काठमाडौंमा रातिराति लुटपाट मच्चाउने गिरोहको कथा
जब रात छिप्पिँदै जान्छ, सडक सुनसान हुन्छ अनि प्रहरीको उपस्थिति पनि पातलो हुँदै जान्छ । त्यही मौकामा लुटेराहरुको समूह सक्रिय हुन्छ ।
यो लुटेरा समूहले जो भेट्यो उसकै र जे भेट्यो त्यही लुटेर लैजान्छ । पैसा, सुनचाँदीका गरगहना केही छाड्दैन ।
२ वटा मोटरसाइकलमा ३–३ जना चढेर हिँड्छन् । मान्छे देखेपछि पछाडि बसेकाहरु झरेर लुटपाट गरिहाल्छन् । चालकले बाइक मोडेर रेडी पोजिसनमा बस्छ, अनि लुटपाट गर्नेहरु चढेपछि मोटरसाइकल कुदाइहाल्छ ।
फेरि अर्को ठाउँमा जान्छ, त्यसरी नै लुटपाट गर्छ अनि भाग्छ । राति १२ बजेदेखि बिहान ४ बजेसम्म काठमाडौंका सुनसान सडकहरुमा उनीहरुको राज चल्छ ।
यिनीहरुले चलाएको मोटरसाइकलको नम्बर प्लेट पनि बुझिँदैन । नम्बर नदेखिने गरी हिलो छ्यापिएको हुन्छ ।
बिहान ४ बजेपछि भने उनीहरु लाखापाखा लाग्छन् । मोटरसाइकलमा चढेकाहरु ट्याक्सी र गाडी चढेर भाग्छन् ।
प्रहरीले न मान्छे चिन्छ, न मोटरसाइकल । ३ महिनादेखि काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा यो गिरोहले आफ्नो धन्दा चलाइरहेको थियो ।
माघ १५ गते बिहान बल्ल प्रहरी यो समूहका १० जनालाई पक्राउ गर्न सफल हुन्छ ।
माघ १५ गते बिहान ३ बजेतिरको घटना हो । काठमाडौंको मूलपानी क्रिकेट मैदान नजिकै चेकप्वाइन्ट बनाएर प्रहरी बसिरहेको हुन्छ ।
एउटा बाइक आइरहेको देखेर प्रहरीले रोक्न खोज्छ, तर बाइक राइडरले बेस्सरी हुइँक्याउँछ, प्रहरीलाई नै आक्रमण गरुँला झैं गरेर । प्रहरीले गोली हानेर उसलाई पक्राउ गर्छ । पक्राउ पर्ने व्यक्ति हुन् काभ्रेका विनय तामाङ ।
हो यिनै विनय तामाङ नै हुन्, काठमाडौंमा ३ महिनासम्म लुटपाट मच्चाउने गिरोहका मुख्य नाइके ।
कसरी परे पक्राउ ?
रातिमा लुटपाट बढ्न थालेपछि प्रहरी कार्यालयमा उजुरीहरु आउन थालेको थियो ।
सुनका गहना लुटिएकाहरु कानको घाउ देखाउँदै प्रहरी कार्यालयसम्म आउन थाले । त्यसपछि प्रहरीले ती ठाउँको सीसीटीभी फुटेज मगाएर हेर्यो ।
२ वटा बाइकमा ३–३ जना चढेर आउने र लुटपाट गर्ने गरेको देख्यो ।
त्यसपछि ठाउँठाउँमा चेकप्वाइन्ट राखेर निगरानी गर्न थाल्यो ।
त्यसपछि प्रहरीले माघ १४ गते साँझ ६ बजेदेखि १५ गते बिहान ३ बजेसम्म अपरेसन नै चलायो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ परेका सबै १० जना नै चोरी र लुटपाटका घटनामा यसअघि पनि संलग्न भएकाहरु छन् । कतिपय भने सजाय भोगेर फर्केपछि पनि पुनः लुटपाटमा संलग्न भएको पाइएको छ ।
यो समूह जेनजी आन्दोलनपछि संगठित भएको हो । समूहका धेरै जना दिनभरि ट्याक्सी र अरु गाडी चलाउँछन् ।
राति ९ बजे भेला हुन्छन्, सँगै खाना खान्छन् । अनि १२ बजेदेखि ४ बजेसम्म मोटरसाइकल चढेर विभिन्न टोलमा पुग्छन् । लुटपाट गर्छन् । अनि फर्किने बेलामा भने ट्याक्सी र कारमा फर्किन्छन् । जसले गर्दा उनीहरु प्रहरीको निगरानीबाट पनि बचिरहेका थिए ।
यो गिरोहको मुख्य नाइके काभ्रेको भुम्लु गाउँपालिका–३ का विनय तामाङ हुन् । जसलाई प्रहरीले पिँडुलामा गोली हानेर पक्राउ गर्यो । उनी चोरी आरोपमा भदौ २० गते पक्राउ परेर हिरासतमा थिए । भदौ २४ गते प्रहरी चौकीहरुमा भएको आक्रमणपछि हिरासतबाट फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार यो गिरोहको योजना बनाउनेदेखि अरन खटन गर्ने काम सबै विनयले नै गर्थे ।
यो समूहले सबैभन्दा धेरै भक्तपुरको थिमी एरियामा लुटपाट गरेको छ । थिमीमा १३ वटा लुटपाटको घटना गराएको जाहेरी परेको छ । त्यस्तै स्वयम्भू, लैनचौर, बुढानीलकण्ठ, बौद्ध, गौशाला क्षेत्रमा पनि धेरै लुटपाट गरेको उजुरी परेको छ । अहिलेसम्म २७ वटा उजुरी आएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
यो समूहमा विनयपछि कमाण्डरको भूमिकामा आयन माझी थिए । उनी धेरैजसो घटनामा मोटरसाइकल चालकको भूमिकामा हुन्थे । उनको गाडी पनि छ । दिउँसोको समयमा गाडी चलाएर मान्छेहरुको रेकी गर्ने गरेको पनि प्रहरीको भनाइ छ ।
अर्को बाइक चलाउने व्यक्ति सविन माझी छन् । उनी पनि डाँका चोरी कसुरमा कारबाहीमा परिसकेका मान्छे हुन् ।
यो समूहको अर्को सदस्य छन् मनिष रसाइली । उनले चोरेको गरगहना गालेर पैसा संकलन गर्ने गर्छन् ।
अर्को सदस्य छ, पेमा तामाङ । उनी दिनभरि ट्याक्सी चलाउँछन् । राति भने यही समूहसँग मिलेर लुटपाट गर्छन् ।
समूहका अरु सदस्यमा सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ छन् । उनीहरु काभ्रे, रामेछाप र सिन्धुलीका छन् ।
प्रहरीले यो समूहले प्रयोग गरेको ६ वटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीका अनुसार माघ १५ गते बिहान विनय तामाङ पक्राउ परेको समाचार आएपछि एकै दिन २७ वटा उजुरी आएको छ । उनीहरुबाट लुटपाटमा परेका अरु पनि हुन सक्ने प्रहरीको अनुमान छ ।
ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
किन राखियो बागमतीमा लहरै ड्रम ?
खोला किनारको मापदण्डबारे सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला
'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'









