बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
बुद्ध पूर्णिमाको दिन देशभर शान्ति, करुणा र अहिंसाका कुरा भइरहँदा कतै गरिबको छानोमाथि डोजर चलिरहेको थियो। मन्दिर, गुम्बा र मञ्चहरूमा बुद्धको उपदेश सम्झिइरहँदा बस्तीमा साना बालबालिका बासविहीन भइरहेका थिए। यही विरोधाभास आजको नेपाली शासनको सबैभन्दा पीडादायी चित्र हो। मुखले करुणाको भाषा बोल्ने, तर व्यवहारमा कमजोरको छानो भत्काउने नेतृत्वलाई जनताले कसरी विश्वास गर्ने?
ईन्द्रबहादुर राई केवल एउटा नाम होइनन्। उनी कसैका बुबा थिए, कसैका पति थिए, कसैका अभिभावक थिए, परिवारका लागि छाना थिए। राज्यको बहीखाताबाट एउटा नाम मेटिएजस्तो सजिलो जीवन होइन उनको। एउटा मानिसको मृत्युसँगै एउटा परिवारको भरोसा ढल्यो, बालबालिकाको भविष्य अँध्यारो भयो, र गरिबको मुटुमा फेरि एकपटक राज्यप्रतिको विश्वास भत्कियो।
हामीले सानैदेखि सुनेका थियौँ कुनै निर्माणका लागि नरबली चढाइन्थ्यो अरे। ती कथाहरू अन्धविश्वासका थिए, पुराना र अमानवीय अभ्यासका थिए। तर आज प्रश्न उठेको छ आधुनिक विकासको नाममा फेरि गरिबले किन ज्यान गुमाउनुपर्ने ? सडक, संरचना, सौन्दर्य र व्यवस्थापनका नाममा यदि मानिसको जीवन नै समाप्त हुन्छ भने त्यो विकास होइन, निर्दयताको नयाँ रूप हो।
बस्तीमा डोजर चल्नु केवल टहरा भत्किनु होइन। त्यो गरिबको सपना भत्किनु हो। छानो उजाडिनु केवल भौतिक क्षति होइन, त्यो मानसिक आघात हो। घरबिहीन हुनुको पीडा कागजमा लेखेर बुझिँदैन। वर्षाको मौसममा लालाबाला कहाँ सुत्ने? सुत्केरी महिलाले कसरी खान पाउने? वृद्धवृद्धा र अशक्तले कहाँ आश्रय लिने? यी प्रश्नको उत्तर नदिई गरिएको कुनै पनि कारबाही राज्यको सफलता होइन, राज्यको संवेदनहीनता हो।
राज्य कहाँ छ? यो प्रश्न आज सुकुम्बासी बस्तीबाट उठेको छ। राज्य केवल डोजर लिएर आउने हो कि सहारा लिएर पनि आउने हो? राज्य केवल हटाउन जान्ने हो कि बसाउन पनि जान्ने हो ? राज्य केवल आदेश दिन जान्ने हो कि आँसु पुछ्न पनि जान्ने हो? लोकतान्त्रिक शासनको असली परीक्षा त्यतिबेला हुन्छ, जब ऊ शक्तिशालीसँग होइन, कमजोरसँग व्यवहार गर्छ।
सहर सुन्दर बनाउने चाहना गलत होइन। सार्वजनिक जमिनको संरक्षण पनि आवश्यक छ। तर मान्छेलाई विकल्प नदिई, पुनःस्थापनाको स्पष्ट व्यवस्था नगरी, संवेदनशील समूहको सुरक्षा नगरी गरिएको हटाउने काम न्यायपूर्ण हुन सक्दैन। विकासको पहिलो शर्त मानव सुरक्षा हो। मानव जीवनभन्दा ठूलो कुनै सडक, कुनै भवन, कुनै परियोजना र कुनै सत्ता हुन सक्दैन।
बुद्धले दुःख देख्नुभयो, दुःखको कारण खोज्नुभयो, दुःख निवारणको बाटो देखाउनुभयो। तर आजका शासकहरूले दुःख देख्छन्, फोटो खिच्छन्, भाषण गर्छन् र फेरि त्यही दुःखमाथि डोजर चलाउँछन्। बुद्ध पूर्णिमाको दिन यदि गरिबको आँसु बग्छ, यदि छानोविहीन मानिस मृत्यु रोज्न बाध्य हुन्छ, भने त्यो केवल एउटा घटना होइन; त्यो हाम्रो नेतृत्वको नैतिक पराजय हो।
गरिब हुनु अपराध होइन। सुकुम्बासी हुनु दोष होइन। भूमिहीन हुनु नागरिकताबाट बहिष्कृत हुनु होइन। उनीहरू पनि यही देशका नागरिक हुन्। संविधानले दिएको सम्मानपूर्वक बाँच्ने अधिकार उनीहरूलाई पनि छ। त्यसैले सुकुम्बासी समस्यालाई बल प्रयोगबाट होइन, दीर्घकालीन नीति, सही तथ्यांक, वैकल्पिक आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडेर समाधान गर्नुपर्छ।
नेतृत्वले बुझ्नुपर्छ गरिबको मौनता कमजोरी होइन। पीडितको आँसु इतिहासको दस्तावेज बन्छ। आज छानो खोसिएका मानिसको रुवाइ भोलि जनआक्रोशमा बदलिन सक्छ। त्यसैले समयमै राज्यले विवेक देखाउनुपर्छ। आक्रोशलाई हिंसामा होइन, न्यायपूर्ण नीतिमा रूपान्तरण गर्ने जिम्मेवारी सरकारकै हो।
अब आवश्यक छ घटनाको निष्पक्ष छानबिन। प्रभावित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति र सुरक्षित आवास। बालबालिका, सुत्केरी, वृद्धवृद्धा र अशक्तका लागि विशेष संरक्षण। र सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै पनि बस्ती हटाउनुअघि मानवीय पुनःस्थापनाको अनिवार्य व्यवस्था।
ईन्द्रबहादुर राईको नाम केवल शोक सूचनामा सीमित नहोस्। उनको मृत्युले राज्यलाई चेतावनी देओस् विकासको नाममा गरिबको 'बली' बन्द गर। बुद्धको देशमा करुणा केवल भाषणमा होइन, नीतिमा देखिनुपर्छ। यदि नेतृत्वले भगवान बुद्धको नाम लिन्छ भने पहिले गरिबको छानो बचाउन सिक्नुपर्छ। किनकि बुद्धलाई फूल होइन, करुणा चाहिन्छ; भाषण होइन, मानवीय न्याय चाहिन्छ ।
लेखक त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति तथा विकास विभागमा एम.फिल./पिएच.डी. अध्ययनरत विद्यार्थी हुन् ।)
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो
कति खुल्छ सरकारी जागिर ?








