बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
फागुन २१ को चुनावमा एमालेले नराम्रो धक्का खायो । अध्यक्ष केपी शर्मा ओली मात्र होइन, चुनाव लडेका सबै पदाधिकारी हार्न पुगे ।
प्रत्यक्षतर्फ जम्मा ९ सिट मात्र जित्यो । त्यसमध्ये चार सिट कोशीका पहाडी जिल्लाको हो । समानुपातिकतर्फ जम्मा साढे १४ लाख भोट पायो ।
समग्रमा यो नजिता एमालेले हालसम्म लडेको चुनावको सबभन्दा खराब हो ।
चुनावलगत्तै एमाले अध्यक्ष ओली पितृशोकमा परे । शोकबाट बाहिर आइनसक्दै पक्राउ परे । प्रहरी हिरासतबाट छुटेपछि पनि पित्तथैलीको शल्यक्रिया गरेर आराम गरिरहेका छन् । त्यसैले एमालेले पार्टी कमिटीको बैठक बसेर चुनावी हारको समीक्षा गर्न पाएको छैन ।
तर अनौपचारिक सम्वाद तीव्र छ । र, ओलीको विपक्षमा माहौल बन्दै गएको छ ।
उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईहरुको समूहले ११औं महाधिवेशनमै ओलीलाई रोक्न चाहेका थिए । वरिष्ठ नेता ईश्वर पोखरेलको नेतृत्वमा प्यानल नै बनाएर चुनाव लडेका हुन् । यद्यपि ओलीलाई रोक्न सकेनन् । चुनावी हारपछि यो समूह ओलीले नेतृत्व छाड्नुपर्छ भन्नेमा अझै मुखरित भएर आएको छ ।
तर एमालेको अन्तरिक शक्ति संरचनामा तुलनात्मक रुपमा कमजोर भएकाले उनीहरुले चाहेर मात्र नेतृत्व परिर्वतन गर्न सम्भव छैन ।
तर उपाध्यक्ष विष्णु पौडेलको मुभले एमालेमा ठूलै उथलपुथलको संकेत गरेको छ । किनकी उनी बिरालोको घाँटीमा घन्टी बाध्न कस्सिएका छन् ।
नेताहरुका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल यस्ता राजनीतिक प्राणी हुन्, जसले सेवा गर्न पनि सक्छ, लखेट्न पनि सक्छ । कतिबेला साथ दिने, अनि कतिबेला लखेट्ने भन्ने समय हेरेर निर्णय गर्छन् । आफ्नो स्वार्थ पनि हेर्लान् । लाभहानी पनि हेर्लान् ।
त्यस अर्थमा एमालेमा पौडेल मात्र यस्ता नेता हुन्, जसले बिरालोको घाँटीमा घन्टी बाँध्न सक्छन् । धेरै पर जानै पर्दैन, जेननी विद्रोहपछि भएको एमालेको ११औं महाधिवेशनमा जतिबेला ईश्वर पोखरेलहरुले ओलीसँग प्रतिस्पर्धा गरेका थिए, उपाध्यक्ष विष्णु पौडेलले साथ दिएको भए परिस्थिति अर्कै हुनसक्थ्यो ।
तर उनले त्यसो गरेनन् । किनकी उनी बिरालोको घाँटीमा घन्टी विष्णु पौडेलले बाँधेका हुन् भन्ने स्थापित होस् भन्ने चाहन्थे । आफूले बाँधेको हो भन्ने अर्थ नलाग्ने भएपछि साथ दिएनन् ।
तर यो पटक चाहिँ विष्णु पौडेल बिरालोको घाँटीमा घन्टी बाँध्न चाहन्छन् । अर्थात केपी शर्मा ओलीलाई एमालेको नेतृत्वबाट विदा गर्न चाहन्छन् र, आफूले चाहँदा यो सम्भव छ भन्ने बुझेका छन् ।
०००
जतिबेला चुनावको सम्पूर्ण परिणाम आइसकेको थिएन, पौडेलले पार्टी पुनगर्ठनको आवाज बुलन्द बनाए ।
२३ फागुनमा आफूलाई हराएर चुनाव जितेका रास्वपा उम्मेदवार सुलभ खरेललाई बधाइ मात्र दिएनन्, विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समिक्षा गर्ने र जनअपेक्षाअनुसार आफूलाई रुपनान्तरण गर्ने बताए ।
उनले सामाजिक सञ्जालमा लेखे, नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।
संसदको पहिलो बैठकमा संसदीय दल नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिको सार्वजनिक रुपमै खण्डन गरे । दल नेता बादलले राखेको विचार पार्टीको नीति र मान्यता विपरीत भएको बताए ।
ओली अस्पतालमा रहेका बेला नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले भेटेपछि वामपन्थी एकताको चर्चा चुलियो । विष्णु पौडेलले यसको पनि खण्डन गरे । एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्र्राथमिक कार्यसूची भएको पौडेलले बताएका छन् ।
वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्देशमा पनि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्गठनमै जोड दिएका छन् ।
नेताहरुका अनुसार अब ओलीले नेतृत्व छाड्नुपर्छ भन्ने उपाध्यक्ष पौडेलको निष्कर्ष छ । त्यसका लागि वातावरण बनाउन उनले अधिकांश पदाधिकारीसँग वान अन वान कुराकानी गरेका थिए ।
त्यसमा महासचिव शंकर पोखरेलसँग भएको समझदारी महत्वपूर्ण छ । स्रोतका अनुसार पौडेलले शंकर पोखरेललाई ओलीको विकल्प खोज्न सहमत गराएका छन् । त्यसका लागि पोखरेललाई अध्यक्ष मान्ने वचन दिएका छन् । पार्टी संरचनामा बलियो पकड बनाएका पौडेलको वचनले शंकर पोखरेल नेतृत्व लिन कस्सिएका छन् ।
ओलीले के गर्लान् ?
आफ्नो विकल्प खोज्न दुई नेता विष्णु पौडेल र शंकर पोखरेल सहमत भएको सन्देश केपी ओलीले अस्पतालमै हुँदा पाएका थिए । यसले स्वभाविक रुपमा उनलाई आक्रोशित बनाएको छ, तर गलाएको छैन ।
गुण्डुमा भेट्न पुगेका नेताहरुका अनुसार ओलीले विष्णु पौडेल र शंकर पोखरेलहरुले नचाहिने काम गरे भनेर टिप्पणी गर्ने गरेका छन् । दुश्मनले आक्रमण गरेको बेला आन्तरिक रडाको गर्नु असान्दर्भिक भएको बताउँछन् । अनि नेतृत्व छाड्ने कुनै लक्षण देखाएका छैनन् ।
निकतवर्तीहरुका अनुसार उनी तत्काल पार्टीको बैठक बोलाइहाल्ने मुडमा छैनन् । ओलीको शैली त्यही हो कि आफ्नो विषयमा प्रश्न उठेका बेला बैठक नराख्ने । नेता कार्यकर्तालाई भेट्ने, आफ्नो पक्षमा माहौल बनाउने । परिस्थिति अनुकुल बनेपछि मात्र औपचारिक बैठक राख्ने र चाहे जस्तो निर्णय गर्ने ।
यो पटक पनि उनको प्रयास त्यही छ । त्यो बेला विष्णु पौडेल र शंकर पोखरेलहरु कसरी प्रस्तुत हुन्छन्, त्यसमा धेरै कुरा निर्भर हुनेछ । एमालेका एक केन्द्रीय सदस्य भन्छन्, सचिवालय बैठकमा को कसरी प्रस्तुत हुन्छन्, त्यसपछि मात्र केही भन्न सकिएला ।’
नेताहरुका अनुसार विष्णु पौडेल र शंकर पोखरेलहरु ओलीलाई राजीनामा दिएर सहज निकास दिन आग्रह गर्न सक्छन् । तर ओलीले त्यो बेला नेतृत्व छाड्दिन, बरु पार्टी फुट्छ भन्न सक्छन् । जसरी नेकपा कालमा प्रधानमन्त्री पद छाड्नुस् भन्दा कुर्सी भाँच्ने कुरा गरेका थिए ।
त्यो बेलामा विष्णु पौडेल र शंकर पोखरेलहरुको समझदारी कायम रहन्छ कि रहन्न ? कायम रह्यो भने ओलीले नेतृत्व छाड्नुपर्छ भन्ने निष्कर्षमा टिक्छन् कि टिक्दैनन् ? यसमा धेरै कुरा निर्भर गर्नेछ ।
यदि विष्णु पौडेल र शंकर पोखरेलहरु आज जे निष्कर्षमा पुगेका छन्, त्यसमा कायमै रहे भने एमालेबाट ओलीको बहिर्गमनलाई कसैले रोक्न सक्दैन । ओली सहमत भए नियमित महाधिवेशन होला, ओलीले अटेर गरे विशेष महाधिवेशनसम्म पनि पुग्ने अवस्था बन्ला । जुनसुकै बाटोबाट गएपनि एमालेमा नयाँ नेतृत्व आउनेछ ।
अहिलेसम्म हेर्दा सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरु पनि नेतृत्वको आकांक्षी देखिएका छन् । तर विष्णु पौडेलको साथ पाउँदा शंकर पोखरेललाई रोक्न गाह्रो छ ।
ओलीको ठाउँमा शंकर पोखरेल आएर एमाले लयमा फर्किन सक्ला र भन्ने प्रश्न पनि छ ।
त्यहाँसम्म पुग्नकै लागि पनि धेरै चरण पार गर्न बाँकी छ, त्यसैले अनुमान गर्न हतार नगरौं । यत्ति चाहिँ भन्न सकिन्छ, यदि ओलीलाई बिदा गरेर शंकर पोखरेल नै नेतृत्वमा आए भने एमालेको इन्जिन स्टार्ट चाहिँ हुन्छ । गियर लाग्छ, लाग्दैन, त्यो समयले बताउँछ ।
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?
नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न बन्यो आयोग
लोकमानले ९ वर्षपछि मुख खोले, सुशीला कार्कीको भूमिका के थियो ?
ठूला नेताहरुको सम्पत्तिको स्रोत के हो ?







