वीर शमशेरले बसाएको शहरमा बालेनको डोजर
देशको आर्थिक राजधानी र मुख्य नाका शहर हो, वीरगञ्ज । यो शहरको लामो इतिहास छ । तत्कालीन राणा प्रधामनन्त्री वीर शम्शेरले यहाँ नयाँ बजार बसाएको मानिन्छ । १९४५ सालतिर वीर सम्शेरले बसाएको बस्ती भएकाले नै यसलाई वीरगञ्ज भनिएको हो ।
वीरगञ्ज भन्दा अगाडि पर्साको मुख्य बजार अलौं थियो । शहर क्षेत्रभन्दा बाहिर अलौंसहित बगही, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैयामा भने बाक्लो मानववस्ती थियो । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, त्यो बाटोलाई रजैया सडक भनिन्थ्यो ।
वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमालाई माल अड्डा तथा काठ अड्डाको हाकिम बनाएर पर्सामा खटाएका थिए ।
सिद्धबीर माथेमाले नयाँ घर बनाउन निःशुल्क काठ र नगद समेत दिने व्यवस्था मिलाएका थिए । यस्तै सहयोगको जगमा वीरगञ्जमा बसोबास र बस्ती बढ्यो ।
त्यतिबेला भारतको रक्सोल शहर पनि बनिसकेको थिएन । भारतीय रेलहरु सुगौलीसम्म चल्थे । सुगौलीबाट गोरुगाडामा वीरगञ्ज हुँदै मकवानपुरको भीमफेदीसम्म सामान ल्याइन्थ्यो । त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म सामान ल्याइन्थ्यो ।
अर्का राणा प्रधामनन्त्री चन्द्र शम्शेरले वीरगञ्जमा बनेको बस्तीको बीचबाटै अमलेखगञ्जसम्म रेल लाइन बिछ्याए । रेल दौंडिँदा आसपासका घर र त्यहाँ बस्नेहरुलाई समस्या भयो । चन्द्र शम्शेरले यही कारण वीरगञ्जका बासिन्दालाई रौतहटको हजमिनिया सार्न खोजेका थिए । तर, स्थानीयले मानेनन् । पछि त्यो रेल्वे लिंक बजारको पूर्वतर्फ सारियो ।
अब रेल हटेको ठाउँलाई मान्छेहरुले बाटोका रुपमा प्रयोग गरे । भारतको सीमा नाकामा जोडिने त्यो बाटो कालान्तरमा स्थानीयबासीको लागि लाइफलाइन बन्दै गयो । देशको मूल नाका सडक पनि भयो । वीरगञ्जबाट भीमफेदीसम्म सडक खुलेको थियो । यही सडकमा गाडा र गाडीहरु गुड्थे ।
वीरगञ्ज नाका र यही सडकलाई समेटेर सरकारले २०१३ सालमा त्रिभुवन राजपथ घोषणा गर्यो । २०१० मा मकवानपुरको भैंसेदेखि दामन हुँदै नागढुंगासम्म सडक बनाएपछि चल्तीमै रहेको वीरगञ्ज–हेटौंडा–भैंसे सडकलाई त्रिभुवन राजपथ कायम गरिएको थियो ।
अहिले डोजर चलेको यही त्रिभुवन राजपथको एउटा खण्डमा हो । यो सडकलाई राजमार्ग कायम गरिएपछि त्यतिबेला स्थानीयहरु उत्साहित थिए ।
किनभने प्रजातन्त्र स्थापनापछि काठमाडौंलाई जोड्ने भारतीय नाका वीरगञ्ज नै कायम भयो । सरकारको मुख्य प्राथमिकतामा वीरगञ्ज नाका छ भन्ने सन्देश थियो, यो ।
नाकाकै आडमा यहाँ आर्थिक गतिविधि फस्टाउँदै थियो । भारतमा व्यापार गर्न जानेहरुका लागि वीरगञ्ज नगई नहुने र नबसी नहुने ठाउँ बन्यो वीरगञ्ज । जसरी देशले आर्थिक विकास गर्दै गयो, वीरगञ्ज थप चलायमान हुँदै गयो ।
औलो उन्मुलनपछि त वीरगञ्जमा मान्छेहरुको आवादी धेरै बढ्यो । काठमाडौंबाट गएका नेवार व्यापारीहरु समेत वीरगञ्जमा बस्न थाले । मारवाडी समुदायका व्यवसायी पनि वीरगञ्जमा केन्द्रित भए । झुप्रा नै बनाएर भएपनि वीरगञ्जमा व्यवसाय गर्नेहरु धेरै भए ।
सुरुमा राजमार्ग घोषणा गर्दा यसमा सडक सिमाको कुनै नियम लागू भएको थिएन । २०२१ सालमा सडक ऐन आएपछि सरकारले राजमार्गको मापदण्ड कायम गर्यो दायाँ–बायाँ २५/२५ मिटर सडक क्षेत्र तोक्यो । सरकारको दाबी छ कि त्यतिबेला सडक सीमा खाली गर्न भनेर यहाँ मुआब्जा पनि बाँडियो थियो ।
तर, राजमार्गमै टाँसिएका सुन जस्ता जग्गा मान्छेहरुले खाली गरेनन् । बरु पक्की भवन बन्दै बस्तीहरु फैंलिँदै गए । त्यही सडक छेउका घर बस्तीमा ब्यापार फैलियो । राजमार्ग क्षेत्र गुल्जार बन्यो । वीरगञ्ज पारीको रक्सौलमा पनि बजार फस्टायो ।
अनि रक्सौल छिर्ने नाकासम्मको सडकमै वीरगञ्ज शहरको जग बस्यो । यही सडकबाट विस्तारै वीरगञ्ज फैलिँदै गयो । बस्ती बढ्दै गयो ।
वीरगञ्जमा आवादी बढ्दै गयो, तर मूल बजार भने त्यसको तुलनामा साँघुरो नै रह्यो ।
जब वीरगञ्ज नाकामा अत्याधिक चाप बढ्यो, त्यसपछि सरकारले यो सडक क्षेत्र खाली गराउन प्रयत्न थाल्यो । तर, वीरगञ्जको गण्डकचोकदेखि पावर हाउसचोक–घण्टाघर–आर्दशनगर–रजत जयन्तीचोक–शङ्कराचार्यगेट हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम अघि बढाउन सरकारले कामै गर्न सकेन । यहाँका स्थानीयले विरोध गरेपछि सरकार पटक–पटक पछि हट्नु परिरह्यो ।
सडक मापदण्डको विवादले यहाँका स्थानीयले वर्षौं अघि बनाएको घर भत्काएर नयाँ बनाउन सकेनन् । कतिपय व्यापारीले काँचो इँटा र माटो जोडेर बनाएका घरहरु रेनोभेट गरे । धेरैले त एक तलाभन्दा माथि उठाउनै सकेनन् ।
नक्सापास नै नहुने कारणले समस्या भयो । अनि सरकारले कहिले डोजर चलाउने हो भन्ने पनि पत्तो भएन । त्यसैले वीरगञ्जको मूल बजार नै तीनै पुराना घरहरुमा बसिरह्यो ।
कतिपय जीर्ण घरहरु हेर्दै विरक्तलाग्दा भएपनि महंगोमा भाडा लागिरहे । खण्डहर बनेका घरमा पनि व्यवसाय चलिरह्यो । वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन छाड्न स्थानीय कहिल्यै तयार भएनन् ।
२०७४ मा वीरगञ्ज महानगरपालिकाले यो सडकमा दायाँ–बायाँ १५–१५ मिटरमात्र सडक क्षेत्र कायम गर्नुपर्ने निर्णय गरेको थियो ।
त्यसैले मान्छेहरुलाई आशा थियो कि स्थानीय र प्रदेश सरकारले पहल गरेर आफ्नो घरजग्गा जोगाउँछन् । अझ मधेशीका छोरा बालेन शाह प्रधानमन्त्री भएपछि अब त सडक विस्तारको योजना लाँदिँदैन भन्ने उनीहरुको विश्वास थियो ।
सडकको सीमा विवाद नटुंगिँदा वीरगञ्जका घरधनीले व्यवसायिक कम्प्लेक्सहरु बनाउन पाएनन् । कतिपय स्थानीयसँग अझै जमीनको लालपूर्जा समेत छ । उनीहरुले नगरपालिकामा सम्पत्ति कर तिरिरहेका छन् । तर, नयाँ घर बनाउन अनुमति भने पाएनन् ।
सडक सीमा विवाद नटुंगिँदा वीरगञ्जको व्यवसायिक विकासको सम्भावनामा पनि ठेस लागेकै हो । मूल बजार क्षेत्रमा बिजनेस गर्न चाहनेले बजार क्षेत्रमा ठाउँ नै नभेट्ने समस्या छ । यो क्षेत्रमा नयाँ व्यवसायी आउनै नपाउने भएपछि बजारमा प्रतिस्पर्धा पनि खुम्चिएको छ । बरु वीरगञ्जको मूल बजारबाट व्यवसायहरु अन्यत्र फैलिँदै गयो ।
यो सडक विस्तारको विवादले धेरै लगानी पनि रोकिन पुगेको थियो । नाका जोडिने मेन रोडमै चित्तबुझ्दो र राम्रा भवनहरु नहुँदा चेन बिजनेस गर्ने कम्पनीहरु वीरगञ्जमा जान सकेनन् । यसका कारण वीरगञ्जमा कर्पोरेट कल्चर स्थापित गर्न नै सकस भइरहेको थियो । तर, यो गाँठो राजनीतिक दबाब र अदालत पुगेको विवादको कारण लामो समय फुकेन ।
०००
सडक विस्तार गर्न नसक्ने देखेपछि सरकारले वीरगञ्जको मूल बजार छल्ने गरी बाइपास सडक बनायो । भारतबाट आउने सवारीहरु त्यही बाइपास सडक भएर काठमाडौंतिर आउन पाए ।
झन् २०७३ सालदेखि त भारत सरकारले भीस्वामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बनायो । त्यसपछि भारतबाट आउने सामान बोकेका ट्रक र गाडीहरु सोही जाँच चौकीको बाटो भएर आउन थाले ।
यसरी भारतबाट आउने ठूला माहलबाहक सवारीले वीरगञ्ज बजारको यो त्रिभुवन राजपथ प्रयोग गर्नुपर्ने अवस्था नै थिएन । तर, पनि पटक–पटक प्रश्न उठिरह्यो, वीरगञ्ज बजारको सडक विस्तार कहिले हुन्छ ?
यसको मूल कारण थियो, सवारीको ट्राफिक चाप र जाम । भन्सार छुटेको गाडी यो बाटो नआएपनि अरु सवारीहरु मितेरी पुलसम्म जाने बाटो यही हो । भारतबाट नेपाल आउने यात्रुबाहक सवारीहरु यही बाटो भएर आउजाउ गर्छन् । अनि अन्य स्थानीय सवारीका लागि पनि यही बाटोको विकल्प छैन ।
देशभरका मुख्य शहरहरुमा राजमार्ग विस्तार भइरहँदा वीरगञ्जमा पनि सडक विस्तारको माग चर्किएको हो ।
तर, अहिलेसम्म यो राजपथको विस्तार मुख्यतया २ कारणले हुन सकेको थिएन । पहिलो कारण हो, कानुनी किचलो ।
सरकारले पटक–पटक त्रिभुवन राजपथको वीरगञ्ज बजार क्षेत्रको सडक अतिक्रमण हटाउन भनेरसूचना निकालेको थियो । तर, यहाँका घरधनीहरु मुआब्जा वितरण नगरी घर भत्काउन दिने पक्षमा थिएनन् ।
त्यसैले उनीहरु अदालतमा मुद्दा लिएर गएका थिए । तर, अदालतले यो मुद्दाको छिनोफानो गर्न नै लामो समय लगायो । बल्ल २०८१ फागुनमा सर्वोच्च अदालतले सरकारले त्रिभुवन राजपथको सडक विस्तारविरुद्ध रिटहरु खारेज गरिदियो ।
२८ औं पटकको पेशीमा सर्वोच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले सरकारकै पक्षमा फैसला गरिदियो । यसले सडक विस्तारको लामो कानुनी विवाद निरुपण भयो ।
सडक विस्तार हुन नसक्नुको दोस्रो कारण थियो, घरवालाहरुको पहुँच र पावर । वीरगञ्जमा वर्षौंदेखि मूल बजार क्षेत्रमा घर भएका अधिकांश धनाढ्य व्यापारी नै हुन् । उनीहरु राज्यसत्तामा राम्रो पहुँच राख्छन् । वीरगञ्जका पूर्व मेयर विजय सरावगीकै घर सडकसीमा भित्रै छ ।
उनी जस्ता १ हजारभन्दा बढी व्यवसायीहरुको घर सडकसीमाभित्रै छ । त्यसै कारण पनि सडक विभागले सडक विस्तार गर्न खोज्दा पनि राजनीतिक नेतृत्वले कहिल्यै साथ दिएन । बरु सधैं सडक विस्तारको सूचना निकालेपछि पछि हट्नुपर्ने अवस्था आइरह्यो ।
००००
अब कुरा गरौं, अहिले चलेको डोजरको । पर्सा जिल्लाभित्रका राजमार्गलाई सडक डिभिजन कार्यालय हेटौंडाले हेर्छ । वैशाख ६ गत हेटौंडा डिभिजनले वीरगञ्जमा डोजर चलाएको हो ।
यो त्यही सडक डिभिजन हो, जसले २०८२ मंसिर २० गते मा हेटौंडामा पनि वीरगञ्जमा जसैगरी वर्षौंदेखि रोकिएको सडक विस्तार फुकाउन डोजर चलाएको थियो । दुबै ठाउँमा डोजर चलाउने कामको नेतृत्व डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले नै गरेका हुन् ।
त्यतिबेला अन्तरिम सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले रोकिएको सडक विस्तारको काम अघि बढाउन विभागलाई अनुमति दिएका थिए । त्यसपछि १५ दिनको सूचना निकालेर सामान हटाउन समय दिइएको थियो ।
तर, अटेर गरेपछि हेटौंडामा पनि बलजफ्ती डोजर चल्यो । सडक विभागले विभिन्न सडक कार्यालयहरुँबाट डोजरहरु ल्याएरै विहान झिसमिसेदेखि बेलुकासम्म हेटौंडामा ५ सयभन्दा बढी घर भत्काएको थियो ।
यसपटक पनि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सडक विभागलाई रोकेनन्, बरु गो अहेड भने । उनले सडक विस्तारको काम रोकिएका सबै ठाउँमा सडक सीमा खाली गराउन विभागलाई भनिसकेका छन् ।
त्यसैले डोजर चल्दा वीरगञ्जमा हेटौंडामा भन्दा एउटा कुरा मात्रै फरक भयो । त्यो थियो सामान सार्न दिएको सयमसीमाको अवधि ।
वीरगञ्जमा वैशाख ५ गते घरधनी र सटर पसलमा व्यवसायीहरुलाई सूचना दिइयो कि भोलि डोजर चल्दैछ, घर पसल खाली गर्नू । यत्रो वर्षदेखि सूचना निकाल्ने र रोकिने काम भइरहेको थियो । चर्चा भएपनि काम भएको थिएन ।
त्यसैले धेरैजसो घर धनीले वास्ता गरेनन् । पसलेहरुले पनि सामान सारेनन् । केहीले हतार–हतार र राति नै सामान सारेका पनि थिए ।
नभन्दै ६ गते विहान हेटौंडाकै शैलीमा वीरगञ्जको मेन रोडमा डोजरहरु आए । गण्डक, पावरहाउस चोक, घण्टाघर, रजतजयन्ती चोक र मितेरी पुल भन्सार क्षेत्र गरी पाँच स्थानमा एकसाथ डोजर परिचालन भए । डोजरले २९ वटा सरकारी भवनसहितका संरचना र करिब १२ सय घरमा डोजर चलायो ।
सुरक्षाका लागि प्रहरी र वीरगञ्जका नगर प्रहरी बाक्लो संख्यामा खटिए । वीरगञ्जका मेयर राजेशमान सिंह सडक विस्तार सफल बनाउन सडकमै आए ।
कतिपय व्यवसायी र घरधनीले प्रतिरोध गर्न नखोजेका हैनन् । तर, प्रहरीले बल प्रयोग गरेर सडक विस्तारको काम रोकिन दिएन । कडा सुरक्षा घेराभित्र डोजर चले । रमितेहरुको भीड लाग्यो । भीडबाट कतिले सरकारको कार्यशैलीको विरोध गरे । तर, धेरैले सरकारको कामको समर्थन नै गरेका छन् ।
वीरगञ्जको सडक विस्तारबारे विगतबाटै दुई धारका मतहरु आउने गरेका छन् । राजमार्गमा घर नभएकाहरु वीरगञ्ज बजारको सडक फराकिलो चाहन्छन् । देशको प्रवेशद्वारका रुपमा चिनिएको शहरको सडक यति साँघुरो राख्नु उचित नहुने मत पहिलेदेखि नै वीरञ्जमा बलियो थियो ।
वीरगञ्ज महानगरपालिका भइसक्दा पनि राजमार्ग कायम भएको सडक भने साँघुरो छाड्न नहुने मत राख्ने स्थानीय धेरै छन् । यति ठूलो सहहरको मूल बजार नै कुरुप भएकाले सडक विस्तार गरेर आधुनिक किसिमले राजमार्गको निर्माण गर्नुपर्ने मत राख्नेहरु अधिक छन् । यसले वीरगञ्जको मात्रै नभएर देशकै प्रतिष्ठा बढ्ने र बजार पनि आधुनिक तवरले विकास हुने अपेक्षा उनीहरुको छ ।
तर, कतिपयले भने उचित मुआब्जा र क्षतिपूर्ति निजी सम्पत्तिमाथि डोजर चलाउनु जायज नभएको बताएका छन् । अझ हेटौंडामा घर पसल खाली गर्न १५ दिन समय दिइएको थियो, वीरगञ्जमा १५ घण्टा पनि समय नदिएको उनीहरुको गुनासो छ । यो कुरा वीरगञ्जका पूर्व मेयर विजय सराबगीले नै बताएका छन् ।
सडक विभागका अधिकारीहरु भने अदालतको फैसला अनुसार वीरगञ्जको सडक सीमा अतिक्रमण हटाएको बताउँछन् । उनीहरुका अनुसार देशभरकै अतिक्रमित सडक खाली गर्ने अभियान देशभर नै चल्ने छ ।
००००
यसरी अब वीरगञ्जको मूल बजारको सडक कम्तीमा ६ लेनमा विस्तार हुने पक्का भएको छ । वीरगञ्जको सडक पनि अब फुटपाथ, साइकल लेनसहित फराकिलो बनाउने शहरी सडक विभागको संघीय सुपरीवेक्षण कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपाने बताउँछन् । यसका लागि अहिलेसम्म इन्जिनियरिङ अध्ययन भने भएको छैन ।
तर, आगामी वर्षकै बजेटमा रकम छुट्याएर सडकलाई आधुनिक बनाउने सडक न्यौपाने बताउँछन् । उनका अनुसार हेटौंडा र वीरगञ्जको सडक विस्तारको काम आगामी वर्षबाटै सुरु हुनेछ ।
यो सडक विस्तारपछि वीरगञ्जको मेन रोडले मुहार फेर्ने विभागका अधिकारीहरुको तर्क छ । स्थलमार्ग भएर आउने भारतीय र विदेशी पर्यटकले नेपाल छिर्नासाथ फराकिलो र आधुनिक सडकमा यात्रा गर्न पाउनेछन् । मुख्य नाकासम्मको सडक पूर्वाधारको सुधारले देशको पर्यटन प्रर्वद्धनमा पनि योगदान दिने अपेक्षा सरकारको छ ।
सँगै वीरगञ्जलाई आर्थिक राजधानीका रुपमा थप परिचित गराउन आधुनिक सडक पूर्वाधारले सघाउने आशा गरिएको छ । अहिले भरतपुरको सडक विस्तारले पाएको चर्चाको उदाहरण दिँदै विभागका अधिकारीहरु भन्छन्, ‘अब वीरगञ्जमा भरतपुरको जस्तै सडक बन्छ, त्यसले वीरगञ्जमा जाम र धुँवाधुलो हट्छ, व्यापार थप फैल्याउने वातावरण बन्छ ।’
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा

-1790087654.png)



