दशैंले नेपाली अर्थतन्त्र सपार्छ कि बिगार्छ ? ७ खर्बको हिसाब–किताब
दशैं धार्मिक, साँस्कृतिक पर्वका साथै पारिवारिक मिलनको अवसर पनि हो । तर दशैं दुर्गा पूजा, बली र टीका जमराको मात्रै हैन, पैसाको पनि चाड हो ।
दक्षिणाको मात्रै कुरा हैन, दशैं नेपालको अर्थव्यवस्था चलायमान बनाउने ठूलो ‘इन्जिन’ हो । अझ भनौं, यो नेपाली अर्थतन्त्र सबैभन्दा धेरै चलायमान हुने माध्यम र समय हो ।
दशैं र तिहारको दुई महिनामा हुने आर्थिक कारोबारले मुलुकको अर्थतन्त्रलाई वर्षभरिको ऊर्जा दिन्छ । यसले शहरको पैसा गाउँ लैजान्छ । गाउँको उत्पादन बजार पुर्याउँछ ।
यो अवधिमा हुने आम्दानी, उपभोग, खर्च, नगद प्रवाह र आयातको अनुपातले नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने मात्र देखाउँदैन्, भोलिका दिनमा कता जाँदैछ भन्ने पनि संकेत गर्छ । दशैंमा नै राम्रो व्यापार छैन भने बुझ्दा हुन्छ, अर्थतन्त्रमा ठूलै समस्या छ ।
नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ नाघिसकेको छ । यसको करिब ८० देखि ८५ प्रतिशत हिस्सा उपभोगमा आधारित छ । र, त्यस कुल राष्ट्रिय उपभोगको करिब १५ देखि २० प्रतिशत खर्च दशैं र तिहारको करिब ४५ दिनको अवधिमा मात्रै हुन्छ ।
अर्थविद्हरुकै प्रक्षेपणलाई मान्ने हो भने दशैं र तिहारको सेरोफेरोमा मात्रै नेपालको बजारमा साढे ५ खर्बदेखि ७ खर्ब रुपैयाँसम्मको नगद प्रवाह र व्यापारिक कारोबार हुन्छ । यो ७ खर्ब रुपैयाँ एउटा अनुमानित अंक मात्र होइन । यसमा व्यवसायिक कारोबारको हिस्सा मात्रै ३ खर्बभन्दा बढी हुन सक्छ ।
यसभित्र लाखौं साना व्यापारीको आम्दानी, करोडौं नेपालीको बचत, राष्ट्र बैंकले छाप्ने नयाँ नोट र विदेशबाट भित्रिने अर्बौं रेमिट्यान्ससम्म जोडिएको छ ।
दशैंको मुखमा बजारमा अचानक पैसाको प्रवाह बढ्छ । यसका पछाडि विभिन्न स्रोतहरु कारणका रुपमा छन् ।
दशैंअघि नेपाल सरकार मातहत रहेका करिब ६ लाखभन्दा बढी निजामती, सेना, प्रहरी, शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीहरुले वर्षको अतिरिक्त १ महिनाको तलब बराबर दशैं पेश्की पाउँछन् । यसबाट मात्रै सरकारी कोषबाट करिब ८–९ अर्ब रुपैयाँ सीधै बजारमा आउँछ ।
निजी क्षेत्रका बैंक, वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र कर्पोरेट हाउसहरुले दिने बोनस जोड्दा यो रकम २५ देखि ३० अर्ब रुपैयाँ नाघ्छ ।
यति मात्रै हैन, विदेशमा श्रम गरिरहेका २५ लाखभन्दा बढी नेपाली युवाहरुले घरमा दशैं खर्च पठाउनै पर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक भित्रिने कुल रेमिट्यान्सको करिब २५ देखि ३० प्रतिशत रकम असोज र कार्तिक महिनामा मात्रै भित्रिन्छ । दुई महिनामा मात्रै ५ खर्बभन्दा बढी रेमिट्यान्स नेपालीका घर–घरमा पुग्छ ।
दशैंमा टीका लगाएर दक्षिणा दिने नेपालीको आफ्नै परम्परा छ । दक्षिणाका लागि नयाँ र कडकटाउँदा नोट प्रयोग गरिन्छ । राष्ट्र बैंकले हरेक वर्ष दशैं लक्षित गरेर १५ देखि ४० अर्बसम्मका नयाँ खुद्रा नोटहरु छाप्छ ।
गोल्डेन सिजन
दशैं भनेको बजारका लागि ‘गोल्डन सिजन’ हो । वर्षभरि सुनसान रहने कतिपय क्षेत्रहरु यही १५–२० दिनको व्यापारले वर्षभरिको घाटा पूर्ति गर्छन् वा नाफा कमाउँछन् ।
दशैंमा नयाँ लुगा लगाउनैपर्छ भन्ने धारणा गढेको छ । विपन्न परिवारले वर्षभरि नसकेपनि दशैंमा आफ्ना बालबच्चाका लागि कम्तीमा एकसरो नयाँ लुगा र जुत्ता अनिवार्य किनिदिन्छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार लत्ताकपडा र जुत्ता–चप्पलको कुल वार्षिक बिक्रीको ५० प्रतिशतभन्दा बढी व्यापार असोज र कार्तिक महिनामै हुन्छ । काठमाडौंका न्युरोड, असन, इन्द्रचोकदेखि लिएर पोखरा, बुटवल, नारायणगढ, इटहरी र धनगढीका बजारहरुमा यो समयमा मानिसहरुको खुट्टा राख्ने ठाउँ हुँदैन । अहिले त गाउँ–गाउँमा साना स्थानीय बजाररमा पनि दशैं लाग्छ ।
दशैं मीठो–मसिनो खाने पर्व पनि हो । यो समयमा दैनिक उपभोग्य वस्तुहरुको माग ह्वात्तै बढ्छ । दशैंमा पशुबली दिने र जसरी पनि मासु खाने परम्परा छ । उपत्यका र आसपासका क्षेत्रमा मात्रै दशैंको अवधिमा ५० हजारभन्दा बढी खसी–बोका, च्यांग्रा, राँगा र सुँगुरको खपत हुन्छ ।
दशैंका केही दिनका बीचमा मात्रै करिब ५–६ अर्ब रुपैयाँ बराबरको मासुको कारोबार हुन्छ । मासुका लागि खसीबोका, च्यांग्रा, राँगा र कुखुराको कारोबार पनि यो बेलामा पिकमा पुग्छ । अनि चामल, घिउ, तेल, चिउरा, जिरा, मरिच र मरमसलादेखि दूध दहीसम्मको कारोबार पनि यही बेलामा उच्च हुन्छ ।
पारिवारिक जमघट, साथीभाइको भेटघाट र भोजभतेरका कारण मदिरा र बेभरेजको खपत अत्यधिक हुन्छ । बहुराष्ट्रिय पेय पदार्थ कम्पनीहरु कोकाकोला, पेप्सी र स्वदेशी/विदेशी मदिरा उत्पादकहरुको वार्षिक व्यापारको ३० देखि ४० प्रतिशत बिक्री दशैं–तिहारकै बीचमा हुन्छ ।
यो बेलामा चाउचाउ, बिस्कुट, भुजिया, चिप्स जस्ता जंक फुडको बिक्री पनि बढ्छ । अर्कोतिर, टीकापछि कोसेली बोकेर आफन्तकोमा जाने परम्पराले गर्दा स्याउ, केरा, सुन्तला, अनार जस्ता फलफूलको बजार चम्किन्छ ।
दशैंलाई धेरैजसो मानिसहरुले नयाँ सामान जोड्ने शुभ साइतको रुपमा लिन्छन् । दशैं अघि आयोजना हुने नाडा अटो शोहरुले नै सवारी साधनको बजार कति तातिन्छ भन्ने संकेत गर्छ । अटोमोबाइल बिक्रेताहरुको कुल वार्षिक बिक्रीको करिब ४० देखि ४५ प्रतिशत व्यापार यही दशैं र तिहारको बीचमा हुन्छ । नयाँ मोटरसाइकल, स्कुटर र कार किन्नेहरुको शोरुममा भिड लाग्छ ।
पेश्की र बोनसको रकमले धेरैजसो मध्यमवर्गीय परिवारले घरका लागि आवश्यक विद्युतीय सामानहरु किन्छन् । टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, र स्मार्टफोनहरुको बिक्रीमा पनि दशैंमा अचाक्ली वृद्धि हुन्छ । कम्पनीहरुले पनि दशैं अफर, क्यासब्याक र उपहार योजना ल्याएर ग्राहकहरुलाई लोभ्याउँछन् ।
यात्राको मौसम
दशैंमा मानिसहरुको आवतजावत उच्च हुन्छ । काठमाडौं उपत्यकाबाट मात्रै दशैं मनाउन करिब १५ देखि २० लाख मानिसहरु बाहिरिन्छन् । यसले गर्दा लामो दूरीका बस, माइक्रो र सुमोदेखि आन्तरिक उडान भर्ने एयरलाइन्सहरुसम्मको व्यापार चुचुरोमा पुग्छ । लामो दूरीका टिकटहरु पहिले नै बुकिङ हुन्छन्, हवाईजहाजको भाडा अधिकतम विन्दुमा पुग्छ ।
अनि पछिल्लो दशकमा दशैं मनाउने शैली फेरिएको छ । लामो बिदा हुने भएकाले धेरैजसो युवा र सम्पन्न परिवारहरु घुमघाममा निस्कन्छन् । पोखरा, चितवन, मुस्ताङ, रारा, इलाम, नगरकोट जस्ता आन्तरिक पर्यटकीय स्थलका होटेलहरु भरिभराउ हुन्छन् ।
त्यसैगरी पछिल्लो सयममा विदशे पुगेर दशैं मनाउने क्रमा बढेको छ । यसले गर्दा विदेश घुम्न जानेहरुका लागि थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुबई, र इन्डोनेसियाका टुर प्याककेजहरु धेरै बिक्री हुन्छन् ।
अनि दशैंको फुर्सदमा सिनेमा हल जाने दर्शकहरुको संख्या ठूलो हुन्छ । त्यसैले चलचित्र निर्माताहरु आफ्ना ठूला बजेटका फिल्महरु दशैंकै मौका पारेर रिलिज गर्छन् । अर्कोतिर फुर्सदमा किताब पढ्ने संस्कृति बढेकाले पुस्तक पसलहरुमा पनि किताबहरुको बिक्री बढ्छ ।
यसरी दशैंमा कमाउनेहरुले पर्याप्त खर्च गर्छन् । व्यापार गर्नेहरुले मस्त कमाउँछन् । तर, दशैंको आर्थिक आयामलाई फजुल खर्च र आम्दानी मौकाको रुपमा मात्रै हेर्नु उपयुक्त हुँदैन । दशैंले नेपाली अर्थतन्त्र र सामाजिक संरचनामा थुप्रै सकारात्मक योगदानहरु दिन्छ, जसलाई हामी ‘दशैंका गुन’ भन्न सक्छौं ।
दशैंले लगाउने पहिलो गुन हो, शहरको पैसा गाउँतिर । नेपालको आर्थिक संरचना यस्तो छ कि प्रायः धन, पुँजी र रोजगारीका अवसरहरु काठमाडौं र ठूला शहरमा केन्द्रित छन् । तर, दशैं एउटा यस्तो सेतु हो, जसले शहरका बैंक र मान्छेका सिरानीमा थुप्रिएको अर्बौं रुपैयाँलाई एकैपटक देशका दूरदराजका गाउँहरुसम्म पुर्याउँछ ।
जब शहरबाट मानिसहरु गाउँ फर्किन्छन्, उनीहरुले उपहार र नयाँ नोट मात्रै लैजाँदैनन्, त्यहाँ पुगेर स्थानीय बजारमा खर्च गर्छन् । पूर्वअर्थमन्त्री रामेश्वर खनालका अनुसार दशैंले शहरको पूँजीलाई ग्रामीण क्षेत्रमा लगेर वितरण गर्छ । गाउँका साना किराना पसल, स्थानीय यातायात, र कृषि उपजमा शहरको पैसा खर्च हुन्छ ।
दशैंको अर्को गुन, ग्रामीण कृषि र पशुपालनको बजारीकरण पनि हो ।
गाउँमा वर्षभरि खसी–बोका, कुखुरा, राँगा वा तरकारी पालेर बसेका साना किसानहरुका लागि दशैं नगद आम्दानी गर्ने सबैभन्दा ठूलो अवसर हो । एउटा गरिब किसानले वर्षभरि दुईवटा खसी पालेर दशैंको बेला ३० देखि ४० हजार रुपैयाँमा बेच्छ ।
त्यो पैसाले उसले बालबच्चाको दशैंको नयाँ लुगा र घरायसी सामान र पढाइ खर्च जोहो गर्छ । तथ्यांकमा नदेखिने तर, गाउँको अनौपचारिक अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने यस्ता साना कारोबारहरुले ग्रामीण गरिबी निवारणमा अप्रत्यक्ष रुपमा ठूलो मद्दत पुर्याउँछन् ।
दशैंको अर्को गुन, हो सिजनल रोजगारी र साना व्यवसायीको पुनर्जीवन । दशैंका बेला हजारौं मानिसहरुले सिजनल रोजगारी पाउँछन् । गाउँमा कपडा सिलाउनेहरुले दशैंको एक महिना रातभर जागेर काम गर्छन् ।
यातायात क्षेत्रका चालक, सहचालक र काउन्टरका कर्मचारीहरुले दोब्बर काम गरेर अतिरिक्त भत्ता कमाउँछन् । सडक किनारमा व्यापार गर्ने खुद्रा व्यापारी, भरियादेखि डेलिभरी ब्वाइहरुले दशैंको बेला राम्रो काम पाउँछन् । शैंको मुखमा लाग्ने जात्रा, मेला र सांस्कृतिक कार्यक्रमले साना–साना व्यापारीलाई प्रणा दिन्छ । अनि वर्षभरि बेरोजार रहेका सयौंले पसल र होटलहरुमा दशैंका लागि भएपनि काम पाउँछन् ।
अब दशैं अर्थतन्त्रका बैगुनबारे पनि कुरा गरौं । दशैं अर्थतन्त्रको चम्किलो रौनक त हामी देख्टछौं, तर यसका गम्भीर, संरचनात्मक र दीर्घकालीन बैगुन अर्थात् नकारात्मक पाटोहरु पनि छन् । जसले नेपालको अर्थतन्त्रलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ ।
दशैं अर्थशास्त्रको सबैभन्दा दुःखद र भयानक पाटो भनेको हाम्रो अत्यधिक आयात निर्भरता र बढ्दो उपभोगको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको भनाइमा यदि देशभित्र आन्तरिक उत्पादन पर्याप्त हुन्थ्यो भने दशैंका कारण नेपालले ठूलो आर्थिक फड्को मार्न सक्थ्यो । तर, अहिले नेपालमा आवश्यक उपभोग्य सामान प्रायः विदेशबाट आयात हुने भएकाले दशैंको बेलामा ठूलो स्वदेशी पूँजी बाहिर जान्छ ।
हो, हामी चाड मनाउँछौं, तर त्यसको अल्टिमेट लाभ विदेशीले उठाउँदैछन् । भन्सार विभागको तथ्यांक हेर्ने हो भने दशैं लक्षित गरेर साउन, भदौ र असोज महिनामा मात्रै साढे ५ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक सामान आयात हुन्छ ।
दशैंमा हामीले लगाउने नयाँ कपडादेखि चढ्ने गाडीसम्म । खाने चामल र मरमसलादेखि काटिने खसीसम्म । पूजा गर्ने अबिरदेखि चढाउने फलफूल र मालाससम्म । दशैंमा हामीले किन्ने प्रायः सबैजसो कुरा आयातित हुन्छन् । यसको सीधा अर्थ हो, दशैंमा नेपालीले गर्ने ७ खर्बको खर्चको करिब ७० प्रतिशतभन्दा बढी हिस्सा सीधै भारत, चीन र अन्य मुलुकका उत्पादकहरुको खल्तीमा पुग्छ ।
खासमा दशैं उपभोगको पर्व त हो, तर यसले मुलुकको उत्पादन क्षमतालाई भने केही साताका लागि लगभग ‘शून्य’ बनाइदिन्छ । दशैं सुरु हुनासाथ धेरैजसो उद्योग, कलकारखाना, निर्माण कार्य र सरकारी कार्यालयहरु ५ देखि १० दिनका लागि पूर्ण रुपमा बन्द हुन्छन् । श्रमजीवी वर्ग र कामदारहरु गाउँ फर्किने भएकाले राष्ट्रिय गौरवका आयोजनाहरु, सडक निर्माण, र जलविद्युत् आयोजनाको काम ठप्प हुन्छ ।
जुन समयमा उपभोग र खर्च अत्यधिक हुन्छ, त्यही समयमा उत्पादन भने शून्य प्रायः हुन्छ । यसले मुलुकको व्यापार घाटा अर्थात् ट्रेड डिफिसिटलाई अझै बढाउन भूमिका खेलेको छ ।
अनि दशैंले ऋण र आर्थिक भर पनि थप्छ । दशैं समाजमा हुनेखानेका लागि उत्सव र रमाइलोको बाटो हो, तर विपन्न, गरिब र श्रमजीवी वर्गका लागि यो ठूलो मानसिक र आर्थिक भार बनेर आउँछ ।
‘घाँटी हेरेर हाड निल्नु’ भन्ने नेपाली उखान त छ, तर हाम्रा कतिपय सामाजिक सांस्कृतिक बाध्यताहरु यस्ता छन्, जहाँ मानिसले नसकी–नसकी खर्च गर्नुपर्छ । छिमेकीले नयाँ टीभी वा मोटरसाइकल किन्दा वा बच्चालाई महँगो लुगा लगाइदिँदा गरिब परिवारमा हीनताबोध सिर्जना हुन्छ । गाउँघरमा साहुमहाजनबाट चर्को ब्याजको ऋण काढेर दशैं मनाउने परम्परा अझै कायमै छ ।
दशैंका केही दिन मिठो खान र राम्रो लगाउन काढिएको त्यो ऋण तिर्न गरिब किसान वा युवाले वर्षभरि पसिना बगाउनुपर्छ, वा फेरि विदेश भासिनुपर्छ । दशैंले निम्त्याउने यो ऋणको दुश्चक्रले कैयौं परिवारहरुलाई गरिबीबाट माथि उठ्न समेत असहज बनाइदिन्छ ।
अनि दशैं बजारमा माग यति बढ्छ कि आपूर्तिले त्यसलाई थेग्न धौ–धौ पर्छ । यही मौकाको फाइदा उठाएर कालोबजारी बढ्छ । दशैंको मुखमा उपभोग्य वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइन्छ ।
म्याद गुज्रेका सामानमा नयाँ लेबल लगाएर बेच्नेदेखि कृत्रिम अभाव सिर्जना गर्नेसम्मका काम हुन्छ । सार्वजनिक बसहरुले यात्रुबाट मनोमानी भाडा असुल्छन् । क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउँदा दशैंको बेला ठूला सडक दुर्घटनाहरु हुने गर्छन्, जसले कैयौं परिवारको खुसीलाई क्षणभरमै शोकमा परिणत गरिदिन्छ । त्यसैले दशैंको आर्थिक मात्रै हैन, सामाजिक मूल्य पनि महँगो छ ।
००००
समयसँगै दशैं मनाउने तरिका र यसको आर्थिक ढाँचामा ठूलो रुपान्तरण आइरहेको छ । अहिलेको दशैं हाम्रा बाजे–बज्यै वा आमा–बुबाले मनाउने दशैं भन्दा धेरै भिन्न भइसकेको छ ।
कुनै जमाना थियो, जब भारत वा सेनाबाट फर्किने लाहुरे ले घर फर्किँदा परिवारका लागि एक–दुई थान सुतीको लुगा, नुनको पोको, मट्टीतेल, र अलिअलि मरमसला बोकेर आउँथे । त्यो भारी नै परिवारका लागि वर्षभरिको ठूलो सम्पत्ति हुन्थ्यो ।
आज त्यो दृश्य पूर्ण रुपमा फेरिएको छ । अहिले खाडी, मलेसिया, कोरिया वा युरोपबाट फर्किने युवाको भारीमा कपडा मात्र होइन, ठूलो स्क्रिनको स्मार्ट टीभी, बहुमूल्य स्मार्टफोन, ब्रान्डिड अत्तर र बहुराष्ट्रीय कम्पनीका सामानहरु हुन्छन् ।
अझ शहरमा बस्ने नयाँ पुस्ताका लागि त सामान किन्न बजार धाउनुपर्ने बाध्यता पनि हटेको छ । विभिन्न ई–कमर्स प्लेटफर्महरुबाट घरमै बसेर एक क्लिकमा दशैंको किनमेल गर्न सकिन्छ ।
पहिले–पहिले दशैंमा पैसा निकाल्न बैंकमा र नयाँ नोट लिनका लागि नेपाल राष्ट्र बैंकको काउन्टरमा घण्टौं लाइन लाग्नुपथ्र्यो । अहिले त्यो परम्परालाई डिजिटल वालेट र मोबाइल बैंकिङले विस्थापित गर्नसक्ने सम्भावना बढ्दै छ । यसले नयाँ नोट छाप्न राष्ट्र बैंकले गर्नुपर्ने खर्च घटेको छ ।
गाउँघरमा पहिले दशैं आउनु महिनाअघि नै रातो माटो र कमेरो लिन टाढाको पहाड धाउनुपथ्र्यो । आज गाउँ–गाउँमा सिमेन्टका पक्की घरहरु बनेका छन्, जहाँ माटो होइन, बजारको रङ प्रयोग हुन्छ ।
गाउँका चोक–चोकमा हावामा मच्चिने लिङ्गे पिङहरु क्रमशः लोप हुँदैछन्। त्यसको ठाउँ स्थानीय क्लबहरुले आयोजना गर्ने सांगीतिक मेला, डिजे साउन्ड सिस्टम र मेसिनबाट चल्ने रोटेपिङहरुले लिएका छन् ।
दशैंको फुर्सदको समय बिताउने तरिका पनि फेरिएको छ । घरमा जुवा–तास खेलेर वा रक्सी पिएर समय बिताउनुको साटो परिवार र साथीभाइ मिलेर ३ देखि ५ दिनको ‘दशैं टुर प्याकेज’ मा घुम्न जाने संस्कृति मध्यवर्गीय नेपालीहरुमा तीव्र रुपमा विकास भइरहेको छ ।
समग्रमा भन्दा दशैं नेपाली समाजको सांस्कृतिक मुटु हो । यसले मान्छेलाई आफ्ना जराहरुसँग जोड्छ, सम्बन्धहरुलाई नवीकरण गर्छ, र जीवनमा नयाँ उत्साह भर्छ ।
आर्थिक दृष्टिकोणबाट हेर्दा दशैं ‘आर्थिक औजार’ हो, जसले केही साताका लागि भए पनि मुलुकको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउँछ, पूँजीको पुनर्वितरण गर्छ र साना किसानदेखि ठूला व्यापारीसम्म सबैको खल्तीमा नगद पुर्याउँछ ।
तर, यसको पछिल्तिर रहेको तीतो सत्यलाई हामीले बिर्सनु हुँदैन । हाम्रो दशैं अर्थतन्त्र पूर्ण रुपमा आयातित वस्वुको उपभोगमा अडिएको छ ।
हामीले दशैंमा खर्च गर्ने ७–८ खर्ब रुपैयाँमध्ये ठूलो हिस्सा देशबाहिर गइरहेको छ । यदि हामीले सधैंभरि दशैंमा खपत हुने चामम, तरकारी, खसी–बोका, फलफूल, लत्ताकपडा, जुत्ता र मसलाहरुसमेत स्वदेशमै उत्पादन गर्न सकेनौं भने दशैंले हाम्रो अर्थतन्त्रलाई चलायमान त बनाउला, तर समृद्ध बनाउन सक्दैन ।
दशैंलाई यसरी विदेशी सामान किनेर पैसा उडाउने पर्व बनाइरहन हुँदैन । यसलाई देशको मिग्र आर्थिक लाभको पर्व बनाउन आवश्यक छ । हामीले स्वदेशी उत्पादनको बिक्री, स्थानीय सीपको प्रवद्र्धन र पुँजीको उत्पादनमूलक प्रवाहसँग जोड्न सक्यौं भने मात्रै साँच्चिकै दशैंले नेपाली अर्थतन्त्रलाई दिगो र बैगुनभन्दा धेरै गुन लगाउन सक्छ ।
किन बन्द भयो सस्तो इन्टरनेट प्याकेज ?
दिल्लीको भन्दा धनगढीको भाडा किन महँगो ? यस्तो छ हवाई भाडाको अर्थशास्त्र
त्रिशुली बजार ब्यूँताउने योजना, सरकारी निर्णयको प्रतीक्षा
किन नजिकिँदै छन् तीतो भुलेर रवि–गगन ? गुन–बैगुनका कुरा






