नेभिगेशन
समाज

कति खुल्छ सरकारी जागिर ?

नेपाली समाजमा सरकारी जागिरेको राम्रो इज्जत छ । शहरमा घर गाडीको बन्दोबस्त छ होला भन्ने धेरैले ठान्छन् । कतिले जोडेका पनि होलान्, कतिपयले सकेका छैनन् । तर लाउन खान दुःख छैन ।

प्रहरी चौकीदेखि स्वास्थ्य चौकीसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म काम गर्ने सबै सरकारी जागिरे हुन् । 

सरकारी जागिर देशको लागि सेवा गर्ने अवसर हो । सरकारले आफ्ना कामहरु यिनै कर्मचारी मार्फत नै गराउँछ । 

उनीहरुमार्फत सेवा नलिए नागरिकलाई सुखै छैन । दिनमा सयौं व्यक्तिले भेट्छन्, नमस्कार गर्छन्, समस्या लिएर आउँछन्, समाधानको याचना गर्छन् । 

उनीहरुको सानो सेवाले पनि सर्वसाधारणको ठूलो गाँठो फुकिरहेको हुन्छ । त्यसैले सरकारी जागिर रोजीरोटीसँगै नागरिकको सेवा गर्ने अवसर पनि हो । 

कहाँ कहाँ छ सरकारी जागिर ? 

पहिला त, नेपालमा कस्तो कस्तो सरकारी जागिरको अवसर छ भन्नेबारे बुझौं । 

पहिलो हो, निजामती सेवा । 

सरकारी जागिरमा सबैभन्दा आकर्षक हो, निजामती सेवा । जहाँ खरिदारबाट जागिर सुरु गर्नेहरु मुख्य सचिवसम्म पुग्ने अवसर पाउँछन् ।

सरकारको योजना कार्यान्वयन गर्ने स्थायी संयन्त्र यही निजामती प्रशासन हो । 

निजामती सेवाभित्र पनि धेरै सेवा समूहहरु छन् । प्रशासन, लेखा, परराष्ट्र, न्याय, इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संघीय संसद समूह आदि । सोसल साइन्स पढेको देखि मेडिकल साइन्स पढेको सबैका लागि निजामती सेवामा अवसर छ । 

दोस्रो हो, सुरक्षा निकाय । नेपालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटा सुरक्षा निकाय छन् । यसमा पनि सिपाहीदेखि  अधिकृतस्तरसम्म भर्ना हुने अवसर हुन्छ । त्यो बाहेक डाक्टर इन्जिनियरजस्ता प्राविधिक जनशक्ति पनि मागिरहेका हुन्छन् । 

तेस्रो हो, शिक्षक सेवा आयोग र विभिन्न विश्वविद्यालयको सेवा आयोग । शिक्षक सेवा आयोगले देशभरका विद्यालयमा खाली भएका शिक्षकको पदपूर्ति गर्छ । विश्वविद्यालयको सेवा आयोगले आफ्ना विश्वविद्यालयमा चाहिएका शिक्षक र कर्मचारीको पदपूर्ति गर्छ । 

चौथो हो, संगठित संस्था । संगठित संस्था भन्नाले सरकारको शेयर, स्वामित्व भएका कम्पनी र संस्थानहरु हुन् । जस्तै, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य ब्यांक, विद्युत प्राधिकरण, नेपाल वायु सेवा निगम, गोरखापत्र संस्थान जस्ता निकाय । यसको सेवा सुविधा सरकारी सरह नै हुन्छ । 

यस्ता संगठित संस्था ९५ वटा छन् । 

कति संख्यामा खुल्छ सरकारी जागिर ? 

नेपालमा धेरै सरकारी जागिर खोल्ने निकाय भनेको लोकसेवा आयोग नै हो । 

निजामती सेवामा एक वर्षभरिमा खाली भएका पदमा लोकसेवा आयोगले विज्ञापन खोल्छ । उसैले परीक्षा लिन्छ अनि रिजल्ट गरेर योग्यहरुको नाम सरकारलाई पठाउँछ । 

लोकसेवा आयोगमा सरदरमा एक वर्षमा ३ हजार पदमा विज्ञापन खुल्छ । 

आर्थिक वर्ष २०८१/८२ को कुरा गर्ने हो भने लोकसेवाले निजामती सेवामा ३ हजार १८१ पदमा विज्ञापन खोलेको थियो । त्यसमा १ हजार ५० वटा पद बढुवाको थियो भने ३३२ पद आन्तरिक प्रतियोगिताको थियो । 

फ्रेस मान्छेका लागि जागिर जम्मा १७९९ वटा मात्रै थियो । 

२०८०/८१ मा ३६ सय पदमा विज्ञापन खोलेको थियो, जसमा फ्रेस मान्छेका लागि २०२७ पद थियो । 

२०७९/८० मा हेर्ने हो भने ३३ सय ५७ पदमा विज्ञापन खोलेको थियो । त्यसमध्ये फ्रेस मान्छेका लागि २०८६ पद थियो ।

३ वर्षको विज्ञापन हेर्दा लोकसेवा आयोगले फ्रेस मान्छेका लागि सरदर २ हजार पदमा विज्ञापन खोल्ने रहेछ । 

अर्को धेरै सरकारी जागिर खोल्ने क्षेत्र हो, सुरक्षाकर्मी । संख्याको आधारमा हेर्ने हो भने सुरक्षा निकायमा धेरै जागिर खुल्छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ३ वटा निकायले वर्षमा १० हजार भन्दा बढी पदमा विज्ञापन खोल्छ । 

आर्थिक वर्ष २०८१/८२ कै कुरा गर्ने हो भने नेपाली सेनाले मात्र ७ हजार भन्दा बढी कर्मचारी मागेको थियो । जसमा अधिकृतस्तरको पदमै ५५२ जना मागेको थियो । सहायकस्तरको पदमा ६ हजार ८३९ जना मागेको थियो । 

नेपाल प्रहरीले अधिकृत स्तरमा १७१ जना र सहायक स्तरमा ३ हजार ३१ जना माग गरेको थियो । 

सशस्त्र प्रहरी बलले अधिकृतस्तरमा १४७ जना र सहायक स्तरमा १ हजार ६५७ जना माग गरेको थियो । २०८१/८२ मा तीनवटै सुरक्षा निकायले जम्मा १२ हजार ३९७ जना माग गरेको थियो । 

त्यसपछि सरकारी जागिरमा सबैभन्दा धेरै कर्मचारी माग गर्ने शिक्षक सेवा आयोग हो । शिक्षक सेवामा वर्षमा कति पद खुल्छ भन्ने यकिन गर्न सकिँदैन ।

तर माध्यमिक, निम्न माध्यमिह र प्राथमिक सबै तहमा गर्दा वर्षमा ३ हजार भन्दा बढी नै संख्यामा खुलिरहेको छ । 

यस वर्ष शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४४९ जना शिक्षक मागे विज्ञापन गरिसक्यो । निम्न माध्यमिक र प्राथमिक तहको विज्ञापन खोल्न बाँकी छ । 

गत वर्ष माध्यमिक तहमा ३६८, निम्न माध्यमिकमा ६८६ र प्राथमिकमा ४ हजार ४६२ जना शिक्षक मागेको थियो । 

त्यो भन्दा पहिला त अझै धेरै संख्यामा मागेको थियो । 

सरकारको स्वामित्व रहेको संगठित संस्थाहरुले एक वर्षमा माग्ने कर्मचारीको संख्या ४ देखि ५ हजार हाराहारीमा हुन्छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा ४० वटा संगठित संस्थाले ५ हजार ९५ जना कर्मचारी माग गरेका थिए । जसमध्ये अधिकृतस्तरका कर्मचारी २ हजार २६८ जना र सहायक स्तरका २ हजार ८२७ जना मागेको थियो । 

०७६ सालदेखि त सातैवटा प्रदेशमा प्रदेश लोकसेवा आयोगहरु खुलेका छन् । प्रदेश लोकसेवा आयोगहरुले प्रदेश सरकार र स्थानीय तहलाई चाहिने कर्मचारी छनोट गर्छन् । 

एउटा प्रदेश लोकसेवा आयोगले वर्षमा ५०० देखि एक हजारसम्म कर्मचारी माग गर्छन् । 

आर्थिक वर्ष २०८१/८२ कै कुरा गरौं । कोशी प्रदेश लोकसेवा आयोगले स्थानीय तहमा ८९३ जना र प्रदेशमा ४९२ जना गरेर कुल १ हजार ३८५ जना कर्मचारी मागेको थियो । 

बागमती प्रदेशले स्थानीय तहमा ४०२ र प्रदेशमा ५१२ गरी ९१४ जना कर्मचारी मागेको थियो । 

लुम्बिनीले ४३५, सुदूरपश्चिमले ९१४ र कर्णालीले ८३६ कर्मचारी मागेका थिए । 

यसरी सबैतिरको हिसाब गर्दा वर्षमा सरकारी जागिरमा २० हजार हाराहारी कर्मचारी माग हुने देखिन्छ ।

कति मान्छेले भर्छन् सरकारी जागिर ?

सरकारी जागिरमा नेपाली युवाहरुको धेरै आकर्षण छ । किनकी निजी क्षेत्रमा सरकारी जागिरलाई माथ गर्ने अवसर निकै कम मात्र छ । 

लोकसेवा आयोगले निकाल्ने विज्ञापनका लागि मात्र एक वर्षमा साढे ४ लाख जनाले फारम भर्छन् । केवल २ देखि ३ हजार पदका लागि साढे ४ लाख जनाको प्रतिस्पर्धा । 

लोकसेवाको परीक्षाका लागि २०८०/८१ मा ४ लाख ७३ हजार ४९० जना र २०७९/८० मा ४ लाख ८३ हजार २०३ जनाले दरखास्त दिएका थिए । 

अनि शिक्षक सेवा आयोगले निकाल्ने विज्ञापनमा पनि त्यत्तिकै दरखास्त पर्छ । आर्थिक वर्ष २०८१/८२ मा माध्यमिक तहमा ३६८ शिक्षकका लागि ३८ हजार ३३१ जनाले फारम भरेका थिए । 

निम्न माध्यमिक तहको ६८६ शिक्षकका लागि ७८ हजार ६४० जनाले फारम भरेका थिए भने प्राथमिक तहमा ४ हजार शिक्षक माग्दा १ लाख १२ हजार जनाले फारम भरेका थिए । 

संगठित संस्थाहरुको जागिरमा पनि दरखास्त दिनेहरुको उत्तिकै चाप छ । 

संगठित संस्थाको ५ हजार पदमा २ लाख ६५ हजार १९२ दरखास्त परेको थियो । संगठित संस्थामा पनि धेरै आकर्षण नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, कृषि विकास ब्यांक जस्ता निकायमा देखिन्छ । 

सुरक्षा निकायको जागिरमा भने अरु भन्दा कम आकर्षण देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को कुरा गर्ने हो भने तीनवटै सुरक्षा निकायको गरी १२ हजार पदमा विज्ञापन गर्दा ३० हजार ६३७ दरखास्त मात्र परेका थिए । 

त्यसको कारण भनेको उमेर हद पनि हुन सक्छ । 

सरकारी जागिरमध्ये शिक्षकमा ४० वर्ष, अरु सरकारी जागिरमा महिलालाई ४० वर्ष र पुरुषलाई ३५ वर्षको उमेर हद छ भने सुरक्षा निकायको जागिरमा धेरैजसो २५ वर्षको उमेर हद हुन्छ । 

कत्तिको फेयर हुन्छ ? 

नेपालमा जागिर खोज्नेहरुको एउटै चिन्ता हुन्छ, आफ्नो योग्यता र क्षमताका आधारमा जागिर नै पाइँदैन । 

जहाँ पनि भनसुन, नातावाद, कृपावाद चल्छ । 

तर सरकारी जागिर मात्र यस्तो जागिर हो, जहाँ भनसुन, नातावाद कृपावाद केही चल्दैन । व्यक्ति आफ्नो क्षमताका आधारमा छनोट हुन सक्छ ।

योग्यता पुगेको पदमा जोसुकैले दरखास्त दिन पाउँछ, अनि परीक्षा राम्रो गरेर छनोट हुन सक्छ । 

लोकसेवा आयोग नेपालमा फेयर परीक्षा गराउन कहलिएको संस्था हो । त्यसैले लोकसेवा आयोगको परीक्षामा नेपालमा पहिलेदेखि नै प्रश्न उठेको छैन ।

सरकारी स्वामित्वमा रहेका अरु संगठित संस्था र विश्वविद्यालयको परीक्षामा भने विगतमा प्रश्न उठेका थिए । 

त्रिभुवन विश्वविद्यालयको परीक्षामा त सेवा आयोगका पदाधिकारीले धेरै नम्बर आउनेलाई फेल गरेर कम नम्बर आउनेलाई पास गरेको भनेर अख्तियारमा मुद्दा नै परेको थियो । 

विगतमा सुरक्षा निकाय अधिकृतस्तरको परीक्षामा पनि पैसा खुवाउनुपर्छ भन्ने गुनासो थियो । 

तर अहिले ५० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व रहेका कम्पनीको कर्मचारी छनोटमा लोकसेवा आयोगको संलग्नता अनिवार्य छ । 

२०७२ सालको संविधानले निजामती सेवाका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र संघीय सरकारी सेवाका पद र संगठित संस्थाका पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी समेत लोकसेवा आयोगलाई तोकेको छ । 

शिक्षक सेवा आयोग, त्रिवि सेवा आयोगजस्ता सेवा आयोगमा र सुरक्षा निकायको पदपूर्ति समितिमा लोकसेवा आयोगका पदाधिकारी नै संलग्न हुन्छन् । 

अनि अरु संगठित संस्थाको पदपूर्तिमा आयोगका सचिव, सहसचिव र उपसचिवस्तरका कर्मचारी संलग्न हुन्छन् ।

तपाईं पनि सरकारी जागिर खान चाहनुहुन्छ भने लोकसेवा आयोग, शिक्षक सेवा आयोग र प्रदेश लोकसेवा आयोगको वेबसाइट नियमित फलो गर्नुस् । 

त्यहाँ कुन पदको परीक्षा कहिले हुन्छ भन्ने कार्यतालिका नै राखिदिएको हुन्छ, अनि पद अनुसारको पाठ्यक्रमहरु पनि राखिदिएको हुन्छ । त्यस अनुसार तयारी गर्न पनि सजिलो हुन्छ । 

अनि सरकारी जागिरको विज्ञापन गोरखापत्र दैनिक र सेवा आयोगहरुको वेबसाइटमा प्रकाशित हुन्छ । प्रयास गर्‍यो भने नहुने के छ र ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज