नेभिगेशन
समाज

अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?

सुदूरपश्चिमकी एक किशोरी काठमाडौंको कीर्तिपुरमा बसेर कक्षा १२ मा पढ्दै थिइन् । उनलाई चाहिने खर्च बेला बेलामा घरबाट बाबुआमाले पठाइरहन्थे । 

कलेजमा फी तिर्ने बेला भएपछि उनका बुबाले ब्यांक खातामा पैसा पठाइदिएका थिए । त्यही बेला उनले टिकटकमा जम्मा ४० हजार रुपैयाँमा आइफोन १४ प्रो म्याक्स पाइन्छ भनेर विज्ञापन भेटिन् । उनले त्यहाँ दिएको ह्वाट्सएप नम्बरमा कन्ट्याक्ट गरिन् । 

त्यो मान्छेले अहिलेलाई १० हजार रुपैयाँ अग्रिम दिनुस्, बाँकी पैसा सामान हात परेपछि दिनुहोला भन्यो । 

आइफोन १४ प्रो म्याक्स आउने भएपछि उनले क्यूआर कोडमार्फत तत्कालै १० हजार पठाइदिइन् । तर उसले फोन गरेर पैसा आएन भन्यो ।

किशोरीले आफूले पैसा पठाइसकेको छु भनिन् । 

पैसा होल्ड भयो होला, स्क्रिन सेयर गर्नु त म मिलाइदिन्छु भन्यो । उनले स्क्रिन सेयर गरिदिइन् । त्यसको केहीबेरमा त उनको बैंक खातामा भएको १ लाख ७९ हजार सबै पैसा स्क्यामरले तानिसकेछ । 

न आईफोन आयो, न बुबाले कलेज फी तिर्न दिएको पैसा बाँकी रह्यो । नेपाल प्रहरीको साइबर ब्यूरोका एसपी दीलिपकुमार गिरीका अनुसार आफ्नो पैसा स्क्याम गर्नेहरु भेटिए कि, आफ्नो पैसा फिर्ता आयो कि भनेर किशोरी साइबर ब्यूरोमा आइरहन्छिन् । 

तर उनको पैसा फिर्ता गराउन सकिएको छैन । 

०००० 

काठमाडौंकै अर्की एक महिलाले टिकटकमा कुर्ता हेर्र्दै थिइन् । उनलाई मन परेको कुर्ता जम्मा १ हजारमा पाइने भनेर विज्ञापन गरेको देखिन् ।

उनले तत्काल कन्ट्याक्ट गरिन् ।

जवाफ आयो, सुरुमा ३०० रुपैयाँ पठाइदिनुस् र बाँकी पैसा सामान आएपछि दिनू । उनले ३०० रुपैयाँ पठाइदिइन् । 

त्यसको केहीबेरमा फोन गरेर भन्यो, कुर्ता सकियो, तपाइँलाई पठाउन सकिएन, हामी पैसा फिर्ता गरिदिन्छौं । 

पैसा फिर्ता लिन मोवाइल ब्यांकिङमा हामीले भनेअनुसार गर्दै जानुस् भन्यो । मोवाइल ब्यांकिङमा उनले त्यो मान्छेले भने अनुसार गर्दै गइन् ।

अन्तिममा स्क्यामरले उनको ब्यांक खातामा एक्सेस पाएर ३८ हजार रुपैयाँ पैसा उडाइदिइसकेछ । 

००००

कोही आईफोन किन्ने नाममा, कोही हेलमेट किन्ने नाममा, कोही कुर्ता त कोही फर्निचर किन्ने नाममा ठगीमा परेका छन् ।

फेसबुक रिल र टिकटक भिडियोमा आकर्षक सामान देखाइन्छ, सस्तो मूल्य देखाइन्छ । अनि मान्छेहरु त्यसमै लोभिएर किन्न खोज्छन् । त्यही मौकामा ह्याकरले ग्राहकको मोवाइल वालेट र ब्यांक खातामा एक्सेस पुर्‍याएर पैसा ठगी गर्छ । 

नेपालीहरु फेसबुक, टिकटकजस्ता सोसल मिडिया धेरै चलाउँछन् । कतिपयले त्यही फेसबुक र टिकटकमा रिल्स र भिडियो राखेर आफ्नो सामानको मार्केटिङ गरिरहेका हुन्छन् । 

अनलाइनबाटै पैसा दिएपछि सामान पठाइदिन्छन् । तर यस्तो काममा ठगहरु पनि उत्तिकै लागेका छन् । जसको उद्देश्य सामान बेच्ने हुँदैन, मान्छे ठग्ने हुन्छ । उनीहरुले पनि सामान बेच्ने भनेर भिडियो बनाउँछन् । एकदमै सस्तोमा सामान दिने भनेर मान्छेलाई लोभ्याउँछन् । 

अनलाइनबाट पेमेन्ट गर्न लगाउँछन्, कोही पैसा लिनेवित्तिकै टाप कस्छन् । कोही भने पैसा होल्ड भयो, वा पैसा आएन भन्दै ग्राहकको ब्यांक खाता वा मोवाइल वालेटसम्म एक्सेस राख्न ट्राइ गर्छन् । सफल भए भने एकैछिनमा पैसा झिकेर बेपत्ता भइदिन्छन् । 

नेपाल प्रहरीको साइबर ब्यूरोमा गत साउनदेखि चैत मशान्तसम्मको ९ महिनामा अनलाइन सपिङको नाममा ठगिएको भनेर ६१९ जनाले उजुरी गरेका छन् । प्रहरीले तीमध्ये ७७ जनाको मात्र पैसा फिर्ता गराउन सकेको छ, बाँकी ५४२ जना अझै पीडित छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंमा गत साउनदेखि चैत मशान्तसम्म साइबर क्राइमका १३३० उजुरी छन् । जसमा धेरैजसो अनलाइन सपिङ ठगीकै उजुरी रहेको एसपी पवन भट्टराई बताउँछन् ।

अनलाइन सपिङमा कसरी हुन्छ ठगी ? 

अनलाइन सपिङमा पैसा ठगी गर्ने केही शैली छ ।

एउटा हो, सामान अर्डर गरेपछि अग्रिम पेमेन्ट माग्ने, वा हाफ पेमेन्ट माग्ने । सामान नपठाउने, सम्पर्कविहीन भइदिने । यो तरिकाबाट धेरै ठूलो रकम ठगी भने हुँदैन । किनकी मान्छेले अनलाइन सपिङमा २–३ हजारसम्मको लुगा, सेकेन्ड ह्याण्ड मोवाइल र फर्निचर किन्ने हो । 

त्यसैले सामान नदिई भाग्नेहरुबाट बढीमा १०/१५ हजार रुपैयाँ मात्र ठगी भएको प्रहरीको रेकर्ड छ । 

अर्को तरिका हो, सामान अर्डर गरेपछि अग्रिम पेमेन्ट वा हाफ पेमेन्ट माग्ने । अनि पैसा आएन, ब्यांक स्टेटमेन्ट पठाउनुस् भन्ने । त्यो स्टेटमेन्टबाट ब्यांक ब्यालेन्स कति छ भनेर थाहा पाउने । अनि त्यो पैसा झिक्न ब्यांक खाता वा मोवाइल वालेटसम्म एक्सेस पुर्‍याउने । 

ब्यांक खाता वा मोवाइल वालेटसम्म एक्सेस पुर्‍याउन स्क्यामरहरुले तपाईंको पैसा होल्ड भयो, म झिकिदिन्छु भनेर वान टाइम पासवर्ड अर्थात् ओटीपी माग्ने, स्क्रिन सेयर गर्न लगाउने वा भिडियो कल गरेर पासवर्डहरु आफैं हेर्ने गर्छन् । अनि खातामा भएको सबै पैसा झिकिदिन्छन् । 

यस्तो ठगी गर्ने मानिसहरु नेपालमै बसेर पनि गरिरहेका छन्, कोही विदेशमा पनि छन् । 

उनीहरुले चलाउने फोन नम्बर वास्तविक ठगको नाममा हुँदैन । अरुकै नाममा निकालेका हुन्छन् । फोन नम्बर खोज्दै जाँदा अर्कै असम्बन्धित मान्छेकोमा पुगिन्छ, वा नक्कली नागरिकता राखेर निकालेको फोन हुन्छ । 

ठगी गरेको रकम पनि पहिला एउटा ब्यांक खातामा सार्छन् । अनि मिनेटभरमै त्यो खाताबाट अरु थुप्रै ब्यांक खाता र मोवाइल वालेटहरुमा सारिहाल्छन् । 

ब्यांकको खाता खोज्दै जाँदा फेरि त्यहाँ पनि वास्तविक ठग भेटिँदैन । 

कुनै ब्यांक खाता नक्कली नागरिकताबाट खोलिएको हुन्छ । नागरिकतामा लेखेको ठेगानामा त्यो नामको मान्छे नै भेटिँदैन । 

कुनै खातावाला भेटिन्छ, तर उसलाई यो बारे केही थाहै हुँदैन । एकदम सामान्य र अञ्जान मान्छे हुन्छ ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दीलिपकुमार अधिकारीका अनुसार खाता एउटाको हुन्छ, अनि त्यो खाता चलाउने चाहिँ अर्कै मान्छे हुन्छ, खातावाला र चलाउने मान्छेको कुनै सम्पर्क सम्बन्ध नै देखिँदैन । 

ठगीमा परेको मान्छे जब प्रहरीकोमा आउँछ, प्रहरीले पैसा ट्रान्सफर भएको ब्यांक खाता खोज्छ । तर स्क्यामर एउटै ब्यांक खातामा भर परेर बस्दैन । प्रहरीले थाहा पाएर खाता रोक्का गराउने बेलासम्म पैसा अन्यत्रै ट्रान्सफर भइसकेको हुन्छ । 

साइबर ब्यूरोका प्रवक्ता एसपी दीलिप गिरिका अनुसार यसरी पैसाहरु ३–४ लेयरसम्म पठाइन्छ । 

पहिलो लेयरमा एउटा ब्यांक खातामा हुन्छ भने त्यहाँबाट अरु १०/१२ वटा ब्यांक खातामा तत्कालै सारिएको हुन्छ । दोस्रो लेयरका १०/१२ वटा ब्यांक खाताबाट फेरि तेस्रो लेयरको २०/२५ वटा ब्यांक खातामा सारिहाल्छ । 

कतिपय ब्यांक खातामा ठगीको पैसा गएको देखेर प्रहरीले रोक्का गराएको छ । तर पीडितको पैसा फिर्ता गराउन सकेको छैन । किनकी वास्तविक खातावाल नै भेटिएको छैन । वास्तविक खातावाल नभेटिएसम्म ब्यांकले त्यो खाताको पैसा चलाउन मान्दैन । 

अनलाइन सपिङमा ठगिनेमा सामान्यदेखि उच्च पदस्थहरु पनि छन् । स्क्यामरहरुले चल्तीका ब्राण्ड र पसलहरुकै दुरुपयोग गरेर पनि ठगी गरिरहेका छन् । काठमाडौंका चल्तीका बुटिकको कुर्ता भनेर बिक्रीमा राखिदिने, ठूला ठूला फर्निचर पसलको भिडियो खिचेर सामान देखाइदिने पनि गरेका छन् । 

स्क्यामरहरुका कारण ती पसल र ब्राण्डहरु समेत समस्यामा परेका छन् । ठगीमा परेपछि कतिपय मान्छेहरु पैसा फिर्ता माग्न गएका छन् ।

पीडितहरु उजुरी लिएर गएपछि प्रहरीले पनि उनीहरुलाई नै फोन गरेर सोध्ने गरेको छ । तर उनीहरु पनि ठगबाट पीडित भइरहेका छन् । 

०००० 

प्रविधिको पहुँचका कारण हिजोआज मान्छे धेरै अल्छी भइसकेका छन् । हरेक सामान आफ्नै ढोकामा आओस् भन्ने चाहन्छन् । घर नजिकैको पसलमा पनि सामान किन्न जाने जाँगर देखाउँदैनन् । मान्छेहरुको यस्तै बानी ठगी गर्नेहरुका लागि अवसर बनेको छ । 

स्क्यामरहरु प्रविधि प्रयोगमा प्रहरी भन्दा एक कदम अगाडि छन् । प्रहरीले ठगीको सूचना पाए पनि तत्काल पक्राउ गर्न र कारबाही गर्न सकेको छैन । कोही स्क्यामर पक्राउ गरेर मुद्दा चलाए पनि पीडितको रकम फिर्ता हुने ग्यारेन्टी छैन । त्यसैले सबैभन्दा राम्रो, ठगीबाट जोगिने नै हो । 

अनलाइनमार्फत सामान किन्नेहरुलाई प्रहरीको ३ वटा सुझाव छ 

१. सकेसम्म अनलाइन सामान अर्डर गर्दा क्यास अन डेलिभरी गर्नु : सामान हात परेपछि मात्र पैसा दिन्छु भन्नु । अनि सामान ल्यायो भने पैसा दिनु, ल्याएन भने पैसा दिनै परेन । यसमा ठगिने सम्भावना हुँदैन । 

२. ओटीपी कोड सेयर नगर्नु : आफ्नो ब्यांक खाता वा मोवाइल वालेटको ओटीपी अर्थात् वान टाइम पासवर्ड कसैलाई सेयर नगर्नु । ओटीपीबाट स्क्यामरले तपाईंको ब्यांक खाता वा मोवाइल वालेटसम्म पहुँच पुर्‍याउँछ र पैसा झिकिदिन सक्छ । ओटीपी नदिएपछि स्क्यामरले तपाईंको ब्यांक खाता वा मोवाइल वालेटमा एक्सेस पुर्‍याउनै सक्दैन । 

३. स्क्रिन सेयर र भिडियो सेयर नगर्ने : स्क्यामरले कहिलेकाहीँ पैसा पेन्डिङ भयो, वा केवाईसी अपडेट गर्नुपर्ने भयो भनेर मोवाइलको स्क्रिन सेयर गर्न पनि लगाउन सक्छ, त्यस्तो बेलामा पनि उनीहरुले तपाईंको ब्यांक वा मोवाइल वालेटमा एक्सेस राख्न सक्छ । त्यसैले स्क्रिन र भिडियो सेयर पनि नगर्ने । 

प्रविधिको जमानामा आफूलाई चाहिएको सामान किन्न स्टोर स्टोर धाइरहनु पक्कै पर्दैन । तर अनलाइन कारोबारमा तपाईं हामी सचेत भने हुनै पर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज