भोटेकोशी बाढीले बीमा कम्पनीमाथि अर्बौंको भार, कसरी तिर्छन् पैसा ?
भोटेकोशी बाढीको असर नेपाली बीमा क्षेत्रमा पनि ठूलो छ ।
बीमा गरेका अर्बौंका सम्पत्ति बाढीले क्षति गरेको छ । बाढीले बगाएका मोटर गाडी, चीनबाट लोड भएर आएका सामान र व्यवसायहरुको क्षतिमा बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने हुन सक्छ ।
बीमा गरिएका व्यक्तिका निजी घर, पसल, होटल, व्यापार–व्यवसाय र जलविद्युत आयोजनाहरुको पनि भुक्तानी गर्नुपर्ने छ ।
यो घटनाले नेपालको बीमा कम्पनीको ब्यालेन्स सिटमा नै असर पार्ने निश्चित छ । गत वर्ष मात्र जेनजी आन्दोलनमा भएको आगजनीका कारण पनि बीमा कम्पनीले ठूलो रकम भुक्तानी गर्नुपरेको थियो । लगत्तै अर्को वर्ष भोटेकोशी बाढीले बीमा कम्पनीलाई थप समस्यामा पारेको छ ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज १२ गतेसम्म बीमा कम्पनीहरुमा परेको दाबीको एकमुष्ट विवरण अनुसार अहिलेसम्म विभिन्न १८ वटा बीमा कम्पनीमा २१ सय ८० वटा बीमा दाबी परेको छ ।
अनि २० अर्ब ९८ करोड ८७ लाख १२ हजार रुपैयाँ रकम दाबी गरिएको छ । यसमा ब्यक्तिको जीवनबीमा, गाडीको बीमा, पसल वा व्यवसायको बीमा, बैंकमा रहेको पैसाको बीमा सबैथरि बीमा परेका छन् ।
दाबी गरेकोमध्ये अहिलेसम्म जम्मा ६७ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ ।
सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीमा १५९ वटा बीमितले ६ अर्ब २७ करोड ५१ लाख ३९ हजार रुपैयाँ दाबी गरेका छन् ।
सानिमा जीआईसी इन्स्योरेन्समा २४२ बीमितले ३ अर्ब ५० करोड ७९ लाख रुपैयाँ दाबी गरेका छन् ।
शिखर इन्स्योरेन्समा ४०१ बीमितले २ अर्ब ९९ करोड र सगरमाथा इन्स्योरेन्समा २०७ बीमितले १ अर्ब ९३ करोड दाबी गरेका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २०५ बीमितले १ अर्ब १२ करोड र नेको इन्स्योरेन्समा २२२ जना बीमितले १ अर्ब १ करोड रुपैयाँको दाबी गरेका छन् । अरु बीमा कम्पनीमा १ अर्ब रुपैयाँ भन्दा कम रकम दाबी परेको छ ।
बीमा प्राधिकरणका अनुसार सम्पत्तिको बीमामा ९ अर्ब ४१ करोड रुपैयाँ दाबी परेको छ । १६५ इन्जिन तथा ठेक्का जोखिमको बीमामा ४ अर्ब ४१ करोड ४५ लाख दाबी परेको छ । मोटर बीमामा ३ अर्ब ७ करोड रुपैयाँको दाबी परेको छ । मोटर बीमामात्रै १०६६ वटा छ ।
परिवहन बीमामा २ अर्ब ४८ करोड रुपैयाँ, अन्य बीमामा १ अर्ब ३६ करोड रुपैयाँ र स्वास्थ्य बीमामा २२ करोड रुपैयाँ दाबी परेको छ ।
भोटेकोशी बाढीबाट भएको क्षतिको अनुपातमा दाबी भुक्तानी ज्यादै न्यून हो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक मूल्यांकनमा करिब ७ खर्बको भौतिक क्षति भएको छ ।
तर बीमाको दाबी २१ अर्ब रुपैयाँ हाराहारी मात्र छ ।
यसको दुईवटा कारण छन् । पहिलो त, क्षतिको दाबी अझै आउन बाँकी छ । बाढीका कारण धेरै मानिस बेपत्ता भएका छन् । जोगिएकाहरु पनि ट्रमामा छन् । उनीहरुले अहिले नै बीमा दाबी गर्न सक्ने अवस्था छैन । बीमा दाबीका लागि उनीहरुसँग कागजात पनि छैन ।
दोस्रो कारण हो, धेरै सम्पत्तिको बीमा नै भएको छैन । भोटेकोशी बाढीमा धेरै सरकारी सम्पत्ति नष्ट भएको छ, नेपालमा सरकारी सम्पत्ति बीमा गर्ने चलन नै छैन । अनि निजी सम्पत्ति पनि बीमा गर्नुपर्छ भन्ने चेतना छैन ।
अझ रसुवा नुवाकोटजस्तो विकट र ग्रामीण इलाकामा सम्पत्ति बीमा गर्न धेरै मानिसले आवश्यक नै ठान्दैनन् । बैंकबाट ऋण लिन वा अरु कुनै व्यवसाय गर्न बीमा गर्नैैपर्ने बाध्यता भएमा मात्र मानिसले सम्पत्तिको बीमा गर्छ ।
भोटेकोशी बाढीमा बीमा कम्पनीलाई असर गर्ने प्रमुख वस्तु हो, मोटर गाडी । चीनबाट सामान लिएर फर्केका र सामान लिन जाँदै गरेका धेरै गाडीहरु बाढीमा परेका छन् । अनि दशैंका लागि व्यापारीहरुले चीनबाट आयात गरेका सामानहरु पनि धेरै छन् ।
दशैंलाई नै लक्षित गरेर नेपालमा गाडीहरुको पनि ठूलो व्यापार हुन्छ । साउन र भदौमा नेपालमा दुईवटा अटो मेला भएका थिए । त्यहाँ बुकिङ भएका धेरै गाडीहरु ब्यापारीले चीनबाट ल्याइरहेका थिए ।
अनि अर्को ठूलो क्षति हो, जलविद्युत आयोजना । निजी क्षेत्रका आधा दर्जन भन्दा बढी आयोजना त्रिशुली बेसिनमा थिए । ती आयोजनाको बीमा रकम करोडौं मूल्यका छन् ।
बीमा प्राधिकरणका अनुसार बीमा दाबीमा हदम्याद हटाइएको छ । हदम्याद कै आधारमा बीमा कम्पनीहरुले दाबी लिन्न भन्न पाउँदैनन् ।
प्रारम्भिक अवस्थामै २१ अर्ब रुपैयाँको दाबी । नेपालको बीमा क्षेत्रका लागि यो दाबी सानो रकम होइन ।
गत वर्ष जेनजी आन्दोलनपछि बीमा कम्पनीहरुमा ८४ अर्ब रुपैयाँको दाबी परेको थियो । त्यतिबेला पनि इन्स्योरेन्स कम्पनीहरुले दाबी भुक्तानीमा ठूलो रकम खर्च गर्नुपरेको थियो । त्यसको क्षतिपूर्ति हुन नपाउँदै पुनः अर्को विपत्तिले इन्स्योरेन्स कम्पनीहरुलाई अर्को धक्का दिएको छ ।
अब मूख्य प्रश्न बीमा कम्पनीहरुले यो दाबी कसरी भुक्तानी गर्छन् भन्ने हो । बीमाको मुख्य उद्देश्य नै जोखिम बहन हो । जीवन बीमा होस्, मोटर बीमा होस् वा अरु सम्पत्ति । सामान्य अवस्थामा कसैलाई पनि बीमाको आवश्यक पर्दैन । तर भविष्यमा केही जोखिम आइहाल्यो भने थोरै भए पनि राहत होस् भनेर बीमा गरिएको हुन्छ ।
तर, नेपालमा कुनै कारणले बीमा गरेको सम्पत्तिमा क्षति भयो भने बीमाको रकम लिन धेरै नै अप्ठेरो छ । व्यवसायमा क्षति पुगेपछि बीमाको पैसा लिन निकै पापड बेल्नुपरेको अनुभव धेरै व्यवसायीसँग छ । कतिपयले त पाउनै सकेका छैनन् ।
गत वर्ष जेनजी आन्दोलनकै कुरा गर्ने हो भने ८४ अर्ब रुपैैयाँको दाबी परेकामा अहिलेसम्म ६ अर्ब ५६ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ । त्यसैले भोटेकोशी बाढीमा क्षति व्यहोर्नेहरुले बीमाको रकम पाउलान् त भन्ने प्रश्न उठेको छ ।
किनकी यहाँ त बीमा गरिएका सम्पत्तिको प्रमाणसमेत देखाउन मुश्किल छ । जीवन बीमा गरेका मान्छेहरु बेपत्ता भएका होलान्, उनीहरुको मृत्युको घोषणा हुन सकेको छैन । बीमा गरेका मोटर, ट्रकहरु बाढीले बगाएर कहाँ पुर्यायो थाहै छैन ।
जलविद्युत आयोजना, होटलजस्ता स्थिर सम्पत्ति अर्थात जमिनमा रहेका व्यवसाय पनि बाढीले पुरेर बगर भएको छ । अहिले खोज्न जाँदा त्यो सम्पत्ति कहाँ थियो भनेर देखाउन पनि मुश्किल पर्छ । रेकर्ड राख्ने स्थानीय तह र वडा कार्यालयहरु नै बाढीमा बगेका छन् ।
भोटेकोशी बाढीपछि बीमाको दाबी भुक्तानीमा अप्ठेरो पर्न सक्ने देखेर सरकारले केही सहज बनाउने प्रयास भने गरेको देखिन्छ । बीमा प्राधिकरणले रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि नै ल्याएको छ ।
यो कार्यविधिको उद्देश्य हो, भोटेकोशी–त्रिशुली बाढीका कारण रसुवा र नुवाकोट, धादिङ, गोरखा, चितवन जिल्लामा व्यवसाय, सम्पत्ति, सवारी साधन, व्यापारिक मौज्दात र मानवीय क्षतिको भुक्तानी सहज बनाउने हो ।
बाढीपछि परेको बीमा दाबीलाई छिटो, सजिलो, पारदर्शी र व्यवस्थित बनाउन यो कार्यविधि ल्याएको भनेको छ ।
कार्यविधिमा के छ ?
बीमा गर्ने व्यक्तिसँग बीमा गरेको सम्पत्ति छैन, बीमा गरेको प्रमाण पनि छैन, अनि आफ्नै पनि नागरिकता लगायत परिचय खुल्ने सरकारी कागजात छैन ।
यस्तो अवस्थामा कसरी बीमाको दाबी गर्ने ? कार्यविधिले यसको बाटो खोलेको छ ।
बीमा गर्ने व्यक्तिले रसुवा बाढीका कारण भएको क्षतिको दाबी गर्दा लिखित निवेदन मात्र होइन, मौखिक निवेदन र अनलाइनबाट निवेदन दिन पनि मिल्छ । बीमा गर्र्ने व्यक्तिले सूचना दिएपछि बीमा कम्पनीले नै विस्तृतमा खोजी गरेर उनीहरुको सम्पत्तिको बीमाको अभिलेख नम्बर दिनुपर्छ ।
सर्वेयरको मूल्यांकन
बीमा गर्ने व्यक्तिले आफ्नो सम्पत्ति क्षति भयो भनेर दाबी गर्ने एउटा कुरा हो । व्यक्तिले जति दाबी गर्यो, बीमा कम्पनीले त्यसलाई मान्यता दिँदैन । दाबी परिसकेपछि बीमा कम्पनीहरुले दाबी गरेजति नै क्षति भएको हो कि होइन भनेर आफैं सर्वेयर खटाएर मूल्यांकन गराउँछ ।
बीमा कम्पनीबाट सर्वेयर खटिएर मूल्यांकन गरेपछि मात्र क्षतिको वास्तविक विवरण आउँछ । तर भोटेकोशी बाढीमा सर्वेयरलाई काम गर्न सहज छैन । सामान्य अवस्थामा जस्तो बीमा गरेको गाडी दुर्घटना भएको वा घर भत्किएको अवस्था होइन ।
यहाँ त गाडी बगाएर कहाँ पुर्यायो थाहा छैन, त्यसको अस्तित्व नै अहिले देखिँदैन । घर, सम्पत्ति र व्यवसाय रहेको ठाउँ बगरले छोपेको छ । अर्थात् जे को बीमा गरेको छ, त्यसको भौतिक अस्तित्व नै नदेखिने अवस्था छ, अब सर्वेयरले कसरी गर्ने स्थलगत निरीक्षण ?
यो कार्यविधिले सर्वेयरको काममा पर्ने अप्ठेरो पनि फुकाइदिएको छ । भौतिक क्षतिको तत्काल निरीक्षण र मूल्यांकन गर्न सम्भव छैन भने फोटो, भिडियो, बीमितसँग रहेको अभिलेख वा सरकारी अभिलेख हेरेका आधारमा पनि क्षति मूल्यांकन गर्न सकिनेछ ।
यसको मतलब मोवाइलमा भएको फोटो, भिडियो वा सवारी दर्ता प्रमाणपत्र, लालपूर्जा, कम्पनी दर्ताको प्रमाणपत्र, अडिट रिपोर्ट, कर तिरेको प्रमाणपत्र आदि कागजातका आधारमा पनि सर्वेयरले क्षतिको मूल्यांकन गर्न सक्नेछ । यसरी क्षतिको मूल्यांकन संकलन गरेपछि सर्वेयरले अन्तिम क्षति मूल्यांकन प्रतिवेदन बीमा कम्पनीमा बुझाउनेछ ।
तर ५ लाखसम्मको दाबी छ भने बीमा कम्पनीले सर्वेयरलाई मूल्यांकन नगराई पनि भुक्तानी दिन सक्नेछ ।
सर्वेयरले क्षतिको अन्तिम मूल्यांकन पेश गरेर बीमा वापत पाउने रकम निर्धारण भएपछि बीमा कम्पनीले आधा पैसा दिइहाल्नुपर्छ ।
सर्वेयरले प्रतिवेदन बुझाएपछि बीमा गर्ने व्यक्तिले कसरी पैसा पाउँछ त ?
सामान्यतया बीमाको पैसा दिन बीमा गरेको कागज नभइ हुन्न । तर रसुवा बाढीमा बीमा गरेको कागज हराएको हुन सक्छ । त्यसैले मोटर बीमा छ भने मोटर चिनिने फोटो चाहियो । यसमा नम्बर प्लेट हुन सक्छ, वा नाम हुन सक्छ । सम्भव भएसम्म इन्जिन र च्याचिस नम्बर देखिने फोटो चाहिन्छ भनेको छ, तर यसलाई पनि अनिवार्य गरेको छैन ।
सवारी साधन रसुवा बाढीमा परेको वा क्षति भएको भनेर सरकारी निकायले पुष्टि गरेको कागज भने अनिवार्य चाहिन्छ । गाडीको ब्लुबुक वा ब्लुबुक छैन भने यातायात कार्यालयको दर्ता किताबको फोटोकपी चाहिन्छ ।
अनि बीमाको पैसा दिँदा बीमा कम्पनीहरुले एउटा स्वघोषणा कागजमा हस्ताक्षर गराउँछन् । त्यसमा आफ्नो मोटर गाडी कसरी बाढीमा हरायो भनेर सत्य तथ्य विवरण लेख्नुपर्छ । भविष्यमा त्यो स्वघोषणा गलत ठहरियो भने आफूले लिएको पैसा बीमा कम्पनीलाई फिर्ता गर्छु भनेर कबुलियतनामा गर्नुपर्छ ।
सम्पत्ति, व्यवसाय, परियोजनाको बीमा छ भने रसुवाबाढी आउनु अगाडिसम्म त्यो सम्पत्ति कायम थियो भन्ने केही प्रमाण दिनुपर्छ ।
जस्तै भवनको नक्सापास, सम्पत्ति कर तिरेको रसिद, विजुली वा खानेपानी जडान भएको प्रमाण । त्यस्तै भ्याट फाइल वा भ्याट तिरेको रेकर्ड, बैंकमा रहेको भ्यालुएसन रिपोर्ट वा स्टक डिक्लेरेसन, अडिट रिपोर्ट आदि । यी सबै कागजात चाहिने होइन, यीमध्ये कुनै एउटा कागजात भए हुन्छ ।
व्यक्तिको जीवन बीमाको दाबी भुक्तानी लिनका लागि भने मान्छे घटना भएको समयमा बाढी गएकै स्थानमा थियो भन्ने पुष्टि गर्ने कागज चाहिन्छ ।
यसमा पनि बीमाको रकम लिने मान्छेले घटना कसरी भएको थियो भनेर सत्य तथ्य सहित स्वघोषणा गर्नुपर्छ । भविष्यमा त्यो स्वघोषणा गलत ठहरिएमा कम्पनीलाई नै पैसा फिर्ता गर्छु भनेर कबुलियतनामा गर्नुपर्छ ।
बीमा दाबी गर्ने मान्छेसँग नागरिकताजस्ता कागजातहरु ओरिजिनल भेटिएन भने फोटोकपीले पनि काम चल्छ । सरकारी निकायले दिने डिजिटल कपीबाट पनि काम हुन्छ ।
रसुवा बाढीमा चीनबाट आयात गरेका धेरै गाडीहरु पनि बगेका छन् । गाडी बिक्रेताहरुले ल्याएका ती गाडीहरु नेपालको यातायात कार्यालयमा दर्ता समेत भएका थिएनन् । ती गाडीहरु भन्सार कार्यालयको यार्डमा, बाटोमा वा गोदामहरुमै थिए । ती गाडीको हकमा के होला भन्ने प्रश्न पनि छ ।
यदि आयात गर्दैमा ती गाडीहरु नेपालका बीमा कम्पनीमा दर्ता गरेको रहेछ भने पैसा पाउँछ । त्यस्ता गाडीले भेहिकल आइडेन्टिफिकेसन नम्बर अर्थात् भीआईएनका आधारमा बीमाको पैसा पाउँछन् । तर त्यस्तो भीआईएन भविष्यमा कुनै पनि यातायात कार्यालयमा दर्ता नहुने ग्यारेन्टी भएपछि मात्र बीमा कम्पनीहरुले बीमाको पैसा दिन्छन् ।
बीमा कम्पनीहरुले बीमाको रकम दिए भने त राम्रै भयो । यदि दिएनन् भने ?
यसपटक बीमा कम्पनीले ग्राहकलाई झुलाउन पाउने छैनन् । यदि बीमाको पैसा दिन सक्दैन भने के कारण दिन नसक्ने हो, त्यसको जवाफ लिखित रुपमा नै बीमा गर्ने व्यक्तिलाई दिनुपर्छ ।
यदि दाबी गरेको रकम भन्दा थोरै रकम दिनुपर्ने भए पनि पैसा किन कटौती भयो, के आधारमा कटौती भयो भन्ने विवरण लिखित रुपमा नै बीमा गर्ने व्यक्तिलाई जानकारी गराउनुपर्छ ।
बीमा कम्पनीले कहाँबाट ल्याउँछन् पैसा ?
बीमा कम्पनीहरुले निश्चित प्रिमियममा धेरै रकमको बीमा गरेका हुन्छन् । तर बीमा गरेका धेरै सम्पत्तिको एकै पटक क्षति भयो भने बीमा कम्पनीले धेरै भुक्तानी दिनुपर्छ ।
त्यसैले बीमा कम्पनीहरुले जोखिम आफूमा मात्र सीमित राख्दैनन् । जीवन बीमा कम्पनीहरुले आफ्नोमा बीमा गरेका सम्पत्ति, व्यवसाय वा जीवन बीमाको पुनर्बीमा गरेका हुन्छन् । पुनर्बीमा भनेको बीमाको पनि बीमा हो ।
नेपालमा नै हाल दुईवटा पनुर्बीमा कम्पनी छन् । सरकारी स्वामित्वको नेपाल रि–इन्स्यारेन्स कम्पनी र निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्स कम्पनी ।
नेपालका रिइन्स्योरेन्स कम्पनी खुलेको धेरै भएको छैन । त्यसैले बीमा कम्पनीहरुले ठूला ठूला सम्पत्तिको रिइन्स्योरेन्स गर्नुपर्यो भने विदेशका पुनर्बीमा कम्पनीहरुमा गरेका हुन्छन् । तोकिएका बीमाहरुको रिइन्स्योरेन्स मात्र नेपालका कम्पनीमा गर्छन् ।
त्यसैले अहिले बीमाको दाबी भुक्तानी गर्दा इन्स्योरेन्स कम्पनी एक्लैले जोखिम बोक्नुपर्दैन । उनीहरुले रिइन्स्योरेन्स कम्पनीबाट दाबी गर्छन् र त्यहाँबाट रकम ल्याएर बीमा दाबीकर्तालाई भुक्तानी गर्छन् ।
तर, सबै इन्स्योरेन्स कम्पनीहरुले सबै पोलिसीमा पुनर्बीमा गर्छन् भन्ने छैन । उनीहरुले जोखिम नदेखेको क्षेत्रको पुनर्बीमा नगरेको हुन सक्छन् । त्यस्तो अवस्थामा उनीहरुले पुनर्बीमा कम्पनीबाट पैसा पाउँदैनन् र आफ्नै स्रोतबाट दाबी भुक्तानी गर्नुपर्ने हुन्छ ।
कतिपय इन्स्योरेन्स कम्पनीहरुले भवितव्यका लागि भनेर नियमित रुपमा निश्चित रकम छुट्याएर कोष बनाएका हुन्छन् । र ठूलो भवितव्यमा त्यस्ता कोषबाट भुक्तानी गर्छन् । त्यसले बीमा कम्पनीको नाफामा ठूलो असर पार्दैन ।
तर, रिइन्स्योरेन्स र जोखिम बहनको वैकल्पिक व्यवस्था नगरेका बीमा कम्पनीहरुलाई भोटेकोशी बाढीले एक्सपोज गर्ने सम्भावना देखिन्छ ।
भोटेकोशी बाढीको क्षति धेरै ठूलो छ । यो क्षति अरु विपदको बेलामा जस्तो छैन । जस्तै कुनै बीमा गरेको गाडी दुर्घटना भयो भने मर्मत सम्भार गरेर फेरि पनि चल्न सक्छ । बीमा कम्पनीले थोरै भुक्तानी गरेर पनि हुन्छ । तर रसुवा बाढीमा परेको गाडी शत प्रतिशत नै लस हो, अर्थात् अब त्यो गाडी भेट्ने र चलाउने सम्भावना छैन ।
स्याफ्रुवेशीमा चलिरहेको कुनै ठूलो होटलको कुरा गरौं, अब त्यो होटल मर्मत सम्भार गरेर पुन सञ्चालन गर्न सक्ने सम्भावना छैन । अझ त्यो जमिन प्रयोग गरेर फेरि होटल बनाउँछु भन्न पनि सम्भव छैन । त्यसैले बीमा कम्पनीले अधिकतम् दाबी भुक्तानी गर्ने अवस्था देखिन्छ ।
यस्ता विपत्तिहरु बीमा कम्पनीका लागि भविष्यमा व्यापार विस्तार गर्ने अवसर पनि हो । किनकी विपत्तिले मानिसहरुमा जीवन बीमा गर्नुपर्छ भन्ने चेतना विकास गराउँछ । यस्ता विपत्तिले बीमा कम्पनीहरुलाई आफ्नो जोखिम बहन क्षमता बढाउने र रिइन्स्योरेन्स गर्ने पाठ पनि सिकाउनेछ ।
भोटेकोशी बाढी बीमा कम्पनीहरुको विश्वसनीयता सिद्ध गर्ने र साच्चै बीमा गरेमा जोखिम बहन हुन्छ भन्ने पुष्टि गर्ने अवसर पनि हो । यसले ठूलो विपत्तिमा परेका नागरिकलाई राहत त दिने नै छ, भविष्यमा बीमाप्रति विश्वास पनि जगाउनेछ ।
पेट्रोल पम्पको बिजनेसमा नाफा र जोखिम कति ?
कृष्णभीर छल्न सुरूङ कि भायडक्ट ? यी हुन् ५ विकल्प
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?



-1790607905.png)



