नेभिगेशन
3 Minute

जब पाइलटबीचको विवादले जहाज अपहरणको हल्ला फैलियो

इजरायल जाँदै गरेको एउटा जहाज अपहरणको एउटा हल्लाले सिंगो मध्यपूर्व क्षेत्र नै आतंकित भयो । 

दुबईबाट इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको जहाज साउदी अरेबियामा आकस्मिक अवतरण भएपछि विमान अपहरणको हल्ला फैलिएको थियो । 

तर यो विमान अपहरण होइन रहेछ, विमान उडाइरहेका दुई जना पाइलटबीचको विवाद भएपछि जहाजलाई आपतकालीन अवतरण गरिएको रहेछ । 

फ्लाइ दुबइको जहाज दुबई इन्टरनेशनल एयरपोर्टबाट १८० जना इजरायली नागरिकलाई लिएर तेल अबिबको बेन गुरिओन इन्टरनेशनल एयरपोर्टतर्फ जाँदै थियो । 

जब त्यो बिमान स्थानीय समय अनुसार बुधबार मध्यराति साउदी अरेबियाको उत्तरपश्चिमी क्षेत्रमा पुग्यो, त्यतिबेला दुई पाइलटबीच विवाद हुन पुग्यो र जहाजको गति र उचाइ एक्कासी घटाइयो । 

फ्लाइट राडार २४ को डेटा अनुसार यो विमानले अचानक आफ्नो उचाइ घटाएको थियो । स्थानीय समय अनुसार राति १ बजेर २० मिनेटमा ३४ हजार फिटको उचाइमा रहेको विहानले एक्कासी स्पिड कम गर्‍यो र उचाइ पनि घटायो । २ मिनेटभित्र जहाज १६ हजार ६०० फिटको उचाइमा झर्‍यो । 

त्यसपछि लगातार ७ मिनेटसम्म इमर्जेन्सी सिग्नल दियो । 

इजरायली मिडिया टाइम्स अफ इजरायलले उधृत गरेको फ्लाइट ट्रयाकिङ डेटा अनुसार जहाजले पहिला ७७०० स्कोक कोड पठाएको थियो । जसको संकेत आपतकालीन अवस्था भन्ने बुझिन्छ तर एकै छिनपछि जहाजले स्कोक कोड ७५०० पठायो । त्यसको अर्थ निकै गम्भीर थियो । 

अन्तर्राष्ट्रिय रुपमा जहाज अपहरण भयो वा गैरकानुनी हस्तक्षेप भयो भने स्कोक कोड ७५०० पठाइन्छ । त्यसैले जहाज अपहरण भएको आशंका गरिएको थियो । 

त्यसपछि जहाज साउदी अरेबियामा अवतरण गरिएको थियो । इजरायली अधिकारीहरुले विमान अपहरण नभएको बताएका छन् । इजरायली अधिकारीहरुले यो घटनालाई विमानभित्र कर्मचारीको आन्तरिक मामिला भनेका छन् । 

इजलायली सञ्चार माध्यम र अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार दुई पाइलटबीचको विवादका कारण आपतकालीन संकेतहरु सक्रिय भएको समाचार लेखेका छन् । 

विमान अपहरणको खबर सुनेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा अधिकारीसँग छलफल समेत गरेका थिए । यो घटनापछि इजरायलको वायु सेना पनि अलर्ट अवस्थामा बसेको थियो । 

तर अन्तिममा यो घटना पाइलटबीचको विवाद भएको खुलेको थियो । पाइलटहरुबीच के विषयमा विवाद थियो भन्ने चाहिँ बताइएको छैन ।

फ्लाइ दुबईले दुबईदेखि तेल अबिबसम्म दैनिक उडान सञ्चालन गर्दै आएको छ । यो हवाइ मार्ग त्यस क्षेत्रमा निकै लोकप्रिय पनि मानिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute