रामलालको त्यो बिरासत, शेखर गोल्छाको यो हविगत
कुरा २०२५ साल वैशाखको हो । विराटनगरमा विद्यार्थी आन्दोलन चर्किँदा उद्योगी रामलाल गोल्छाका नाति दिवाकर गोल्छालाई खोज्दै प्रहरी घरमै आयो ।
रामलाल गोल्छाले तुरुन्तै अञ्चलाधीश बद्रीबिक्रम थापालाई फोन गरे । ‘हाम्रो परिवारमा आजसम्म कोही पनि थुनामा परेको छैन । यसले हाम्रो समाजमा ठूलो बदनामी हुन्छ । बरु म मेरो नातिलाई घरमै थुनेर राख्छु, पक्राउ नगरिदिनुहोला’, भनेर अनुरोध गरे ।
त्यसपछि अञ्चलाधीशको आदेशमा प्रहरीको टोली उद्योगी रामलाल गोल्छाका नाति दिवाकरणलाई पक्राउ नगरी फर्कियो ।
त्यो घटनाको ५७ वर्षपछि रामलाल गोल्छाकै अर्का नाति शेखर गोल्छा भने पक्राउ परेका छन् ।
अहिले राललाल गोल्छा त जीवित छैनन् । तर यति ठूलो औद्योगिक घरानाका नेतृत्वकर्ता पक्राउ पर्नु साँच्चै बदनामीको विषय हो ।
उनको पक्राउलाई लिएर अहिले दुईथरि धारणा सुनिन्छ । एउटा, मान्छे जतिसुकै ठूलो ओहोदाको होस्, राज्यको अनुसन्धानलाई सहयोग गर्नुपर्छ ।
अर्को, राष्ट्रिय स्वतन्त्र पार्टीले आफैंले भन्थ्यो, पहिले सुन्ने, अनि थुन्ने । तर आफैंले सरकार चलाउँदा चाहिँ शेखर गोल्छालाई थुन्न किन हतार गर्यो ?
जे भए पनि एउटा ठूलो औद्योगिक घरानाका सदस्य जुन केसमा अनुसन्धानमा तानिएका छन्, त्यो भने नेपालको निजी क्षेत्रकै दुखद पक्ष हो ।
गोल्छा परिवारले नेपालमा व्यापार व्यवसाय सुरु गरेको १०० वर्ष भइसक्यो । शेखर गोल्छाका हजुरबा रामलाल गोल्छा नेपालकै पहिलो उद्योगी हुन् । उनका बुबा हुलासचन्द गोल्छाले पनि सफल उद्यमी र समाजसेवीका रुपमा नाम कमाए ।
शेखर गोल्छा उद्योग वाणिज्य महासंघको अध्यक्ष भए, १०० भन्दा बढी कम्पनीको नेतृत्व गर्छन्, २० हजार कर्मचारीको रोजगारदाता छन् । तर शेखर पक्राउ प्रकरणले यति ठूलो घराना नैतिक संकटमा परेको छ ।
०००
१९९४ सालतिरको कुरा हो ।
विराटनगरबाट एक जना व्यापारी राणा प्रधानमन्त्री जुद्धशमशेरलाई भेट्छु भन्दै १० दिन हिँडेर काठमाडौं आए ।
उनी सधैं जुद्धशमशेरको दरबारमा जान्थे । धोती कुर्ता लगाएको मान्छे प्रधानमन्त्रीसँग भेटनु छ भन्दै आएको धेरै दिनसम्म त कसैले वास्ता नै गरेनन् ।
तर लगातार धाएपछि एक दिन प्रधानमन्त्री जुद्धशमशेरले के भन्न आएको रहेछ त भेटौं न भनेर भेट दिए ।
उनले प्रधानमन्त्री जुद्धशमशेरलाई विराटनगरमा जुट मिल खोल्ने योजना सुनाए । त्यतिबेला नेपालमा नै उद्योग खुल्न सक्छ भन्ने कल्पना नै थिएन । सरकारसँग उद्योग खोल्ने कुनै योजना र कानुन पनि थिएन ।
उनको कुरा सुनेर जुद्धशमशेर जिल्ल परे ।
सुरुमा त उनले विश्वास गरेनन् । म विराटनगर आएका बेला हेर्छु, तिम्रो योजना देखाऊ भनेर जवाफ दिए ।
नभन्दै जुद्धशमशेर विराटनगर गएका बेला भेट दिए । अनि, जुद्धशमशेर उद्योग खोल्न राजी भए । १९९४ सालमा विराटनगर जुट उद्योगको शिलान्यास भयो । यो नै नेपालको पहिलो उद्योग समेत हो ।
०००
विराटनगरदेखि काठमाडौं धाएर प्रधानमन्त्री जुद्धशमशेरलाई उद्योग खोल्ने योजना सुनाउने मान्छे थिए, रामलाल गोल्छा । अहिलेको गोल्छा अर्गनाइजेसनका संस्थापक, नेपालको पहिलो उद्योगपति ।
उनको अगुवाइमा खुलेको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग थियो । जुटमिल खोल्न अगुवाइ र अथक मेहनत गरेका कारण रामलाल गोल्छालाई जुट किङ भनेर पनि चिनिन्छ ।
जतिबेला उनले बिराटनगरमा जुटमिल खोल्ने सपना देखे, त्यसबेल मोरङ र सुनसरी जिल्लामा सनपाट खेती असाध्यै हुन्थ्यो । किसानहरुले भारतको फारबिसगञ्जको जुटमिलमा लगेर बिक्री गर्थे ।
नेपालमै जुट उद्योग खुलेपछि नेपाली कच्चा पदार्थको प्रयोगबाट जुटका बोरा उत्पादन हुन थालेको थियो ।
रामलालले नेपालबाट जुटका बोराहरु भारत र समुद्रपार निर्यात समेत गरे ।
आजभन्दा झण्डै ९० वर्ष अगाडि नेपालमै उद्योग खोल्ने आँट गर्नु निकै ठूलो कुरा थियो । जुन काम रामलाल गोल्छाले गरेका थिए ।
रामलाल गोल्छाले नेपालमा पनि उद्योग चलाउन सकिन्छ, सम्पत्ति कमाउन सकिन्छ भन्ने प्रमाणित गरे । दोस्रो विश्वयुद्धको समयमा उनले नेपालको जुट भारत बाहेकको तेस्रो देशमा निर्यात गरे ।
००००
गोल्छा परिवारको पुख्र्यौली थलो भारतको राजस्थान हो । रामलाल गोल्छाले सानै उमेरमा बाबु गुमाए, १५ वर्षकै उमेरमा विवाह गरे ।
बाबुबाजेले गरि आएको कृषि र पशुपालन पेशाबाट जीविका चलाउन गाह्रो भयो । त्यसैले रामलालले व्यापार व्यवसाय अंगालेका थिए ।
उनी व्यापारको सम्भावना खोज्दै २३ वर्षको उमेरमा बिक्रम सम्वत १९७८ सालमा नेपाल प्रवेश गरेका थिए । सुरुमा उनी सुनसरीको देवानगञ्जमा आए ।
सुरुमा उनले बिडीको ब्यापार गरेका थिए । मोरङ र सुनसरीमा सनपाट खेती देखेपछि उनले त्यही सनपाट संकलन गरेर भारतको जुटमिलमा लगेर बेच्न थाले ।
रामलालले मोरङ र सुनसरीका गाउँ घुमेर किसानहरुबाट सनपाट संकलन गर्ने र भारतको जुटमिललाई लगेर बिक्री गर्न थाले । सुरुमा उनले ५ हजार रुपैयाँबाट व्यापार सुरु गरेका थिए ।
रामलाल गोल्छाले किसानसँग संकलन गरेको सनपाट भारतको कटिहार जुट मिलमा लगेर बिक्री गर्थे । नेपालको जुट भारतमा लगेर बेच्दाबेच्दै उनले कटिहार जुटमिलका म्यानेजरसँग विराटनगरमै जुटमिल खोल्ने प्रस्ताव गरे । म्यानेजरले जुटमिलका मालिक राधाकिसन चमडियालाई भेट गराइदिए ।
चमडियाले नेपालमा जुटमिल खोल्न चासो देखाए । त्यसपछि उनी राणा प्रधानमन्त्री जुद्धशमशेरलाई भेट्न काठमाडौं आए । जुद्धशमरेशलाई कन्भिन्स गरेर नेपालमै जुट फ्याक्ट्री खोलिछाडे ।
त्यो बेला उद्योगमा नेपालीको ५१ प्रतिशत र भारतीयको ४९ प्रतिशत शेयर रहने सहमति भएको थियो ।
विराटनगर जुट मिल सञ्चालन भएको १० वर्षपछि २००३ सालमा रामलाल गोल्छाले अर्को पनि जुट मिल स्थापना गरे, रघुपति जुट मिल ।
रामलालले २०१६ सालमा जर्मनीको प्रविधिमा आधारित नेपालमै पहिलो स्वचालित चामल कारखाना पनि सुरु गरे ।
रामलाल गोल्छा व्यापार गर्न नेपाल छिरेको १०० वर्ष पूरा भइसक्यो । १०० वर्ष अवधिमा गोल्छा अर्गनाइजेसन देशकै ठूलोमध्येको एक औद्योगिक घराना बनेको छ ।
जुटबाट सुरु भएको गोल्छा अर्गनाइजेसन आज खाद्यान्न, स्टिल, सिमेन्ट, अटोमोवाइल, इलेक्ट्रोनिक्स सामान, बीमा आदि विभिन्न क्षेत्रमा फैलिएको छ ।
गोल्छा अर्गनाइजेसनको फैलावट
गोल्छा अर्गनाइजेसनसँग आज १०० भन्दा धेरै कम्पनी छ भने २० हजार भन्दा बढी मान्छे आवद्ध छन् ।
गोल्छा अर्गनाइजेसन अहिले पनि जुट व्यापारमा छ । तर यो अहिले उनीहरुको उद्योगको सानो हिस्सा मात्र हो । हुलास जस्तापाता, हुलास चामल, आटा मैदा जस्ता खाद्यान्न गोल्छा ग्रुपकै हो ।
पछिल्लो समय गोल्छा अर्गनाइजेसनले बजाजका मोटरसाइकलको नेपालमै एसेम्बलिङ र बिक्री गर्दै आइरहेको छ ।
बजाजकै कमर्सियल भेहिकलको पनि एसेम्बलिङ पनि पर्छ । दिनमै १०० वटासम्म कमर्सियल भेहिकल तयार पारिरहेको छ ।
केटीएम बाइक पनि दिनमा १०० वटासम्म एसेम्बिलिङ गरिरहेको छ ।
देशभर बजाज मोटरसाइकलको १०९ वटा, बजार कमर्सियल भेहिकलको ३० वटा र केटीएम बाइकको १४ वटा सोरुम छ । गोल्छा समूह इलेक्ट्रिक बाइक चेतकको पनि डिस्ट्रिब्यूटर हो ।
गोल्छा समूहले विगतमा नेपालमै गाडी उत्पादन पनि गरेको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चढेको मुस्ताङ म्याक्स गाडी गोल्छा समूहले नै बनाएको थियो ।
यो गाडी पहाडी कच्ची रुटहरुका लागि निकै उपयोगी मानिएको थियो । तर हाल यो गाडीको उत्पादन हुन छाडिसक्यो । २०५४ सालदेखि २०६९ सालसम्म मुस्ताङ म्याक्स गाडी उत्पादन भयो ।
सरकारले वातावरणीय प्रदूषणको मापदण्डमा युरो–३ का गाडी मात्र दर्ता गर्ने नीति लिएपछि मुस्ताङ म्याक्स बन्द भएको थियो । किनकी यो गाडी युरो–१ मापदण्डको थियो ।
आज भन्दा ३ वर्षअघि गोल्छा अर्गनाइजेसनले इन्डियन आयल कर्पोरेसनसँगको ज्वाइन्ट भेन्चरमा हुलास ल्युब प्रालि स्थापना गरेर सर्वो इन्जिन आयल उत्पादन र बिक्री गरिरहेको छ ।
त्यस्तै युरो ग्रिप टायरको आधिकारिक बिक्रेता हो । यो टायरको मात्र ७० डिलर्स र ३५० रिटेलर्स छन् । ७२५ वर्कसप छन् ।
गोल्छा अर्गनाइजेसन सामसङका उत्पादनहरुको पनि आधिकारिक बिक्रेता हो । सामसङको टीभी र एयर कन्डिसनर नेपालमै बनाइरहेको छ ।
दिनमा ३२० वटासम्म एयर कन्डिसनर उत्पादन गरिरहेको छ ।
गोल्छा अर्गनाइजेसनको ४०० होम अपलायन्स डिलर्स, ६५० भन्दा बढी मोवाइल रिटेलर्स, दुई हजार भन्दा बढी इलेक्ट्रिकल डिलर्सहरु रहेका छन् ।
गोल्छा अर्गनाइजेसन बीमा व्यवसायमा पनि जोडिएको छ । हिमालयन लाइफ इन्स्योरेन्समा यो समूहको लगानी छ ।
त्यस्तै आईटी र एमबीए पढाइ हुने इम्बार्क कलेजमा पनि गोल्छा समूहको लगानी छ । यो समूहले काभ्रेको नाला उग्रचण्डीमा पोल्ट्री भ्याक्सिन र अरु पशु भ्याक्सिनहरु उत्पादन गरिरहेको छ । यो उद्योगको क्षमता वर्षको १ अर्ब २४ करोड डोज भ्याक्सिन रहेको छ ।
००००
रामलाल गोल्छाले सुरु गरेको उद्योगलाई उनका दुई भाइ छोराहरु हंशराज र हुलासचन्द गोल्छाले अगाडि बढाए ।
हंशराजका ५ भाइ छोरा र हुलासचन्दका ४ भाइ छोरा भए ।
हंसराज गोल्छाका छोराहरुमा लोकमान्य, दिवाकर, राजकुमार, दिनेश र महेन्द्र गोल्छा रहेका छन् ।
हुलासचन्द गोल्छाका छोराहरुमा चन्द्रकुमार, सुरेन्द्र, सञ्जय र शेखर गोल्छा छन् । रामलाल र उनका छोराहरुको निधन भइसकेको छ ।
हंशराजका छोरा दिवाकर महेन्द्रको पनि निधन भइसकेको छ ।
अहिले गोल्छाको तेस्रो पुस्ता र चौथो पुस्ताले गोल्छा समूह हाँकिरहेको छ ।
रामलालका छोराहरुमा हुलासचन्द गोल्छाले बेग्लै छवि बनाए । उनी ठूला उद्योगपति सँगै समाजसेवा पनि उत्तिकै चिनिए ।
निजी क्षेत्रको राजनीतिमा पनि अघि बढे । २०२२ सालमा नेपाल उद्योग वाणिज्य महासंघ गठन गर्दा विधान लेख्ने मुख्य भूमिकामा उनी थिए ।
हुलासचन्द उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसम्म भए । २०५० सालमा उनले महासंघको अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
उनीसँग प्रतिस्पर्धामा मारवाडी समुदायकै अर्को घराना चौधरी ग्रुपका विनोद चौधरी थिए । प्रचार प्रसारका क्रममा हेटौंडा पुगेका बेला हुलासचन्दलाई हार्ट अट्याक भयो ।
त्यसपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइयो, त्यसपछि अमेरिका लगियो । चुनावको मुखमा बिरामी भएर उपचारका लागि देशबाहिर जानुपर्ने भएपछि हुलासचन्दले महासंघको अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए । अनि विनोद चौधरी निर्विरोध अध्यक्ष भए ।
हंशराजका छोरा दिवाकर गोल्छा पनि उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भए, तर अध्यक्ष हुन सकेनन् ।
दिवाकर र उनकी भाइबुहारी राज्यलक्ष्मी गोल्छा सांसद पनि भए । दिवाकरलाई नेपाली कांग्रेसले र राज्यलक्ष्मीलाई नेकपा एमालेले संविधानसभा सदस्य बनाएको थियो ।
गोल्छा समूहबाट नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने इतिहास शेखर गोल्छाले बनाए ।
उनी २०७७ देखि ०८० सम्म महासंघको अध्यक्ष रहे । उनी नै अहिले गोल्छा अर्गनाइजेसनको अध्यक्ष छन् ।
००००
उनै शेखर गोल्छा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शेखर गोल्छामाथि दीपक भट्ट र सुलभ अग्रवालसँग मिलेर गरेको कारोबारका विषयमा अनुसन्धान गरिरहेको छ ।
उनीहरु सहितको समूहले नेपालमा निजी क्षेत्रको पहिलो रिइन्स्योरेन्स कम्पनी हिमालयन री स्थापना गरेका थिए । शेखर गोल्छा हिमालयन री को अध्यक्षसमेत भएका थिए ।
धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ तथा सुपरिवेक्षण समितिले हिमालयन री को शेयरमा शंकास्पद कारोबार भएको औंल्याएको थियो । त्यही प्रकरणमा अनुसन्धानका लागि शेखर पक्राउ परेका हुन् ।
यो प्रकरणमा शेखरको संलग्नता कति हो, उनी दोषी हुन् कि होइनन् भन्ने प्रहरीको अनुसन्धान र अदालतले देखाउनेछ ।
राज्यका निकायले गरेको अनुसन्धानमा सहयोग गर्नु नागरिकको दायित्व हो । शेखर गोल्छाको पक्राउलाई अहिलेसम्म त्यही रुपमा बुझु्नु ठीक हुनेछ । तर त्यति ठूलो औद्योगिक घरानाका व्यक्ति पक्राउले समाजमा प्रश्न भने उब्जाएकै छ ।
अब मालपोत धाउनु पर्दैन, स्थानीय तहबाटै जग्गा पास
ड्राइभिङ लाइसेन्स धमाधम छापिनुको रहस्य
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्न सम्भव छ ?
वीर शमशेरले बसाएको शहरमा बालेनको डोजर





