नेभिगेशन
राजनीति
सरकारको तयारी

पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने

सरकारले वैशाख १२ र १३ गते काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाउने नै भएको छ । सुकुम्बासी बस्ती खाली गर्ने विषयमा शहरी विकास मन्त्री सुनिल लम्सालले शुक्रबार विभिन्न निकायसँग छलफलसमेत गरेका छन् । छलफलले सुकुम्बासी बस्ती खाली गराउने विषयमा विभिन्न ११ बुँदे निर्णय गरेको छ ।

शुक्रबार नै प्रधानमन्त्री बालेन शाहले सुकुम्बासीलाई बल प्रयोग नगरी र मानवीयता ख्याल गरेर सुरक्षित रुपमा स्थानान्तरण गर्ने बताएका छन् । शहरी विकास मन्त्रालयमा भएको छलफलले सुकुम्बासीहरुलाई कसरी स्थानान्तरण गर्ने भन्ने योजनासमेत बनाएको छ ।

बस्ती खाली जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरिसकेको छ । प्रशासन कार्यालयले स्वेच्छिक रुपमा बस्ती खाली गर्न र सामान सार्न आग्रह गरेको छ । यदि सामान सार्न, वृद्धवृद्धा, अपांगता भएका जस्ता जोखिमपूर्ण अवस्थाका मानिसहरुलाई सार्न सहयोग चाहिने भए प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ ।

DAO-kathmandu-1777035829.jpg
त्यसपछि वैशाख १२ र १३ गते सुकुम्बासी बस्ती भत्काउन आवश्यक मेसिन र उपकरणहरु तयारी अवस्थामा राख्न ती विभिन्न कार्यालयलाई पत्राचारसमेत गरिएको छ । त्यस अनुसार डोजर लगायतका उपकरणहरु वैशाख १२ गते शनिबार सुकुम्बासी बस्तीहरुमा पुग्नेछन् ।

बस्ती खाली गराउने क्रममा सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध-वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाउने निर्णय पनि भएको छ । सामान ढुवानी र मानिसलाई सुरक्षित स्थलसम्म लैजान गृह मन्त्रालयले नै गाडीको व्यवस्था गर्नेछ ।

सुकुम्बासी बस्तीबाट मानिसहरुलाई कहाँ लैजाने भन्ने किटान गरिएको छैन । तर कुनै सामूहिक आश्रयस्थलमा लगिनेछ । खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्नेछ ।

उनीहरुलाई बास बसाउन अल्पकालीन बसोबासस्थल पनि तोकिएको छ । बस्तीबाट उठाएर लगिएका सुकुम्बासीको भेरिफिकेसनका लागि क्याम्प नै खडा गर्ने, फोटोसहितको परिचयपत्र वितरण गर्ने र भेरिफिकेसन हुन नसकेका व्यक्तिलाई बिदा गर्ने पनि निर्णय भएको छ ।

बस्ती खाली भएपछि संरचना हटाउने, ट्र्याक खोल्ने सरकारको तयारी छ । सुकुम्बासी हटाउने कामको समन्वयन गर्न शहरी विकासमन्त्री सुनिल लम्सालको संयोजकत्वमा ७ सदस्यीय समिति पनि बनाएको छ ।

समितिमा काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल, गृह सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, शहरी विकास मन्त्रालयका सचिव, भूमि व्यवस्था मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति