नेभिगेशन
3 Minute

एमबाप्पेले माफी मागिसके, तर चीनमा उनको खेलको प्रत्यक्ष प्रशारण रोकियो

किलियन एम्बाप्पेले माओ त्सेतुङबारे गरेको टिप्पणीबाट चीन निकै रिसाएको छ । 

त्यसैले गए राति चिनियाँ सरकारी टिभी च्यानल सीसीटीभीले स्पेनिस ला लिगामा रियल मड्रिडको खेल नै प्रशारण गरेन । 

सीसीटीभीको प्यारेन्ट अर्गनाइजेसन चाइना मिडिया ग्रुपले गत मंगलबारदेखि नै स्पेनिस ला लिगाको प्रशारण स्थगित गरेको छ । 

चीनमा एमबाप्पेको पनि आलोचना भइरहेको छ । केही चिनियाँ ब्राण्डहरुले एमबाप्पेसँगको सम्झौता तोडेका छन् । 

अक्टोबर २६ मा फ्रान्सेली टक सो द ब्रिजमा एम्बाप्पेलाई कुन इन्टरनेट मिमले सबैभन्दा बढी हसाउँछ भनेर प्रश्न सोधिएको थियो । 

जवाफमा एम्बाप्पेले– एउटा भिडियो, मेरो विचारमा त्यो चाइनिज डिक्टेटरको हो । भनेका थिए । 

चिनियाँ नेता माओको र एमबाप्पेको अनुहार मिल्ने भन्दै इन्टरनेटमा मिमहरु बन्ने गरेका थिए ।

एमबाप्पेले तिनै मिमहरुलाई संकेत गरेका थिए, तर माओलाई चाइनिज डिक्टेटर भनेकामा चीनको आपत्ति थियो । चिनियाँ परराष्ट्र मन्त्रालयले चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने काम भएको भन्दै यसलाई गम्भीर रुपमा लिएको बताएको थियो । 

कम्युनिस्ट नेता माओ त्सेतुङलाई चीनमा निकै आदरपूर्वक लिइन्छ । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सिभिल वारमा जीत हासिल गरेको थियो र जनवादी गणतन्त्र चीनको स्थापना गरेको थियो । उनको सन् १९७६ मा निधन भएको थियो । 

त्यसपछि एम्बाप्पेले आफ्नो त्यो भनाइप्रति माफी मागेका थिए । उनले आफ्नो टिप्पणी अविवेकी रहेको र यसले विश्वभर रहेका चिनियाँ नागरिकलाई चोट पुर्‍याएको भन्दै माफी मागेका थिए । 

चीनको विदेश मन्त्रालयले एमबाप्पेको माफीलाई गम्भीरतापूर्वक लिएको बताएको थियो । 

चाइना मिडिया ग्रुपले ला लिगाको प्रशारणका लागि एमबाप्पे, रियल मड्रिड र ला लिगाले माफी माग्नुपर्ने शर्त राख्यो । 

एमबाप्पेसँगै रियल मड्रिड र ला लिगाले पनि माफी मागिसकेका छन् । 

तर चीनमा ला लिगाको प्रशारण अझै अनिश्चित छ । चाइना मिडिया ग्रुपले ला लिगालाई कहिलेसम्म बहिस्कार गर्ने भन्नेबारे स्पष्ट बोलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute