन मिटर पावरको ह्विल टर्कले यसलाई निकै शक्तिशाली बनाउँछ । कठिन उकालाहरुमा पछाडि मान्छे राखेर पनि स्कुटर सजिलै चलाउन सकिन्छ । भारी लोड बोकेर उकालो चढ्दा मोटर तातेर पावर घट्ने समस्या यसमा हुँदैन । तपाईंले पिकअपका लागि पर्खनु पर्दैन ।
पीटूमा भएको अर्को सुविधा हो, अनबोर्ड चार्जर । प्रायः विद्युतीय स्कुटर चलाउँदा ठूलो र गह्रौं चार्जर एडाप्टर डिकीमा बोकेर हिँड्नुपर्छ, जसले गर्दा डिकीको ठाउँ भरिन्छ र सामान राख्न पाइँदैन । यात्री पीटू मा १३५० वाटको चार्जर स्कुटरभित्रै जडान गरिएको छ ।
तपाईंले मात्र एउटा सानो तार बोके पुग्छ । घर, पसल वा कसैको घर जहाँ गए पनि सामान्य सकेटमा तार जोडेर २.५ घण्टामै स्कुटर फुल चार्ज गर्न सकिन्छ । यसले डिकीको भाग बढाउन मद्दत गरेको छ ।
पीटूमा १४–इन्चको ठूलो ह्विल पनि छ । नेपालका सडकहरु खाल्डाखुल्डी, हिलो र कच्ची बाटोले भरिएका छन् । प्रायः स्कुटरमा १० वा १२ इन्चका साना चक्का हुन्छन्, जसका कारण खाल्डोमा गुड्दा तल ठोकिने वा लड्ने जोखिम हुन्छ । पीटूमा १४–इन्चको ठूलो चक्का भएकाले खाल्डाखुल्डी र कच्ची बाटोमा पनि स्कुटर तल ठोकिँदैन, यात्रा निकै सन्तुलित हुन्छ । यसले ग्राउन्ड क्लेयरेन्स बढाउन सघाएको छ ।
सुरक्षाका लागि डुअल डिस्क कम्बाइन्ड ब्रकिङ सिस्टम सुविधा पनि छ । अगाडि २४० एमएम र पछाडि २२० एमएमका भेन्टिलेटेड डिस्क ब्रेकहरु राखिएका छन् । यसले गर्दा इमर्जेन्सी ब्रेक लगाउँदा स्कुटर नचिप्ली सुरक्षित रूपमा रोकिन्छ । नेपालको खराब सडकको धक्का सहनसक्ने गरी बनेको च्याचिससहित लङ–ट्राभल सस्पेन्सन जोडिएको छ ।
पीटूमा माउन्टेन होल्ड र हिल–होल्ड असिस्ट सुविधा पनि छ । उकालो बाटोमा वा ट्राफिक जाममा स्कुटर रोक्नु पर्दा पछाडि गुढ्ने डर हुन्छ । यस्तो अवस्थामा ब्रेक र एक्सेलेटर एकैपटक सम्हाल्न गाह्रो हुन्छ । माउन्टेन होल्ड सुविधाले उकालोमा स्कुटर रोकिँदा ब्रेक नथिचे पनि स्कुटरलाई पछाडि सर्न दिँदैन । यसले गर्दा चालकले दुवै हात स्वतन्त्र राख्न वा नआत्तिईकनै उकालोमा बाइक अगाडि बढाउन सक्छन् ।
पीटूको अर्को फिचर्स हो, मल्टिलेभल रिजेनेरेटिभ ब्रेकिङ । यो प्रविधिले ओरालो झर्दा वा ब्रेक थिच्दा खेर जाने ऊर्जालाई यो प्रविधिले पुनः बिजुलीमा बदलेर ब्याट्री चार्ज गरिदिन्छ । यसले गर्दा ओरालो बाटोमा यात्रा गर्दा ब्याट्रीको रेन्ज स्वतः थपिन्छ र ब्रेक प्याडको आयु पनि लामो हुन्छ ।
अर्को सुविधा छ, प्रोक्सिमिटी डिटेक्सन र कि–लेस प्रविधि । यसले बाइक स्टार्ट गर्न चाबी झिक्नुपर्ने झन्झट पूर्ण रुपमा हटाउँछ । स्टार्ट बन्द गरेपछि स्वतः लक हुन्छ । यसले दैनिक हतारको समयमा ठूलो राहत दिन्छ ।
पी टूमा टच स्क्रिन, वायरलेस एप्पल कार–प्ले र एन्ड्रोइड अटोको सुविधा पनि छ । यसले सवारी चलाउँदा मोबाइल हातमा समातेर वा ह्यान्डलबारमा होल्डर राखेर म्याप हेर्नु पर्ने अवस्था हटाउँछ । पीटूको ७ इन्चको ठूलो
स्क्रिनमै तपाईंको नेभिगेसन र आफ्नो मोबाइलमा आएको फोन देख्न सकिन्छ ।
अर्को फिचर्स हो, फल डिटेक्सन र चोरी नियन्त्रण प्रणाली । यदि यात्राको क्रममा स्कुटर दुर्घटना भएर लड्यो भने फल डिटेक्सन प्रविधिले तुरुन्तै थाहा पाए संकेत गर्छ । त्यस्तै चोरी नियन्त्रण प्रविधिले स्कुटर चोरी हुन खोजेमा वा अनाधिकृत व्यक्तिले चलाउन खोजेमा मोटर लक गरिदिन्छ र मोबाइल एपमा तुरुन्त अलर्ट पठाउँछ । मोबाइल एपमार्फत लाइभ ट्र्याकिङ, चार्जर डेटा, रुट प्लानिङ प्रणाली उपयोग गर्न सकिन्छ ।
नेपालको सडकमा गुड्नका लागि पीटू स्कुटरमा कत्तिको पावर छ अनि यसले एक पटकको चार्जमा कति टाढासम्म लैजान्छ त ?
नेपालका सडकहरु समथर मात्र छैनन्, काठमाडौंका गल्लीदेखि पहाडी क्षेत्रका कडा उकालाहरु हाम्रा यात्राका हिस्सा हुन् । यात्री पीटूमा ३१५ न्यूटन मिटर टर्क उत्पादन गर्ने क्षमताको मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ ।
मिड–ड्राइभ मोटरले हब मोटरको तुलनामा बढी सन्तुलन र भारी उकालोमा पनि नरोकिकन निरन्तर पावर दिन्छ । यसको ३१५ न्यूटन मिटर टर्क नेपाली सडकका लागि निकै शक्तिशाली मानिन्छ ।
पीटूको प्रतिस्पर्धी एथरको ४५० एक्समामा ६.४ किलोवाटको मोटर र २६ न्यूटन मिटरको टर्क छ । एथर सहरका लागि निकै फुर्तिलो र गति लिने क्षमता राम्रो भएको स्कुटर हो । तर, अत्यधिक कडा उकालो वा धेरै लोड भएको अवस्थामा यात्री पीटूको मिड–ड्राइभ सेटअप र उच्च टर्क अझ बढी प्रभावकारी देखिन्छ ।
पीटूको अधिकतम स्पीड ९० किमी प्रति घण्टा छ । चालकको आवश्यकता अनुसार यसमा सुस्त, ठिक्क र बब्बाल गरी तीनवटा राइडिङ मोडहरु उपलब्ध छन् । लगातार उकालो चढ्दा वा भारी लोड बोक्दा मोटर र कन्ट्रोलर तात्तिएर पर्फर्मेन्स घट्ने समस्यालाई रोक्न यसमा एक्टिभली कुल्ड हाई–पावर कन्ट्रोलर प्रयोग गरिएको छ ।
अर्को महत्वपूर्ण कुरा चक्का र ग्राउन्ड क्लियरेन्स हो । यात्री पीटूमा १४–इन्चको ठूलो चक्का राखिएको छ । ठूलो चक्का हुनु भनेको खाल्डाखुल्डी, हिलो र कच्ची बाटोमा स्कुटर नठोकिनु हो । यसले बाइक चलाउँदा उत्कृष्ट सन्तुलन दिन्छ ।
एथर ४५० एक्समामा १२–इन्चको चक्का छ । चिल्लो र सफा सहरी सडकमा १२ इन्चको चक्काले उत्कृष्ट यात्रा अनुभव दिए पनि नेपालका खाल्डाखुल्डीयुक्त बाटोमा १४ इन्चको चक्का भएको पीटू बढी भरपर्दो हुन्छ ।
अब कुरा आयो, चार्जिङ प्रविधिको । विद्युतीय सवारी साधनमा चार्जिङ झन्झटको विषय हो । यसमा यात्री पीटूले केही नवीन प्रविधि इन्ट्ड्युस गरेको छ । यसमा १३५० वाटको अनबोर्ड चार्जर छ । तपाईंले डिकीमा ठूलो र गह्रौं चार्जर बोकिरहनु पर्दैन । सामान्य तार जोडेर घरमै फुल चार्ज गर्न सकिन्छ । एथर ४५० एक्समा भने होम चार्जर छुट्टै बोक्नुपर्ने हुन्छ, जसले समय पनि अली बढी लिन्छ ।
घरमै राखिएको सामान्य सकेटबाट पनि पीटूलाई २.५ घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । बाटोमा यात्रा गर्दा फास्ट चार्जिङ नेटवर्कमार्फत १० देखि ८० प्रतिशतसम्म मात्र ४१ मिनेटमा चार्ज गर्न सकिन्छ । देशभरका विभिन्न शहर राजमार्गमा पीटूले ३५ वटा चार्जिङ स्टेसन तयार गेर नेटवर्क स्थापित गरेको छ ।
अब कुरा रह्यो वारेन्टी र सेवाको । सवारी किनेपछि त्यसको टिकाउपन र वारेन्टीले मात्रै ग्राहकलाई ढुक्क बनाउँछ । यात्री पीटू बेस भेरियन्टमा ३ वर्ष वा ३० हजार किलोमिटरसम्मको सिप्रदी यात्री केयर स्ट्यान्डर्ड नयाँ सवारी वारेन्टी दिइएको छ । साथै ब्याट्री प्याकमा ५ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ
पीटूको माथिल्ला भेरियन्टहरुमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको विस्तारित ब्याट्री वारेन्टी समावेश गरिएको छ, जसले ग्राहकलाई लामो समयसम्म ब्याट्रीको चिन्ताबाट मुक्त बनाउँछ । एथरको ४५०एक्समा सामान्यतया ३ वर्ष वा ३० हजार किलोमिटरको ब्याट्री र सवारी वारेन्टी प्रदान गरिएको हुन्छ ।
पीटूले धेरैवटा कलर अप्सन पनि दिएको छ । यात्री पीटूलाई नेपालका प्राकृतिक सौन्दर्यबाट प्रेरित ६ वटा आकर्षक रङहरुमा किन्न सकिनेछ । मुस्ताङ डेजट, एभरेस्ट स्नो, सौराह मिस्ट, अन्नपूर्ण स्ट्रोम, चुरे थन्डर, कालापत्थर मिडनाइट ।
कम्पनीका अनुसार आगामी अक्टोबरको पहिलो हप्तादेखि काठमाडौंको टेकुस्थित एक्सपिरियन्स सेन्टरमार्फत ग्राहकले पीटूको हेर्न, टेस्ट राइड र बुकिङ गर्न सक्नेछन् ।
नाडा अटो शोमा अग्रिम बुकिङ गरिसकेका ग्राहकहरुलाई अक्टोबरको मध्यदेखि नोभेम्बर महिनाभित्र ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर भेरियन्टको डेलिभरी दिन थालिनेछ । डिसेम्बर देखि भने स्कुटरका सबै भेरियन्टहरुको नियमित हस्तान्तरण उपलब्ध हुने कम्पनीले जनाएको छ
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?
उद्योगमन्त्री राजीनामाको कारण ग्यास मात्रै हैन, चिनी पनि
अराजकताको शिकार बनेको म्युजियम होटल







