नेभिगेशन
एक्सप्लेनर भिडियो

चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो

कुनै समय चितवन कांग्रेसको बलियो किल्ला थियो । 

२०५६ सालको चुनावमा चितवनको चारवटै क्षेत्रबाट नेपाली कांग्रेस निर्वाचित भएको थियो । 

२०६४ सालदेखि भने कांग्रेसले यो क्षेत्रमा आफ्नो पकड गुमाउँदै जान थाल्यो । २०६४ को संविधानसभा चुनावमा चितवनमा ५ निर्वाचन क्षेत्र थिए ।

एउटा क्षेत्र एमालेले जित्यो भने बाँकी ४ क्षेत्र माओवादीले जित्यो । 

२०७० सालको चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले २–२ क्षेत्र र राप्रपाले एक क्षेत्र जिते । 

२०७४ सालदेखि चितवनमा ३ वटा निर्वाचन क्षेत्र कायम भएको छ । त्यो निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा चितवन १ र २ एमालेले जित्यो । चितवन–३ बाट माओवादी अध्यक्ष प्रचण्डले जिते । 

२०७९ सालको चुनावमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरे । तर भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ रोजे । चितवन–१ र चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो भने चितवन–३ राप्रपाले जित्यो । 

रवि लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए । 

समानुपातिक प्रणालीमा भने रास्वपाले ३५ हजार ९४५, कांग्रेसले १२ हजार १३२ र नेकपा एमालेले १६ हजार ७८४ मत पायो । 

रविले चुनाव लड्दा पेश गरेको नागरिकता गैरकानुनी भएको सर्वोच्चको फैसलापछि उनको सांसद पद खारेज भयो । पछि पुनः नागरिकता लिएपछि रविले नै उपचुनाव लडे । त्यसपटक उनले मतान्तर झन् बढाए । 

२०८० वैशाखमा भएको उपनिर्वाचनमा रवि लामिछानेले अझै मत बढाए । उनले ५४ हजार १७६ मत ल्याएर जित्दा कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । 

चितवन–२ मा भरतपुुर महानगरपालिकाको १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । २०७४ सालदेखि स्थानीय चुनाव र आम चुनावमा समेत गठबन्धन भएका कारण नेपाली कांग्रेसले चितवनमा क्षति भोग्दै आएको छ । 

भरतपुर महानगरपालिकाको मेयरमा २०७४ र २०७९ को चुनावमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई भोट दियो । यही कारण चितवन कांग्रेसभित्र धेरै विवाद, झैझगडा र पार्टी छाड्ने काम समेत भयो । 

२०७९ सालको स्थानीय चुनावमा पनि रेनु दाहाललाई समर्थन गर्ने पार्टी निर्णय विरुद्ध नेताहरुले विद्रोह नै गरे । नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिए । भुइँकटहर चुनाव चिह्नमा ४ हजार मत पाए ।

पार्टीबाट कारबाहीमा परेपछि उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सल्लाहकार बनेका छन् । 

उपचुनावबाट निर्वाचित भएपछि पनि रवि लामिछानेले सांसदको रुपमा धेरै काम गर्न पाएनन् । सहकारीको रकम दुरुपयोगको आरोपमा मुछिए ।

चितवनकै सहारा चितवन सहकारीको रकम अपचलन गरेकामा पनि उनीमाथि मुद्दा छ । 

२०८१ चैतमा थुनामा परेका उनी ९ महिनापछि गत पुसमा मात्र रिहा भए । रास्वपा र रविले आफूमाथि राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाइएको बताइरहेका छन् । 

जनप्रतिनिधिको रुपमा रवि लामिछानेले चितवनमा धेरै काम देखाएका छैनन् । उनले आफू निर्वाचित भएको १०० दिनमा चितवन–२ मा आफ्ना कार्यकारी अधिकृत राख्ने, महिलाहरुका लागि निशुल्क बस सञ्चालन गर्ने घोषणा गरेका थिए । 

त्यस्तै ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच, नमुना विद्यालय निर्माण जस्ता कार्यक्रम घोषणा गरेका थिए । त्यो घोषणा अनुसार अरु कार्यक्रम उनले गर्न सकेनन् । चितवनमा उनले कार्यकारी अधिकृत राख्न सकेनन् । 

महिलाहरुका लागि निःशुल्क बस सेवा भने २०८० साउनदेखि सुरु गरेका थिए । नीलो रङको ३२ सिटको बसमा महिलाहरु मात्र चढ्न पाउने र उनीहरुले भाडा तिर्नु नपर्ने भनिएको थियो । 

बस कालिका नगरपालिकाको शक्तिखोरदेखि जुटपानी, खोलेसिमल, पदमपुर हुँदै भरतपुरसम्म आउँथ्यो । अहिले यो बस सेवा बन्द भइसकेको छ । रविले आफ्नो चुनाव क्षेत्रमा मोवाइल क्लिनिक चलाउने भनेर नीलो रङको एम्बुलेन्स पनि सञ्चालन गरेका थिए । तर यो एम्बुलेन्स एक वर्ष पनि टिकेन । 

यस वर्ष पनि रवि चुनाव क्षेत्रमा पुगेका छैनन् । माघ ६ गते उम्मेदवारी दर्ताको दिन उनी पर्सा जिल्ला अदालतमा थिए, त्यसैले वारेसमार्फत उम्मेदवारी दर्ता गराए । त्यसपछि पनि खुट्टामा चोट लागेकाले काठमाडौंमै छन् ।  

चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि २३ जनाले उम्मेदवारी दिएका छन् । तर प्रतिस्पर्धा रास्वपा, कांग्रेस र एमालेबीच नै हो । यो क्षेत्रमा कांग्रेस र एमालेले नयाँ उम्मेदवार उठाएको छ । 

कांग्रेसले समाजसेवीको छवि बनाएकी मीना खरेललाई उम्मेदवार बनाएको छ । एक हिसाबले यो सरप्राइज नै हो । 

उनको साइनो राजनीति भन्दा समाजसेवासँग गाढा छ । क्याम्पस पढ्दा उनले नेपाल विद्यार्थी संघबाट राजनीति गरेकी थिइन् । पछि नेपाली कांग्रेसको जिल्ला सदस्यसम्म भइन् । उनी कांग्रेसको १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि पनि हुन् । 

उनीसँग विभिन्न हिंसा पीडित, एकल महिला र अनाथ बालबालिकाको पक्षमा ३५ वर्षदेखि अनवरत काम गरिरहेको इतिहास छ ।

५४ वर्षकी मीना खरेलको समाजसेवाको यात्रा २०४९ सालमा आदर्श नारी विकास क्लबबाट सुरु भएको थियो । उनले विभिन्न हिंसामा परेमा महिलालाई सहयोग गर्ने गरी क्लब सुरु गरेकी थिइन् । 

त्यतिबेलासम्म चितवनमा सामाजिक कुरीति र महिलामाथिको उत्पीडनविरुद्ध आवाज उठाउने कुनै संस्था थिएन । 

आदर्श नारी विकास क्लबले घरेलु हिंसामा परेका र दुःख पाएका महिलाको समस्या समाधानमा सहयोग गर्ने र कानुनी सहायता दिने जस्ता काम गथ्र्यो । अनि महिलाहरुलाई सीप विकासका तालिमहरु पनि दिन्थ्यो । समयक्रमसँगै यो क्लब आदर्श नारी विकास केन्द्र नामको गैरसरकारी संस्थामा रुपान्तरण भयो । यसको कार्यालय भरतपुर महानगरपालिका–१ मा छ र, मीना निवर्तमान अध्यक्ष हुन् । 

केन्द्रले धेरै महिलालाई सिलाइ कटाइ, कफी मेकिङ, साबुन तथा मैनबत्ती बनाउने जस्ता सीप सिकाएर आत्मनिर्भर बनाएको छ ।

सीप सिकेका महिलाहरुले साना तिना आयआर्जनको काम गर्न थालेपछि त्यसलाई वचत गर्ने ठाउँको जरुरी पर्‍यो । अनि अलि ठूलो व्यवसाय गर्न चाहने महिलाहरुले बिउ पुँजी खोज्न थाले । 

त्यसपछि मिना खरेलकै अग्रसरतामा आदर्श सहकारी स्थापना गरियो । 

पीडित महिलाको पक्षमा काम गर्दागर्दै उनले सहकारी, आवास गृह, अनाथालय र मनोसामाजिक परामर्श दिने क्लिनिक पनि चलाइन् । सबै संस्थाहरु आवश्यकताका आधारमा जन्मिँदै गएको मीना बताउँछिन् । 

खरेलका अनुसार हिंसा पीडित महिलाहरु कानुनी लडाइँमा लाग्दा घर र माइती दुबै तिरबाट तिरस्कृत हुन्थे । आत्मनिर्भर नभएकाले आफ्नो छुट्टै बस्ने ठाउँ हुदैनथ्यो । उनीहरुलाई आश्रय दिने उद्देश्यले २०६६ सालमा आदर्श गृह नामको आवास गृह सञ्चालन गरिएको थियो । 

आदर्श गृहमा १५ सय जनाभन्दा बढी महिलाले आश्रय लिइसकेका छन् । संस्थाले एक हजार भन्दा बढी महिलाको निःशुल्क कानुनी लडाइ लडेको छ । एक हजार भन्दा बढीको परिवारमै पुनर्मिलन भएको छ । 

महिलाहरु कानुनी लडाइँ लडुन्जेल आदर्श गृहकै आश्रयमा बस्छन् । 

२०७६ सालदेखि आदर्श गृह नेपाल छुट्टै गैरसरकारी संस्थाका रुपमा सञ्चालन छ । हाल भरतपुर महानगरपालिका–४ मा आफ्नै भवन निर्माण गरिरहेको यो संस्थाको अध्यक्ष अहिले पनि मीना खरेल नै छिन् । 

मीनाकै अगुवाइमा हाम्रो घर नाममा अर्को पुनर्स्थापना केन्द्र पनि सञ्चालन भयो । जहाँ सडक बालबालिका र असहाय बालबालिकाहरुले आश्रय लिइरहेका छन् । 

भरतपुर महानगरपालिकाकी बासिन्दा ५४ वर्षकी मीना अविवाहित हुन् । उनले समाजशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।

समाजसेवामा लाग्दै गर्दा मीनाको बुझाइ थियो, ‘राजनीति गर्‍यो भने म सबैको हुन सक्दिन । एउटा पक्ष विशेषको मात्र हुन्छ ।’

समाजसेवाले उनलाई सबैको बनाएको पनि छ । भरतपुरमा घरायसी समस्या आइपर्दा धेरैले सम्झिने नाम हो, मीना खरेल । दुःख पाएका र हिंसामा परेकाहरु त उनकोमा आउने भइहाले । अरु पनि राय सल्लाह लिन पुग्छन् । उनले निष्पक्ष रुपमा सल्लाह सुझाव दिन्छिन् भन्ने विश्वास गर्नेहरु धेरै छन् । 

मीना खरेल राजनीतिमा धेरै सक्रिय नभए पनि राजनीतिले उनलाई खोज्दै आएको छ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने कांग्रेसले उनलाई नै टिकट दिन चाह्यो ।

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि उम्मेदवार छनोटको जिम्मा चितवन जिल्ला समितिलाई नै दिए । चितवन–२ बाट केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल र नेता विकास कोइराला आकांक्षी थिए । तर पार्टीमा विवाद नहुने र पार्टी भन्दा बाहिरको पनि भोट तान्न सक्ने ठानेर नेताहरुले मीना खरेललाई नै उम्मेदवार रोजे । 

तर आफ्नो सामाजिक छविले मीनालाई जितकै तहमा पुर्‍याउँछ कि पुर्‍याउँदैन अहिले नै अनुमान गर्न सकिन्न । 

यो क्षेत्रबाट एमाले उम्मेदवार ३८ वर्षका अस्मिन घिमिरे छन् । घिमिरे भरतपुर नगरपालिका–१२ नौरंगेका बासिन्दा हुन् । 

उनको परिवार २०५३ सालमा गोरखाको सिरानचोकबाट चितवन बसाइँ सरेर आएको थियो । विद्यालय र क्याम्पस चितवनकै पढेका अस्मिन विद्यार्थी राजनीतिबाटै एमालेमा जोडिएका हुन् । उनी युवा संघको सचिवालय सदस्यसम्म भए । अहिले भने एमालेको बागमती प्रदेश कमिटी सदस्य छन् ।

यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले प्रताप गुरुङलाई, राप्रपाले जगदिश्वर अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो